~एनबी इलुंगा~
चकमन्न मध्य रातको सदुपयोग गर्दै राजा सुक्रचन्दले सिपोनको सिमाना पार गरिसकेका छन् | कुनै समयका जनप्रिय राजा आज आफ्नै कुबुद्धिको परिणाम भोग्दैछन् | आफ्नी कान्छी रानी सुप्रिया एवम् दुई राजकुमार र एक राजकुमारीको साथमा ऊनी राजदरवारबाटै पलायन हुन बाध्य भए | विचरा कलिला ती अबोध बाल-बालिकालाई काँधमा र काखीमा च्यापेर राजा-रानी छिमेकी राज्य समीरन तर्फ सुइ कुच्चा ठोके | राजा सुक्रचन्दको आफ्ना सन्तानप्रतिको आघात प्रेमका कारण उनीहरुलाई छाडी जान सकेनन् | कसैले आफु भागेको सुइँको नपाउन् भन्नका खातिर ऊनी पैदल दौडिए | समिरन का नरेश सुलोचनलाई एक संदेश पठाएर आफु दोश्रो रातको मध्य सम्ममा आईपुग्ने वाचा गरेका छन् | ठुलो आशा लिएर ऊनी आफ्नो सम्पूर्ण राज्यभार त्याग गरी छिमेकी राज्यको सीमानाभित्र प्रवेश गरेका हुन् | उनको आफ्नै जीवन रक्षाको भार थाम्न गाह्रो परेको छ उनलाई | ऊनी आत्तिएका पनि छन्, केहि समय अगाडीसम्म सिपोन र समिरन बिच युद्ध चलिरहेको थियो | यी दुई राज्यहरुको मिलाप अझसम्म पनि पूर्ण भैसकेको थिएन | यदि समिरन का राजा सुलोचनले उनको अनुरोध इन्कार गरे भने उनको प्राण नै धरापमा पर्नेछ | उनलाई आफ्नो ज्यानभन्दा सन्तानको भविष्यको ज्यादा पिर छ | तिनलाई उचित व्यवस्था मिलाइदिन सके उनलाई चैन मिल्ने थियो |
सीमाना पार गरेपछि राजालाई अलि सन्तोष मिल्यो | कुंजिनी वनको एक छेउ प्रवेश गर्दै गर्दा दश महिना मात्र उमेरका कान्छा राजकुमार चिच्याएर रुन लागे, रानी सुप्रियाले उस्लाई झापारिन्, यो उनको सन्तान थिएन | जेठी महारानी सकिलादेवीले यो सन्तानलाई जन्म दिएर यो संसारबाट बिदा लिएकी थिइन् | यी तीनै सन्तानकी आमा सकिलादेवी थिइन् | ऊनी जनप्रिय पनि थिइन् | उनको मृत्युमा सम्पूर्ण सिपोनीहरु शोकाकुल भएका थिए | राजाले आफ्नो छोरालाई नहाप्काई फकाउन सुप्रियासंग अनुरोध गरे | रातको समय भएकाले उनीहरुलाई निद्रामा पर्न सहज भयो | चाँडै नै झ्याउँकिरीहरु कराउन छाडे | मिर्मिरे उज्यालोले बाटोमा प्रकाश छर्न लाग्यो, त्यतिखेर राजाले आफ्नी रानीको अनुहार हेरे | ऊनी रुष्ट थिइन्, ओठ राम्ररी पोटाएको थियो, नाक र गाला हप्प फुलेका थिए, अनि आँखा भित्र गाडिएका रसिला देखिन्थे | राजाले रानीलाई बोलाउँदै भने, “किन रिसाएकी प्यारी सुप्रिया? तिम्रै खुसीको परिणाम त हो यो |” रानी बोलिनन् |शायद ऊनी सोच्दै थिइन्, “राजा पतनको बाटोतर्फ लाग्दैछन्, यदि ऊनी राजा