~कृष्णराज खनाल~
‘आजकल खोई त देखिँदैन नि !’
‘के ?’ मैले सोधेँ ।
‘त्यही के तिम्रो साथी ।’
‘अहँ मैले बुझिन ।’
‘के नबुझेको जस्तो गरेको । तिम्रो त्यो खोटारो के खोटारो !’
ए ! त्यो मेरो मोटरसाइकलको कुरा गरेको ?
अँ ।’
‘मैले बेचिदिएँ ।’
‘हो र ?’ एकपटक ऊ मजासँग हाँस्यो ।
‘हो त, अस्ति भर्खर बेचेको ।’
‘किन बेचेको त ?’
‘पुरानो पनि भयो । त्यसैले ।’
‘पुरानो भयो भन्दैमा बेच्ने त ?’
‘मेरो भनाइको अर्थ त्यो होइन । त्यसले मेरो जीवनको एक दशक मलाई राम्रैसँग साथ दियो । मेरो खुसीमा ऊ गुड्यो, मेरो हतारमा ऊ दगुर्यो । मलाई पीर पर्दा होस् वा खुसी हुँदा जुनसुकै समय पनि उसले धैर्यपूर्वक मलाई गन्तव्यसम्म पुर्याउन मद्दत गर्यो तर यो अब जीर्ण भयो । मेरो इच्छाअनुसार यो दगुर्न नसक्ने भयो र मैले यसलाई बेचिदिएँ ।’
‘हो त हगि ! मान्छे बूढो भएपछि मर्छ, मोटरसाइकल पुरानो भएपछि बेचिन्छ ।’
‘अँ यार के गर्ने, त्यो मेरो बाध्यता थियो । बेच्न त कहाँ मन थियो र ? तर के गर्ने कहिले बाहिर निस्कने बेलामा टायर पञ्चर भएर विश्राम लिएको हुन्छ त कहिले के बिगि्ररहेको हुन्छ । हैरान भएँ । कहिले के, कहिले के । एकथोक न एकथोक बिगि्ररहन्छ । आधा समय त वर्कसपमा नै हुन्छ । अनि त……।’
‘कसरी बेच्यौ त ?’ जिज्ञासा राख्दै उसले सोध्यो ।
‘त्यो बूढो हुँदै गएपछि मैले एउटा नयाँ भटभटे किनेँ । पुरानो भटभटेलाई मेरो कोठाको बाहिरपट्ट िबारीमा राखेँ । जीर्ण नै भए पनि हावा र पानीबाट बचाउन त्यसलाई पुरानो कपडाले छोपछाप गरेँ ।’
‘अनि ?’ जिज्ञासुभावले उसले सोध्यो ।
‘अनि के हुनु ….जहिलेसुकै पनि बिहान उठेर पर्दा खोल्नेबित्तिकै त्यही कुरुप मोटरसाइकल आँखा अगाडि
नै …। एकदिन बिहान पर्दा खोलेर हेरेको त त्यसलाई छोपेको कपडाको छेउछेउको भागबाट पानी झरिरहेेको देखेँ । मलाई लाग्यो-ए, यो त रोएको पो छ त । किन रोयो होला ? कतै नयाँ मोटरसाइकल ल्यायो भनेर वा सौता हाल्यो भनेर त होइन ?’ अनि मलाई मोटरसाइकल बोलेजस्तो लाग्यो-‘ए ठीकै छ मनुवा । संसारको रीत नै यही हो । चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो ।’
‘अनि ।’ उसले त्यसैगरी फेरि सोध्यो ।
‘अनि के हुनु नि ? एक दिन म त्यही मोटरसाइकलको विगत सम्भिmएर बसिरहेको थिएँ । खाली सिसी, पुराना कागज र फलामका टुक्रा…..भन्दै एउटा मान्छे आयो । मैले त्यसलाई बोलाएँ र जिस्क्याउँदै भने-‘ए भाइ, मोटरसाइकल पनि लैजाने ?’
