~शीतल गिरी~
समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण मौन छ । बागमतीपारि अर्थात् सुवर्णग्राम (हालको मूर्तिया) ध्वस्त गरिँदा यहाँ गाउँ थियो, थिएन ? प्रमाण शान्त छ तर के गरुँ ? यसको पूर्वनाम मधुवन बागमतीको गर्भमा विलीन भइसकेको हुँदा स्थापनाकालको भूमि यही हो भनी किटान गरेर भन्न सकिन्न ।
वास्तवमा मधुवन जङ्गल बीचमा सानो तर रमणीय गाउँ थियो । सुवर्णग्राम धनधान्य र तिरहुत कलाले सम्पन्न थियो भने अतिथि सम्मान गर्न मधुवनले उछिनेको थियो ।
सुवर्णग्राममा रहेको तुलजा भवानी दर्शन गर्न आउने भक्तजन सरल स्वभावका मधुवनवासीको सत्कार ग्रहण गर्न अवश्य आइपुग्थे । सरल, सहज अपनत्वपूर्ण स्वागत पाउँदा अथितिहरूका मनमा मधुवन बसेकै हुन्थ्यो ।
तोरीबारीको दक्षिण, बागमतीको पश्चिममा मधुवन नामको सानो गाउँ थियो, ग्वालाहरूको ।
दिल्लीका सुल्तान गयासुद्धिन तुगलकले बङ्गालदेखि सुर्खेतको काँक्रेविहारसम्मका मन्दिरहरू तहसनहस पारे । मुस्लिम संस्कृतिको खुती निसाना सिमरौनगढ र सुवर्णग्राम पनि बन्यो । सुवर्णग्रामका मानिसलाई विनाश गरेको हुँदा सो ठाउँमा मूल भएको सोतीलाई बाँचेकाहरू ‘मानुसमारा’ भन्न थाले । अहिले सो सोतीलाई ‘मानुसमारा’ भन्ने गर्छन् । ई.सं. १०९७ मा दक्षिण भारत कर्णाटकका राजा बिक्रमादित्यले उत्तरतर्फको विजययात्राको क्रममा रौतहटको बज्जी गणराज्य आफ्ना सेनापति नान्यदेवद्वारा विशाल राज्यमा विलीन गराए । बिक्रमादित्यको मृत्युपछि सिमरौनगढलाई राजधानी बनाई स्वतन्त्र तिरहुत (डोय) राज्यको स्थापना नान्यदेवले गरे । ठक्कुर वंशले राज्य चलाएको समयमा ई.सं. १५२५ तिर मधुवन क्षेत्रमा राज्यका सिपाहीले जोरजुलुम गर्न थालेपछि मधुवनवासीहरूले प्रतिकार गरी राज्यका सिपाहीहरूलाई नराम्रोसँग शमन गरेका हुँदा नै मधुवन समनपुरमा परिणत भएको हुनुपर्छ ।
मधुवनवासीलाई खुसी पार्न कामेश्वर ठक्कुरले त्यहाँकी ग्रामदेवी राजदेवी नजिक इनार खनाएर अरबी भाषामा उल्लेख गरिएको पक्की इँट्टाले चिनाइदिए । सो इनार अद्यावधि छँदैछ, प्रयोगमा नआए पनि ।
ई.स.. १५२६ मा कमजोर ठक्कुर वंशलाई मकवानपुरको लोहाङसेनको सेनाले पराजित गर्यो । अङ्ग्रेजसँगको युद्ध ई.