~एकु घिमिरे~
एउटा कक्षाको दृष्य । केटाकेटीहरू हल्ला गरिरहेका । यत्तिकैमा शिक्षकको प्रवेश ।
विद्यार्थी -(सबैजना एकसाथ उठेर) गुड आफ्टरनून सर ।
शिक्षक – (हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) के को गुड आफ्टरनून ? एकछिन अघि हल्ला गर्ने बाँदर तिमीहरू नै हैन ? आज सबका सबलाई धुलाई हुन्छ । म पल्लो कक्षामा पढाउँदै छु भन्ने याद नगरी हल्ला गर्छौ ? आज सबलार्ई म ठीक पार्छु । एकदिन कक्षामा सर नहुँदा मेलाबजारमा जस्तो हल्ला गर्ने ? ( फेरि हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) कुन कुन हो अघि सारो सारो गीत गाउँदै टेवल ठटाउने ?
विद्यार्थी – (कोही बोल्दैनन् )
शिक्षक – (अझ रिसाएर मुरमुरिदै हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ), रोल नं. एक को हो ?
विद्यार्थी – (कोही बोल्दैनन् )
शिक्षक – (अझ रिसाएर मुरमुरिदै हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ), रोल नं. एक को हो भनेको ?अगि त्यत्रो हल्ला गर्ने मुख अहिले किन बन्द ? (एकजना अलिक ठुलो छात्रालाई औंल्याएर ) ल तँ नै भन ,कि अघि हल्ला गर्ने को हो भन, कि रोल नं. एक को हो भन् ।
(औंल्याइएकी छात्रा बोल्दिनन् । शिक्षक रिसले कराउँदै लौरो सबै टेबलमा ठोक्न थाल्छ । बिद्यार्थीहरू मुखामुख गर्छन् । )
शिक्षक -स्याट अप ,आज तिमीहरू सबैको ढाड भाँच्छु । (अघि उठाइएकी केटीलाई जगट्याउन थाल्छ ।) यहाँ अगाडि मुन्टी । हल्ला गर्ने यही कुकुर्नी रै’छे नत्र किन बोलिनँ त । (अझ रिसाएर मुरमुरिदै अगाडि ल्याएर ) हात थाप, तेरो हात भाँचौं कि बोल्छेस् ? छिटो भन, हल्ला गर्ने को हो ? (अरू विद्यार्थीतर्फ हेर्दै) तिमीहरूको कक्षामा पढाउन पनि नआउने त्यै पनि नयाँ सर भनेर हेप्न खोजेका ? म तिमीहरूका लागि पो नयाँ त, तिमीहरू जस्ता ल्याङ्ठा त कति तह लगाइसकें कति । मैले कतिजनालार्ई कक्षामै कुटेर रगत छदाइदिएको छु । के सम्भेको छ ? छिटो बोल ए केटी, कि हात थाप । (केटीले डराउँदै हात थापी, अक्रोशित शिक्षकले उज्याएर केटीलाई कुट्न लाग्दा अर्को विद्यार्थी अगाडि गयो र शिक्षकले हानेको लौरो समाउँदै )
बिकाश – सर बरू मलाई कुट्नुहोस्, यो शर्मिलाले हल्ला गरेकी छैन ।
शिक्षक -स्याट अप ,यो केटीको जिम्मा लिने तँ को होस् ? आज तिमीहरू सबैको ढाड भाँच्छु ।
बिकाश – सर कुरै नबुझी…………………….. (विकासले बोल्नै नपाई शिक्षकले उसलाई दुई थप्पड हान्छ, जगट्याउँछ ।)
शिक्षक – तँ अरूको समेत जिम्मा लिने भा’को कत्ति न गतिलो रै’छस् हैन गधा ?(शर्मिला रूदै त्यहिं उभिइरहुनेछे, शिक्षक विकासलाई जगट्याउँदै र कुट्दै तानेर ढोका नजिक लान्छ अनि बहिरतर्फ ठेल्दै ।) गेट आउट, तँ लार्ई प्रिन्सिपललार्ई भनेर भरे कति चुटाउँदो रहेछु हेर्लास् । (शर्मिलातिर झम्टेर थप्पड हान्छ, जगट्याउँछ ।) तँ कुकुर्नी किन रुन्छेस् ? तेरो बोली कहाँ गयो ? आज तँ नकचरीलार्ई यही लौराले बोल्न लगाउँछ । (शर्मिलालार्ई फेरि झम्टेर थप्पड हान्छ, जगट्याउँछ । यत्तिकैमा एकजना छात्रा उठ्छे )