‘हँ हँ, पाए त लैजान्छु साहूजी ।’
‘यसको कति दिन्छ ? मैले जिस्किँदै भनेँ ।’
‘अरे साहूजी यो तपाईंको माल हो तपाईं नै मोल गर्नुस् न । हामी कहाँ गर्छ ।”
“तिमी कितना दिन्छ ? त्यो भनन पहिला ।’ मैले भनेँ ।
कालो अनुहारबाट फिस्स सेता दाँत देखाउँदै उसले फेरि आफूले मोल नगनर्ेे बतायो ।
मैले एकपटक मोटरसाइकल हेरेँ । तलदेखि माथिसम्म, अगाडिदेखि पछाडिसम्म । हुन पनि हर्नबाहेक सबै बज्ने खालको थियो । त्यो ग्राहक मसँगै उभिइरहेको थियो ।
‘पाँच हजार देउ न ।’
कालो अनुहारलाई बिर्साउने गरी ऊ जमेका सेता दाँत देखाउँदै पुनः हाँस्यो ।
‘साहूजी ठट्टा गर्नुहुन्छ ?’
‘कहाँ ठट्टा हो र ? मैले साँँच्चै भनेको ।’
‘यस्तो खोटारो पनि पाँच हजारमा कोही किन्छ ?’
‘पाँचमा नलिए चारमा त लिन्छ ।’
‘कहाँ लिन्छ हजुर ? अरूतिर पनि गएर बुझ्नुस् यति मोलमा कसैले लिँदैन ।’
‘तिमीहरूजस्तो कवाडीमा त लिन्छ होला नि ?’
‘लिन त लिन्छ नि तर तपाईंको चेसिस नम्बर जो छ त्यो बदल्छ र उसले अर्को मोटरसाइकलमा हाल्छ । त्यो मोटरसाइकलले कुनै अपि्रय दुर्घटना गरायो भने त्यसको जिम्मा तपाईंले लिनुपर्छ ।’
उसको भनाइ कता कता सत्य लाग्यो र कताकता डर पनि ।
‘त्यसो हो भने तिमी कति दिन्छ त ?’
‘दुई हजार ।’
मलाई हाँसो उठ्यो । हाम्रो मोलमोलाई सुनेर घरभेटी पनि दङ्ग परिरहेका छन् ।
मैले पुनः भटभटेतिर आँखा दौडाएँ र भनेँ-‘धत् यति मोलमा त म दिन्न ।’
‘अरे साहूजी दिनुस् । यहाँ राखेर के गर्छ ? झन् थोत्रो हुँदै जान्छ ।’
मेरो मनमा दुविधा चल्न थाल्यो । दिउँ कि नदिउँ ?
‘के सोच्नुहुन्छ साहूजी दिनुुस् । पैसा अहिले नै लिनुस् ।’ दुइटा हात्ती देखाउँदै उसले भन्यो ।
मैले नदिने भनेपछि ऊ बाहिर निस्क्यो । ऊ गएपछि मेरो मनमा अनेक किसिमका तर्कनाहरू आउन थाले । दिएको भए हुन्थ्यो कि के हो ? घरभेटीले तरकारी लगाउन पर्यो भनेर बारी खाली गर्न उर्दी दिइरहेछन् । श्रीमतीको पनि सधैँको कचकच-नयाँ ल्याएपछि पनि पुरानो किन राखिरहेको ? दिएको भए भइहाल्थ्यो नि Û’
‘मैले अर्की ल्याएँ भने तिमीलाई पनि त्यसै गरी दिने त ?’
