~अरुणबहादुर खत्री “नदी”~
दीपेन्द्र र उसकी पत्नी उमा दुवै जागिरे हुन् । दीपेन्द्रको भाइ प्रकाशचाहिँ बेरोजगार थियो । दीपेन्द्रले प्रकाशलाई स्नातक तहको अध्ययन पूरा गरेपछि भन्यो – “अब तैले पनि जागिर खोज्नु पर्यो, त्यत्तिकै घरमा बसेर केही फाइदा छैन ।”
“हुन्छ दाइ अब म कस्सिएर पढेर लोकसेवाको परीक्षा दिन्छु र नाम निकाल्छु” प्रकाशले भन्यो ।
प्रकाशले कस्सिएर पढ्न थाल्यो र गोरखापत्रमा लोकसेवाको विज्ञापन हेर्न थाल्यो र दरखास्त दियो । परीक्षा पनि दियो तर उसको नाम निस्कन सकेन ।
उसको नाम ननिस्केपछि भाउजूले आफ्ना पतिसँग भनिन् “हजुरको भाइलाई हामीले सधैं पाल्न त सक्दैनौ नि, हजुरको भाइले लोकसेवामा नाम निकाल्न सक्नु भएन त्यसैले यो घरबाट निकालिदिनु कि अंश छुट्याइदिनु यसमा हजुरको के बिचार छ ?”
“उसले जागिर खान नसकेपछि हामीले सधैं पाल्न त सक्दैनौ नि । तिमीले भनेको कुरामा म सहमत छु” दीपेन्द्रले भन्यो ।
दाजुभाउजूले घरबाट निकालेपछि प्रकाश मामाघरमा गएर बस्यो र मामाले उसलाई राम्रै जागिर खुवाइदिनु भयो । उसले जागिर खाएपछि प्रगति हुंदै गयो र मामाघरमा बसेको वर्षदिन बितेपछि जागिर खाएर ठिक समयमा घर फर्किन छाड्यो र साथीभाइसँग रमाइलो गर्न रेष्टुरेन्टमा गएर बियर खान थाल्यो ।
बियर खान थालेको थाहा पाउनेबित्तिकै मामामाइजूले सम्झाएर भन्न थाले “भाञ्जाबाबु बियर खानु ठिक होइन, अब खान छाड्नु होला ।”
प्रकाशले भन्यो “आफ्नै कमाइले पनि बियर खाएर रमाइलो गर्न नपाउने ? बियर खान नपाए म यो घर छाडेर अन्तै जान्छु डेरा लिएर बस्छु र भविष्यमा राम्ररी कमाएर घर बनाउछु ।” त्यसपछि ऊ मामाको घर छाडेर अन्तै डेरा लिएर बस्न थाल्यो । बियर खाने बानी छुटाउन नसकेर घरभांडा तिर्न उसलाई साह्रै कठिन पर्यो । त्यसपछि उसलाई घरधनीले निकालिदिए ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)