छात्रा -सर शर्मिलाले हल्ला गरेकी होइन, हामी अरु सबैलाई कुट्नुहोस् तर शर्मिलालाई…………………………………( छात्रालाई पुरा बोल्न नै नदिइकन शिक्षकले ती छात्रालाई पनि हातको लौरोले कुट्छ ।)
शिक्षक -ए तँ पनि यही कप्टी केटीकी बडीगार्ड भएर मलाई सिकाउने भइस् हैन ?(त्यो छात्रालाई झड्कारेर अगाडि तान्छ थप्पड हान्छ, जगट्याउँछ, छात्रा बोल्न खोज्छे )
शिक्षक – नबोल तँ मलाई सिकाउने मास्टर्नी, यहाँ कान समाएर घुँडा टेक । ( छात्रालार्ई पुरा बोल्न नै नदिइकन शिक्षकले ठेलेर भूइंमा थेच्याउँछ ।)
छात्र १ -सर हामी बसौं ? खुट्टा दुखिसक्यो ।
शिक्षक – ए, अघि हल्ला गर्दा चाहिं तेरो मुख दुखेन, अहिले एकछिन उभिंदा चाहिं खुट्टा दुख्यो ?(त्यो छात्रलाई पनि दुई लौरो कुट्छ ।) सबैजना बेन्चमाथि उठ, के को बस्छ ? ( फेरि लौरो टेवलमा बजार्छ ।सबैजना बेन्चमाथि चड्छन् । एकजना छात्रा बेन्चमाथि चड्न आनेकानी गर्दै )
छात्र २ – सर हामी बस्ने बेन्चमा टेक्दा फोहर हुँदैन र ?
शिक्षक – बाठो हुन्छस् तँ गोरु फेरि ? (फेरि त्यो छात्रमाथि जाइलाग्छ र दुई लौरो हान्छ । छात्र हत्तपत्त बेन्चमाथि चड्छ ।)
शिक्षक – तँ अब यहाँ आइज, अगाडि आएर कुखुरा बन । (फेरि त्यो छात्रलाई जगटामा समाएर ल्याई कुखुरा बन्न लगाउँछ र जाइलाग्छ ।) बन् झट्टै कुखुरा । (छात्र २ कुखुरा बन्दै)
छात्र २ः कुखुरी काँ , सर यस्तो दुःख दिनुभन्दा बरु म कुखुरालाई काटेर खाइहाल्नु । (सबैजना गलल्ल हाँस्छन् ।)
शिक्षक -स्याट अप (छात्र माथि जाइलाग्दै) अझ मुख चलाउँछस् मुर्ख ? हैन यो कक्षामा के भा’को ? एउटी एकातिर सोधेको कुराको उत्तर नै नदिइकन बोलेको पैसा लाग्छ झैं गरेर कुकुरको मुत आँखाबाट झारिरहेकी छे अर्कातिर अरुलार्ई चुप लाग भनेको लट्टे पड्किए झैं बोल्छन् त । (रिसले मुरमुरिंदै फेरि लौरो टेवलमा ठोकेर) एइ रुन्ची केटी (शर्मिला छेउ गएर , लौरो देखाउँदै) तेरो मुखमा यही लौरो खाँदिदिउँ कि बोल्छेस् ? (कपालमा समातेर उचाल्दै) आज तँलार्ई यही लठ्ठीको प्रयोग गरेर बोल्न लगाउँछु बुझिस् ?(यत्तिकैमा प्रिन्सिपलको हात समातेर बिकाश कक्षामा पस्छ । बिकाशले औंल्याउँदै प्रिन्सिपललार्ई शर्मिलातर्फ देखाउँछ ।)
प्रिन्सिपल -त्यो नाथे लठ्ठीले के बोल्न लगाउनुहुन्थ्यो हौ सर तपाईले , कस्ता कस्ता डाक्टरले कति औषधी खुवाउँदा त हाम्री शर्मिलाको बोली आएन, कुरै नबुझी आक्रोसमा आएर केटाकेटीलार्ई सजाय दिन मिल्छ ? उनी बोल्न सक्दिनन् तर पनि अनुशाशित छिन् र सधै कक्षामा प्रथम हुन्छिन् । त्यै भएर उनको रोल नं. एक छ । (यताउति हेर्दे) ल हेर्नु, के गर्नुभएको यो तपाईले ? यो त कक्षा पो त, यातना गृह हो ? ल तिमीहरु सबैजना बस त । (विद्यार्थीहरू बस्छन् ।)