ऊ केही नबोली रिसाएको अनुहार लिएर भान्सातिर हिँडी ।
मैले त्यस दिन पूरै दिनभर सोचेँ । दुई हजार भए पनि आउँथ्यो । खुरुक्क दिएको भए हुने रहेछ । छोरो पनि सधैँ भनिरहन्थ्यो-यो थोत्रो मोटरसाइल बेचेर अर्को किन्ने होइन । नयाँ ल्याएपछि पनि उसले बेच्ने जोड दिइरहन्थ्यो । किन दिने दुई हजारमा ? १८ हजारमा सेकेण्डह्याण्ड किनेको भटभटेको मोल १० वर्षपछि जम्मा दुई हजार ? दिन्न ल जा । मलाई घमण्ड चढ्यो ।
राति सपनामा पनि त्यही कुरा देखेँ र भोलिपल्ट बिहानै आँखा मिच्दै त्यो ग्राहकलाई बोलाउन गएँ ।
‘ए भाइ, मोटरसाइकल लैजाने होइन त ? तिमीले भनेकै मोलमा दिन्छु ।’
‘मैले त हिजै भनेको थिएँ नि साहूजी ?’
‘ल ल हिँड । अब जे भयो भयो । म हारेँ, तिमीले जित्यौ ।’
ऊ मेरो मोटरसाइकल छेउ आयो र १० वर्षदेखि हावापानी, हुरी-बादल, जाडो-गर्मी र घामपानी केही नभनी हरेक समय अहोरात्र खटिएर मलाई, मेरो परिवारलाई र कहिलेकाँही इष्टमित्रलाई अस्पतालदेखि देवस्थलसम्म, स्कुलदेखि पत्रकार सम्मेलनसम्म सेवा पुर्याउँदै आएको त्यो भटभटेको उसले ह्याण्डल समायो र बल गरेर तान्यो । उसको सानो छोरोले पछाडिबाट धकेल्यो । देख्दादेख्दै त्यो मोटरसाइकलले मेरो घर कम्पाउण्ड छाड्यो । म केहीबेर उसको पछि पछि हिँडे र कवाडी पसलसम्म पुगेँ ।
त्यो कवाडीवालाले मोटरसाइकलको बगरेलाई बोलायो र आदेश दियो-‘ढाल यसलाई ।’
बगरे उत्तिनैखेर त्यहाँ आइपुग्यो । त्यो मुस्तण्ड बगरेले मोटरसाइकललाई खसी ढालेझैँ ढाल्यो । कतिखेर घन चलायो, कतिखेर छिना चलायो र कतिखेर रेञ्ची । लामो समयको त्यो मेरो साथी एकैछिनमा धुजाधुजा भयो । शनिबारको हाटमा काटिएको खसीजस्तै टुक्राटुक्रा भयो । मोबिलले लतपतिएका इन्जिनहरू यत्रतत्र फैलिएका छन् । कुनै टुक्रालाई बोरामा हालेको छ । काम लाग्ने र नलाग्ने किसिमका यन्त्र र सामानलाई छुट्टाछुट्टै स्थानमा थुपारेको छ । म हेरिरहेछु- ऊ लगातार छिनो चलाइरहेछ ।
मेरो आँखाबाट नजानिँदो किसिमले आँसु झरे ।
‘साहूजी रुनुभएको हो ?’
मैले थोरै मात्र भनेँ-‘अँ त्यस्तै भयो । सारै दुःख लागेको छ ।’
‘त्यस्तो हुन्छ साहूजी । आफूले पालेको खसीको मासु पनि मानिसहरू खाँदैनन् । जीवमा मात्र होइन, निर्जीवमा पनि मान्छेको उत्तिकै प्रेम हुन्छ भन्ने कुराको प्रमाण हो यो ।’
त्यो बगरेले आˆनो काम फत्ते गर्यो र मलाई अभिवादनको हात उठाउँदै त्यहाँबाट बाहिर निस्क्यो ।
मेरो हातमा दुइटा हात्ती परिसकेका थिए । त्यहाँबाट निस्कँदा मेरो मन नमीठो भइरहेको थियो । अनुहारमा किञ्चित काला धर्साहरू उमि्ररहेका थिए ।
– गुणादी, तनहुँ
(स्रोत : मधुपर्क २०६५ माघ)