सं. १८१४-१६१६ सम्म भएको थियो । इतिहासकारहरूको नजर सो देशभक्तिपूर्ण युद्ध लडेकाहरूसम्म पुग्न सकेको छ त ! यदि यथार्थपरक किसिमबाट लेखिएको छैन भने लेख्ने प्रयत्न गर्नुपर्दछ । लेख्दा सत्य कुरो मात्र लेख्नुपर्दछ । लेखकले पात्रलाई अन्याय गर्दैन । समनपुरमा भएको युद्धका कुरो जबजब उठ्ने गर्छ, आँखामा नाच्न थाल्दछन्, त्यतिखेरको आधुनिक हतियारले सज्जित कप्तान ब्लाक्नी र कर्नल डिकको मातहतमा पन्ध्र सय जवान हरिहरपुर गढीको बाटोबाट काठमाडौँ छिर्ने दाउमा छाउनीमा बसेका अङ्ग्रेज । एउटा थोत्रो पुरानो तोप र भरुवा बन्दुकसहित सर्वजित थापाको नेतृत्वमा एक बटालिएन नेपाली सेना र साथमा देशभक्तिको भावना हृदयमा भएका स्थानीय जनता अङ्ग्रेजविरुद्ध । स्थानीय जनताको हातमा लाठी, फर्छा, भाला अरू के चाहियो, जब हृदयमा देशभक्तिको भावना छ भने । सिमलको वन भएको यस क्षेत्रमा खासगरी सिम्रौनगढ, पौराही, तोरीबारीको क्षेत्रमा सिकार खेल्न राणा संस्थापक जङ्गबहादुर राणा मन पराउँथे । जङ्गबहादुर सिकार खेल्न समनपुर वरपर आउने गरेको थाहा भएको छ । हो, जङ्गबहादुर सिकार खेल्न मन पराउँथे । हाँक लगाउनका लागि समनपुरवासी बेगारी खट्नु पर्थ्यो । सिकार खेल्नेक्रममा बागमती नदीको किनारमा पत्थरघट्टा नामक स्थानमा २५ फरबरी, १८७७ का दिन ६० वर्षको उमेरमा जङ्गबहादुरको मृत्यु भएको हो । जङ्गबहादुरले पूजा गरेको पौराही ब्रहृमस्थान अहिलेसम्म छँदैछ । जङ्गबहादुरको चर्चा गर्नुभन्दा अङ्ग्रेजसँगको युद्धकै बारेमा लेख्नु राम्रो हुनसक्छ ।
सामान्यतया मानिसहरू भन्ने गर्छन्-समनपुरको लडाइँमा अङ्ग्रेजपक्ष पराजित भयो तर कसरी ? यो धेरैलाई थाहा छैन । भनिन्छ, स्थानीय जनताले पनि सघाएका थिए । त्यो लडाइँको बारेमा थाहा पाउन सात दिन समनपुर क्षेत्रको चक्कर डराईडराई लगाएँ । तीस जनाभन्दा धेरैसँग संवाद गरेँ । डराईडराई यसकारण कि मधेसी मूलका मानिसभन्दा मेरो छालाको रङ, जातीय नाम, बोली फरक छ । यस आधारमा तराई जनतान्त्रिकका मानिसहरूबाट म प्रताडित हुन सक्थेँ ।
जुन तराई मेरो जन्मभूमि हो, जहाँको संस्कृति र प्राचीन इतिहासले न्याय पाउनुपर्छ भन्ने मान्यताले म स्वयं लागिपरेको छु तर केही छाला मात्र होइन मन पनि काला भएका समूहबाट आफ्नै ठाउँमा पनि अन्वेषण गर्न डराउनु पर्यो र आज दुई वर्षपछि पनि अवस्थामा सुधार आएको छैन, झन् बिग्रँदै गएको जस्तो छ ।
इतिहास लेखनमा सबभन्दा ठूलो डर प्रमाण अभावको हो र साहित्यलेखनमा यो डर रहँदैन । इतिहासको नजिक उभिएर म समनपुरको समरगाथा लेख्दैछु । अँ एउटा कुरो सर्वजित थापा समनपुर पुग्नु अगावै समनपुरवासीहरूले अङ्ग्रेजलाई लखेटिसकेको कुरा बालचन्द्र शर्माले ‘नेपालको ऐतिहासिक रूपरेखा’ मा लेखिसक्नु भएको पाएको छु तर मैले भने सर्वजित थापालाई सो लडाइँको नेतृत्व गर्ने पात्रको रूपमा प्रस्तुत गरेको छु ।
