कविता : कमिलाको बाटो

~गणेश खड्का~Ganesh Khadka

कहिले मेरो घरमुनिको बाटो तिमी हिँड्यौ
हिँड्यौ कहिले फेरि मेरो घरमाथिको बाटो
म पनि हिडेकै हुँ बाटो त तिम्रो घरमाथि–मुनिकै
कहिले दिएँ घरको पेटी, बलेसी, आँगन र करेसा
दिएकै थियौ तिमीले पनि अलिकति घुर्यानको छेउ
बाटो चाहिएको थियो हामीलाई यता आउन र उता जान
अर्मपर्म, पालोपैंचो
भरअभर, खरखाँचो
दुःख–बिमार, साह्रो–गाह्रो
दैविप्रकोप, भवितव्य
सबै–सबैमा भरथेग साटेकै थियौं आपसमा
किनभने,
हामी सबभन्दा नजिकका छिमेकी थियौं
तर तिमीले हाम्रो आउने–जाने बाटै बन्द गरेपछि
बुझ्दैछु कि–
सिमानाले नजिक भएर मात्र पनि नहुँदोरहेछ छिमेकी
छिमेकी त हार्दिकतासहितको मनले पो हुँदोरहेछ !

मेरा हजुरबा भन्नुहुन्थ्यो– बाटो साझा हुन्छ
त्यही भएर आँगन हुँदै ओहोरदोहोर गर्थे छिमेकी
तल्लाघरे–माथिल्लाघरेहरू लिपपोत गरिवरि सुग्घर बनाएको
आफ्नो घरको पेटी टेक्दै हिँड्दा पनि
कहिल्यै कुकुर फुकाएर भगाइएन
गल्छेडोमा कदापि तगारो लगाइएन
तिम्रो र मेरो पनि बाटो साझे हो
हाटबजार, मेलापात
सारनतारन, दिनरात
चलेकै थियो आवतजावत
तर तिमीले निषेध गरेपछि
रोकिएको छ मेरो स्वाभिमानको साझा बाटो
तिम्रो अभिमानको तगारो लागेपछि
बन्द भएको छ मेरो अधिकारको नाका !

ए छिमेकी !
तिमीसँग आगो छ
मसँग पानी छ
आगो र पानी
दुवै जीवनका आवश्यकता हुन्
भन्छौ नै भने बरु–
आगो नखाँदा पनि जिउन सक्छ मान्छे
कसरी बाँच्न सक्छौ तिमी पानीबिना ?

तिम्रो भाषामा हामी ‘पड़ोसी’ हौं
म तिम्रोमा आगो लिन आउँछु
नुन, मसला र तेल किन्न आउँछु पैसाको बिटो लिएर
पानी माग्न आउँछौ तिमी पनि मेरोमा
धाइरहन्छौ खेताला भन्न हारगुहार माग्दै
मैले कहिल्यै नाइनास्ती गरिनँ
सम्झें– छिमेकीको धर्म निभाउनुपर्छ
अझ तिमी त नमागी चोरेर पनि लान खोज्छौ
हेपेर मेरो साँध–सिमाना पनि मिच्छौ
पीडा सहेरै मानिरहें मैले
लाग्थ्यो– ठूलाघरेले सानाघरेलाई यसरी नै हेप्दा हुन्
रोटी र बेटीको सम्बन्ध भन्ने तिमी नै फेरि
खपिनसक्नु बेइमान बनेर छेक्दैछौ साझा बाटो ?

त्यही बाटो हिँडाएर यताका थुप्रै सीताहरू सित्तैमा लान्थ्यौ
र फर्काइदिन्थ्यौ लुटिसकेपछी सतित्व
रोगको भारी बोकाएर निर्ममतापूर्वक पुनः यतै
उही बाटो बन्द गर्दा तिम्रो धीत मरेकै त होला
कहिले मेरो मूलको पानी चोर्न धाउने
कहिले मेरो नम्बरी जमिन खोस्न आउने
त्यो बाटो मेरा लागि त सिर्फ
किनेर खाने र मित्रता गाँस्ने माध्यमशिवाय केही थिएन
तिमीले मेरा मठ–मन्दिरमा चढाएको फूल र भेटीमा पनि
खाली ढोङ, कपट र स्वार्थबाहेक केही रहेनछ !
धर्मको नाममा तिम्रा आराध्यदेव भेट्न
तिमी हिँडेर आउने बाटो यसरी थुन्दा
असंख्य पेटमा चाबी लागेपछि
तिमीले पुण्य कमाउँदैछौ कि पाप ?
हेक्का छ ?

सानो भए पनि म तिम्रो माथिल्लोघरे हुँ
तिमीले तिम्रो तल्लाघरेलाई मुतेरै बगाइदिन्छु भनेर
धम्क्याएजस्तो सजिलो छैन यता
बरु म आफ्नो आँगनको डिलमा बसेर
तिम्रो घरको छानामा ढुङ्गा हान्न सक्छु
तिम्रो टुप्पीमा थुक्न सक्छु
शौचालयको ढल छाडिदिएर
गुहुमूतले तिम्रो मझेरी दुर्गन्धित पार्न सक्छु
तिमीले बालेको अहङ्कार र अभिमानको आगो
यौटै नदीको बाँध खोलिदिएर भस्याकभुसुक पारिदिन सक्छु
अब तिमी आफैं भन–
आगो ठूलो कि पानी ठूलो ?
तर त्यसो गरें भने तिमी र म मा फरक हुने छैन
छिमेक मात्र होइन, सिङ्गो मानवता दुख्छ त्यसो गर्दा
त्यसो गर्नु मेरो धर्म र कर्म दुवैले दिँदैन ।

ए ठूलाघरे छिमेकी !
तिमीले छेकेको बाटो
मेरो स्वाभिमानी सेखी झार्नु मात्र होइन
तिम्रो घनाघोर स्वार्थको कायर आत्महत्या पनि हो
बाटो त जीवन हो, प्राण हो, खाँचो हो
चलायमान जीवनको गतिशीलताका लागि
तसर्थ खोज्नैपर्छ मैले अर्को उज्यालो बाटो
तिम्रो सुगम बाटो बन्द हुँदा नै त मलाई
पहाड फोरेर सुरुङमार्ग खन्ने चेत खुल्छ
एउटा कुरा ख्याल गरेका छौ कि छैनौ ?
विकल्पै–विकल्प बोकेको कमिलाको बाटो छेक्दा
भीमकाय हात्तीलाई कति नाफा, कति घाटा हुन्छ ?
०००


भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.