समीक्षा : दयाराम र राजारामहरू यो देशका भरोसा

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन ।

दशरथ पुत्र रामचन्द्र, तिनकी पत्नी सीता र अपहरणकर्ता रावण आदि सम्वन्धी कथा महाभारतमा छ । वाल्मिकीले उक्त कथाको आधारमा रामायण महाकाव्य नै लेखे । ती दुइ कृतिमा रहेको कथामा के कस्ता समानता र भेद छन् भन्ने प्रश्न मनमा उठेकोले पोहोरको तिहार पछि सो विषयको तुलनात्मक अध्ययनलाई मैले अगाडि बढाउन सकिन । महाभारतको अठारै पर्व कतै पनि न बिर्राई पूरै पढें मैले, आठौं पटक महाभारतको पूर्ण पाठ पढेको थिएँ । राम कथा बारे तुलनात्मक अध्ययन गर्न महाभारतको पूर्ण पाठ पढ्नु अत्यावश्यक छैन तथापि ‘इतिहास’ भनिएको र विश्वकै सर्वोच्च महत्वको त्यो महाग्रन्थले मलाई त्यसै त्यसै तान्दै लग्यो अन्त्य सम्म ।

त्यस पछि वाल्मीकि रामायण सुरु गरें । अरण्य काण्ड भन्दा अगाडि बढ्ने साहस भएन । मानसिक दबाबलाई मैले थेग्न सकिंन ।

यस्तो अवस्थामा रुचिको विषयमा हेरफेर गरेमा मानसिक तानातानी त्यसै लुप्त हुँदै जान्छ भनी मनोविज्ञान शास्त्र पढ्दा बासठ्ठी वर्षपहिले देखि थाहा थियो । किताबको दराजमा मैले जम्मा पारेर राखेका तर नपढेका थुप्रै पुस्तक छन् । ती पुस्तक मध्ये Roy भन्नेले लेखेको into China भन्ने मोटै पुस्तकमा हात गयो । ३१ वर्ष पहिलेदेखि मसित त्यो पुस्तक रहेछ तर राय भन्ने कुनै भारतीयले चीनको निन्दा गरी त्यो पुस्तक लेखेको होला भन्ने लागेर मैले त्यो पुस्तक न पढिकनै छोडेको रहेछु । हुन पनि त्यो समय माओको नेतृत्वमा चीनमा सुरु भएको ‘सांस्कृतिक क्रान्ति’ को समय थियो । म त्यो क्रान्तिको तीब्र आलोचक थिएँ ।

त्यो पुस्तक लिएर पोहोर हेर्दा त के थाहा भयो भने राय भन्ने कुनै भारतीयले होइन कि क्लडे राय भन्ने फ्रान्से पत्रकारले सन् १९५३ मा लेखेका रहेछन् । यो फ्रान्से प्रकाशन (मैले सो को अंग्रेजी अनुवाद पढेको हुँ) चिनियाँ किसान क्रान्ति प्रति निकै सहानुभूतियुक्त रही तर २ हजार वर्ष पहिले देखिको चिनियाँ इतिहासलाई समेत पृष्ठ भूमिमा राखेर आफ्ना अनुभव, अवलोकन र विश्लेषणलाई प्रस्तुत गरिएको रहेछ ।

यो भूमण्डलमा महाचीनको आफ्नो वेग्लै इतिहास, संस्कृति र राज्य व्यवस्था छ जसलाई कुनै एक्लो गैर-चिनियाँले समग्र रूपमा बुझेर यथार्थ रूपमा प्रस्तुत गर्यो भनीहाल्नु सके अनुचित होला । तथापि सन् १९५१ देखि चीन बारे मैले ७-८ वटा जुन र जस्ता पुस्तक पढें तिनमा क्लडे रायको यो ‘इन्टु चीन’ भन्ने पुस्तक बढी गहकिलो, निष्पक्ष र सार्है चित्त बुझ्दो लाग्यो । आफूलाई माओ पक्षधर र चीनको मित्र ठान्ने प्रत्येक नेपाली वा तिनका नेताले यो पुस्तक पढे भने तिनको बुद्धि निकै सप्रिने छ भन्नेमा म विश्वस्त भएँ ।

