~सुन्दर मानन्धर~
सूत्रधार : पाठकवृन्द ! तपाईँहरुले गुरुप्रसाद मैनालीको शहीद कथा पढ्नुभएको छ ? यदि पढ्नुभएको छ भने कथाकी पात्र डल्लीलाई बिर्सनुभयो ? वीरबहादुरको मृत्युपछि डल्लीको जीवनको कल्पना गर्नुभएको छ ? विचरी डल्ली ! कसरी बाचीँ होली ? विधवा डल्ली अझैँ जीवितै होलिन् ?
हो पाठकवृन्द ! मैले अस्तिमात्र ती विधवा डल्लीलाई भेटेँ, त्यो पनि विशेष अवसरमा । त्यसपछि म लगातार ती वृद्धा डल्लीलाई पछ्याइरहेँ, शुरुमा उनी केही बोल्नै मानिनन् । जब मैले म पत्रकार भएको र मानिसहरु डल्लीका बारेमा धेरै कुराहरु जान्न इच्छूक रहेको कुरा गरेँ, त्यसपछि उनी अन्तर्वार्ताका लागि तयार भइन् । प्रस्तुत छ— शहीद पत्नी डल्लीको अन्तर्वार्ताको कथात्मक प्रस्तुति—
उपकथा
हातमा प्लेकार्ड बोकेका विद्यार्थीहरुको जुलुस नारा लगाउदै गरेको सुनियो । जुलुस बजार बीचको बाटो हुँदै सहिदचोकमा पुग्यो र एकपल्ट जोडसँग नारा लगाए— “हत्यारो कथालाई फाँसी दे ।”
विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरेर आएका, रङरङका पोसाकमा सजिएका विद्यार्थीहरुको यस्तो अनौठो नारा सुन्दा बजारका मानिसहरु अलमल्ल परे । चारपाँच जनाको समूहमा रहेका निशानलाई अनौठो लागेर होला, ऊ विद्यार्थीहरु भएको ठाउँ नजिक पुग्यो र सुन्यो— “हत्यारो कथालाई फाँसी दे ।”
निशान फरक्क फर्केर त्यही समूहमा मिसियो र भन्न थाल्यो— “होइन ए साथीहरु ! यी विद्यार्थीहरुले के भन्न खोजेका हुन् ? तिमीहरुले केही बुझेका छौँ ?”
विद्यार्थीहरुको जुलुस सुन्दै गरेको दृष्यले झस्केर भन्यो– “शायद यिनीहरुले केही बुझेका छन्, हामी विवेकले अन्धा छौँ, यिनीहरु केही नयाँ कुरा भन्न खोजिरहेका छन् ।”
दृष्यको कुरा सुनिसकेपछि सबै मौन रहे, उनीहरु सबैले विद्यार्थीहरुको जुलुस र नारा हेरिरहे–सुनिरहे ।
जुलुसको बीचमा एकजना विधवा पहिरनमा वृद्धा देखिइन् ।
विद्यार्थीहरुको अप्रत्यासित जुलुस देखेर आफ्ना अभिभावक, अन्य मानिसहरु सहिदचोकमा झुम्मिए । बिस्तारै बिस्तारै त्यहाँ मानिसहरुको भीड बढ्न थाल्यो ।
विद्यार्थीहरुले केही कुर्सीहरु बोकेर ल्याए, आपूmहरु मध्येकै एक जनालाई सभापति, विधवा वृद्धालाई प्रमुख अतिथि र अन्य केही मञ्चमा देखिए । अन्य विद्यार्थीहरु मञ्चका आमुख पङ्क्तिबद्ध भइ बसे ।
यतिबेलासम्म परबाट नियालिरहेका दृष्य र उनका साथीहरु विद्यार्थीहरुको पङ्क्तिबद्ध लहरको पछाडिपट्टि उभिन पुगिसकेका थिए । दृष्यलाई यी सारा दृष्यहरु अनौठो लागिरहेको थियो, उनले सोच्नै सकेका थिएनन्– यो के भइरहेको छ ?
उद्घोषकले आफनो नाम प्रकाश भएको ध्वनि उद्घोष गर्यो । सम्बोधनकै क्रममा विधवा वृद्धाको नाम डल्ली पुकार्यो ।
एकजना विद्यार्थीले श्यामश्वेत रङको, करीब एकफुट लम्बाइ चौडाइ भएको फ्रेमभित्र धमिलो देखिने तस्वीर मञ्चको अगाडि कुर्सीमा थपक्क राख्यो ।
टाढाबाट पनि तस्वीरको आकृति केही हल्का देखियो, दृष्य त्यो तस्वीर कसको रहेछ भनेर अझ नजिक गयो ।
दृष्यले तस्वीर हेर्यो, हेरिरह्यो– कति कति चिन्ने प्रयासहरु गर्यो, व्यर्थ भयो, उसको मन मथिङ्गल रिङन थाल्यो । वास्तवमा उसले त्यस्तो अनुहार भएको मान्छे कहिल्यै देखेको रहेनछ ।
ऊ पुनः फक्र्यो र साथीहरुकै हुलमा मिसिन पुग्यो ।
त्यतिञ्जेलसम्म मञ्चमा आसन ग्रहणको कार्यक्रम सकिसकेको थियो ।
