कथा : पर्दा पछाडि

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

‘जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै
दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै’

क्यान्टिनको वुफरमा गीत बजिरहेछ। चियाको चुस्की लिंदै सुनिरहेछु म। जेठको महिना बिहानदेखि नै उखरमाउलो गर्मी छ। क्याम्पसमा चल्ने उत्तरी हावा पनि लाग्छ हडतालमा छ। झुक्किएर आउँछ बेलाबखत। क्यान्टिनको झ्यालनेरै चौरमा फुलेको गुलमोहर हेर्दै साथीहरूलाई पर्खिरहेछु म। गीत बजिरहेछ–

‘यो रङ्गमञ्च झुट हो, भ्रम हो र व्यर्थ हो
माकुरो जाल बुन्छ यहाँ पर्दा पछाडि नै’

कसको स्वर हो यो थाहा छैन मलाई। कसले लेखेको? त्यो पनि थाहा छैन। तर गीतका पङ्क्तिहरू मनभित्रै पुग्छन्। गुनगुनाउन थाल्छु, ‘दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै’।

“आहा ! कस्तो मीठो गीत” एक्कासि मुना दिदीको आवाज सुनिन्छ। गीतका लहरहरूसँगै बग्न पुगेछु म। उनी आएको पनि देखेनछु। निलो रङ्गको कुर्ता–सुरुवाल लगाएकी मुना दिदी राम्री लाग्छिन्। विछट्टै राम्री। विश्वसुन्दरी भनूँ? भो, कर्पोरेट पूँजीवादीहरूको शब्दकोषमा सुन्दरीको परिभाषा नै फरक छ। मुना दिदी त्यस्ती सुन्दरी छैनन् जस्तो उनीहरूको शब्दकोषमा उल्लेख छ।

“के छ सुगत?”

हात मिलाउँदै उनी बस्छिन् मसँगै। चे ग्वेभाराको तस्वीर अङ्कित सेतो टिसर्ट लगाएको तुफान पनि आउँछ। ‘दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै’ गीतका पङ्क्ति दोहोर्‍याउँदै नस्मा पनि आइपुग्छे। सँगसँगै वाफ उडाउँदै चियाका कपहरू पनि आइपुग्छन्।

“भाइ यो गीत री प्ले गर न” चियाका कप बोकिल्याउने भाइसँग नस्मा अनुरोध गर्छे। क्यान्टिनको वुफरमा दोहोरिएर बज्न थाल्छ गीत –
‘जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै
दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै’

मौनता– मौनता आएर बस्छ टेबलमा। कोही केही पनि बोल्दैन। होइन, कोही त बोलिरहेछ। मनमनै। भित्रभित्रै। सायद हामी बोलिरहेछौं भित्रभित्रै। तर किन कोही चिच्याएर बोल्दैन? किन आफ्ना मनका भावहरू बाहिर ल्याउँदैन? सिद्धबाबाको गल्छेडोबाट फुस्केको बतास हामीलाई चड्कन हानेर जान्छ। झ्यालनेरै बसेकी नस्माको एक धर्सो केश बतासिन खोज्छ। तर जराहरूले ठाउँमै राख्छन्। के मान्छे पनि त्यस्तै हुन्छ? उड्न खोज्छ तर जराहरूले तानिरहन्छन्। अचानक मोहन कोइरालाको कविता सम्झिन पुग्छु– ‘म फर्सीको जरा हुँ’।

“हो त, जे जे हुन्छ यहाँ पर्दा पछाडि नै हुन्छ। रङ्गमञ्च त साँच्ची नै झूट हो” अचानक मौनताको साम्राज्य भङ्ग गरिदिन्छिन् मुना दिदीले। हामी चुप हुन्छौं।