विद्यार्थी – थ्यान्क यू प्रिन्सिपल सर ।
प्रिन्सिपल – वेलकम । बिशेष गरी बिकाशलाई धेरै धन्यवाद छ ।समयमै उस्ले सूचना दियो र म यहाँ आउन सकें । नत्र आज सरले आक्रोसमा आएर शर्मिलालाई धेरै सजाय दिनुहुने रहेछ । सबैले बिकाशको लागि एकपटक ताली बजाऊ त ।
(सबैले ताली बजाए, तर शर्मिलाले हात उठाई ।)
प्रिन्सिपल – ल शर्मिलाको के भनाई रहेछ हेरौ है त (मार्कर दिँदै), ल तिम्रा कुरा वोर्डमा लेख त । (शर्मिलाले मार्कर समाती र कक्षाको अगाडि रहेको वोर्डतर्फ गई ।)
शर्मिला – सर बाल अधिकार भनेको के हो ? के म जस्ता बोल्न नसक्नेले पनि यो अधिकार पाउँछु ?? के हामी केटाकेटीलाई ठुला मान्छेले जति पनि सजाय दिन र आफूखुशी काम लगाउन पाउँछ ? आज म माथि अन्याय भयो कि भएन ? भयो भने न्याय पाउँ अनि बजाउँला ताली । (शर्मिला सुँक्क- सुँक्क रुन थाली ।)
प्रिन्सिपल -(शर्मिलालाई समाउँदै) नरोऊ शर्मिला, आज तिमीमाथि मात्र हैन यो कक्षामाथि नै अन्याय भएको छ । हाम्रो विद्यालयमा मात्र हैन यो देशभरिका धैरैजसो भागमा वालवालिकाहरू यस्तो अन्यायमा परिरहेका छन् । कक्षामा लौरो किन लानु ? लौरो त गोठाला जाँदा पो लाने हो । बालबालिका पशु त हैनन् । अब यो अन्यायको पिडक उहाँ सरलार्ई (आक्रोशित शिक्षकतिर औंल्याउँदै) शर्मिला र तिमीहरूलार्ई न्याय गर्न म अनुरोध गर्छु ।
शिक्षक -(हात जोड्दै) म सबैसँग माफी माग्छु । अझ धेरै माफी त शर्मिला सँग माग्छु ।
प्रिन्सिपल – कहाँ माफी सूर्तिजस्तो मागेर पाइन्छ ? (विद्यार्थीहरूतर्फ देखाउँदै) के यी नानीहरूका अभिभावकले पैसा र समय खर्च गरी–गरी आफ्ना प्यारा नानीहरू कुटाइ खान, घुँडा टेक्न अनि कुखुरा बन्न स्कुल पठाएका हुन् ? तपाईले आफ्नो कुकर्मको प्रायश्चित गर्न त सुकर्म गरेर माफी माग्नुपर्छ सर ।
(विद्यार्थीहरू हो भन्दै ताली बजाउँछन्)
प्रिन्सिपल – तपाईं साच्चै सुध्रेको हो भने भोलि यो कक्षाका सबै बिद्यार्थीका लागि नेपालको संविधान २०७२ मा उल्लेख भएका बाल अधिकारका सम्पूर्ण उपधाराहरु लेखेर ल्याई छलफल चलाईदिनू । आफू पनि मनन गर्नू । (यत्तिकैमा विद्यालय विदाको घण्टी लाग्छ ।)
प्रिन्सिपल – ल त, भोलि सरले बालअधिकार के के रहेछन् भनी लेखेर ल्याएर तिमीहरूलाई बाँड्नुहुन्छ अनि कक्षामा सबैले पढेर बुझेपछि बल्ल शर्मिलाले पनि तलि बजाउँछिन् अनि सरले माफी पाउनुहुन्छ है त ? अब घण्टी पनि लाग्यो जाऊ है त घरतिर । (पहिला शिक्षक, प्रिन्सिपल अनि विद्यार्थीहरू निस्कन्छन् ।)
(भोलिपल्ट। )
(कक्षामा विद्यार्थीहरू आउँछन् र मिलेर बस्छन् । भीडमा बाल अधिकार भनेको सुनिन्छ । यत्तिकैमा हातमा कागजहरू बोकेर शिक्षक आउँछन् ।)
बिद्यार्थी – (सवैजना उठेर) गुड मर्निङ सर ।
शिक्षक -गुड मर्निङ मेरा प्यारा नानीहरू । यु केन सिट डाउन नाउ ।
बिद्यार्थी – (सवैजना बस्दै) थ्यान्क यु सर ।