उद्घोष् गर्यो– “अब हामी कार्यक्रमको आरम्भमा वि.स.२००७ सालको क्रान्तिमा शहादत प्राप्त गर्नुभएका हाम्रा वीर अमर शहीद वीरबहादुर को तस्वीरमा माल्यार्पण गर्दै छौँ । इतिहासले वहाँलाई हेला गरेको छ, वहाँको परिवारलाई विचल्लीमा पारेको छ, इतिहासको गर्भमा लुकाइएर राखिएको शहीद हुनुहुन्छ वहाँ । आफ्नो रगत नेपाल आमाको माटोमा चढाउने क्रान्ति सपूत हुनुन्थ्यो वहाँ । यो ६१ वर्षको अवधिसम्म हराइरहनु भएको वहाँलाई आज हामी शहीद को पङ्क्तिमा लामबद्ध गर्दैछौँ । हामीले इतिहासको गर्भमा सुरक्षित यस्ता महान् शहीद हरुको खोजी कार्यलाई निरन्तरता दिनेछौँ ।
थाहा लाग्यो– तस्वीर वीरबहादुर को रहेछ, डल्ली उसकी श्रीमती रहिछिन् ।
मानिसहरु आउने क्रम बढ्दै गयो । दृष्यले यी सारा दृष्यहरु ध्यान दिएर हेरिरहेको–सुनिरहेको थियो ।
उद्घोषकले डल्लीलाई माइक हस्तान्तरण गर्यो र आफ्नो अतीत व्यक्त गर्न कृपापूर्वक अनुरोध गर्यो ।
कथा
मेरो गाउँ पश्चिम नेपालको अति दुर्गम ठाउँमा पर्छ । यहाँहरु सबैले देखिरहनु भएकै छ– म एक विधवा वृद्धा । अहिले म असी वर्ष पार गरिसकेँ । अब म यहाँहरुलाई म कसरी विधवा बने ? जानकारी गराउन चाहन्छु–
यहाँहरुले शहीद कथा पक्कै पनि पढिसक्नुभएको छ होला अवश्य ! त्यो मेरो वास्तविक कथा हो । आफ्नो कथा पनि अरुहरुले कसरी थाहै नपाई लेख्दा रहेछन् , मेरा खसम वीरबहादुर त्यो कथामा कसरी लेखिएको रहेछ ! –यो कुरा भने मैले म विधवा भएको करिब अठार (१८) वर्षपछि थाहा पाएँ ।
मैले कसरी थाहा पाएँ त यी कुराहरु ! यसको बारेमा अब म प्रष्ट पार्नेछु– वर्षायामको समय थियो, मेरा खेतबारी केही थिएनन् । विवाह गर्दा लागेको रिन र पुरानो रिन तिर्न नसकेपछि मेरा खसम परदेशिएका थिए । लामो समयसम्म पनि खसम नफर्केपछि साहुले भएका सम्पूर्ण खेतबारी हडप्यो, मेरो भन्नु घर मात्र थियो । त्यसपछि मैले अरुको निमेकको भरमा जीउ पाल्न थालेँ, मेरा खसम आउलान्, मेरा मनका सारा वेदनाका पोकाहरु बिसाउँला भनेको तर ऊ आउँदै आएन, मैले कति कुरेंँ …….कति…….! तर ऊ आउदैँ आएन, म ऊ आउने आशै–आशको त्यान्द्रोमा झुण्डिइरहेँ । ऊ नआउँदा म कति रोएँ–रोएँ, मेरा आँसु सबै–सबै निथ्रिसक्दा पनि म मेरा खसमका निम्ति रोएँ । कहिलेकाहीँ त लाग्थ्यो– मलाई बिर्सेर, मलाई माया नगर्नेलाई मैले पो किन सम्झनु परेको छ र ! तर मनले मान्दैनथ्यो, झन बढी उसको मायाले तानेर ल्याउँथ्यो । मेरा कति कति रातहरु अनिदोमा जून र ताराहरु हेरेर बिते, कति कति दिनहरु भोक–प्यासमा डुबे, म मेरा खसमको मायामा बाँचेको मान्छे, ऊ फर्केन, म प्रतिक्षामा बसिरहेँ बर्षौँसम्म पनि ।
म फेरि जोड्छु– अठार वर्षपछि वर्षायामको समय; मेरो भन्नु गाउँमा एउटा सानो झुपडीघर थियो । त्यो दिन आकासलाई डम्म बादलले ढाकेको थियो, तल–तल देखिने साना–तिना खोलाहरु पानीले सेताम्ये थिए । अहिले सम्झेँ– असार महिनाको आधाआधी हुँदो हो, म घरकै पिंढीमा बसेर जाँतोमा कोदो पिन्दै थिएँ, मनले के–के सोच्दै थिएँ, जाँतोको हुइँकाइसँगै मन कता–कता उचालिरहेको थियो ।
मेरो खसम आउने आशा अभैm मरेको थिएन । ऊ कुनै दिन मेरो रित्तिसकेको त्यो झुपडीमा अपार खुशीहरु बोकेर झुल्किने छ, मेरो सिउँदोको सिन्दुरमा नयाँ लाली थपिने छ, मेरा छोराको मृत्युले आघात पारेको मेरो हृदयलाई उसले मलमपट्टी लगाइदिएर शीतल पारिदिनेछ, योे झुपडी करोडौँको महलजस्तो लाग्नेछ– म कति यस्तै–यस्तै सपना र कल्पनाहरु सजाएर द्रवीभूत बन्थे !