“कसरी दिदी?” विस्तारै सोध्छ तुफान।

“कसरी होइन?” चियाको कप रित्याउँदै प्रतिप्रश्न गर्छिन मुना दिदी– “बाहिर जे हुन्छ, जे भनिन्छ त्यो सत्य कहाँ हो त?”
आखिर कसलाई सङ्केत गर्दैछिन् मुना दिदी? हामी हैरान हुन्छौं।

“दिदी तपार्इं त बटारिनुभो” नस्माले प्रतिक्रिया दिन्छे। मुसुक्क मुस्काउँछिन् मुना दिदी। तर मुस्कानमा पनि आक्रोशले बास गर्छ। मुस्कान र आक्रोश एकै ठाउँमा सुहाउँदा रैनछन्।

“ठूल्दिदी सिधासिधा भन्नुस् न” हैरान भएर म पनि भन्छु, “आखिर तपार्इं के भन्न खोज्दै हुनुहुन्छ?”

“म त्यही भन्दैछु जे भइरहेछ।”

होइन बिहान–बिहान के खाएर आएकी छन् र मुना दिदीले?

चियाको सेकेण्ड राउण्ड सुरु भएपछि मुना दिदी अलि स्वाभाविक देख्छिन्। “हो, गीतमा भनेजस्तै भित्रभित्रै अनेक षड्यन्त्र भइरहेछ यहाँ” प्रस्ट पार्न थाल्छिन् उनी।

“त्यो कसरी?” तुफान कोट्याउन थाल्छ।

“तिमीहरूले सुनेकै छौ नि शासक दलका विद्यार्थी सङ्गठनहरू चौरमा के भन्छन्?” उनी प्रश्न गर्छिन्।

“ए आश्वासनका एजेण्डाहरूको त लामो लिस्ट नै छ नि उनीहरूसँग” झटपट जवाफ दिंदै बोल्छे नस्मा “कसलाई थाहा छैन र यी सबै फोस्रा आश्वासनहरू हुन्? तर दिदीले पर्दा पछाडिको षड्यन्त्र भनेर के भन्न खोज्नुभएको हो कुरो बुझिएन” अलि बढी औपचारिक हुन्छे नस्मा।

“ती विद्यार्थी सङ्गठनहरू के गरिरहेछन्?” मुना दिदी प्रश्न गर्छिन्।

“के गर्नु नि फर्जी भर्ना गरेका छन्। पच्चीस जना विद्यार्थी भर्ना हुँदा अचम्म मान्नुपर्ने एलएलबीमा यसपालि सत्तसठ्ठी जना भर्ना भएका छन्। त्यो पनि स्ववियु चुनावको मुखमा।” तीव्र आक्रोशका साथ बोल्छ तुफान।

“अझ क्यान्टिन फ्री गरेका छन् उनीहरूले, दिनको ६/७ हजार त क्यान्टिनमा मात्र खर्च गर्छन्” राँक्किदै सोध्छे नस्माले, “हैन कहाँबाट आउँछ यत्ति धेरै पैसा?”

“त्यही त दिदी हिजो मैले देखें एउटा सङ्गठनका केटाहरू तीसवटा जति बाइकमा नारा लगाउँदै दौडिरहेथे। होइन विद्यार्थीहरूलाई बाइक चढ्ने पैसा कहाँबाट आउँछ?” मेरो मनको जिज्ञासा राखें।

“हो, यस्तै देखेर भनेको मैले पर्दाभित्रको षड्यन्त्र भनेर। अहिले त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चलिरहेछ। यो विद्यार्थीहरूको चुनाव हो। त्रिविका क्याम्पसहरूमा पढ्ने विद्यार्थीहरू गरीब जनताका छोराछोरी हुन्। प्रायः विद्यार्थीहरू गाउँबाट बा–आमाले पठाइदिएको पैसाले सबै खर्च जुगाड गरेर पढ्छन् यहाँ। कति त आफू पढ्ने खर्च निकाल्न नै कामको खोजीमा हुन्छन्। तर यो चुनाव हेर्दा यस्तो लाग्छ यो धनाढ्यहरूको चुनाव हो।”

मुना दिदी विस्तृत व्याख्या गर्दै थिइन् तुफानले बीचैमा सोधिहाल्यो, “त्यही त दिदी यो पैसा कहाँबाट आउँछ?”