शिक्षक – ल आजको हाम्रो छलफलको शीर्षक बोर्डमा लेखिदेऊ त शर्मिला । (शर्मिलालार्ई मार्कर दिन्छ ।)
शर्मिला – (अगाडिको वोर्ड नजिक जान्छे र लेख्छे ।) नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको बाल अधिकार ।
शिक्षक – (पेपर बाँड्दै) ल हामी सबैले नेपालको संविधान २०७२ मा लेखिएका वाल अधिकारका बुँदाहरु पालैपालो पढौं है त । (विद्यार्थीतर्फ औल्याउँदै) ल यताबाट शुरु गरौं ।
(यत्तिकैमा प्रिन्सिपल प्रवेश गर्छन् ।)
प्रिन्सिपल-गुड मर्निङ क्लास ।
विद्यार्थी -(सवैजना उठेर, एकै स्वरमा ) गुड मर्निङ प्रिन्सिपल सर ।
प्रिन्सिपल – सिट डाउन ।
विद्यार्थी – (सवैजना बस्दै, एकै स्वरमा ) थ्यान्क यु सर ।
प्रिन्सिपल- ल ल अब तिमीहरूको काम अघि बडाऊ त । ल सुनौं त वाल अधिकार के के रहेछन् ।
विद्यार्थी – (पालैपालो उठेर उच्च स्वरमा शिक्षकले दिएको बाल अधिकार लेखिएको पेपर पढ्छन् ।
विद्यार्थी १ – जननिर्वाचित संविधानसभाले बनाएको नेपालको संविधान २०७२, वि.सं. २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डाक्टर रामबरण यादवले जारी गरेका हुन् । यसमा ३५ भाग ३०८ धारा ९ अनुसूची रहेका छन् । यसको भाग ३ को धारा ३९ मा बालबालिकाको हक उल्लेख छ ।
विद्यार्थी २ – उपधारा (१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ ।
विद्यार्थी ३ – प्रत्येक बालबालिकालार्ई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।
विद्यार्थी ४ – प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।
विद्यार्थी ५ – कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।
विद्यार्थी ६ – कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।
विद्यार्थी ७ – कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा साँस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारका शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।
विद्यार्थी ८ – कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमका यातना दिन पाइने छैन ।
विद्यार्थी ९ – प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।
विद्यार्थी १० – असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं
जाखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।
विद्यार्थी ११ – उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्ता कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमाजिम क्षतिपुर्ति पाउने हक हुनेछ ।
(पढिसकेपछि सबैले ताली बजाउँछन् । प्रिन्सिपलले ‘बाल अधिकार बुझौं, बुझाउँ र सबै मिली कार्यान्वयन गरौं’ भन्ने प्लेकार्ड उठाएर देखाए, सवैले पर्रर ताली बजाए । )
श्रीअन्तु-२,इलाम
हाल:चैनपुर्,संखुवासभा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
कसतो राम्रो!!!!!! यसले मलाई धेरै मदत गर्यो ।