कल्पनामा रमाउँदै, सपनाहरु सजाउँदै सजाउँदै बाँच्नुको आनन्द पाएको थिएँ मैले । मेरा मनभरि मेरा खसम वीर बहादुर हाँसिरहेको हुन्थ्यो, मेरा सपनाका बगैँचाभरि वीर बहादुरका मायालु हातहरु सलबलाइरहेका हुन्थे, मेरा खसम हरपलहरु मसँगै बोलिरहेका हुन्थे । मलाई कति मान्छेहरु पोइला जाने सल्लाह दिन्थे र फकाउँथे पनि । यहाँसम्म की मेरा आमाबुबा पनि अर्को विवाह गर्नका लागि सल्लाह दिन्थे, कहिले कर पनि गर्थे । तर मेरा इच्छाहरु–सपनाहरु वीरबहादुरप्रति समर्पित थिए– समर्पणले मानिसलाई आफूजस्तो होइन, अर्कैजस्तो बनाउँदो रहेछ ।
मनभरि मेरा खसम आउने आशाको दियो जलाएर मैले पर्खिबसेँ । अठार–अठार वर्षसम्म पनि हिजोकै स्थितिमा बाँचिरहेकी थिएँ– प्रेमले, श्रद्धाले, आस्थाले, जीवनले ।
म जाँतो पिन्दै थिएँ, पल्लो घरको सानुबाबु पनि पिंढीमा बसेर रामायण वाचन गर्दै हुनुहुन्थ्यो, उहाँको उमेर बाहृ–तेहृ वर्षको हुँदो हो, जाँतोबाट निस्केको घुनुनुनु….आवाजसँगै सानोबाबुले रामायण वाचेको सुन्थेँ । एकैछिन जाँतो बिसाएँ ।
सानोबाबुले रामायण वाचेको सुनिरहेँ–
“भोकी मैली निदाउरी न त कपाल कोरेकी सब केश उसै लट्टा मात्र परेकि खाली भूमिमा रुँदै बस्याकी यसै ।”
सीताले दुःख पाएकी रहिछिन् । राम कहाँ ! सीता कहाँ ! सानोबाबुले भाका हालेरै वाच्न जान्नुभएको रहेछ । सीताको पीडा सम्झँदा एक्कासि मैले मेरा खसमलाई सम्झन पुगेँ, म पनि त सीता जस्तै असहाय थिएँ, मन सम्हाल्नै सकिनँ, रोएँ, खुब रोएँ मेरा खसमलाई सम्झेर । म रोएको देखेर सानोबाबुले सोधे–
‘डल्ली भाउजू, किन रुनुभएको ?’
‘रामायण वाचेको सुनेर ।’
‘किताब पढ्दा पनि मान्छे रुन्छन् त ?’
‘त्यस्ती दुःख पाएकी सीतालाई सम्झेर नि ।’– मैले आँखाको डीलबाट एकोहोरो खसिरहेका आँसुका दानाहरु पुछ्दै भनेकी थिएँ ।
“यो त किताब पो हो । उसोभए म तपाईँलार्इँ अर्कै कथा सुनाउछु है, बुबाले हिजोमात्र बनारस तीर्थ जाँदा किनेर ल्याइदिनुभएको ।” सानोबाबुले ठीक्कको मोटो किताब देखाउदै मलाई भन्नुभएको थियो । मेरा लागि भने किताबका अक्षरहरु काला अक्षर भैँसी बराबर थिए ।
सानोबाबुले भनेको सम्झन्छु– “यो किताब लेख्ने मान्छे गुरुप्रसाद मैनाली रहेछ, यो किताबको नाम नासो हो । मैले यसमा भएका एघार ओटै कथाहरु तपाईलाई सुनाउछु है डल्ली भाउजू ? तर दिनको एक–एक ओटा गरेर ।”
सानोबाबुले शुरुको कथा पढ्न थाल्नुभो– नासो
आज आठौँ दिन, पालो पर्यो– शहीद
सानोबाबुले पढेको सुनिरहेको थिएँ –
‘बाबु !’
‘ओ देवता बाबु ।’
‘सुन्नुभएन ?’
कथा सुनिरहेकै थिएँ । सानोबाबुले अगाडि कथा पढ्दै जानुभो– “लौ अब मेरी डल्लीलाई खत कसले लेखिदिन्छ ।”
‘डल्ली’ नाम पढ्नासाथ सानोबाबुले हाँस्दै भन्नुभो– “यो कथामा त डल्ली भाउजूकी मितिनी पो रहिछे ।”
कस्तो अचम्म ! मेरै नाम भएको पनि कथा हुँदोरहेछ ।
सानोबाबुलाई सोधेँ– “यो ‘खत’ भनेको चाँहि के हो नि ?”
सानोबाबुले उत्तर दिनुभो– “खत भनेको चिठी हो क्या भाउजू ! मलाई बुबाले भन्नुभएको ।”
सानोबाबुले पढेको सुनिरहेँ– “रामकी आमालाई…मेरी स्वास्नी क्या ।”
यो सुनेर मन झनै झसङ्ग भो, म आश्चर्यमा परेँ । डल्ली पनि रामकी आमा पनि– यी दुवै नाम मसँग सम्बन्धित थिए । राम मेरो छोरो थियो । त्यो बेला मलाई मेरो मुटुको टुक्रा रामको कति कति यादले सतायो, म वास्तवमै रामकी आमा थिएँ ।
सानोबाबुले पढ्दै जानुभो, म सुनिरहेँ । बुझे–नबुझे जस्तै भयो एक ठाउँमा । दोहोर्याउन लगाएँ– “बिलकुल पक्का साहेब, वीरबहादुर कसैलाई धोका दिन जान्दैन ।”
सानोबाबुले पढ्नुभएको त्यस कथामा म, राम र मेरा खसम वीरबहादुर नाम भएको शब्दको उच्चारणले मलाई भित्रैदेखि अनौठो लागेर आयो । मलाई लाग्यो– “किताब अनि कथाभित्र पनि एउटा छुट्टै सानो दुनियाँ हुँदोरहेछ, त्यहाँभित्र हामी पनि सहजताका साथ अटाउन सक्दा रहेछाँै । मेरा स्वर्गवासी छोरा राम, मेरा खसम वीरबहादुर र म स्वयम् त्यो कथाभित्र पाउँदा मलाई हामी तीन जना सँगै छौँ जस्तै लाग्यो, अठार वर्षपछिको त्यो दिन म कस्ती ! कस्ती ! भएकी थिएँ जुन कुराको अनुभव कसरी व्यक्त गर्न सकूँली र ! म पनि कथासँगै बगिरहेकी थिएँ सलल………… ।”
