पुस्तक समीक्षा : ऐतिहासिकतामा आधारित कथा

~सन्त गाहा मगर~book-cover-tarani-prasad-koirala-taranaka-katha-katha

वि.सं. २००३ मा स्थापित प्रजातन्त्र रेडियोका संस्थापक तथा साहित्यकार र राजनीतिकर्मीको समेत चिनारी बनाएका तारिणीप्रसाद कोइरालाका कथाहरूको संग्रह हो, तारिणीका कथा। यसमा १९९६ देखि २०२९ बीचमा शारदा, झंकार, रूपरेखा, बिहान, प्रगति, रहर, मुकुट, मधुपर्क मा प्रकाशित तथा केही अप्रकाशित कथाहरू संग्रहित छन्। अपवादका रूपमा यसमा ‘कथा विमर्श’ जस्तो उनको गैरआख्यानिक रचना पनि समावेश छ।

कोइरालाको निधन भएको झण्डै चार दशकपछि ओरिएन्टल प्रकाशन गृहले पाठकमाझ्ा ल्याएका कथाहरू अहिले पनि सान्दर्भिक लाग्छन्। ‘आमाको हृदय’ कथामा एउटी विवश आमाको ममता र सन्ततिको सुरक्षित भविष्यका लागि उनले गरेको त्यागबीचको द्वन्द्वात्मक मनोविज्ञान केलाइएको छ। ‘नाङ्गो खुकुरी’ कथाले भूपि शेरचनको ‘हल्लै हल्लाको देश’ कविता सम्झाउँछ। जसमा नाङ्गो खुकुरी लिएको व्यक्तिबारे अरूले गरेको अनुमानले निम्त्याएको सकसलाई प्रस्तुत गरिएको छ।

थोरै पात्र र छोटो लेखाइ कोइरालाका विशेषता लाग्छन्। साना–साना विषय र घटनालाई कथा बनाएर मानव जीवनको महत्वपूर्ण पक्षहरू उजागर गर्न सक्नु उनको थप योग्यता देखिन्छ। मान्छेको क्रोध र अहंकार देखाउन उनले ‘झुल’ मा एउटा बाबरलेटको झुललाई अघि सारेका छन्। रङ्गेली कारागारलाई परिवेश बनाइएको ‘मृत्यु क्रीडाको रोमान्स’ मा २००७ सालको क्रान्तिलाई विषय बनाइएको छ। यसमा जहाँनियाँ राणाशासनको बेला गिरिजाप्रसाद कोइराला जेलबाट रोमाञ्चक तरिकाले फरार भएको प्रसङ्ग पनि छ।

‘पशुपति बाजेकी स्वास्नी’ मा आशंका, ‘शराबीको हिम्मत’मा यौनकुण्ठा तथा ‘बासनाको मुहान’मा वास्तविक प्रेम र यौन चाहनाबीचको अन्तरलाई केलाइएको छ। तारिणीका कथा मा ऐतिहासिकता पक्कै पढ्न पाइन्छ, तर कथाका रूपमा भने पाठकलाई उत्कृष्ट नलाग्न सक्छ। कैयौं कथा दोहोर्‍याउँदा पनि अर्थ नबुझिने हुँदा सम्पादन नभए जस्तो देखिन्छ।

कथाकार लामो समय प्रवासमा बसेकाले हुनसक्छ, हिन्दी भाषाको प्रभाव देखिन्छ। धेरै कमजोरी रहे पनि ऐतिहासिक विषयमा छरितो लेखाइले भने पुस्तकलाई पढ्न लायक बनाएकै छ।

तारिणीका कथा
लेखकः तारिणीप्रसाद कोइराला
प्रकाशकः ओरिएन्टल प्रकाशन गृह
मूल्यः रु.३००,
पृष्ठः २२४+४६

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.