~पौल भाट~
भाईले यो फ़ोटो राखेछ, कमेंटहरु पढदा, कटासें बजारका पुराना दिन, पात्रहरु याद आए. बच्चाहरु जन्मिदै मर्दै गर्नथाले पछि अब यसपालीको चाही नमरोस भनेर उनलाई जन्मिने बित्तिकै तराजूमा जोखेको हुनाले उनको नामनै “जोखे” हुनगएको रे ! नभन्दै उनलाई उनिपछि 3 बहिनी र 2 भाईहरुको टुकड़ीले सकुसल पछ्याए !
बास्तबमा उनको नाम अर्कै हो, कटांसे बजार को पहिलो गल्लीमा उनीहरुको खिचिरमिचिर (किराना) को पसल थ्यो | धेरै पछि सम्मपनि उनको पसलमा म केहि किन्न जाँदा मनमा बड़ो कौतहुलता हुन्थ्यो, पसलमा राखिएको तराजूलाई देखेर ! सोचथे ‘यही तराजू होला त, ‘जोखे’लाई जोखेको? यत्रो सानो तराजूमा बच्चा कहाँ अटाउछ र?’ मेरो बाल- मस्तिष्क तर्क गर्थ्यो, ‘हात ले थामी-थामी तौले होलान’, तर फेरी आफ्नै तर्कलाई काट्दै अर्को तर्क आउन्थ्यो,त्यसो भए बच्चालाई खाली तौले जस्तो मात्रै त भयो! तर मैले कहिले कसैलाई सोधिन कि उनलाई कुन तराजूमा जोखे होलान भनेर ! कहिले-काही कुखुराको मासु तौलेको देखदा झ्याट्ट सम्झना आउथयो, ‘सांच्चि ‘जोखे’ जन्मिदा कति किलोका थे होलान ?” मनमनै हाँस्थे म !
नाम जे भएपनि बजारमा यिनी चर्चित थिए । म ५ मा पढ़दा ८ मा पढ़थे यिनी, हाम्रो गोरेमामा सँगै, एकदमै उरांठेउलो उमेर हो यो । कटासे बजारलाई बुढ्यौली लाग्दै गरेको बेलामा यिनी र यिनका उमेरका थुप्रै केटाहरु लाई कुख्रे बैंस आएको बेला थ्यो त्यो।
यिनको एउटा सौख एकदमै महँगो थयो, तेती बैलै यिनी सानो रेकर्डर बोकेर हिंड्थे । क्लासमा सरले पढ़ाएको रेकॉर्ड गरी सुनाउथे । हामी फच्चेहरु त्यो सुनेर दंग पर्थ्याउ ।२८०० परेको भन्थे, निकै ठुलो रकम थयो ५१-५२ तिर, कसरी किन्दीय होलान तिनलाई यत्रो महँगो, सोचथे म । रेडियोको कार्यक्रममा फरमाइश पठाऊँथे, रेडियोमा नाम आउनु ठुलो कुरा थयो, त्यो बखत !