तुफानको प्रश्नले गम्भीर बनिन् मुना दिदी। सेलाउँदै गरेको कपको चिया घुट्काउँदै बोलिन् उनी– “थाहा छ, यो पैसा ठेकेदारहरूले दिएका छन्।”

एकाएक सस्पेन्स खुल्दा स्तब्ध हुन्छौं। कोही केही बोल्न सक्दैन। नस्मा मलाई हेर्छे म उसलाई। टेबलमा कुन्नि के खोज्छ तुफान?

“अनि दिदी ठेकेदारहरू किन पैसा दिन्छन् त यी सङ्गठनहरूलाई?” नस्मा जिज्ञासा गर्छे।

“यस पछाडि ठूलो षड्यन्त्र छ नस्मा, ठूलो षड्यन्त्र। आम विद्यार्थीलाई पढ्न नदिने षड्यन्त्र। फेरि राणा शासन जन्माउने खतरा।” लाक्षणिक बोल्छिन् मुना दिदी।

“त्यो कस्तो षड्यन्त्र ठूल्दिदी?” तुफानले प्रश्न सोधिहाल्छ।

“हामी पढ्ने क्याम्पसका अध्यापकहरूलाई तलब कहाँबाट आउँछ?” मुना दिदीको प्रश्न।

“त्यो त विश्वविद्यालयले नै पठाउँछ नि” नस्माको जवाफ।

“अनि चक, डस्टर किन्ने पैसा?”

“त्यो पनि विश्वविद्यालयले नै दिन्छ” तुफानको जवाफ।

“विश्वविद्यालयलाई पैसा कहाँबाट आउँछ नि?”

“त्यो त सरकारले दिन्छ” हतारिदै जवाफ दिएँ मैले पनि “अनि सरकारलाई हामीले तिरेको राजस्वले”।

“ठीक भन्यौ, सुगत। आजसम्म यसरी नै चलेको छ हाम्रो विश्वविद्यालय” मुना दिदीले अलि उदास हुँदै भनिन्, “सरकारले खर्च गरेको हुनाले नै हामीले तुलनात्मक रुपमा केही कम शुल्कमा शिक्षा लिन पाएका छौं। तर अब यस्तो हुन नदिने र शिक्षालाई पनि हुनेखानेको मात्रै बनाउने षड्यन्त्र हुँदैछ।”

“त्यो कसरी दिदी?” निःसन्देह यो प्रश्न जिज्ञासु नस्माकै थियो।

“कसरी भने अहिले हाम्रो विश्वविद्यालयमा विदेशी लगानी भित्रेको छ।” चियाको कप रित्याउँदै व्याख्या गर्ने मुडमा देखिइन् मुना दिदी, “विदेशी लगानीसँगै हाम्रो शिक्षामा नवउदारवाद पनि भित्रेको छ।”

“नवउदारवाद भनेको जनताका आधारभुत आवश्यकता सरकारले पुरा गर्ने होइन। चाउचाउको प्याकेटजस्तै बेचिनुपर्छ भन्ने सिद्धान्त होइन दिदी?” तुफान सोध्छ।

“हो, त्यही नै हो नवउदारवाद भनेको। आज विश्व बैङ्कजस्ता विदेशी लगानीकर्ताहरू नेपालमा शिक्षा पनि चाउचाउको प्याकेटजस्तै बेचिनुपर्छ भन्छन्। त्यसैले अहिले उनीहरूले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू स्वायत्त बनाउने योजना ल्याएका छन्।”