उक्त पुस्तक पछि, आफ्नो स्वास्थ्यमा विस्तारै सुधार हुँदै जाँदा मैले पहिले डाक्टर दयाराम श्रेष्ठ ‘सम्भव’ को ‘साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ’ नामक १७० पृष्ठको पुस्तकमा रुचि लिएँ । यो गम्भीर पुस्तकमा दयारामज्यूले आफ्नो कुनै स्पष्ट मन्तव्य वा निस्कर्ष प्रस्तुत गर्नु भएको छैन । पुस्तकको शीर्षक अनुसारका विषय बारे युरोप, अमेरिका, केही भारतका सुप्रसिद्ध लेखकहरूका विचारलाई लेखकले प्रस्तुत गर्नु भएको छ । त्यसो गर्दा आवश्यक ठाउँमा डा.’सम्भव’ ले विख्यात नेपाली लेखकलाई उपेक्षा गर्नुभएको छैन ।

डा. दयारामको यो पुस्तक पढ्दा नेपाली वाङ्मयमा मैले यसलाई प्राथमिक ठाउँमा राख्नु पर्ने ठहर्‍याएँ । युरोप, अमेरिकाका कुनै भाषामा यो पुस्तकमा जस्तो समष्टि रूप कुनै पुस्तक लेखिएको छ भने पनि मैले पढेको छैन । नेपाली भाषा साहित्य निम्ति भने यो पुस्तक अद्वितीय उदाहरण हो भन्नेमा म पूर्ण रूपेण विश्वस्त भएँ ।

त्यस्तै, अर्को विषयको, इतिहास सम्वन्धीमा लेखिएका दुइ पुस्तक पनि सम्वत २०६०/६१ वीच पढ्ने औसर मैले पाएँ । ती पुस्तक हुन् डा. राजाराम सुवेदीका ‘बाइसी राज्यको ऐतिहासिक रूपरेखा’ -१५० पृष्ठ तर पढ्न गाह्रो हुने साना अक्षरमा प्रकाशित) र ‘कर्णाली प्रदेशको मध्य कालीन इतिहास’ (पढ्न सकिने अक्षरका ५२२ पृष्ठ)

विषय प्रति गम्भीर रही कडा परिश्रम साथ अन्वेषण र अनुसन्धान गरी लेखिएका यी दुवै पुस्तकबाट सो विषय बारे पहिलेभन्दा बढी विश्वसनीय र सङ्गतिपूर्ण जानकारी पाइन्छ । यसो भन्नु पर्ने कारण के हो भने डा. राजाराम सुवेदी भन्दा पहिलेका नेपाली र विदेशी लेखकले उक्त इतिहासबारे अनुसरण गरेका अनुमानवादी र हचुवा पद्धतिलाई यी पुस्तकले एकतिर पन्छाएर वस्तुनिष्ठतालाई नै अँगाल्नेतिर सकेसम्मको कोशिश गरेका अनुभव मैले गरें । तथापि बाइसी राज्यको उत्तरमा, हिमालयका छायामा रहेको भनी महाभारतमा चर्चा भएको ‘हिमराज्य’ तथा लेप्चा समुदायमा अझै पनि अवशिष्ट रहेको ‘बहुपति व्यवस्था’ बीच डा. सुवेदीले सङ्केत गरेको समानतालाई स्वीकार गर्नु मेरा निम्ति निकै गाह्रो भयो ।

यस्ता गम्भीर अध्ययन लेखन र शोधकार्यका पुस्तकहरू पढ्दा म सं. २०२२-२३ सालको एउटा घटना सम्झिन्छु । त्यस बेला अघिल्लो वर्ष जारी भएको भूमिसुधार ऐनको आधारमा चलिरहेको भूमि सुधार बारे संक्षिप्त जानकारी प्राप्त गर्न श्री ५ को सरकारले म सहित ६ पत्रकारलाई मकवानपुर, पर्सा, बारा, रौतहट, महोत्तरी र जनकपुर पठाएको थियो । जनकपुरबाट जयनगर (भारत) मा रेल चढेर रक्सौल बीरगञ्ज फर्किदा मधुवनी स्टेशनमा भारतका एक विद्वान् सित हामी बसेकै डिब्बामा भेट र मेरो कुराकानी भयो । ‘मिथिला कला’ बारे आवश्यक खोज र अनुसन्धान गर्न भारत सरकारले ती विद्वानलाई त्यसवेला नै दुइ वर्षे कार्यावधि तोकेर दैनिक यात्रा बसोबास र योजना खर्च माथि थप महिनाको ५ हजार भा.रु. दिने गरेको बारे जानकारी प्राप्त भयो । तिनीसित टिनको एउटा ठूलो बाकस भरि मिथिला चित्रका सङ्कलन पनि थिए । कलाचित्रका ती सङ्ककलन भारत सरकारको खर्चमा र सरकारलाई बुझाउने सर्तमा गाउँ-गाउँ बाट ती विद्वानले खरीद गरेका थिए ।