जोखे दाई एकदमै राम्रो पेंटिंग गर्थे । देवी-देवताका चित्र बनाएर पसलभरी टाँगेका थिए ! यसका अलावा जोखेदाईको उमेरका केटाहरूको अर्को काम भनेको साँझ पछि बाजारमा नानाथरी आवाजमा हल्ला गर्दै हिंड्नु ! कहिले चौकीदार को जसतै “होशियार रहो भाई हो खबदार” भन्यो त कहिले केटीको आवाज़मा हल्ला गर्दै त कहिले दशैंको बेलामा रेडियोमा आउने नाटकको महिसाशुर हाँसेजस्तो तरसाउने गरी हिड्ने ।
साँझ परेपछि कटांसे बजारको रौनकता नै छुट्टै हुन्थ्यो माथिलो पुलको चौराहामा भट्टीहरु जड्याहहरुले भरी भराउ हुन्थ्यो ।ओमीको र बिस्ट को जेनेरेटरको को बिजुली र आवाजले बजार गुंजायमान हुन्थ्यो भने गल्लीहरु ‘चोर-पुलिस’ खेलने केटा-केटी (हाम्रै उमेरका) हरु को आवाज ले कोलाहलमय हुन्थ्यो ।
तर हाम्रो परिवार सुति सक्थ्यो । गल्लीमा दौडिने साथीहरु को आवाज सजिलै चिन्थे म, मलाई पनि त्यसरी राति ‘चोर-पुलिस’ खेल्न खूब इच्छा लाग्थ्यो, तर पाइदैनथ्यो । डयाडी मम्मी दुबै एकै सोरले सख्त मनाही गरिदिनु हुन्थ्यो, तेती मात्र होइन कोही बोलाउन आयो भने पनि थर्काइ खाएर जान्थ्यो । एकाध पटक बाहेक मैले त्यसरी ‘चोर-पुलिस’ बिरलै खेलें हूँला।
बजारमा खेल्नको लागी थुप्रै बिकल्प थिए।जमरा र कुलरिया (बुद्दि सागर को “कर्नाली ब्लूज” मा कुलरियालाई अमौरा कुलो भनियको छ) नहरको बिचमा अवस्थित थ्यो कटासें बजार,तिनतिर जंगल, हटारु हरु टन्न बास बस्थे बजार नजिकै जंगलमा। बारै महीना पानी बग्थ्यो नहरहरुमा, गर्मीमा घुइचो हुन्थ्यो नुहाउनेको, झन हाम्रो पसल अनि ‘जोखे’ दाई को पसल कुलरियाकै आड़मा थ्यो । ‘बल्छि हाल्ने चलन थ्यो, नहरमा । यो सुबिधा बजारका ५ वटा गल्ली मध्ये पहिलो गल्लीलाई मात्र उपलब्ध थ्यो । खूब गर्मी हुन्थ्यो, बैसाख- जेठमा, अधिकांस घर टिन ले छाएका हुनाले सुत्न नसकी, मान्छे हरु निर्धकक आफ्नो पसलको अघि झूल टाँगेर सुत्न सकने जमाना थयो, तर,पहिलो गल्लीकाहरुले, नहरको कलकल आवाज अनि चिसो बतासको अद्धभुत समिश्रणसँगै सुत्न पाउने सौभाग्य पाएका थिए ।
म र मेरो भाईको साथी भनेको गोरेमामा थिए, हुनत मामाको उमेर अनि पढ़ाई जोखेदाई कै बराबर थियो । तर मामा भन्दा अघिको ठुलो मामाले बजारमा डुलिहिड़ने अनि हल्लागर्दै हिँड्ने कुरामा नाम कमाइसकेको हुनाले, गोरेमामालाई पनि यताउता जान हामीलाई जस्तै कडा मनाही थियो । नाताले मामा भांजा भएता पनि हामी साथी साथी जस्तै थियौ । मामाको पसल १ न. गल्लीमै भएता पनि पल्लो साइडमा भएको हुनाले कुलरियाको सुबिधा बाट बंचित थियो । तर, मामालाई हाम्रो घर पछाडि आएर,माछा मार्ने छूट थियो । हाम्रो पसलबाट 4-5 पसल तल जोखेदाईको पसल थ्यो । जोखेदाई र मामाको खूब प्रतिस्प्रधा हुन्थ्यो,कस्ले कति माछा बल्छिमा पार्ने भनेर। हामीलाई पनि खूब रहर लाग्थ्यो, जिद्दी गरी गरी भाईले र मैले पनि बल्छि खेल्ने मौका पायउ, तर अचम्म उता गोरेमामा को बल्छिमा २-३ घण्टामैं १०-१५ माछा त्यो पनि सहर,बाम,ठेड माछा परिसकदा पनि हाम्रोमा दिनमा १-२ वटा मात्र पर्ने त्यो पनि भोटी माछा, भाईको मा त त्यही एउटा पनि नपर्ने । खै किन हो, मामाहरु गड़ौला हाल्थे बल्छिमा, हामीलाई गड्यौला समत्नै धौ धौ ! मासु छोडेर पिठोको डल्लो खान माछा किन आउथे र ?
एकदिन गोरेमामा एउटा प्रस्ताव लिएर आए, पल्लो”खोलामा(जमरा) नुहाउन जाम” । मैले मम्मीलाई सोधें, अनौठो भएन, जान पाईएन, मामा पनि गएनन्, जोखे दाईहरु गएछन । बेलुका बत्ती बालेपछि, ५ न. गल्लीको भांडा वाला मुसलमान र ५-६ जना बूढा केटाहरु को हुल हाम्रो पसलमा आयो ।
भांडा वाला बोल्यो, “हजुर निबेदन (उजुरी) लेखदिनु पर्यो”,
ड़याड़ी ले सोध्नु भयो, “के भयो”?