आधुनिक हतियारले सुसज्जित अङ्ग्रेजी सेना नेपाली सेनाको नजिक छाउनी राखेर बस्यो । अङ्ग्रेजी सेनाको कर्नेल डिकले भन्यो- “हेर, हाम्रो हतियार र तालिमको अगाडि नेपाली सेना टिक्न सक्दैनन् । थाहा छ, तिनीहरूमा आक्रमण गर्ने साहस छँदै छैन । हामी केही दिन यस छाउनीमा थकाई मारौँ र बागमती किनार हुँदै अघि बढी हरिहरपुरगढी (बागमतीको पूर्वी किनार, सिन्धुली जिल्लामा छ) कब्जा गरौँ । हाम्रो मुख्य जिम्मेवारी हरिहरपुरगढी कब्जा र उपत्यका आक्रमण गर्नु हो । यहाँको युद्ध त थोरै समयमा जितिहाल्छौँ । यहाँ हामीलाई जस्तै नेपाली सेनालाई पनि भाषा र संस्कारको अमेलले अप्ठ्यारो परेको छ । स्थानीय जनताले पक्कै सहयोग गर्दैनन् । राष्ट्रियता गोर्खालीमा मात्र छ, थोरै गोर्खाली हाम्रासामु टिक्न सक्दैनन ।”
“तपाईंको अड्कल गलत हुनसक्छ । यो बिरानो ठाउँमा चारैतिरका गाउँलेहरू आइलागे भने हामी के गर्न सक्छौँ ?” कप्तान ब्लाक्नीले आशङ्का व्यक्त गर्यो, “शत्रुको स्थितिप्रति चनाखो रहनैपर्छ । सानो भुलले पनि विश्व विजयी अजेय अङ्ग्रेज सेनाले यहाँ पराजय बेहोर्न बेर छैन ।
गोर्खाली सेनाका सिपाही परशुराम थापा उनका साथीहरू भेष बदलेर गाउँगाउँ घुमेका थिए । विस्तारवादी अङ्ग्रेजको नीति जनतालाई बुझाएका थिए । उनैको प्रयासले अङ्ग्रेजसँग लडाइँ गर्न घरेलु हतियार बोकेर हजारौँ योद्धाले मोर्चा सम्हालेका थिए । लाठीको भरले स्वचालित आधुनिक हतियार भिरेका अङ्ग्रेजहरूसँग लड्न तम्तयार थिए । यसो भनौँ आफू मरेर भए पनि देशलाई दास बन्न नदिने अठोट लिएका थिए । दृढ विश्वास लिएका हजारौँ मानिसहरू गोर्खाली सेनातर्फ देख्दा अङ्ग्रेजी सेनाका उत्साह चिसिँदै गयो । गोर्खाली सिपाही परशुराम थापा र उनका साथीहरूका प्रयत्नले अङ्ग्रेज विरुद्ध देशका नागरिकहरू एकजुट हुन थाले । हरेकको मनमा अङ्ग्रेजहरूलाई हराउने चाहना थियो । आफ्नो अखाडाका पहलवान दौँतरीहरू लिएर कटरवनबाट हुसेनी मिकरानी गएका थिए ।
धेरै युवाहरूलाई गोलबन्द गरी महसुर पहलवान हुसेनी राय मुडबलवादेखि गएका थिए । लडाइँमा मृत्यु हुनसक्छ, यो बुझेका थिए । देशलाई पराधीन हुन नदिने विश्वाससाथ अकल्पनीयरूपले मधेसी स्वयंसेवी योद्धाहरू जुटे । मध्यरातमा अङ्ग्रेज सेनालाई घेरा हाली राष्ट्रवादी सपूतहरूले वरपरका गाउँका समेत राँगा भैँसीको सिङमा ध्यू र सलेदो हालेर बत्ती बनाई अङ्ग्रेज छाउनीतर्फ हाँकिदिए ।
रातको समयमा हो-हल्ला र झल्याकझुलुक उज्यालो देखेपछि अङ्ग्रेजले तोप पड्काउन थाले । अनायास तोपको आवाजले आतङ्कित भैँसीहरू तर्सेर तितरवितार हुन थालेपछि झन् तिनीहरूलाई पछाडिपट्टबिाट हिर्काउँदै-हाँक्दै नेपाली सेना र गाउँलेहरू बथानको सहायताले अघि बढ्दै गए । समनपुर क्षेत्रमा भैँसी हजारौँको सङ्ख्यामा पालिएका थिए । अङ्ग्रेजहरूसँग सोझो युद्धभन्दा गुरिल्ला युद्ध लड्न उचित हुने हुँदा यो बाटो अपनाएका थिए उनीहरूले ।