भारतसित नेपाललाई दाँज्न मिल्दैन भन्ने सबैलाई थाहा छ । तथापि यस्ता अध्ययन र शोधकार्य प्रति श्री ५ को सरकारमा आज पनि के कस्ता रुचि छन् – प्राज्ञिक क्षेत्रमा आफ्नो रुचि अनुसार श्री ५ को सरकारले रोजी छाडी गरोस् तर त्यस पछि उचित खर्च र लागत या विद्वानहरूलाई मुलुकको राष्ट्रिय पहिचान स्थापना र विकास कार्य निम्ति आवश्यक शोधकार्य गराउन सरकारले यहाँ के गरिरहेको छ – जवाफमा पूर्ण नैराश्य मात्र पाइने छ ।

त्यस्तैमा सं २०६१ भदौतिर डा. भूपहरि पौडेल सित परिचय र मित्रताको औसर प्राप्त भयो । वहाँले मलाई ‘नेपालको विद्वत् परम्परा’ ‘कृष्णलाल अधिकारी र मकै पर्व’ तथा आफैंले लेखेको निवन्ध संग्रह गरी तीन वटा आफ्नै पुस्तक दिनु भयो ।

यी तीनवटै पुस्तकका आफ्ना विशिष्ट परिचय र महत्व छन् ।

‘थलै थलाका पाटाहरू’ दुर्गम पर्वतीय क्षेत्रमा लेखकद्वारा गरिएका शोखिन समेत यात्रा संस्मरण हो । नेपाली वाङ्मयमा यात्रा संस्मरणका पुस्तक निकै मात्रामा प्रकाशित छन् । तथापि यो पुस्तक आफ्नो विशिष्ट प्रकारको छ । पर्वतीय क्षेत्रका विकट यात्राको विवरणमा सीमित नरही यो निवन्ध संग्रहले ती दुर्गम क्षेत्रका मानवीय जीवनको आनन्दी र सन्तुष्टियुक्त मात्र होइन त्रासदीपूर्ण ऊहापोहलाई समेत जिउँदा निवन्धका रूपमा प्रस्तुत गरेको छ ।

वहाँको दोस्रो पुस्तक ‘… मकै पर्व’ले शहीद भनिने गर्दै आएका कृष्णलाल र निजको सो पुस्तकमाथि पर्याप्त खोजी गरी सामग्री प्रस्तुत गरेर कृष्णलाललाई शहीद मान्ने नमान्ने बारे आफ्ना विचार बनाउन पाठकलाई पर्याप्त सामग्री दिएको छ ।

‘नेपाली विद्वत् परम्परा’ ले विगत सय वा सवासय वर्षभित्र संस्कृत वाङ्मयको अध्ययन, अध्यापन र सो उद्देश्य निम्ति आधारभूत आवश्यकता मानिएका संस्कृत पाठशालाका स्थापना आदिमा कसले के काम गरे भन्ने बारे पाए सम्मको विवरण प्रस्तुत गरेको छ । सानो र हचुवा प्रयासबाट सम्पन्न हुने शोधकार्य भनी यो पुस्तकलाई भन्न कदापि मिल्दैन । तर नेपाली विद्वत् परम्परा बारेको खोजीलाई लेखकले संस्कृत वाङ्मय क्षेत्रमा भएका काममा मात्र आफूलाई सीमित राख्नु हुँदैन थियो । पहिलेका कुरालाई छोडेर श्री ३ जङ्ग बहादुर राणाको शासन काल देखि आजसम्मलाई मात्र हेर्ने हो भने ज्ञानका विविध क्षेत्रमा आधुनिक नेपाली समाजमा निकै उल्लेख्य नाउँहरू छन् ।

यो अवधि भित्र आफूले पढेका पुस्तकहरू मध्ये केही बारे यी चर्चा गर्दा युवक लेखक ज्ञानेन्द्र विवसको ‘आकृति र आवाज’ नामक पुस्तकलाई समान रूपले चर्चा नगरि रहन म सक्तिन । आधुनिक नेपालको कला जीवनका हस्ती र तिनका कृतिबारे यति रोचक पुस्तक मैले पहिलो पटक पढ्न पाएँ ।

