~लेख कार्की~
“अनिताले त हिजो तेरो गालामै किस गर्दी रे नि त देवीथानमा नाच्दानाच्दै ! हैन ? राजन काकाले मज्जाले ताली पड्काए रे तँ नाच्दा !”
सबै गलल हाँसे । मदनले आँखा तर्दै हेर्यो र भन्यो, “चुप लाग् साले ! केही सुन्न हुन्न है तँलाई ?”
आधा घण्टाको बाटो हिँडेर जानुपर्ने स्कुल । बाटोमा आठ–नौ जनाको समूह भएर जाँदा बडो रमाइलो हुन्थ्यो । हामीमध्ये मदन अलिक भिन्नै थियो । स्कुलमा पनि प्रायः झगडा गर्न, केटी जिस्क्याउन अघि सर्ने । दुई घण्टी पढेपछि प्रायः क्यारेमबोर्डतिरै हुन्थ्यो । पछाडि लामो टुप्पी पाल्थ्यो, अगाडि हल्का कपाल रातो बनाउँथ्यो र सधैं भन्थ्यो, “श्रीकृष्ण बन्ने हो ।”
ऊ श्रीकृष्ण श्रेष्ठको ठूलै फ्यान थियो । उनका प्रायः सबै फिल्म हेरेको पनि थियो ।
मैले त अन्तैबाट सुनेको थिएँ, हिजोको घटना । तर, हाम्रो टिममध्ये उमेश पनि रहेछ प्रत्यक्षदर्शी । उसले थप्यो, “हो नि, साह्रै मजाले किस दिई अनि राजन काकाले ताली पनि हल्का पड्काएकै हुन् ।”
मदन रिसाउँदै बोल्यो, “चुप साले ! बारुलो काढ्न खोज्दा अलिअलि चिलिहाल्छ नि, सामान्य लिनुपर्छ ।”
“गर्न पनि कहिलेकाहीँ त हदै गर्छस् के । त्यत्रा महिलाहरु नाचेका ठाउँमा गएर कम्मरमा चिमोटिदिने ?” उमेशका कुरा सुनेर मदन चुप लाग्यो ।
खास कुराचाहिँ के भएको रहेछ भने, देवीथानमा तीजको गीतमा महिलाहरू नाच्दै गर्दा मदन पनि गएर नाच्न थालेछ । जतिपटक प्रेम प्रस्ताव गर्दा पनि बेवास्ता गर्ने अनितालाई नाच्दानाच्दै कम्मरमा चिमोटिदिएछ । अनिताले त्यहीँ हुत्याइदिएपछि हल्लाखल्ला भएछ । गाउँका चेलिबेटीमाथि गिद्धेनजर लाएको भन्दै राजन काकाले दुई थप्पड पड्काइदिएका रहेछन् ।
यत्तिकैमा शिवले भन्यो, “ए साँच्ची ! आज त चौथी पो त । चौथी हान्न जाने हैन ?”
“जानुपर्छ नि हौ, वर्षमा एकपटक हान्न पाइन्छ, किन छोड्नु ? तर मदन, तँचाहिँ नजा होला हौ । तँ अलिक बढी उपद्रो गर्छस्, राम्रो हुन्न ।”
मेरो कुरा सुन्नेबित्तिकै मदनले भन्यो, “जान्नँ, जान्नँ । तिमी विद्वानहरूसँग म हिँड्न पनि सुहाउँदैन ।”
“रत्नकार पनि बाल्मिकी भएका थिए हौ । के थाहा तँ पनि कतै हाम्रो संगतले विद्वान् पो हुन्छस् कि ?” उमेशको यो कुरा सुनेर अरु फेरि हाँसे तर यो पटक मदन केही बोलेन, अलि भावुक देखियो ।
“ह्या… मदन, जिस्केको पो त । मुला रिसाइहाल्न पर्छ ? सधैं सँगै हिँड्ने टिम कहाँ छुट्छ ? योपालि पनि सबै सँगै जाने हो । कप्तान बाले बीउ भनेर चिलाउनेका थाँक्रामा सिका लगा’को काँक्रो आजको मुख्य शिकार । अरु हल्का रमाइलो गर्नुपर्छ ।”
मेरो कुरा सुनेर मदन बोल्यो, “ठीकै छ नि त । तर, यो उमेशे अलि बढी हुँदैछ, यसलाई सम्झाउनुपर्छ, बारम्बार मलाई नउडाओस् ।”
स्कुल छुट्टी भएपछि आ–आफ्ना घर गइयो । बेलुका ११ बजेपछि चौथी हान्न हिँड्ने सल्लाह भएको थियो, किनकि चौथीका रात फलफूल हुने मान्छेहरू हत्तपत्त छिट्टै सुत्दैनन् ।