भैँसीको आड लागेर स्थानीय जनता अङ्ग्रेजमाथि जाइलागे । दुवै हुसेनी (मिकरानी र राय) खुसी थिए तर त्यो खुसीले स्थायित्व पाएन । एउटा अङ्ग्रेजले चलाएको गोलीले हुसेनी मिकरानीको प्राण हरण गर्यो “या अल्लाह ।” भन्दै प्राण त्यागेका उनको मुहारमा छाएको मुस्कान भने यथावतै थियो । सहोदर दाइसमान मित्रको प्राण हरण गर्ने अङ्ग्रेजको आन्द्राभुँडी हुसेनी रायको बर्छाले झिक्यो । भैँसीको बथानको आडमा गरिएको युद्धले नेपालीलाई जितायो । बिच्केका राँगाभैँसीलाई अङ्ग्रेज अधिनायकवादको बन्दुक र गोलीले परास्त गर्न नसकेपछि हात हतियार छाडी कुलेलम ठोके । समनपुरवासीले भगुवा अङ्ग्रेजलाई गङ्गा कटाउने मनसाय बनाएका थिए तर नजाने कुन कारणले हो भारतको घोडासहनसम्म भने कटाएरै छाडे ।
नेपाली सेनातर्फ दीर्घसोच भएका परशुराम थापाले सहादत प्राप्त गरे । परशुराम थापा माथिल्लो दर्जाको सेना नभएको हुँदा इतिहासकारहरूले त्यति महìव दिएका छैनन् । यो उनीप्रतिको अन्याय हो । परशुराम थापाको चनाखोपनले गर्दा समनपुरको युद्ध नेपालीले जितेका थिए ।
अङ्ग्रेजहरूसँग लडाइँ भएको हुँदा आज पनि लडैया समनपुर भन्ने गरिन्छ । विस्तारै बागमतीको बालुवाबाट इतिहास पत्ता लाग्दै जान्छ । सत्यकुरा जनमानसमा आउँदा समनपुर पक्कै रमाउनेछ । गहन अध्ययन नगर्ने हो भने कटरवनका मिकरानी मुडबलवाका यादव कुलले चौधरी लेख्ने गरेको अर्थ थाहा नहुन सक्छ । मेरो खोजअनुसार हुसेनी (मिकरानी र राय) ले अद्वितीय वीरता समनपुरमा देखाएका हुँदा चौधरी उपाधि प्राप्त गरेका थिए । यस्तो उपाधि प्रायशः लिखितरूपमा कमै पाइने हुँदा उज्ज्वल पक्षको अभाव छ नै । समनपुरको लडाइँमा नेपाली पक्षको विजय भए पनि समग्ररूपमा नेपालीले पराजय बेहोर्नुपर्यो । इतिहासमा उल्लेख छ- परशुराम थापाले सहादत पाएको- यति मात्र लेखिनु पर्याप्त हुन सक्दैन । परशुराम थापाबाहेक हुसेनी मिकरानी, मदन राउतजस्ता स्थानीय मानिसहरूले पनि सहादत प्राप्त गरेका छन् । समनपुरमाझैँ नेपालका अन्य ठाउँमा पनि अङ्ग्रेज सेनाले पराजय बेहोरेको थियो । समनपुरको अगाडि लडैया शब्द जोडिएकोले पनि यस शब्दले युद्धको महìव झल्काउँछ । समनपुरमा अङ्ग्रेज सेना विजयी भएको भए सम्भवतः हरिहरपुरगढी अङ्ग्रेजको हात पर्ने थियो ।
