~गीता पन्थ~
छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा । घरमा सघाउने नानी लुगा धुँदै थिई । टिभी हेर्न बत्ती थिएन । के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ । लथालिङ्ग तन्ना, किताब र कपडाहरू यत्रतत्र छरिएका रहेछन् । आज छोरीलाई सरप्राइज दिन भनेर मिलाउन थालेँ । सामानहरू यथास्थानमा मिलाएर तन्ना फेरिदिएँ । झयालका शिशाहरू पुछिसक्दा अलि थाके जस्तो भयो । यसो बेडमा पल्टेको सिरानी अग्लो जस्तो लाग्यो, छोरीको डायरी रहेछ । गल्ती गर्दैछु भन्ने थाहा हुँदा–हुँदै पनि पढ्न थालेँ ।
२६ असोज
कलेजमा मेरो मनसँग, स्वभावसँग मिल्ने साथीहरू अझ्ै भेटेकी छैन । केटाहरू संसारमा उनीहरूभन्दा अरू केही छैन जस्तो गर्छन् । सरले पढाइरहेका बेला पनि अनेकथरी एसएमएस गर्छन् । मलाई त उनीहरूसँग बोल्नै मन लाग्दैन, तर के गर्नु ?
१४ कात्तिक
सडकमा निकै जाम भएकाले ८ बजे पुगिसक्नुपर्ने कलेजमा ९ः३० मा मात्र पुगियो । हतार–हतार सिँढी चढ्दै थिएँ, अङ्गे्रजी पढाउने सुगन्ध सरले भने, “के छ अवन्तिका तिम्रो खबर ? किन यति हतार ?” “गुड मर्निङ्ग सर ! जामले गर्दा पहिलो पिरियड छुट्यो । हतारमा छु सर ।” “दोस्रो पिरियड मोहक सरको हैन ? उहाँ त बिदामा हुनुहुन्छ । जाउँ हिँड क्यान्टिनमा कफी खान ।” “आज भइहाल्यो सर !” “मैले भनेपछि खुरुक्क हिँड न ।” म सुगन्ध सरको पछिलागेर क्यान्टिनमा जान बाध्य भएँ । कफी आउँदा उनी नजानिँदो पाराले मेरो शरीरमा आफ्नो शरीर छुवाउने कोसिसमा थिए । म अलिपर सरँे, उनी अझ् नजिक आए । म फेरि अलिपर सरँे, कफी सकियो । उनले पैसा तिरे । “अवन्तिका, मीठो साथ र समयका लागि धन्यवाद है तिमीलाई ।” यो सरको नियत र क्रियाकलाप ठीक छैन ।
२५ कात्तिक
कलेजका साथीहरूले कक्षापछि टेकुको नाङ्लो रेस्टुरेन्टमा मःम खाने प्रोग्राम बनाए । आठ जनाको समूहमा रहेका हामी सबै बाइकमा थियौं । “अवन्तिका, आजको स्पोन्सर को हो, थाहा छ ?” “मलाई कसरी थाहा हुन्छ ?” “म हुँ । किन थाहा छ ?” “ए बाबा, तिमी नै भननँ ।” “किनभने, म तिमीलाई प्रेम गर्छु भनेर यिनीहरूले थाहा पाएपछि नखुवाई भएन ।” “ए हो र ? भनेपछि तिमी मेरो प्रेममा पर्दैछौ !” “साँच्चै अवन्तिका, म तिमीलाई हृदयदेखि माया गर्छु ।” हामी रेस्टुरेन्टको टप–फ्लोरमा थियौं । म मौन भएँ । “तिमीले मेरो प्रश्नको जवाफ नै दिइनौ ।” “हेर अभिमन्यु, हरेकको प्रश्नको जवाफ हरेकले दिइहाल्नुपर्छ भन्ने मलाई लाग्दैन ।” “मैले कहिलेसम्म पर्खिनुपर्ने ?” “तिमी स्वतन्त्र भएर बाँच, पर्खाइमा अल्झउँदिन म ।” “अवन्तिका प्लिज, मलाई बुझ् ।” घरमा पुग्दा ढिलो भयो भनेर मम्मी रिसाउनुभयो । बाबाले केही भन्नुभएन ।
२९ मङ्सिर
कुनै सेमिनारमा भाग लिँदा अचानक भेट भएको थियो, अभिमन्युसँग । कसरी–कसरी नजिकियौं हामी । धेरै दिनको मोबाइल एसएमएसपछि एक दिन भेट ग¥यौं ।