रहेनन् भने महारानी भएर हुकुम गर्ने सपना अधुरै रहने भयो |” वास्तवमा राजालाई दरवार छोड्न बाध्य गराउने मुख्य कारण ऊनी नै थिइन् | जेठी रानी सकिलादेवीको अवशान भएको छोटो समय मै राजालाई भड्काएर आफु महारानी बन्ने उद्देश्यले उनीसंग विवाह गरेकी थिइन् | सौन्दर्य बाहेक अन्य सद्गुणहरुको गरिबी थियो ऊनमा | प्रजाहरुको विरोध र राजाप्रति दलहरुको असहयोगका कारणराजाले दरवार छाडे, तर सुप्रियालाई त्याग्न सकेनन् |
उषाको किरण बढ्दै जाँदा राजा-रानी दुवैका गोडा गल्न लागे, यद्दपि हिंडाइको डेग रोकिएन | रानिकोअनुहार पुरै रसिलो भयो, परेलीको गाँजल चुहिन लाग्यो | मध्य दिनको प्रखर घाम उनीहरुको पछाडी लाग्दै थियो | आफ्ना छोराछोरी भोकाएको राजाले अनुभव गरे | सुप्रियालाई आफ्नी आमा सम्झिएर कान्छा राजकुमारले उनको स्तन चुस्न खोजे | जेठा राजकुमार मलिन स्वरमा बोले, “पिताजी भोक लाग्यो |” राजकुमारी रुन लागिन् | अब राजा-रानीलाई गाह्रो पर्ने भो | मध्य जंगलमा खाने विकल्प केहि थिएन | राजा सुक्रचन्दका नजर एउटा झुप्रोमा थुरीए | उनलाई आफ्ना सन्तानको भोक मिटने आशा जाग्यो | उनले सबैलाई त्यतैतिर डोर्याए | ढोकाको समिपमा पुग्नु अगावै त्यस झुप्रोबाट एउटी वृद्ध महिला निस्किईन्, कम्मरमा हात राखेर ठिङ्ग उभीइन् र मुजै-मुजा परेको अनुहारको बहादुरी देखाउदै कराइन्,”तिमीलाई म चिन्दछु | तिमी सिपोनका राजा सुक्रचन्द आफ्नो शत्रु राज्य समिरनको भूमिमा आइपुगेकाछौ | तिमीआउने खबर मलाई पहिल्यै थाहा थियो | रास्ट्रीय शत्रुताका नाताले तिमीपनि मेरा शत्रु हौ | तर, आज तिमी मेरो शरण लिन आइपुगेका छौ | तिमीलाई म मेरो झुप्रोमा स्वागत गर्छु |”
राजाले ती महिलासंग बिन्ति गरे, “हजुर को हुनुहुन्छ ? म पनि जान्न चाहन्छु |”
उनले झापारिन्, “मलाई चिन्नुमा तिम्रो कल्याण छैन राजन | तर, म तिम्रै भलाइको लागि यहाँ आएकी हुँ |”
राजाले विवाद गर्न चाहेनन् र उनीसंगै सरासर भित्र पसे | ती मसिना पिउसाहरु अलमल्ल परेर टुलुटुलु हेरिरहेका थिए | केहि भेटे खाइहाल्ने ध्याउन्नमा पर्खी बसेका थिए | जमिनमा खनेको खाल्डोमाथि तीनवटा ढुंगाका चम्का राखिन् ती वृद्धाले | ती तीन चम्काहरुमध्ये एउटा अलि कम्जोर देखिन्थ्यो | जंगली पातहरुबाट बनेको पिर्का माथि अडिएका राजा सुक्रचन्दले यो कुरा तुरुन्तै थाहा पाए | उनले वृद्धा समक्ष जिज्ञासा पोखे, “आमा यो एउटा चम्को त अरुको तुलनामा कम्जोर देखिन्छ नी, अर्को राख्न सकिन्न?”