“स्वायत्त भनेको के हो दिदी?” मुना दिदीलाई ब्रेक गर्दै सोध्छे नस्मा।

“शब्दको अर्थ नै खोज्ने हो भने त यो स्थानीय स्तरबाटै क्याम्पसहरू चलाउने भनेको हो। तर वास्तवमा यो त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूलाई एक एक पाइला गरेर निजीकरण गर्ने चालबाजी हो। त्योभन्दा अरु केही होइन।” मुनाले ठोकुवा नै गरिन्।

“त्यो कसरी हुन्छ त दिदी?” अलि प्रक्रिया बुझ्न खोजें मैले पनि।

“हेर सुगत, स्वायत्त भएपछि अहिले दरबन्दीमा रहेका शिक्षकहरूको स्थानमा नयाँ दरबन्दी विश्वविद्यालयले दिंदैन। अनि अहिले दरबन्दीमा बसेर विश्वविद्यालयको तलबमा पढाइरहेका शिक्षकहरू विस्तारै सबै अवकास पाउँदै छन्। त्यसपछि उक्त रिक्त दरबन्दीमा नयाँ शिक्षक पठाउने छैन विश्वविद्यालयले। त्यसो त स्वायत्तताको योजनामै स्वायत्ततामा गएको पहिलो वर्षमै विद्यार्थी शुल्कवृद्धि गर्ने उल्लेख छ। यदि आङ्गिक क्याम्पसहरू स्वायत्त भए भने अहिलेको मासिक शुल्कभन्दा झण्डै छ सय प्रतिशतले बढ्नेछ। अनि तिमी हामीजस्ता निम्न वर्गीय परिवारका विद्यार्थीहरूको उच्च शिक्षा पढ्ने अधिकारमा रकमको भोल्टे ताल्चा लाग्नेछ। त्यसैले भनेको राणा शासन भनेर। राणाहरूले चमडाको कोर्रा लगाएर पढ्न दिंदैनथे भने अहिले महँगो शुल्कको कोर्रा लगाएर तल्लो वर्गका विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित गरिदै छ।” मुना दिदीले लामै व्याख्या गरिन्। तर पनि किन कुन्नि हामीलाई लाग्दैथ्यो केही अझै बुझ्न बाँकी छ।

“अनि दिदी यसमा ठेकेदारहरूको के स्वार्थ छ त? किन उनीहरू यति साह्रो लगानी गर्दैछन्?” तुफानले सबैको जिज्ञासा समेट्यो।

“ठीक प्रश्न गर्‍यौ तुफान तिमीले” मुना दिदीले जवाफ दिइन्, “यसको कारण छ। यदि यी आङ्गिक क्याम्पसहरू स्वायत्ततामा गए भने विदेशी लगानीमा यहाँ भवनहरू बनाइने छन्। तिमीहरूलाई त थाहै छ नि यो पर्खाल भत्काएर यहाँ सपिङ कम्पलेक्स बनाउने प्रक्रिया सुरु भइसकेको थियो।” क्याम्पसलाई मूल सडकबाट छुट्टाइरहेको पर्खाल देखाइन् दिदीले।

“किन सम्झना नहुनु दिदी हामीले त्यसको विरोधमा आन्दोलन गरेका थियौं त” नस्माले सम्झिई।

“हो, यदि क्याम्पस स्वायत्ततामा गयो भने यस्तै भवनहरू बनाइने छन्। त्यसको ठेक्का पाउने स्वार्थमा आफू अनुकूलको विद्यार्थी सङ्गठनलाई जति पनि लगानी गर्न तयार भएका छन् ठेकेदारहरू र त्यही ठेक्कापट्टा र भागबण्डाको निम्ति आज क्याम्पसहरूलाई जसरी पनि स्वायत्त बनाउने चालबाजी गर्दैछन् द्रव्यपिशाचहरू।” मुना दिदीको शब्दमा आक्रोशको ज्वाला स्पष्ट अनुभूत हुन्थ्यो।