“अवन्तिका, तिमी नै भन म के गरौं अब ।” “पढाइ नसकेसम्म त केही गर्न सकिन्न ।” “ठीक छ, गाह्रो भए पनि भविष्यका निम्ति धेरै कुरा सोच्नुपर्छ हामीले ।”
२ पुस
शनिबारको दिन थियो । मम्मीले परिवारै नगरकोट जाने प्रस्ताव राख्नुभयो । “तिमीले हिजै भन्नुपर्ने, आज त मेरो मिटिङ्ग छ”, बाबाले भन्नुभयो । “हिजो भन्नुभएको भए हुन्थ्यो, अब त प्रोग्राम क्यान्सिल गर्न मिल्दैन मम्मी !” मैले भनेँ । “प्लिज मम, डन्ट माइण्ड । आज त हाम्रो क्लासकै पिकनिक छ, सुन्दरीजलमा”, भाइले भन्यो । “ल ल ठीकै छ । अर्को शनिबार चाहिँ कसैले केही भन्न पाउँदैन”, ममीले चित्त बुझउनुभयो । मम्मीलाई एक्लै छाडेर हामी पालैसँग निस्कियौं । म र अभिमन्यु एउटा सल्लाको फेदमा गयौं । तर, त्यहाँ मेरो होसहवास् उड्यो । मैले यस्तो कल्पनासम्म गरेकी थिइनँ । बिहान कलेजको जरुरी मिटिङ्ग छ भन्ने मेरा बाबा एउटी महिलासँग हातमा हात राखेर घुम्दै हुनुहुन्थ्यो । अचानक मेरो निधारभरी पसिना देख्दा अभिमन्यु छक्क प¥यो । “तिमी थाकिछौ, हिँड कतै रेस्टुरेन्टमा बसौं ।” रेस्टुरेन्टमा अभिमन्युले स्प्राइट र आलुचिप्स मगायो । खान मात्र के थालेकी थिएँ, आँखा पूर्वतर्फको टेबुलमा प¥यो, जहाँ साकार एउटी केटीसँग बसेको थियो । मैले आफू अभिमन्युसँग आएको कुरा बिर्सें । सोझ्ै गएर भनेः “तेरो त सुन्दरीजलमा पिकनिक थियो होइन ?” “तिम्रो पनि कार्यक्रम अन्तै थियो हैन र दिदी ?” त्यही बेला बाबा तिनै महिलासँग रेस्टुरेन्टमा पस्नुभयो । हामी लाजले राता भयौं । बाबाले छोराछोरीको अगाडि यसरी नाङ्गेझर हुनुपर्ला भनेर सपनामा पनि सोच्नुभएको थिएन होला । उहाँ केही नबोली रेस्टुरेन्टबाट बाहिरिनुभो । ती महिला छक्क पर्दै पछि लागिन् । भाइ चुपचाप बसिरह्यो । म चेतहीन भएर घर फर्कें । “किन यति ढिलो अवन्तिका ?” “जाम थियो ।” “साकार तँ किन ढिला ?” “मोटरसाइकल पञ्चर भएर हैरान् ।” “अनि हजुर किन ढिला ?” बाबाले पुलुक्क मतिर हेर्नुभो । ढाँट्न सिपालु मेरा बाबा आज काँपिरहनुभएको थियो । “ढिलो शुरु भएको मिटिङ्ग साह्रै लम्बियो ।” “न लोग्ने, न छोराछोरी । म त एक्लै यो घरमा बस्दाबस्दा बहुलाउँछु होला”, ममीले सुस्केरा छाड्नुभयो । अपराधबोध भयो मलाई । बुबाले मेरो अनुहारमा हेर्न सक्नुभएन । भाइ नखाइकन आफ्नो कोठामा छि¥यो । बुबा भान्सा बस्नु मात्र भयो । मैले पनि खान सकिनँ । राति निन्द्रा लागेन । मम्मीको जीवनसँग टिठ लागेर आउँछ । सानैमा बिहे, बुहार्तन र छोराछोरीको हेरचाहमै उहाँका दिनहरू बिते, कहिल्यै जिन्दगी भोग्न र रमाउन पाउनुभएन । बाबाले धेरैपछि मात्र उहाँलाई काठमाडौं ल्याउनुभो, त्यो पनि छोराछोरीको पढाइका लागि । आज तिनै छोराछोरीले दिएको धोकामा विश्वास गरिरहनुभएको छ ।
७ पुस
