कथा : बेलुन

~सुषमा मानन्धर~Shushma Manandhar

“मामु मामु ऊ त्यो के हो, म लिउँ-” बाटोमा हिँड्दाहिँड्दै जानकीको पाँच वर्षको छोराले प्रयोगपछि बाटोमा मिल्काइएको कुनै वस्तु टिप्न खोज्यो। “छिः छिः हरे फोहरी। के गरेको त्यो ? छुनु हुँदैन न लि।” जानकीले छोराको हात तान्दै अलि लाज र घिन मानेर चारैतिर पल्याकपुलुक हेरी। तै धन्न झ्यालमा कोही देखिएनन्। …….लाई भन्दा देख्नेलाई लाज। यस्तो चिज पनि जहांतही मिल्काउने हो र – लाज नभएका नकच्चराहरु, कहीँ नपाएर मान्छे हिड्ने ठाउंमै फयांकेका होलान्।

बिहान गल्ली, सडकतिर त हिड्नै हुन्न, मरेका मुसा या त यस्ता वस्तु कम्तीमा पनि दुइ चार वटा त फालिएका भेटिन्छन् नै। मान्नुपर्नेहरु संग हिड्दा पनि लाजैमर्दो। असक्ति, शरमछाडा मोरा मुर्कुटाहरु….। जानकीले मनमनै खुबसंग गाली गर्दै धुलोमा गुजुल्टीएको त्यो रबरको बस्तु जुत्ताले हानेर परसम्म हुत्याई। छोरो चाहिं निकै बेरसम्म त्यो के हो र किन फालेको भन्दै लिन जान ढिपि गरिरह्यो। “भरे मामाघरबाट फर्किदा बाटोमा बेलुन किनिदिउंला” उसले छोरालाई फकाउन खोजी तर छोराको चित्त बुझिरहेको थिएन। उसले धेरै टाढा पुग्दासम्म पनि त्यो रंगिन बस्तुबाट मन हटाउन सकेन र फालिएको दिशातिर फर्की फर्की हेरिह्यो। बाटोमा एउटी अधबैंसे महिलाले बच्चाको केही हराएको हो कि भनी सोधी पनि। “होइन” भनेर भन्दा समेत पनि जानकी लाजले रातै भएकी थिई।

बच्चाहरु सब यस्तै उत्पातका हुन्छन्, अप्ठयारोमा पारिदिने। झन उसको छोरो त कोइलीको फुल चोर्ने खालको छ। चंचले र छुकछुके पनि उत्तिकै। पांच वर्षपूरा हुन पाएको छैन, कुरा चै पांच पाथीको गर्छ। त्यसो त बच्चाहरु प्राय सवै अलि जिज्ञासु स्वभावकै हुन्छन्। जानकीको छोरा पनि उसलाई अचम्मका प्रश्नहरु गरिरहन्छ। उसका हरेक कुरामा “के” र “किन” भन्ने प्रश्न हुन्छ। झर्को लागेर कुनै बेला ऊ थाहा छैन भनी र्टार्न खोज्छे तर धर पाउंदिन। अरुले हेर्दा कत्ति नै सिकाएको जस्तो देखिन्छ। हुन पनि कहिलेकाहि त उमेरलाई नसुहाउने नपत्याउने कुरा गर्छ ऊ।

घर नजिकैको स्कूलमा के.जी.मा पढ्छ उसको छोरा। क्लासमा नाइके नै ऊ जस्तो छ। कुरामा आफू भन्दा जेठोलाई पनि भुतुक्कै पारिदिन्छ।

शनिवार छुट्टी हुने भएकोले जानकी छोरा लिई माइती जांदै थिई। अरु बेला घरधन्दा अनि छोराको स्कूल, कहां समय बच्नु। माइतीमा पुगेर ढोकाबाट छिर्न पाएको हुन्न ऊ जानकीको हात फुकाएर माथि दौड्यो। “बाबु पर्ख, लडौला” कत्ति कराउने। बच्चाहरुको त कानै हुंदैन कि क्या हो – भनेको कुरा एक धरो सुन्ने होइनन्। अस्ति भर्खर पनि घरको ढोकामा अल्झिएर लड्यो। झन यहां माइतीमा त, उसैका दौँतरी भुराभुरी छन्, हल्ला गरेर दौड्यादौड्यै।

“ए जानकी, तेरो छोरालाई उता बार्दलीतिर नपठा। लुसीले बच्चा पाएकी छ। टोकिदेली।” जानकीकी आमाले आफ्नो नाति बार्दलीमा गएको देखेर कराई।