१० बज्यो । उमेश, अमृत, सविन, तोया आए हाम्रै घरमा । धेरै पर्खियौं तर आउँछु भनेका मदन र राजु आएनन् । फोन थिएन । उतैबाट जाऊँ भनेर सबैजना लागियो । राजु बाहिरै सुतेको रहेछ ।
“किन नआएको ओए तिमीहरु ?” मैले राजुलाई सोधें ।
“बुबाले चौथी हान्न गइस् भने खुट्टा भाँच्छु भन्नुभो । ममी पनि रिसाइराख्नुभा’छ । म जान्नँ, तिमीहरु जाओ यार,” ऊ उदास भएर बोल्यो ।
राजु नजाने भएपछि हामी मदनकोमा गयौं । उसलाई बिस्तारै झ्यालबाट बोलायौं । धेरैबेरको खासखुसपछि मदन झ्यालनेर आएर भन्यो, “म त आज पेट दुखेर मर्न लागें यार साँझदेखि । केही खा’को छैन । अब चौथी हान्न जाँदा झन् साह्रो पार्छ होला । म जान्नँ, जाओ यार । नरिसाओ ल !”
अलिक खल्लो भो ।
“राजु पनि नजाने, रमाइलो गर्ने मदन पनि नजाने । होस्, न त हामी पनि नजाऊँ ।”
मेरो कुरा सुन्नासाथ उमेशले रिसाउँदै भन्यो, “ह्या … केको नजाने ! पाँच–पाँच जना छौँ त । तिमीहरु नगए आफू त एक्लै भए नि गइन्छ, बालै भो र !”
साहिँला मास्टरका माचभरि फर्सी थिए । पहिला तिनै उडाउने निधो भयो । कुकुरले चाल पाइहाल्यो, मज्जाले भुक्यो । मास्टर बाहिरै सुतेका रहेछन्, चाल पाइहाले । हामी बेस्सरी भाग्यौं र चाइनिज टर्च मारेर कोदोबारीमा लुक्यौं ।
एकछिनपछि शान्त भयो, हामी पाखाघरका नास्पाती झार्न भनेर गयौं ।
सबैजना सुतेछन्, चकमन्न थियो । सुनसान रात । घरैमुनि ठूलो नास्पातीको रुख । लटरम्म फलेका नास्पाती । हामीले त्यहीँ गएर दाउराको झट्टी हान्दै धेरै नास्पाती झार्यौं । तोया अघि नै रुख पसेको रहेछ । अरिंगाल रहेछन्, उसको आँखानेर झ्याप्पै टोकिदिएछ ।
आम्मा ! भनेर कराउँदै माथिबाट हाँगा भाँच्दै झर्यो तोया । त्यतिबेलै पाखाघरकी भाउजू पिसाब फेर्न बाहिर निस्केकी रहिछन्, थाहा पाइहालिन् ।
“कोहो हँ ? ए ! चौथी हान्न पो आ’का रैछन् । पख है त ।”
उनले भनिनसक्दै माथिबाट ढुंगा बर्साउन थालिन् । हामीले तोयालाई उठायौं र उसलाई डोर्याउँदै कोदो बारी–बारी हामफाल्दै तल बाँसघारीमा आएर लुक्यौं ।
तोयाको आँखा निकै सुनिएको रहेछ अरिंगालले चिलेर । हामीले अब कतै नजाने निर्णय गर्यौं । कप्तान बाको बारीबाट काँक्रो ल्याउनुपर्छ र खानुपर्छ भनेर नुन–खुर्सानी साँधेर हिँडेका मान्छे, त्यत्तिकै फर्क्यौं । सविनले भन्यो, “नुन–खुर्सानी साँध्नु पनि व्यर्थै भो, तिनै पाखाघरकी भाउजूका आँखामा लगेर छर्किदिनुजस्तो ।”
मैले भनें, “चुप लाग् ! हाम्रा घरमा नि छ काँक्रो, अब जाऊँ, त्यै खाऊँला ।”
फर्कंदै थियौं, राजन काकाको घरमुनि टारबारीमा दुइटा गोरु मज्जाले कोदो चरिरहेका रहेछन् । यो पक्कै कुनै चौथी हान्नेको काम हो भनेर हामीले गोरु गोठमा लगिदियौं । एउटा गोरु बान्न सकिएन र काकालाई बोलायौं । काका उठेर एकछिन छक्क परे । भर्खर पसाएको केराको घरी नै ढाल्दिएका रहेछन् गोठनजिकै । त्यसैको छेउमा बसेर केरा हेर्दै, कोदोबारी हेर्दै पुर्पुरोमा हात राखेर सराप्न थाले, “कुन पापी मरेछ हँ ! त्यसका हातमा स्याउँस्याँउँ कीरा पर्न !”