वृद्धाले आफ्ना उत्तेजित आँखा राजासँग जुधाईन् | उनका आँखाले राजालाई गलत ठहर्याउँदै थिए | वृद्धाले शव्दमा व्यक्त गरिन्, “राजन, तिमीले कमजोरी ठम्याउन सक्यौ | तर, यो दुनियाँमा कमजोरी रहित कोहिपनि र केहिपनि छैन, त्यो कुरा बुझेनौ |”
राजा अलमल्ल परेका देखिए , शायद उनले कुरा बुझेनन् | वृद्धाले त्यसै बखत एउटा ठुलो डेक्चीमा एक भाँडो पानी बसाईन् | चुलोको मुखबाट आगो छिराएपछि बच्चाहरु चुल्होको नजिकै पुगे | राजा आत्तिन लागेको देखेर वृद्धाले फेरी भनिन्, “राजन, तिमी सिपाहीहरुको पहराभित्र बसेर सुखी र खुशी थियौ, तिमीले आफ्नो कमजोरी थाहा नै पाएनौ | आफ्नो र राज्यको हितका लागि कुनै प्रयत्न गरेनौ | तिमी आफुलाई बलियो ठान्दै थियौ | परिणाम यस्तो भयो | राजन, अब तिमीलाई थाहा छ यो चुल्होको एउटा चम्को कम्जोर छ | तिमी आफ्नो परिवारको भोक मेटाउन संघर्ष गर | आज तिमी बिफल भयौ भने तिम्रो सर्वनाश हुनेछ |” उनले कुरा मोडिन्, “मलाई थाहा छ, तातो पानि मात्र पिएर तिम्रा सन्तान अघाउदैनन् | म केहि अन्न खोजेर ल्याउँछु | त्यतिन्जेल आगो र पानीको स्याहार गर |”
राजा-रानी असमज्जसमा परे | के हुन गैरहेको छ भन्ने उनीहरुलाई पत्तो भएन | राजाले आफ्ना छोरा-छोरीलाई चुलोबाट अलि पछाडि सारे | रानीले राजालाई साउती मारिन्, “यी बच्चाहरु यहाँ सुरक्षित हुन्छन्, यिनलाई यहीं छाडेर हामि भागौं | हामीलाई खतरा हुन सक्छ |” राजाले सुनेको नसुने झैं गरे | पानि उम्लन लागिसकेको थियो | बाहिर घोडाको टापबजेको आवाज सुनियो | राजाले सानो प्वालबाट चियाए | समिरन राज्यका उनका विश्वाश पात्र राजदुत आएका रहेछन् | ऊनी फुत्त बाहिर निस्किए | राजालाई सम्मान दिइसकेपछि राजदुतले सुनाए, “महाराज, समिरनका नरेश सुलोचनले आफ्ना सिपाहीहरुलाई आदेश दिएका छन्, तिनीहरुले हजुरलाई जहाँ भेटे पनि टुक्रा पार्नेछन् | महारानीलाई सुलोचनकहाँ सुम्पने र राजकुमार तथा राजकुमारीलाई सुरक्षित साथ राजदरवारमा पुर्याउने आदेश छ |” राजा हड्बडाउन लागे | आफुलाई आश्रय दिने ती वृद्धाको बारेमा राजाले सोधे | उत्तरमा राजदुतले भने, “ऊनी सुलोचनकी विश्वासपात्र थिइन् | पछि उनलाई राजद्रोहको आरोप लगाएर दरवारबाट खेदाए र ऊनी लामो समयदेखि यो जंगलमा लुकेर बसेकी छिन् | तर, उनलाई सुलोचनका सैनिकहरुले चाँडै नै खतम गर्नेछन् |”
राजालाई असह्य पिडा भयो | ऊनी आत्तिन लागे | उनले राजदूतसँग सहयोग माग्दै भने, “अब हामि जीवन रक्षाकालागि के गर्न सक्छौं ?” राजदुतले आड दिए, “महाराज, हजुरहरु यहाँबाट टाढा भाग्नुस्, हजुरका सन्तानको रक्षा हर सम्भव म गर्नेछु |” राजा हत्तपत्त भित्र पसे | पानि उम्लिरहेको डेक्चीमा एउटा ढुंगा हालिदिएर छोराछोरीलाई भने, “मैले यहाँ पापा हालिदिएको छु, एकछिनमा पाक्छ | हामि चाँडै बाहिरबाट फर्कन्छौं र संगै बाँडी-चुंडी खानुपर्छ है, यहीं बस्दै गर, कतै पनि नजानु नी |” शुक्रचन्द र सुप्रिया त्यहाँबाट कुलेलम ठोके | ती मातृहिन बबुराहरू पापा खान चुल्होको वरिपरी झुम्मिएर बसे, तिनलाई के थाहा, त्यस चुलोको एउटा चम्को कम्जोर भएको !”
