~सुबेश घिमिरे~
तिमी त त्यसै-त्यसै
निश्छल, निश्कपट अनि
निश्कलंक थियौ ।
मरो जीवन इतिहासमा
मेरो प्रेमको प्रथम
पूजा थियौ; अर्चना थियौ !
निश्छल अनुहारमा
हृदयको अनन्त गहिराईबाट
उब्जिएको खुशी
हाँसोको रुपमा कुँदिदा
तिम्रो गालामा पर्ने खाल्डी
साँच्चै मलाई लाग्थ्यो
प्रकृतिले धेरै मिहिनेत गरेर
तिमीलाई केवल मेरा निमित्त
यस धर्तीमा पठाइदिए जस्तो।
श्याम वर्ण भए पनि;
मेरो सम्पूर्ण अस्तित्वलाई
एकाग्र पार्न सफल
तिम्रो च्यूँडोको त्यो कोठी
मानौ कसैले दुराकासबाट
तारा ल्याएर टाँसे जस्तो।
हो ! जवानीमा पाऊ राख्ना साथ
केही यौवनका बात गरेथें
जवानीको मौनतालाई बिथोलेथें ।
मेरो भूल नै के थियो र ?
मैले त तिमीलाई प्रेम पो गरेथें ।
तर आज;
मैले गरेको बात मलाई नै लागेछ।
तिमीलाई चैं जवानीको मात लागेछ ॥
वैसाख-२, २०५८
– साप्पोरो, जापान !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)