“ए…. , फेरि ब्याइछ। कहाँ राख्ने आमा, त्यत्तिका कुकुर ?” जानकीले छोराको हात समाइ सुकुलमा बसाली। छोरो चाहि निकै रमायो। कालो सेतो गरी तीनवटा स साना छाउराहरु। हातमा बोक्नु पर्‍यो भनी ऊ निकै ढिपी पनि गर्न थाल्यो। जानकीले छाउराहरुलाई छोयो भने माउले टोक्छ भनी छोरालाई सम्झाउन खोजी। उसको माइतीमा भएको कुकुर्नीले अहिले सम्म तीन चार बेत ब्याइसकी। एक बेतमा नै तीन चारवटा छाउरा हुन्छन्, कहां राख्ने कसलाई दिने – यो भन्दा अगाडि पनि चारवटा छाउरा जन्माएकी थिई, बल्ल बल्ल छरछिमेकतिर बांडेर सकिए। अहिले पनि त्यहां लुसी र दुइ अरु गरी तीनवटा कुकुर छन्। एक थरीले त ठीकै हो सुरक्षा हुन्छ तर आफन्तहरु समेत पनि आउन डराउंछन्।

“हैरान भैसकें लुसी देखि। हरेक साल ब्याइरहेकी छ। यी छाउराहरु कतै दिन सकिएन भने अब त घरमा मान्छे भन्दा बढी कुकुर हुने भए।”जानकीकी आमाले आफ्नो दिक्दारी पोखिन्। “त्यही त भन्या। पालिराखेको कुकुरलाई निकाल्ने कुरा भएन। कुकुरका पनि त कुनै ओखती होलान् नि आमा हगि ?”
चियामा विस्कुट चोप्दै खाइरहेको जानकीको छोराले आफ्नी आमा र बज्यैको कुरा खुब ध्यान दिई सुनिरहेको थियो। खानैमा व्यस्त रहेर हो कि कुन्नि उसले आफनी आमासंग त्यो बेला कुनै प्रश्न गरेन।

माइतीबाट खाना खाई र्फकंदा रात परिसकेको थियो, बाटोमा बेलुन किन्ने कुरै भएन। छोराले पनि कुरा निकालेन। शायद बिर्स्यो होला, जानकीले सोची। भोलिपल्ट स्कूलबाट फर्केर चोकमा खेल्न गएको छोरा छिट्टै घर फर्कियो। खान बोलाउंदा पनि नमानी खेलैमा भुल्ने उसको छोरा हस्याङफस्याङ गर्दै कोठामा छिरेको देखेर उसले बाहिर खेल्ने साथी भएनन् कि भनी सोधी। उसको प्रश्नको जवाफै नदिई छोरो चाहिंले उल्टै उसलाई बच्चा नपाइने बेलुन पनि हुन्छ र भनी प्रश्न गर्यो। कहां कहांबाट केके सिकेर आउंछ, कसले भन्यो यस्तो कुरा भनी जानकीले बच्चालाई हप्काई। “मामु, अघि बाहिर चोकमा दाइहरुले भन्नुभाको ठूलो बेलुन लायो भने त्यसले बच्चा हुंदैन रे हो ? ”

“छ्या के कुरा गरि बसेको- कुन दाइहरुले भनेका तंलाई – तं सानो भएर ठूला मान्छेहरुसंग किन कुरा गर्न जानु पर्ने -” जानकी छोराको उपबुज्रुक ताल देखेर जिल्ल भै। आमा चाहिंले हप्काएको देखी पछि त्यो दिन ऊ बाहिर खेल्न पनि गएन।

छोराको परीक्षा हुन्जेल जानकी कहिं जान पाइन। बच्चाको जांच सकेपछि ऊ माइती जान तयार भई। आमाले बिहान उतै खान आउनु भनी फोन गरिसक्नु भएको थियो। एक त परीक्षा सकिएको, उसमाथि मामाघर जाने खुशीमा छोरो दंगदाश थियो। निस्कने बेलामा ऊ आफ्नो खल्तीमा केही कोच्दै थियो। चकलेट होला,जानकीले सोची।

माइतीमा उसको मामाकी छोरी पनि आइराखेकी थिई। कहिले काहिं भोजमा भेटिनुको अलावा उसले ती दिदीलाई त्यति भेट्न पाउंदिन। दुवै दिदीबहिनी निकै बेर दुखसुखका कुरा गरिबसे।

“मामु मामु छिटो माथि आउनु न” जानकी ती दिदीसंग कुरा गरिरहंदा उसको छोराले निकै बोलाएपछि दुबै मास्तिर उक्ले। उसको छोरो लुसीको पुच्छरमा अस्ति कर गरेर किन्न लाएको रातो ठुलो बेलुन झुण्डयाएर रमाउंदै थियो, “मामु मैले लुसीलाई ठूलो बेलुन लाइदेको। अब लुसीले बच्चा पाउंदिन हगि -” जानकी र उसकी मामाकी छोरीले मुखामुख गरे। लुसी भने जानकीको अनुहार हेरी पुच्छर फयाट् फयाट् हल्लाउंदै थिई।

June 7th, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.