सानोबाबुले कथाभित्रको चिठी पढ्नुभो– “दरवानीमा लाउन खान मात्र ठीक हुने, एक पैसा नजोगिने हुनाले आजकाल रिक्सा चलाउने काम गरिरहेको छु, साहृै कडा मिहिनेत गर्नुपर्छ । खानेसुत्ने फुर्सद रहदैन । अहिलेसम्म चारसय जम्मा पारिसकेँ, अब दशैँसम्ममा छ–सातसय पुर्याउँछु र दशैँमा घर आउनेछु । अब त राम ठूलो भइसक्यो होला । चक्चक् गरेर तिमीलाई हैरान पार्दाे हो । सडकमा सानासाना केटाकेटी खेलेको देख्दा मलाई रामको झझल्को लाग्छ । यति टाढा परदेशमा खालि तिमीहरुको मायाले बाँचिरहेको छु ।”
चिठी पढेको सुनिसकेपछि मेरो मनभित्रबाट आँसुको भेल उर्लेर आयो । मनमा कता–कताबाट एक्कासि खसमले पठाएको पत्रको याद आयो । तुरुन्तै घरमा पुगेँ म– सानोबाबुलाई एकछिन पढ्न रोकेर । दलिनमा सिउरेर राखेको वर्षौ पुरानो ध्वाँसै ध्वाँसो भएको चिठीको मूठो टक्टक्याउदै बाबुकहाँ पुगेँ–
“सानोबाबु यी चिठीहरु हेर्नोस् त ।”
एक एक गरी सानोबाबुले चिठी हेर्दै छुट्याउदै जानुभो, गन्नुभो– जम्मा पन्ध्र ओटा रहेछन् ।
मैले भनेँ– “बाबु ! अघि तपार्इँले पढ्नुभएको जस्तै ढाँचाको चिठी पनि यहाँ छ, ध्यान दिएर खोज्नोस् त ।”
सानोबाबुले पन्ध्रवटै चिठीहरु ओल्टाइपल्टाइ हेर्नुभो, कुनै–कुनै पढ्नुभो पनि, ती चिठीहरुमध्येबाट एउटा निकाल्दै भन्नुभो– “भाउजू, यो चिठीमा लेखिएको कुरा र यो किताबमा लेखिएको कुरा त एउटै पो छ त, कस्तो अचम्मलाग्दो कुरा ! यस्तो पनि हुन्छ र ! म त छक्क परेँ ।”
“म झन् कस्ती भएकी छु ! कसरी यस्तो हुन्छ ? कहाँको यो किताब, कहाँको यो चिठी– तर कुरा एउटै । फेरि चिठीको कुरा– चिठी भन्ने जात त अरुलाई नसोधिकन नपढ्नू भन्छन्, पाप लाग्छ भन्छन् तर यो किताबमा कसरी मेरा खसमले पठाएको जस्तै हुन पुग्यो त ? फेरि चिठी पनि मसँगै छ ।”
मलाई दिग्भ्रमित पारेको थियो किताबको चिठीले । मलाई लाग्यो– “यो कथा शहीद मेरै कथा हो, मेरा खसमको कथा ! चिठी एउटै भएपछि म कसरी होइन भन्न सक्थेँ र !”
मैले सानोबाबुलाई किताबको कथा पढ्न भनेँ, सानोबाबुले कथा पढ्न थाल्नुभो–
“……………डल्लीलाई बिहे गर्दा एकसय लिएको थिएँ, त्यसैलाई दोब्र्याइ तेब्र्याइ पाँचसय पारेर खेत खाइरहेको छ, खेत कस्तो छ नि जान्नुभो ? तीन बाली लाग्छ, बीस मुरी मसिनो धान फल्छ । गाँउभरिको मुटु खेत हो हजुर, बाजेले किनेको ।”
कथा सुन्दै गएँ– खसमले मेरो कुरा त्यो मान्छेसँग किन गरेको होला जस्तै लाग्यो । मैले मेरै घरको पिंढीमा मेरा खसम त त्यो चिठी लेखिदिने मान्छेसँग गफ गरिरहेको देखेँ, म सिकुवामा बसेर उनीहरुको गफ सुनिरहेकी छु जस्तै लाग्यो ।
सानोबाबुले अगाडि पढ्नुभो– “आज चोरले मेरो ट्रंक फोरेर सबै रुपियाँ चोरेछ ।”
यो सुन्दा मेरो मनै चसक्क चस्केर आयो । मेरा खसमको रुपियाँ चोर्ने त्यो धनेको नाम सुन्नासाथ मेरो मनभित्र नजानिदो ढङ्गले आक्रोशका छालहरु बढेर आयो ।
“स्टिशननेरको चिया बेच्ने साहिली छ नि, हो त्यही रण्डीलाई दिन्छ र रक्सी धोकेर आधा दिनसम्म सुतिरहन्छ । …….राँड गाजल लगाएर पान चपाएर बसिरहन्छे । अस्ति भन्थी –वीरबहादुर दाई, तपाई त कहिल्यै पनि आउनुहुन्न, हामीसँग रिसाउनुभएको छ क्यारे ?”
यो सुन्दा मेरो हंसले ठाउँ छोडेको जस्तै भयो, शरीर सिरिङ्गै भयो । कतै मेरा खसम त्यो राँडीसँग त भूलिरहेको छैन ! घर छोडेर हिडेको लोग्नेमान्छेको के भरोसा ? यस्तो नहोला कसरी भन्न सकिन्छ ? यदि यस्तै हो भने त म कसरी सहन सक्छु ! म भने रात दिन उसकै निम्ति आँसु बगाएर तड्पिरहने, ऊ भने उता मुग्लानमा मोजमस्त ी गर्ने । ……. धत् मैल यो के सोचेँ !
