~राज आशातीत~
नाम दियौ तिमिले!
एक,दुई,चार,छ,दस अनि बार्ह ..
तर
कहिले पो अंटायो र उ तिम्रा क्याल्कुलेटरहरुमा!?
खाली खोपडी,
बेमौसमी …
सिरीष झैं
झरेर बांकी, डांठहरु!
संगै
खडेरिको चोमोलुङ्मा झैं
आंफै बितेर
संगालिरह्यो तिम्रो ईतिहास।
अंगेनामा छोपिराखेको लोहोरोले
कसोरी भरिन्थ्यो र
भोकको भकारी ?!
खुप काइदा फल्दैछ
तिम्रा
रोप्दै नरोपिएका फसल
रेगिस्तानमा खजुर झैं!
मोति दानामा
एक गाँस भातको प्रारुप देखिरहंदा…
आंशुसरी गाँस निलेर
यो संसार नै
आफ्नो
भन्ने भ्रम पालिरहेकाहरु
यत्ती बुझ
तिम्रा मुट्ठीबाट
फुत्किएका
यावत
समयहरु
जम्मा शून्य मात्र हुन!
राज आशातीत
इटहरी, सुनसरी
२५/०३/२०७३।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)