राजा-रानी भाग्दै जंगलको एउटा कुनामा पुगे | त्यहाँ एउटा सुन्दर डांडा थियो | विभिन्न किसिमका फुलहरु ढकमक्क फुलेका, पुतलीहरुको भ्रमणस्थल थियो त्यो | उनीहरु त्यहाँ पुग्नासाथ आकाशमा गडगडाहट सुरु भयो | बिजुली चम्कन थाल्यो | त्यति सुन्दर वातावरणमा पनि राजालाई सन्तानको चिन्ताले छोडेको थिएन | रानीलाई मृत्युको भय थियो | अकस्मात पानि दर्कन लाग्यो | उनीहरु केहि क्षण छहारीमा अंकमाल गरेर बसे | छहारीले पानि छेक्न सकेन | सुप्रिया पानीमा रुझ्न लागिन् | उनको शरीरमा बर्षातका थोपा र शितल हावाको झोंकाले उत्तेजना पैदा गरायो | उनका ओठ, गाला, आँखा र पुरा शरीर नै कामुक्तामा बदलिन लागे | राजाले त्यो सब आफ्ना आँखा अगाडी देखेर सुप्रियालाई रोक्न खोजे | तर, सुप्रियाको यौवनको उन्मात तृष्णा अगाडि राजाको वश चलेन | उनको धड्कन बढ्न थाल्यो | धेरै समयदेखिको अशान्त मन त्यहाँ फुक्का भयो | राजाले समेत सम्पूर्ण चिन्ता र भयलाई भुले | उत्तेजनाले मत्त जोडीले नयाँ-नयाँ अद्भुत क्रिडाहरु रच्न लागे | सुप्रियालाई आफ्ना हातको सहारा दिए सुक्रचन्दले | ओठमा ओठ र छाती जोडेर मधुर प्रेम साट्न लागे | बर्षातले जमिनमा ठुला-ठुला फोकाहरू बनाउँदै थियो, ती प्रत्येक फोकामा उनीहरु आफ्ना क्रिडा ऐनामा झैं देख्न सक्थे | फुलहरु लजाएर झुक्न थाले, पुतलीहरु लजाएर लुक्न थाले | सुप्रियाका आँखा बन्द थिए | ऊनी सुक्रचन्दका मायालु स्पर्शले रंगमंगीदै थिइन् | दुवैका मनभित्र थन्काएर राखेका प्रत्येक इशाराहरु प्रस्फुटित हुँदैथिए | उनीहरु बेहोस अवस्थामा अप्रत्यासित युद्धभूमिमा जीवनको आनन्दको संघर्ष गर्दै थिए | अचानक सुप्रियाले अनौठो आवाज सुनिन्, उनका आँखा खुले | आफ्ना पति सुक्रचन्दको शरीर दुई टुक्रा परेको उनले देखिन् | आफ्नो शरीर समेत निर्वस्त्र रहेको थाहा पाएपछि एक साथ लाज र पीडाले भूईंमा घोप्टो परेर लडिन् |
घन्टौंसम्म कुर्दा पनि आफ्ना माता-पिता नआएपछि सुक्रचन्दका छोरा-छोरीको प्रतिक्षा गर्ने क्षमता समाप्त भयो | जेठा राजकुमारले पापा पाकिसकेको ठाने | ऊनी भोक मेटाउने पापा निकाल्न तयार परे | उनका पिताले पापा भनेर पानीमा हालिदिएको ढुङ्गो पनि कम्जोर चम्कामाथि परेको उनले बुझ्नै सकेनन् | घन्टौंसम्म तातेको पानीको भाँडोलाई उनले हल्लाईदिए | त्यो “पापी” चुल्होले उनीहरुको पीडा बुझेन | कम्जोर चम्को लड्यो | डेक्चिको सम्पूर्ण “पापा” अनाथहरुको शरीरमाथि घोप्टियो | सुलोचनका सैनिकहरुले केवल उनीहरुको चित्कार सुने | निर्दोषहरुको हत्या गर्न घन्टौंसम्म बलिरहने त्यो चुलो “पापी चुल्हो” थियो | समाप्त ||
मिति : २०६७ आषाढ ०८
प्रथम पटक प्रकाशित : पुर्वान्चल दैनिक विर्तामोड, झापा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)