“कहिलेकाँही तिमी पनि गस्ती लगाउँछौ कि कसो हो ?”
“रामराम ! जे कसम खुवाउनुहोस् न, घरमा भगवतीजस्ती स्वास्नी छ हजुर ! छोरो पाएकी । वीरबहादुर त्यस्तो नालायक काम कहिल्यै गर्दैन ।”
मेरा खसम ! तिमीलाई मैले कति छिटो अविश्वास गरेँ । तिमी त मेरा लागि भगवान् हौ । मेरो यो कालो मनलाई माफ गरिदेऊ ।
+ + + + +
सानोबाबु कथा पढ्नुहुन्थ्यो, म सुन्थेँ । पढिरहेको कथा नसुनेर मेरो मन वीरबहादुरको मुग्लान पुुग्थ्यो, उसलाई पाउँदा म कति कति हर्षले रमाइरहेको हुन्थेँ, खुशी भरिन्थ्यो छातीभरि, मायाले भिज्थ्यो मन । म पनि ऊसँग बेरामी लाई खाना खुवाउन पुगेको हुन्थेँ ।
मेरा खसम ! तिमी त साच्चिकै मुग्लानमा ठूलो मान्छे भएका रहेछौ । सारा पुलिसलाई चिनेका रहेछौ, मानिसहरुलाई आपत्विपद्मा सहयोग गर्ने बनेका रहेछौ । हुन त तिमी पल्टन खाएर फर्केको मान्छे, तिमीले नजानेको पो के नै छ र ! तिमीले दोस्रो विश्वयुद्घमा बर्मामा लडेका घटना सुनाउँदा म आफै अटालिन्छु, तिमीले पाएको हण्डरको वर्णन अझै मेरो मस्तिष्कमा ज्यूँका त्यूँ छ । बर्माका जङ्गलहरुमा जापानीहरुसँग भएको घम्साघम्सी तिमीले कस्तरी जोसिएर बयान गथ्र्यौ, मैले भो नसुनाऊ भन्दा पनि अझ सुनाउँछु भन्दै अघि सथ्र्यौ । तिमी जस्तो लोग्ने पाएर म आफूलाई कति भाग्यमानी सम्झेकी छु, तिमी टाढा भएकालाई के थाहा (?) मभित्रको कुरा !
मेरा खसम मसँग छैनन्, म किन यस्तो कल्पनामा डुबिरहेकी छु ! मैले त कथा पो सुनिरहेकी छु । म यसरी कल्पनामा हराउँनु हुन्न – यसरी म कल्पनामा एकातिर लीन भइरहेकी हुन्थेँ भने अर्कातिर सानोबाबु एकोहोरो कथा पढिरहनुहुन्थ्यो ा
+ + + +
“ए सानोबाबु ! फेरि पढ्नोस् त, मैले अर्कैतिर पो सोचिरहेकी रहिछु । नरिसाइकन फेरि पढ्नोस् त बाबु !” मैले दोहोर्याएर पढ्न अनुरोध गरेकी थिएँ ।
सानोबाबुले कथा पढ्नुभो– “……….के भन्नु बाबु ! मेरो राम खसेछ । मेरो राजालाई दैवले चुँडेर लग्यो ! मेरो राम रहीशको छोरोजस्तो राम्रो थियो । गोरो, कल्कलाउँदो, यति अग्लो निधार भएको, बाँचिरहेको भए ठूलो मानिस हुने थियो ।”
ए मेरा खसम ! तिमीले छोरो मरेको खबर सुन्दा कस्तो भयौ होला ! यता मेरो हृदयमा मेरो राम अझै सुरक्षित छ, मेरो काखमा अझ पनि खेलिरहेको जस्तो लाग्छ । म कसरी बिर्सन सक्छु मेरो कोखको घाउलाई ! यतिबेलासम्म पनि मेरो मन अझ उस्तै छ ।
२००७ सालको आन्दोलनबारे मैले धेरथोर सुनेकै थिएँ । धेरै मानिसहरु मरेको, राणाहरुले शासन गर्न छाडेको, राजा त्रिभुवन सत्तामा आएको,…….।
“…… नेपालमा भित्रभित्रै सल्किरहेको क्रान्तिको आगो एकैपटक दन्कियो । कार्तिक २६ गते हिन्द सरकारको संरक्षणमा विमानद्वारा राजा त्रिभुवन दिल्लीतर्पm प्रस्थान गर्नुभो त्यसैदिन रातको ३ बजे नेपाली काङ्ग्रेसले पूर्वमा मानेभञ्ज्याङदेखि लिएर पश्चिम महाकालीसम्म नेपालका सामन्ती सरकारका विरुद्घ गृहयुद्घको घोषणा गर्यो …….।”
यी कुराहरु पढेको सुन्दा मलाई के भनेको होला जस्तै लाग्थ्यो, राजनीति नबुझेकी म जस्तीलाई यस्ता कुराले के नै पो प्रभाव पार्न सक्थ्यो र ! त्यसकारण सानोबाबुले पढ्दा सुनेकी मात्र, बुझेकी थिइनँ ।
यति पढिसकेपछि सानोबाबुले भन्नुभो– “भाउजू ! भोलि म मामाघर जाने हो, त्यसकारण बाँकी कथा फर्केपछि पढ्नेछु । अब त निद्रा पनि लाग्न थाल्यो । भालि त मामाघरमा कम रमाइलो हुँदैन, खेतमा बेथी लगाएर रोपाइँ गर्दा क्या मज्जा आउँछ– असारे पन्ध्र ।”
“हुन्छ सानोबाबु !” मैले कर गरेर बाँकी कथा पढ्नोस् भन्न सकिनँ ।
