~झलक आचार्य~
देश कहिल्यै नदुखोस
देश दुख्नुको सट्टामा
मेरो छाती दुखोस
मेरो छातीको उपचार हुनसक्छ
देश कहिल्यै नचर्कियोस
देश चर्किनुको सट्टामा
मेरो घरको भित्ताहरु चर्कियोस
मेरी आमाले
रातो माटोले पोत्न सक्नुहुन्छ
देश कहिल्यै नजलोस
देश जल्नुको सट्टामा
मेरो घर जलोस
मेरा बाबाले
अर्को घर ठड्याउन सक्नुहुन्छ
देश भित्र हाम्रो घर हुन्छ
घरका भित्ताहरु हुन्छन
अनि
देश भित्र हामी हुन्छौ
अर्थात
हाम्रो परिचय हुन्छ
देश के हो?
देश नभएकाहरुलाई सोध्नुहोस