आज कलेजमा एक्कासी ज्वरो आयो । प्रिन्सिपलसँग बिदा मागेर १२ बजे घर आएँ । मम्मी छक्क पर्नुभयो । मैले ज्वरोले गर्दा बिदा लिएर आएको भनेपछि निधार छाम्नुभयो । “किन एक्कासी ज्वरो आयो तँलाई हँ ?” “चिसोले होला मम्मी ।” “स्वेटर नलगाएपछि जाडोले खाइहाल्छ नि !” हतारहतार तातोपानी तताएर सिटामोलसँग दिनुभयो । म मम्मीको जिन्दगी केलाउन थालेँ । मेरो लोग्ने, मेरा छोराछोरी भनेर घर धान्नुहुन्छ, तर तिनैले उहाँलाई ठगिरहेका छन् । म पनि त मम्मी जस्तै एउटी नारी हुँ । भोलि ममाथि पनि यस्तो विश्वासघात आई नपर्ला र ? रातभर निन्द्रा लागेन ।
८ पुस
आज ज्वरो अलि घट्यो, कलेज गएँ । अभिमन्युले कतै घुम्न जाउँ भन्यो । कहिलेकाहीँ कलेज बङ्क गर्नु सामान्य भइसकेको छ । हामी एउटा रेस्टुरेन्टको टपमा बस्यौं । अभिमन्युले कफी मगायो । ढोकातिर आँखा लगाउँदा बाबा अस्तिकै महिलालाई डो¥याउँदै आइरहनुभएको । उहाँ एकदम तर्सिनुभो । आज मलाई कत्ति पनि डर लागेन उहाँसँग । अभिमन्युलाई केही नभनी ब्याग टिपेर अगाडि गएँ । बाबाको हात समातेर तल झरेँ । बुबाले ड्राइभ गर्न थाल्नुभो । म उहाँकै साइड सिटमा बसँे । “बाबा, जे भइराख्या छ साह्रै गलत भइराख्या छ । हजुरले नै बाटो बिराउँदा हाम्रो कस्तो गति होला ?” “म लज्जित छु छोरी । आजदेखि म यस्ताखाले सबै क्रियाकलाप बन्द गर्छु, तिमीहरूले पनि आफूलाई सुधार्नु । तिम्री आमामाथि मैले गरेको विश्वासघात अब दोहोरिने छैन ।” बाबा र म सबेरै सँगै घर आएको देखेर मम्मी दङ्ग पर्नुभो । कुन र कस्तो परिस्थितिले आज बाबुछोरी सँगै आए भनेर बिचरा मम्मीलाई के थाहा ? भाइलाई फोन गरेँ, ऊ पनि छिटै घर आयो । “के जादु भो आज, सबै जना समयमै घर आएका छन् ।” “पारु, अब हामी सधैँ सबै समयमै घर आउँछौं ।” भाइ र म राति अबेरसम्म टेलिभिजन हेरेर बस्यौं । दिउँसोको घटना सुनाउँदा ऊ गम्भीर देखियो । “दिदी, हामीले मम्मीलाई धेरै ठग्यौं ।” “भइहाल्यो छाडिदे अब सबै कुरा, अब राम्ररी पढ्न थाल्नुपर्छ ।” हाम्रो घर बल्ल घर जस्तो बनेको छ । अचेल भाइ र म कोठामा पढाइसम्बन्धी छलफल गर्छौं । बाबा र मम्मी पनि बैठकमा चिया पिउँदै कुरा गरिरहनुभएको देख्दा आनन्द लाग्छ । यो परिवर्तनको कारण मम्मीलाई थाहा नभएकै ठीक छ । उहाँ खुसी हुनुहुन्छ, त्यति भए पुुग्छ ।
•••
सपना हो कि विपना, छुट्याउन गाह्रो भो मलाई । छोरीको डायरी भेटेकै ठाउँमा राखिदिएँ । चलचित्रझ्ंै विगत आँखा अगाडि आउन थाले । यो दिनसम्म आइपुग्दा धेरै छलिएछु, ग्लानि भो । कति चोखो विश्वास गरेर बाँचेकी रहेछु आजसम्म ? धन्य, मेरी छोरी जीवनदाता बनेर उभिइछ । उसले टुक्रिन थालेको परिवारलाई आज एक बनाएकी छे । मलाई शङ्कै गर्ने ठाउँ नदिएर यत्रो खुसी ल्याई, उसले । साकार पनि अचेल बुझने भएको छ । उहाँ पनि अब ती कुराहरूबाट धेरै टाढा भइसक्नुभएको छ । उहाँलाई मनमनै क्षमा गरिदिँदा मन छ्याङ्ग भयो ।
(स्रोत : हिमाल खबर)