कविता : भुकम्प

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

हरेक साँझ विहान यहाँ भुकम्प आउंछ÷जान्छ
खाना खाने वेलामा आउंछ
पसलमा तरकारी किन्दा जान्छ
आधा खाली पेट एटलासमा संधै भुकम्पको प्रभाब छ
छोराछोरीको स्कुलको शुल्क तिर्दा भुकम्प जान्छ
अस्पतालमा भर्ना हुंदा भुकम्प जान्छ
फरक एत्ति हो त्यतिखेर
शहरका घरहरु भत्किएका हुंदैनन्, सडक चर्किएका हुंदैनन्
पहाडमा पहिरो गएका हुंदैनन्, पुलहरु भत्किंदैनन्
तर मनका वाँधहरु भत्किरहेका हुन्छन्
नेपाली हुनुको धरहराहरु
मुरुभुमिका वालुवा मुनि भास्सिन पुग्छन्
हिमाल जस्तै उठेको स्वाभिमानहरु टुटेर
कालापहाडहरुमा जोतिन पुग्छन् ।
आलिसान महल भन्दा वाहिर
गरिबीले निचोरिएका
आशाका झुपडीहरुको दैनिकीमा
आँसुले पुछेर मेटाउन नसकिने
भुकम्पको पिडा नलेखेको दिन कुनै छैन ।
यतिखेर
विदेशी चामलका बोराहरु आउंदैनन्
विदेशी सहयोग वोकेर हेलिकप्टर उड्दैनन्
भोकहरु गरिबिको पेटभित्र एक कुनामा लुकेर वसेका हुन्छन् ।
पोहोर साँच्ची कै भुकम्प आयो
हज्जारौं पटक पराकम्प गयो
सबकासबको पर्दाफास भयो
सवै भत्किए, मनहरु पनि भत्किए
नाङ्गो भए, नङ्गोपनले चरम विन्दु नाघ्यो
छोपिएको नाङ्गोपन उदाङ्गो भयो
समाचारहरुले छापे
टिभीहरुले खिचे
भुकम्पको खबर सवैले थाहा पाए
भुकम्पसंगै यसपाली राहतहरु पनि मुलुकमा पसे
हाकिमहरुलाई लालची बनाउन
डलरका बाडी शहरमा स्वाट्टै पस्यो
तर भुकम्पले थिलोथिलो भएकाहरुको बस्तीमा पसेन
गरिबीको वर्षात पिइरहेका छाप्रोहरुमा दर्किएन
बरु झन भोकहरुले निथ्रुक्क हुनेगरि रुझाइए ।
तर आलिसान महलहरुमा
रंगरोगनको काम शुरु भएको देखियो ।
बेघरबारहरु मन कमाउंदै भएपनि
वर्षातमा नाङ्गो ढाड ओडेर निदाएको देखियो ।

(३ जुलाई २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.