~चंकी श्रेष्ठ ‘अभय’~
आमाको औंला समाएर
सैसैला खेल्दै गर्दा
म थिएँ कर्कलाको पातमा जमेको शीतजस्तै ।
जबसम्म आमा हुनुहुन्थ्यो
मेरो अगिपछि
क्रूरताहरू निषेधित थिए
तिनका विरूद्ध गर्नुभएको थियो आमाले प्रतिकार ।
त्यो दिन
काँगियो फूलको बोटमुनि
संसारलाई घेरो लगाएर
शान्त, निर्लिप्त र चुपचाप उभिनुभएको थियो आमा
मलाई हेर्दै
बलिन्द्र धारा आँसु बहाएर ।
एक जुग बित्यो
त्यसपछि फर्कनु भएन आमा
कुनै अस्पतालबाट
कुनै धारा, पँधेरा र खोलाबाट
पत्करको भारी बोकेर कुनै जंगलबाट
अथवा तिलौरा र पुष्टकारी लिएर बजारबाट
फेरि कहिल्यै ।
कृष्णपक्षको जूनजस्तै
जब गायब हुनुभयो आमा
काँगियो फूलको बोटमुनिको
मेरो साँगुरो संसारबाट एक्कासि
संसार क्रूरतापूर्वक ठिङ्ग उभियो मसामु
आँसु, रगत र अत्याचारले झुसी भएर ।
आज तीस वर्षपछि पनि
मसामु उभिएको छ क्रूरता
अनेक रूप धारण गरेर
कहिले त्यो मुनाफाखोर साहूजी भएर आउँछ
कहिले त्यो मान्छे किनबेच गर्ने बीचौलिया भएर आउँछ
कहिले सपना बिथोल्ने सर्प भएर फुँकार गर्छ ।
तिनको प्रतिकार गर्न
अब हुनुहुन्न आमा मसँग
म छु बगरको एकलास कुलोजस्तै
तर मसँग छ हरियो दुबोज‚तो मायालु सम्झना
बगेर कहिल्यै नसकिने नदीज‚तो साहस
इमान नगुमाएका गरिब किसान, मजदुर
अनि नजिकिँदै गरेका हरियाली खेतज‚तो सत्यको साथ ।
मैले लड्नु छ
हो, मैले लड्नु छ
संसारका सारा क्रूरताविरूद्ध
किनभने मैले मेरी आमाबाटै पाएको छु
त्यो उत्तरदान ।
(स्रोत : मधुपर्क २०७० मंसीर)