+ + + + +
घरमा गएँ, मन अत्यन्त गहृुङ्गो भएर आयो । वर्षाैँदेखि खाटा परेर बसेको घाउलाई नङले कोट्याएर रक्ताम्ये बनाए भैmँ भयो । खसम अनि छोराको यादले सताइरह्यो । मेरा खसम वीरबहादुर कहाँ के गर्दै होला यतिबेला (?) जस्तो लाग्यो, मन सम्हाल्नै सकिनँ ।
सानोबाबुलाई पुनः कथा पढ्न पठाउन मन लाग्यो, बाहिर आँगनमा निस्केँ, त्यतिञ्जेलसम्ममा सानोबाबुको घरको बत्ती निभिसकेको थियो ।
असार महिना भएपनि पानी परेको थिएन त्यो दिन, आकासमा कताकति बादलका टुक्राटाक्रीहरु छरिएका देखिन्थे, त्यस्तो अवस्थामा मेरो मन पारि–पारिका काला–काला डाँडाहरुमा पुग्दै खसमको यादमा झल्याँस्स बिउँतदै–फर्कदै गथ्र्यो ।
कालो रातमुनि सिकुवामा बसेँ, एक्लै–एक्लै रोइरहेँ, जीवनभरि एक्लै बस्ने–बाँच्ने भाग्य लिएर आएकी रहिछु; आँसुसँगै भाग्य साटेर जिउने जीवन पाएकी रहिछु– जस्तै लाग्यो ।
सोचेँ– के त्यो सुनेको कथा हाम्रै जीवनको कथा हो (?) यस्तो– त्यस्तो पनि हुन्छ र ! तर मेरो जीवनजस्तै छ त्यो कथा । मेरा खसम वीरबहादुर पढ्यो उसले, मेरो मुटुको टुक्रा राम पढ्यो उसले, म आपैm डल्ली पढ्यो उसले– अनि कसरी नपत्याउ म ! चिठी पनि उस्तै छ त ।
त्यो दिन असारे पन्ध्र भएपनि म मेलामा नगइ घरमै बसिरहेँ । खाना खान पनि मन लागेन, भोकभोकै बसिरहेँ, भोकमै के–के सोचिरहेँ । त्यो दिनजस्तो म जीवनभर कहिल्यै आत्तिएकी थिइनँ ।
भोलिपल्ट साँझ मात्र सानोबाबु घर फर्किनुभो । वहाँ आउनासाथ मैले बाँकी कथा पूरा गर्न भनेँ ।
सानोबाबुले टुकी बालेर ल्याउनुभो र भन्न थाल्नुभो– “सुन्नोस् न भाउजू, हिजो मामाघरको असारे पन्ध्र असाध्यै रमाइलो भो । पञ्चैबाजा झ्याइझ्याइ बजाएर रोपाइँ गर्दाको यो समय कति आनन्द हुँदो रहेछ ; हली, बाउसे, रोपारेहरु….. अहा ! क्या मज्जा भयो । अनि तपाईँ हिजो कसको रोपाइँमा जानुभो नि ?”
‘अहँ’ टाउको हल्लाएँ मात्र ।
मनमनै सोचेँ– “सानोबाबु, तिमीलाई के थाहा ! अस्तिदेखि मेरो मन कति भुटभुटिइरहेको छ, म पीर–चिन्ता–व्यथा–तनावको भूमरीमा कस्तरी मडारिरहेको छु ।
+ + + +
सानोबाबुले किताब निकाल्नुभो, किताबको बीचमा रहेको मयुरको प्वाँख निकाल्दै पढ्न थाल्नुभो– “रातको नौ बजे म हस्पितलको वार्डमा प्रवेश गरेर घायल सैनिकहरुको जाँच गर्न लागेँ । त्यस्तैमा पर कुनाको बेडमा एकजना घायल सैनिकले भन्यो– बाबु ! जय नेपाल !……..बेड नजिकै पुगेँ……। चिन्नुभएन बाबु, वीरबहादुरलाई ?”
यो सुनेर म कस्तरी आत्तिएछु, मैले केही थाहै पाइन, म अतालिएको देखेपछि सानोबाबुले पढ्न छोड्नुभो र मलाई भन्नुभो– “के भो भाउजू ! किन टोलाइरहनुभएको ? निन्द्रा लागेको तपार्इँलाई ?”
मैले भनेकी थिएँ– “सानोबाबु ! मेरा खसम हस्पितलमा, ऊ घायल भएको सुनेर म आत्तिएकी नि ।”
“डल्ली भाउजू, यो कथा हो क्या !”
“तर यो त मेरो कथा हो, मैले वर्षौँसम्म पनि थाहा नपाएको कथा ।”
“नपढूँ त उसोभए ?”
“सकिएको हो ?”
“बाँकी नै छ ।”
“त्यसोभए पढ्नोस् न त, के भएको रहेछ मेरा खसमलाई ?”
सानोबाबुले कथा पढ्नथाल्नुभो–“तिमी यहाँ कसरी आइपुग्यौ ? तिमी त घर हिडेको मान्छे ?”
उसले आँसु झार्दै भन्यो–“तपाईँसँग बिदा भएको पर्सिपल्ट बिहान गोरखपुर पुगेँ । प्लेटफारममा अचानक देवताबाबुसँग भेट भो र उहाँले आश्चर्य मानेर सोध्नुभो– वीरबहादुर ! तिमी यस्तो छाँटसँग कहाँ जान लागेको ?” मैले रोएर आफ्नू हाल सबै भनिदिएँ । अनि उहाँले गहभरि आँसु पारेर भन्नुभो– हरे राम खसेछ ! डल्लीलाई कस्तो छ नि ?”