तोया सुन्निएको आँखा लुकाउन अलिक परै बसेको थियो । उमेशले भन्यो, “त्यसै पनि चौथी हानेका मान्छेलाई सरापेको लाग्दैन भन्छन् काका, हुन्दिनुस् । बरु मान्छे भेला गरेर कारबाही गर्नुपर्छ भोलि । अब सुत्नुस् ।”
काकाले फेरि भने, “कतै तिमेरूले नै त हैन ? तिमेरुचाहिँ कहाँ हिँडेका नि यति राति ?”
काका भए पनि साथी जस्तै थिए उनी । हरेक कुरा विश्वास गर्थे । त्यसैले इमानदार हुन मन लाग्यो र भनें, “तपाईंको कस्सम काका ! हाम्ले हैन । हुनचाहिँ हामी पनि चौथी हान्नै हिँडेका थ्यौं तर ठूलो बिगार गर्न हैन । यस्तो….यस्तो भयो !”
सबै कुरा सुनेपछि काकाले भने, “ल ल, अब तिमीहरु पनि सुत जाओ । बिगार गर्न हुन्न । भोलि गाउँले भेला गर्छु म पनि छलफलको लागि । यत्रो टार सिध्याइदिएछ ।”
काकालाई हाम्रोबारे कतै हल्ला नगर्नू है भन्दै हामी हाम्रो घरतिर आयौं । अघिको नुन–खुर्सानी तह लगाउन भनेर म काँक्रो टिप्न गएको, एउटा भएको काँक्रो पनि अघि कसले चौथी हान्दिएछ । त्यत्तिकै फर्किएँ । तोया मसँगै सुत्ने भयो । अरु आ–आफ्ना घर गए ।
बिहानै आमाले भन्नुभयो, “राति पाडो फुकेर सबै दूध खाएछ, भैंसीले दूधै दिएन नि ।”
बाले भन्नुभो, “केको फुकेको हुन्थ्यो, दाम्लो चट्टै काटेको छ । कुनचाहिँ डाँकाले चौथी हान्न हिँड्दा पाडाको दाम्लो काटिदिएछ । धन्न पाडो काटेनछ !”
एकछिन सबै हाँस्यौं ।
त्यतिबेलै राजन काका बालाई बोलाउन आउनुभएछ ।
“लु दाइ, हाम्रामा एकछिन भेला हुनुपर्यो । त्यो केरा ढाल्ने, कोदोबारीमा गोरु छोडिदिने को हो, छलफल गर्नुपर्यो ।”
माथ्ला घरकी अनिता घ्याम्पाजत्रो मुख बनाएर बसिर’छे । चौथी हान्ने पनि के साह्रो रजाएका ?
मैले भनें, “काका, तपाईंका गोरुले तपाईंकै कोदो खाँदा अनिताको अनुहारचाहिँ किन घ्याम्पाजत्रो भएको नि ?”
काका हाँस्दै भने, “केको मेरो गोरु र कोदोको बारेमा हुन्थ्यो त । चौथी हान्न आउने कुनचाहिँ बदमासले अनिताको कोठाको बाहिर ढोकामा सिस्नुको मुठो झुन्ड्याइदिएछ । ढोका खोल्नेबित्तिकै झ्याम्मै मुखमा लागेर सिस्नुले पोलेर आँखा र मुख हेरिनसक्नु भएको छ ।”
हाँस्ने कुरो त हैन र पनि मज्जाले हाँसो उठ्यो, कन्ट्रोल गरेर अलिकति हाँसें ।
गाउँका वडाध्यक्ष, मास्टर, बुद्धिजीवी सबैखाले मान्छे भेला भए । कसले गर्यो यो चौथीका नाममा उपद्रो ? सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ ! छोड्न हुन्न । आज छोडे यस्ताहरूले झन् बिगार गर्छन् । यस्तै हल्लाखल्ला भो तर दोषी को हो ? कसले गर्यो होला यो बदमासी ?