“अर्थात् आफ्नो नाफा र पूँजी निर्माणको निम्ति आम विद्यार्थीलाई शिक्षाको उज्यालोबाट पर राख्ने र बिल्डिङहरू खडा गरेर नाफा कमाउने षड्यन्त्र बुन्दैछन् पँूजीवादी माकुराहरू पर्दाभित्र।” गीतको शब्द टिप्दै बोल्यो तुफान।

“हामी तिनै माकुराहरूको जालोविरुद्ध सङ्घर्ष गर्दैछौं। तिनकै विरोधमा हामी स्ववियु निर्वाचनमा उम्मेदवारी दिंदैछौं।” मुना दिदीले अर्को रहस्यको उद्घाटन गरिन्।

“साँच्चै दिदी तपार्इंले पनि?” नस्माले आश्चर्य जनाई।

“हो, सङ्गठनले मलाई पनि स्ववियु उम्मेदवार बनाउने निर्णय गरेको छ। यसपालि स्ववियु निर्वाचनमा म हाम्रो विद्यार्थी सङ्घको तर्फबाट अध्यक्ष उम्मेदवार हुने निर्णय भएको छ।” मुस्काउँदै बोलिन् मुना दिदी।

“अनि दिदी के हामी जित्छौं त?” नस्माले नै शङ्का पोखी।

“जित हारको मात्र कुरा होइन नस्मा। निर्वाचनको मञ्चबाट हामीले आम विद्यार्थीहरूलाई पर्दाभित्र भइरहेको षड्यन्त्रबारे सचेत बनाउनेछौं। हो, आज विद्यार्थीहरू अल्मलिएका छन्। लोभ र स्वार्थको पर्दाले आज सत्यलाई ढाकिदिएको छ। तर हामी सबै विद्यार्थी साथीहरूलाई बताउँदै जानेछौं। यदि हाम्रो पक्षमा पाँच भोट खस्यो भने पनि त्यो हाम्रो निम्ति विजय नै हुनेछ। किनभने ती भोटविना कुनै स्वार्थ र लोभ हाम्रो विचारलाई दिइएको हो। कामदार वर्गका विद्यार्थीको पक्षमा र पूँजीवादी षड्यन्त्रको विरोधमा दिइएको हो। जहाँसम्म जित हारको कुरा छ साथी हो, मलाई त लाग्छ हामी कहिल्यै हार्दैनौं। यदि ठेकेदारहरूको लगानीमा अनेक छलछाम, तिकडम गरेर शासक विद्यार्थी सङ्गठनहरू स्ववियु कक्षमा छिरेभने पनि केही छैन साथी हो हामी मैदानमा हुनेछौं। क्याम्पसकै हाताभित्र हुनेछौं र क्याम्पसलाई पूँजीपति वर्गको स्वार्थको खेलौना बन्नबाट रोक्न सङ्घर्ष गर्नेछौं।”

“गरिरहनेछौं” हामीले पनि मुना दिदीको शब्दमा शब्द मिलायौं। हामी अर्थात् नस्मा, तुफान र म सुगत।

क्यान्टिनबाट निस्कँदै गर्दा मैले फेरि चौरमा रातै फुलेर उभिएको गुलमोहर हेरें। एकाएक मनमा प्रश्न पलायो– के गुलमोहरलाई थाहा होला पर्दा पछाडिको षडयन्त्र? यदि यो षड्यन्त्र सफल भयो भने द्रव्यपिशाचहरूले उसलाई पनि काट्नेछन्। अनि हाम्रो क्याम्पसको चौरबाट सौन्दर्य मूर्ति हराउनेछ। उफ ! यसको विरुद्ध त सङ्घर्ष गर्नैपर्छ। संसारका सारा सौन्दर्य जोगाउन हामीले नलडी भएकै छैन। मनमा अठोट पलायो। क्यान्टिनको वुफरमा अघिकै गीत बजिरहेथ्यो–
‘आजै गरौं जे गर्ने भोलिको भर कहाँ
मृत्युको चिसो हुन्छ यहाँ पर्दा पछाडि नै’

(स्रोत : मजदुर दैनिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.