~कमल कुमार~
पर पर क्षितीजमा
अस्ताउँदो सूर्यको लालीमा
बादलका रङ्गीचङ्गी धर्काहरु
आकाशको छाती नाप्थे,
बादलका अमूर्त ढिक्काहरुमा
रुमानी कथाहरु बुनिन्थे
राजा रानी, हात्ती घोडा, राजकुमार र परीका कथाहरु,
क्षितिज नै ओझेल परेका छन् आज-भोलि
बादलको आकृतिमा कथाहरु छैनन्
पर पर क्षितिजमा बादलहरु छैनन् …….
पहाडहरुसँग
उचाइ नापिन्थ्यो सपनाको,
भर्खर झरी परेर पखालिएका
उज्याला, हरिया जङ्गल झैं
प्रष्ट थिए सपनाका क्यानभासहरु
आजभोलि पहाड पनि छैन,
झरी हैन, तुषारो पर्छ
पर पर क्षितीजमा सपनाहरु छैनन्,
पहाडहरु छैनन् ….
(स्रोत : रचनाकारको ब्लगबाट सभार)