“केटाहरुले मेरा हांस मारेर खाईदिए”,
“कति?”
“१७ वटा हजुर”
“आजै ? एकदिनमा”?
“होईन यिनी हरु पहिलैबाट पलकेका रहेछन्,आज बल्ल मैले रँगेहात समातें” ।
निबेदन तैयार भयो हांस खानेहरु को नामावलि तैयार भयो, निबेदन लेखाउन आउनेहरुका भाईका नाम पनि थीए। उनीहरु गए पछि, मम्मीले हाँस्दै भन्नु भयो “जोखेको नाम देखिस”? पल्लो खोलामा नुहाउन जान्छु भन्दै थिईस त !
अर्को दिन बेलुकी बजारमा सन्नाटा छायो, न त कोही किचकन्नी झैँ हाँस्यो न त महिसाशुरझैँ । राति अबेर मात्रै चौकीदार बाजेको मधुर आवाज “होशियार रहो भाई हो खबदार” मात्र सुनियो । 3-4 दिन बजार शून्य भो । चौकीमा खूब गोदेछन पुलिसले ।(चौकीभित्र को कथा था’पाउन बुद्दिसागर को “कर्नाली ब्लूज” पढ्नुहोला)
३-४ दिन पछि जोखे दाई देखिए, साइनबोर्ड पेंट गर्दै रैछन, घोसेमुन्टो लगाएर,”अछाम मेडिकल हल” । कत्रो लामो कपाल थ्यो, मुडुलो (शेट्टी) पार्देछन, पुलिसले । 4 दिनसम्म बगैंचा गोड़न लगायो रे ! जोखेदाई लाई लाज भो, रेडियोमा नाम आउने मान्छेको यस्तो हालत । ५० रुपैया पाए भन्ने सुनियो, साइनबोर्ड पेंट गरे बापट । तर, पछि बजार को माहोल सब उस्तै भईहाल्यो ।
अब जोखे दाईको नाम परिवर्तन भयो, “आदर्श डेबिट थापा” ! जता-ततै, बंद पसलका ढोकामा, ठुला ढुंगा मा, बारका खंबामा, स्कुल जाने बाटोका रुखमा, जता- ततै । त्यो बेला लहर नै चलेको थ्यो, उपनाम राख्ने अनि आफै लेख्दै हिड़ने। एकजनाले आफ्नो नाम खूब कमाएका थिए, एक बर्षमा एकदिन मात्र स्कुल गएको रे ! भनेर, पछि उनले आफ्नो नाम यसरी कमाईदिएकि, उनले त जंगलका रुख पनि खोपि खोपि हिडे । नाम चाही ‘सेमन्त’ तर कमाएको नाम चाही “मिलन”।
पछि, राति-राति हासेको, हल्ला गरेको नतीजा, जोखे दाई र गोरेमामा हरु को मार्कशीटमा पनि आयो । फलस्वरूप ऊनि हरु ले स्कुल नै परिवर्तन गर्नुपर्यो ।पछि त कटांसे बजारनै सुक्यो, कोही टीकापुर गए, कोही चिसापनि त कोही लमकि अनि कोही बौनिया । जो जहाँ गए पनि,कटासेंको पानी, नहर, ब्यापार कसैले भूलन सक्दैन, राजनितिक कोपभाजनको शिकार भयो यो बजार, महेन्द्र राजमार्गले ३ किमी उत्तर तिरबाट आफनो रेखा कोरेपछि कुनैसमयको गुलजार बजार अहिले खण्डहरमा परिणत भएको छ ! तर, बर्षोपछि, चपाईं डॉक्टरका छोरा बुद्दिराम ( बुद्दीसागर) को ‘कर्नाली ब्लूज’ मा कटासें फेरी जीवित भएको छ !
धेरै पछि जोखे दाई लाई फेसबुकमा भेटें, नाम अझ परिस्कृत भएछ, “आदर्श डेविट थापा” बाट “निर्दोष डेबिट थापा”!
-कैलाली, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)