देवताबाबुले भन्नुभो– “हामीले आजादीका लागि नेपालका सामन्ती सरकारसँग लडाइँ सुरु गर्यौँ । मुक्तिसेनाका निम्ति स्वयम्सेवकहरुको बहुतै जरुरत छ । तिमी घर जान पाउँदैनौ, सेनामा भर्ती हुनैपर्छ ।” मैले हात जोरेर भनेँ– बाबु एकपल्ट डल्लीको मुख हेरेर मात्रै आउन दिनुहोस् अनि जे भन्नुहुन्छ मान्नेछु ।”
यी शब्दहरु÷वाक्यहरु पढेको सुन्दा म अतालिएछु र सानोबाबुलाई अनायासै भनेछु– “बाबु छिटो पढ्नोस् न ।”
सानोबाबुले पुलुक्क मेरो अनुहारमा हेर्नुभो र केही नबोली पढ्न थाल्नुभो– “हेर वीरबहादुर ! मेरा पनि भदौमा जहान परलोक भैछन्, काखको छोरालाई दिदीले लगेर पाल्नुभएको छ अरे ! सरकारले घर–खेत जफत गरिराखेको छ । याद राख– आमाको पुकारभन्दा स्वास्नी छोराछोरीको पुकार ठूलो होइन एकदिन मर्नु छँदैछ, मानिसले मर्न जान्नुपर्छ, जुन जातिले मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ ।”
यी कुराहरु सुनेर मलाई केही बुझेजस्तो लागेन । बिगत्का मेरा स्मृतिहरु आँखाबाट बगेर बाहिर निस्कन थाले । मलाई त्यो देवताबाबु भन्ने मान्छेसँग असाध्यै रिस उठ्यो, मेरा खसमलाई घर आउन नदिएर बाटो छेक्ने त्यो मान्छे को होला ? उफ् !……
सानोबाबुले कान कोट्याउँदै पढ्न थाल्नुभो–
“उहाँले मलाई प्लाटुन कमाण्डरमा भर्ती गरेर विराटनगर पठाइदिनुभो । त्यहाँ सरकारी सेनासँग हाम्रो घमासान लडाई पर्यो । मैले भनेँ– वीर जवान हो ! आज मर्ने र मार्ने दिन हो । खबरदार ! कोही पछि नहटून् । सङ्ख्यामा थोरै भएपनि हामीसँग सत्य र ईश्वरको बल छ । दुश्मनको मुटु हल्लिसकेको छ ।”
मैले भएभरको बल लगाएर एकोहोरिएर सुनिरहेँ–“त्यहीबेला दुश्मनले हानेको एक गोली मेरो छातीमा लाग्यो र म बेहोश भएर गिरेँ । होश फिरेपछि मैले आपूmलाई यही बेडमा सुतिरहेको पाएँ ।”
मैले जताततै रगतैरगतमा लट्पटिएको मेरा खसमलाई देख्न थालेँ, सम्हालिदै सानोबाबुले पढिरहेको हेरिरहेँ–सुनिरहेँ ।
“………..मर्नमा त मलाई अलिकति पनि फिक्री छैन तर एकपटक डल्लीको मुख हेर्न पाइनँ । ठूलो अपशोच यही कुराको छ ।”
हे खसम ! तिमीले यो के भनेको ? के तिमीले मलाई बिस्र्यौ ? “मर्नका लागि अलिकति पनि फिक्री छैन” तिमीले यो के भनेको ! मेरो माया तिम्रो मुटुको पत्रहरुबाट कतै हरायो कि ? मलाई किन यतिसारो दुःखी बनाउदै छौ तिमी ?
सानोबाबुले देवताबाबु मरेको खबर पढ्नुभो, यो खबरले मलाई स्तब्ध बनायो, मेरो खसमको चिठी लेखिदिने मान्छे– देवताबाबु ! जसको हातले लेखेको चिठी मसँग अभैm जस्ताको तस्तै छ । किन लड्न जानुपरेको होला (?) जस्तै लाग्यो ।
त्यतिबेला मेरो मनले छिनभरमै के–के सोच्यो–सोच्यो । मन असाध्यै अस्थिर बन्यो, मेरो मनको पीडा बुझिदिने को थियो र त्यहाँ !
सानोबाबु पढ्दै हुनुहुन्थ्यो– “……..बाबु ! मेरा शरीरका पुर्जाहरु चुँडिन लागेका छन् । घाउ सारै दुखिरहेको छ । यसपटक म अवश्य बाँच्दिन । मेरी डल्लीलाई एउटा चिठी पठाइदिनुहोला ।”
“………….तिमी विश्वास राख वीरबहादुर, म डल्लीलाई चिठी अवश्य पठाइ दिनेछु ।”
खै त त्यो चिठी ! त्यो चिठी खै त ! ! मैले त पाएकै छैन त्यो चिठी ! ! !
म अतालिएँ, मेरा खसमलाई भन्दा पनि त्यतिबेला मैले चिठी सम्भेmँ । चिठीको आशामा दिन काट्ने गरेकी मलाई चिठीको……..के–के कुराले मनै भरङ्ग बनाइदियो ।
“………ऊ देशको निमित्त वीरगतिले मर्न लाग्यो; अब डल्लीलाई चिठी पो के भनेर लेखिदिउँ ? छोरो मरेको वर्षदिन भएको छैन, लोग्ने परदेशमा यसरी मर्न लागिरहेको छ । चिठी पाउँदा ती दीन–हीन विधवाको हृदय कस्तो होला ! लोग्नेको क्रियाकाष्ठा गर्ने पैसा पो छ कि छैन ?”