मेरा वितेका पन्ध्र महिना यसै गरी र मुटु विचलन जनित रोगबाट उत्पन्न नैराश्य विरुद्ध रुचिकर र महत्वपूर्ण ग्रन्थहरू पढेर बिते । त्यसै क्रममा बृटिश वैज्ञानिक स्टिफेन हकिन्सको ‘ब्रीफ हिस्ट्री अफ टाइम’ र एक उस्तै रुसी वैज्ञानिकको At the cross roads of infinitives भन्ने पुस्तकलाई पनि छोड्न सकिन । स्टिफेन हकिन्सको यो विश्व विख्यात गहन पुस्तक चौथो पटक पढेको हुँ । रुसी वैज्ञानिक लेखकको पुस्तक पच्चीस वर्षपहिले किनेर २० पृष्ठ जति पढे पछि बुझ्न नसकेर पूरा नपढी दराजमा थन्क्याएको थिएँ । पर-पारमाणविक विज्ञान सम्वन्धी यो रुसी पुस्तकलाई यो पटक मैले अति अल्प मात्रामा भए पनि पहिले भन्दा केही बढीनै बुझेर प्रसन्न भएँ ।

यस्तैमा बीरगञ्जका मित्र रमेश गोर्खालीको ‘रचना र अभिव्यक्ति’ भन्ने पछिल्लो पुस्तक पढ्न पुगें । स्तरीय र पठनीय लेखक रमेश गोर्खालीमा विचित्रको र पाठकले पचाउन गाह्रो पर्ने बानी छ । कुनै लेखक बारे वा त्यो लेखकको विचार बारे उल्लेख गर्नासाथ दोस्रो वाक्यमा नै वहाँ दुइ तीन दर्जन लेखकका नाउँ सरर्र उद्धृत गरिहाल्नु हुन्छ, सन्दर्भ मिलेको देखिएपनि नत्र गोर्खालीज्यू एक मात्रको चित्त बुझेको छ भने पनि । यसो गर्नुको के उद्देश्य होला मैले बुझ्न सकिन ।

गएको दशैं पछि स्नातकोत्तरत्रय महेश्वर शर्माको ‘स्थिर यात्रा’ मेरो हात पर्‍यो । निबन्ध होला भन्ने ठानेर पृष्ठ पल्टाउँदा कविताको संगालो रहेछ । साप्ताहिक ‘युग सम्वाद’ मा वहाँका राजनैतिक लेखहरू पढ्ने गरेको थिएँ, पाउन्जेल । ‘स्थिर यात्रा’ निकै सरल भाषा र शैलीमा लेखिएका साना कविताहरूको संग्रह रहेछ । ती साना सरल कविताले वर्तमान नेपाली समाज या यसका प्रत्येक अङ्ग र पाटामा देखा पर्ने गरेका विसङ्गति बारे चर्चा गरेको रहेछ ।

बितेका पन्ध्र महिना भित्र आफूले पढेका मध्ये केही पुस्तक बारे यहाँ लेख्नु मैले आफ्नै चट्टै गुमाएको लेखन शक्तिलाई पुनर्जीवन दिने प्रयासको उदाहरण हो । लेख्नु पढ्नुले जीवनलाई आनन्दी तुल्याउँदै जिजीविषालाई थप शक्ति प्रदान गर्दछ भन्नेमा सुरु देखि ममा पूरै विश्वास थियो । नलेख्ने नपढ्ने मानिसहरू कसरी बाँचिरहन सकेका होलान् भन्ने प्रश्न ममा बरोबर उठ्ने गर्थ्यो पनि ।

देशको आध्यात्मिक आवास धराशायी हुँदैछ भन्ने विचार प्रकट गरिएका पढ्ने गर्छु । म भने त्यस्तो ठान्दिन । यो देशको जिम्मा लिनेमा राजनैतिक नेतृत्व क्षेत्र पूर्णतया विफल भएको छ त के, यो देशको शिक्षित बौद्धिक समाजको गुणस्तर र विस्तार इतिहासको तुलनामा अपूर्व स्थिति तिर निरन्तर अग्रसर रहेको देखिन्छ । यसो भन्नुको अर्थ वौद्धिक क्षेत्रमा नेपालमा बेइमानी छैन र सबै जना सदाचारी, चरित्रवान् छन् भन्न भने मैले खोजेको होइन नै । दयाराम श्रेष्ठ र राजाराम सुवेदी तथा ती जस्ताहरू यो देशका आश्रय र भरोसा होइनन् त प्राज्ञिक बौद्धिक क्षेत्रमा ?

(स्रोत : रचना द्वैमासिक)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.