अङ्ग्रेज पराजित भएर भाग्यो, पराजयलाई विजयमा बदल्न थप सेनासहित पुनः आउनेछ भन्ने लख सबैमा थियो । भविष्यमा झन् ठूलो लडाइँ बेहोर्न योद्धाहरू डटेर बसेका थिए । अङ्ग्रेज सेना आउँदैछ, बैरगनियासम्म आइपुग्यो जस्ता हल्लाको बजार व्याप्त थियो । दिनदिन गर्दै महिना बित्यो, वर्ष बित्यो, समनपुरमा मोर्चा सम्हालेका वीरहरूको कानमा सुगौली सन्धिको नमिठो समाचार पर्यो । जे नहुनुपर्ने थियो, भइसकेको थियो । समनपुर क्षेत्रमा वषौर्ं बसेका कतिपय यौद्धाहरू घर फर्केनन्, बरु त्यसैको वरिपरि बस्न थाले ।
अब समनपुरक्षेत्रका वरपरका गाउँघर जो त्यतिखेर आवाद भए, तिनका बारेमा सङ्क्षिप्त चर्चा गर्दैछु । ‘अङ्ग्रेजको हरादिया’ भन्दै बसेका यौद्धाहरूको गाउँ कालान्तरमा हर्दिया रहन गयो । हर्दियाका साविकका वासिन्दाका पुर्खाले अङ्ग्रेजलाई हराएका थिए । हर्दियावासी देशभक्त लडाकुका सन्तान हुन् । यसमा दुईमत छैन । समनपुर लडाइँका वीरहरूले बसालेको गाउँको नाम हो वीरनगर । प्रसन्न, मुक्त वीरहरूको गाउँ स्थानीय भाषाको प्रभावले गर्दा विनगरा बन्न गयो । लडाइँपछि वीरहरूका दायित्व देशप्रतिभन्दा पनि परिवारप्रति बढ्न गएकोले खेतीपाती गरेर परिवारको पालनपोषण गर्न थाले । सहादत प्राप्त गर्ने स्थानीय नायक मदन रायको जन्म कहाँ भएको थियो ? यो थाहा पाउन सकिन्न । उनका दौँतरीहरूले बागमती किनारमा उनको सदगत गरे । उनको सम्झनामा बस्तीको नाम मदनपुर राखियो । अङ्ग्रेजहरूले छाउनी कायम गरेको, खास लडाइँ भएको ठाउँ जहाँ पछि गाउँ बन्यो, त्यो हो सङ्ग्रामपुर । साविक समनपुरको सरायो (चउर)मा अङ्ग्रेजसँग भीषण लडाइँ भएको थियो । सङ्ग्रामपुरले समनपुर युद्धको सम्झना दिलाउँछ ।
सङ्ग्राममा अङ्ग्रेजलाई पराजित गरेका बलिया यौद्धाहरूले बसालेको बस्ती हो बरियारपुर । बरियारपुरलाई भुल्नुको अर्थ हुसेनी मिकरानी, हुसेनी रायहरूलाई भुल्नु हो । बरियारपुर पुग्दा मेरो शिर वीरहरूको सम्मानमा जहिले पनि झुक्ने गर्दछ ।
थाहा छ अङ्ग्रेजहरूलाई पराजित गरी रमाएका मानिसहरू बसेको गाउँ रमौली हो । यो कुरो धेरैलाई थाहा नहुन पनि सक्छ । पुरानो गाउँको नामले धेरै कुरा भनिरहेको हुन्छ, त्यो सुन्न र बुझ्न सक्नुपर्छ । इतिहास साहित्यमा पाइन्छ, नीरस इतिहासलाई साहित्यले प्राण दिएर जीवन्त पार्दछ । लडैया समनपुर विस्तारै विस्तारै आफ्नो अस्तित्व बिर्सदै थियो । यस्ता ठाउँहरू थुप्रै छन् जहाँको हावामा हाम्रा पुर्खाहरूको गन्ध पाइन्छ । गन्ध पत्ता लाउनुपर्छ । बुझ्नु पर्दछ । देशभक्ति सिर्जनारूपी गन्धमा हाम्रो गौरव पाइने हुँदा टपक्क टिपेर सत्य कुरो अगाडि ल्याउनुपर्दछ ।
-चन्द्रनिगाहपुर, रौतहट
हाल: भीमसेनगोला, काठमाडौं
(स्रोत : मधुपर्क २०६६ माघ)