~उमाशङ्कर द्विवेदी~
गङ्गाको तीरमा जप, नियम, तप, स्वाध्याय, उपवास आदि योग क्रियामा लागेर पवित्र जल तथा वनका कन्द, मूल, फल खाई जीउ सुकाई तपस्यारत केही ऋषिहरूको परिपूर्ण एउटा आश्रम थियो । त्यस आश्रमका कुलपति याज्ञवल्क्य नाम गरेका ऋषि थिए । एक दिन प्रात:काल गङ्गास्नान पछि देवता तथा पितृहरूलाइ आचमन, पाद्य तथा अघ्र्य दिन उद्यत रहेका ऋषिको अञ्जुलिमा चिलले आफ्नो चुच्चोमा च्यापेको एउटा मुसाको बच्चा संयोगवश खस्न पुग्यो । ऋषि ध्यानमग्न अवस्थामा रहेका तथा अञ्जुलीमा सल्बाबलाइरहेको कुनै जीवित प्राणीको शिशुको प्राप्तिको आभास पाएर चकित भई हेर्दा त त्यो जीव मुसाको बच्चा पो रहेछ । ऋषिलाइ करुणा लागेर हृदय दया प्लावित भएर आयो । पूजा गर्ने बेला त्यस मुसाको बच्चालाई एउटा वटपत्रमाथि राखेर पुन: स्नान, आचमन तथा प्रायश्चित गरेर आफ्नो तपोबलले त्यस मुसाको बच्चालाई सुन्दरी केटीमा परिवर्तित गरिदिए । त्यसपछि ती केटीको साथमा उनी आश्रम फर्के र आफ्नी निस्सन्तान पत्नीलाई दिंदै भने–भद्रे, यस कन्यालाई लैजाउ तथा यसलाई आफ्नी पुत्रीझैं लालनपालन गरेर हुर्काऊ । पतिको आदेशानुसार ऋषिपत्नीले ममत्वपूवर्क लालनपालन र स्याहारसुसार गर्दा कन्या छिटै हुर्किएर बार्ह वर्षे रूपवती तरुणी बनिन् ।
विवाहयोग्य रूपवती कन्यालाई हेरेर एक दिन ऋषिपत्नीले पतिसित भनिन्–हे पतिदेव, आफ्नी कन्या विवाहयोग्य भइसकेकी छिन्, अझै भन्ने हो भने विवाहको समय बिति पनि रहेको छ ।
आफ्नी पत्नीको कुरा सुनेर ऋषिले भने–तिमीले भनेको कुरा ठीकै हो । शास्त्रअनुसार वास्तवमा कन्या बार्ह वर्षकी भएपछि विवाहको लागि कुनै पनि कुराको विचार गर्न आवश्यक पर्दैन ।
शास्त्रमा स्पष्ट उल्लेख छ–
श्रेष्टेभ्य: सदृशेभ्यश्च जघन्येभ्यो रजस्वला ।
पित्रा देया विनिश्चित्य यतो दोषो न विद्यते ।
अर्थात् यदि कन्या पितृगृहमा नै रजस्वला भइन् भने यथाशक्य त्यसभन्दा श्रेष्ठ र त्यसको अनुरूप वरसित विवाह गरिदिनुपर्दछ । यदि यो सम्भव छैन भने कन्याभन्दा हीन वरसित पनि विवाह गरिदिनुपर्दछ किनकि त्यस्तो अवस्थामा पितालाई कुनै दोष लाग्दैन । यदि हाम्री कन्या विवाहका लागि प्रस्तुत हुन्छिन् भने म संसारको सर्वश्रेष्ठ वरसित विवाह गरिदिन तयार छु ।
ऋषिपत्नीको सहमतिअनुसार ऋषिले वेदमन्त्रद्वारा सूर्य भगवान्को आह्वान गरेर भने–मेरी यस सुशीला छोरीसित तपाईं बिहे गर्नुहोस् भन्ने हेतुले तपाइको आह्वान गरेको छु । तपाईं मेरी छोरीसित बिहे गर्नुहोस् ।
ऋषिले आफ्नी कन्यासित सोधे–पुत्री, मैले तिम्रो बिहे भगवान सूर्यसित गरिदिन आँटे, के तिमीलाई वर मन परे ?