यत्तिकैमा फुच्ची कविताले भनी, “अन्ता दिदीको अन्मारमा सिस्नु मदन दादाहर्ले लाइदे’का । कोदोबारीमा गोरु पनि तिनर्ले नै छोड्देका ।”
यो सुन्नासाथ वडाध्यक्षले हतार नगरी सोधे, “कसरी था’पायौ नानी तिम्ले ?”
“हिजो साँझ राजु दादा र मदन दादाले सल्लाह गरेको सुनेकी मैले ।”
“कहाँ छन् तिनीहरू ? लु बोलाऊ त ।”
दुईजना गए । मदन र राजु क्यारेमबोर्ड खेल्दै रहेछन्, बोलाएर ल्याए ।
वडाध्यक्षले सोधे, “यो बिगार गरेको हो ?”
मदन र राजुले स्वीकारेनन् ।
कविताले भनेको सबै कुरा भनेर सबैले केरकार गरेपछि नीला–काला भए ।
मदन बोल्यो, “देवीथान घटनाको रिसले मलाई यस्तो बनायो । रिस पोख्न यस्तै बुद्धि आयो । माफ गरिदिनू ।”
राजन काका कराए, “तँलाई माफ दिएर मेरो कोदो फल्छ ? फटाहा ! आफैं नराम्रो काम गर्छस्, आफैं बदला लिँदै हिड्ने ? खुरुक्क बिगो तिर्नुपर्छ ।”
यत्तिकैमा साहिँला मास्टर बोले, “हेर भाइ हो, चौथी भनेको एक संस्कृति र परम्परा हो । यो अर्कालाई हानि–नोक्सानी गर्नका लागि मनाउन हुन्न । गणेश चौथी किन मनाइन्छ थाहा छ तिमीहरूलाई ?
यसदिन देखिने चन्द्रमामा दोष हुन्छ, त्यसैले देखिहालियो भने त्यो दोष मेटाउन सानोतिनो कुराहरु जस्तै– थोरै फलफूल चोरेर दोष मेटाउनुपर्छ भन्ने मान्यता छ । तर, हामी रमाइलोको नाममा उटपट्याङ बढी गर्छौं । तिमीहरूजस्ता होनहार युवाले यस्तो गर्न सुहाउँदैन ।”
मदन र राजु घोसेमुन्टो लगाएर सुनिरहे । वडाध्यक्षले भने, “ल अब जे नहुनु थ्यो, भैगो । राजन भाइ बिगो तिर भन्दैछन् । के कति तिराउने हो, छलफल गरौं । कसो गरौं त राजन भाइ ?”
यत्तिकैमा राजन काका बोले, “दाइ, खै के भनौं भनौं भयो । बिगार त भ’कै हो, गरेकै हुन् बदमासहरुले । तर, आफ्नै गोरु आफ्नै कोदो भनेर चित्त बुझाउँछु । छिमेकी हुन्, माफी पनि मागे । मदनका मुखबाट माफ गरिदिनू भन्ने शब्द शायद पहिलोपटक सुन्दैछु । कोही माफी मागेर म सुध्रन्छु भन्छ भने म योपल्ट यति सहन्छु, छोडिदिऊँ ।”
‘छिमेकी हुन्, माफी पनि मागे’ भन्ने शब्दले मदनको मन छोयो । सोच्यो, मैले त्यत्रो भीडमा गरेको गल्तीको सानो सजाय पाउँदा यसरी बदला लिएँ, तर मैले गरेको बिगारलाई फेरि छिमेकी भनेर माफ गरिदिए ।
अनिता त्यहीँ उभिरहेकी थिई । एकपटक अनितालाई पुलुक्क हेर्यो । ऊ आक्रोशमा देखिन्थी ।
राजुलाई बिस्तारै ‘हिँड् जाऊँ’ भन्यो र पश्चातापले जल्दै घरतिर लाग्यो ।
विजयखर्क–१ खोटाङ,
हाल कतार
(स्रोत : बाह्रखरी डट कम)