+ + + +
विधवा ! म विधवा ! ! म विधवा भएँ ! भइसकेकी रहिछु ! अठार–अठार वर्ष बितिसक्दा पनि म आपूm विधवा भएको कुरा थाहा पाएकी रहिनछु, म त सधवाको भ्रममा एकोहोरो बाँचेकी रहिछु । मेरा यी पोते, चुरा, कपडा अनि सिन्दुरहरु…….. सब भ्रम रहेछ । म यो के भएँ………! मेरा खसमको आशामा झुण्डिएर बाँचेकी म…….! बरु आशैआशामा बाँच्नुको आनन्द अर्कै थियो नि ! किन थाहा पाउनु परेको थियो होला मैले (?)
यसरी मैले म आपूm विधवा भएको पन्ध्र वर्षपछि थाहा पाएकी थिएँ । लोग्नेको देहान्त भएको पन्ध्र वर्षपछि म विधवा भएकी थिएँ ।
+ + + +
कथाविचार
मेरो जीवन बडो अनौठो छ, यहाँहरुले सुन्नुभयो– २००७ सालमा स्वर्गवासी भएका मेरा खसमको मृत्युको २०२१ सालमा करिब पन्ध्र वर्षपछि थाहा पाएकी थिएँ– त्यो पनि किताबबाट, अरुले पढिदिएर । आपूm कथाको पात्र बनेर अरुले पढिरहदासम्म पनि म अन्धताभित्र रुमल्लिरहेकी रहिछु, मलाई पढेर धेरै मानिसहरुले मनोरञ्जन लिइरहेका हुँदारहेछन् । म त पाठकहरुको मस्तिष्कमा खेलौना बनेकी रहिछु– लोग्नेको मृत्युसम्म थाहा नपाएकी अभागिनी विधवा !
‘विधवा’– नारीको जीवनको सबैभन्दा ठूलो अभिशाप– ‘विधवा’
सुन्नुहोस्– एउटी नारीको लागि लोग्ने सर्वस्व हो ; आत्मिक प्रेम, जीवन आस्था र विश्वासमा बाँचेका हामी दुईका लागि ‘बाँच्नु’ सबैभन्दा ठूलो आधार थियो, मेरा लागि देशभन्दा ठूलो खसम हो, आमाको पुकारभन्दा ठूलो खसमको पुकार हो । एउटाको जीवन छिन्नभिन्न बनाएर हाँस्न खोज्ने यो कस्तो देश हो ! ? मरेपछि जीवन सार्थक देख्ने यो कस्तो परम्परा हो ! के मृत्यु शहीद हो ?
‘बाँच्नु’ मानव जीवनको सबैभन्दा सुन्दर पक्ष हो ।
‘मृत्यु’ यसै त दुःखद छ, कुरुप छ, त्रास र घृणामा उभिएको छ ।
जीवनको माझमा उभिएर मृत्युलाई हुँकार गर्नु मानवजीवनको सबैभन्दा कुरुप, निर्बल र बुद्धिहीन पक्ष हो ।
जीवनले जीवन सिकाउनु पर्छ, मृत्यु त अवश्यम्भावी छ, जीवनमा मानिसले ‘बाँच्ने’ कला सिक्नुपर्छ– सिकाउनु पर्छ, बाँच्नु मानवजीवनको उत्तम मार्ग हो ।
बाँच्नेले हो संसार भोग्न पाउने, मर्नेका लागि सकिन्छ संसार ।
शहीद ले मान्छेको ‘बाँच्ने’ जीवनलाई मृत्युजस्तो कुरुप असत्यमा फँसाइदिन्छ । मानवजीवनको लक्ष्य शहीद बन्नु होइन, ‘बाँच्नु’ मा जीवनको समुन्नत भविश्य छ ।
मान्छे मर्न उत्पे्ररित गर्ने कथाहरु नलेखिऊन्, शहीद का ‘सहिद’ हरुबाट प्रेरणा लिएर कसैले पनि आफ्नो सुन्दर जीवन मृत्युको कुरुप द्वारमा नधकेलोस्, सबै महत्वाकाङ्क्षाहरु ‘बाँच्नु’ सँग साटिइनुपर्छ भन्ने बुभूmन्, पहिला आपूm बाँचेर संसार बचाउने सपना देखोस् ।
कथाले जीवन बोकोस्, हत्यारा कथाहरु विचारबाटै अन्त्य होऊन् ।
+ + + +
ती वृद्धा विधवा महिलाले देब्रे हातले माइक समातिन् र दाहिने हातको चोर औलाले दर्शकदीर्घातिर सङ्केत गर्दै त्यहाँ भेला भएका सारा मानिसलाई आपूmसँगै बोल्न अनुरोध गरिन्–
“हत्यारो कथालाई फाँसी दे !”
सबैले साथ दिदै भने–“हत्यारो कथालाई फाँसी दे !”
+ + + +
कथाकी पात्र डल्लीलाई त्यहाँ पाउँदा मानिसहरु भ्रमित थिए । तर त्यो वास्तविक थियो । कतिले भर्खरै, कतिले वर्षौ पहिले कथामा पढेका डल्लीलाई आफ्नै अगाडि सजीव मानिसको रुपमा उभिदा अनौठो लाग्नु स्वाभाविकै थियो ।
दृष्य र उनका साथीहरु पनि किंकर्तव्यविमूढमा परे– शहीद कथाकी पात्र डल्ली !
एउटी अधवँैसे उमेरकी महिलाले दाहिने हातले चस्माको सिसा मिलाउँदै भनिन्– “कथा कहिल्यै नपत्याउनू भन्थे हजूरबा तर होइन रहेछ । कथामा त मायासत्यका कुरा पो हुन्छ भन्थे तर होइन रहेछ ।
बाटुलेचौर–१६,पोखरा
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)