छोरीले भनिन्–बुवा, रूप–गुणमा उहाँ अत्यन्त तेजस्वी भएपनि दाहक स्वभावको भएको हुनाले म उहाँसित विवाह गर्न चाहन्नँ । अत: उहाँभन्दा पनि कुनै असल वरको जोहो गर्नुस्, म त्यससित बिहे गर्नेछु । आफ्नी छोरीको कुरा सुनेर ऋषिले सूर्य भगवानसित सोधे–भगवन्, तपाईंभन्दा पनि कोही श्रेष्ठ छ भने मलाई भन्नुस्, आफ्नी छोरीको विवाह म त्यसैसित गर्नेछु ।
ऋषिको कुरा सुनेर सूर्य भगवानले भने–छन् नि, मभन्दा श्रेष्ठ मेघ हुन्छ जसले मेरो तेजलाइ छेकेर मलाई अदृश्य पारिदिन्छ ।
ऋषिले सूर्य भगवानको कुरा सुनेर मेघलाई बोलाएर छोरीसित सोधे–छोरी, सूर्य भगवान्भन्दा श्रेष्ठ मेघ हुन्छन् । मेघसित तिम्रो विवाह गरिदिंदा तिमीलाई मन पर्छ ? छोरीले जवाफ दिइन्–बुवा, यो त कालो र मूर्ख छ । यसभन्दा पनि कोही श्रेष्ठ छ भने म ऊसित विवाह गर्न मन पराउने छु । छोरीको कुरा सुनेर ऋषिले मेघसित सोधे–मान्यवर, तपाईंभन्दा पनि कोही श्रेष्ठ छ भने भन्नुस् ।
मेघले भन्यो–भगवन्, मभन्दा श्रेष्ठ हावा हुन्छ जसले मलाइ उडाएर मेरो गतिलाइ छिन्नभिन्न पारिदिन्छ । ऋषिले तत्काल वायुलाई आह्वान गरे ।
वायुदेव उपस्थित भएपछि ऋषिले छोरीसित सोधे–वायुदेव वरको रूपमा तिमीलाई मन परे छोरी ? यिनीसित तिम्रो विवाह गरिदिऊँ ? छोरीले जवाफ दिइन्–बुवा यिनी त छिन्नमति र चञ्चल छन्, यिनको के ठेकान, कहिले कहाँ त कहिले कहाँ । मलाई विवाहको निम्ति यिनी मन परेनन् । यिनीभन्दा पनि कोही श्रेष्ठ छन् भने म उनीसित विवाह गर्न मन पराउने छु ।
छोरीको कुरा सुनेर ऋषिले पवन देवसित सोधे–भगवन्, तपाईंभन्दा पनि कोही श्रेष्ठ छन् त ? पवनदेवले जवाफ दिए–किन छैन, ऋषिवर, मभन्दा पनि श्रेष्ठ पर्वतराज छन् जसले मेरो बाटो छेकेर मलाई निष्क्रिय पारिदिन्छन् । पवनदेवको कुरा सुनेर ऋषिले तत्काल पर्वतराजको आह्वान गरे ।
पर्वतराज उपस्थित भए पछि पुन: उनले छोरीसित सोधे–पवनदेवभन्दा श्रेष्ठ पर्वतराज तिमीसित विवाह गर्नका लागि उपस्थित भएका छन् । वरको रूपमा पर्वतराज तिमीलाई स्वीकार्य छन्, छोरी ? छोरीले जवाफ दिइन्–यिनी त कठोर र निश्चल छन् । मलाई यिनी मन परेनन् । कुनै अर्को श्रेष्ठ वरसित विवाह गर्न पाऊँ । छोरीको कुरा सुनेर ऋषिले पर्वतराजसित सोधे–मान्यवर पर्वतराज, तपाईंभन्दा पनि कोही श्रेष्ठ छ र ?
पर्वतराजले जवाफ दिए–ऋषिवर, मभन्दा श्रेष्ठ मुसाहरू हुन्छन् जसले मेरो जीउलाई कोतरेर दुलो बनाई त्यसैमा वास गर्दछन् । पर्वतराजको कुरा सुनेर ऋषिले मूषकराजलाई बोलाएर उनीसित विवाह गर्न छोरीलाई आग्रह गर्दा छोरी रोमाञ्चित हुन पुगिन् । लजाउँदै उनले मूषकराजसित विवाह गर्न आफ्नो स्वीकृति दिइन । मूषकले मान्छेको छोरीसित कसरी विवाह गर्ने ? फसाद पर्यो तर ऋषिले पुन: आफ्नो तपोबलले त्यस कन्यालाई मुसो बनाउँदै आशीर्वाद दिए–पुनर्मूषिको भव । कन्या तत्काल मूषिकामा परिवर्तन भइन् र मूषकराजसित धूमधामले उनको बिहे भयो ।
त्यसैले भनिएको छ–
सूर्यं भर्तारमुत्सृज्य पर्जन्यं मारूतं गिरिम् ।
स्वजातिं मूषिका प्राप्ता स्वजातिर्दुृरतिक्रमा ।।
(स्रोत : प्रतीक दैनिक पत्रिका)