~गोविन्द श्रृङ्खला~
सधै जसो त्यस आज पनि म नियत समयमा अफिस जान हिडिरहेको छु । शहरको कोलाहललाई चिर्दै मेरो साइकल अघि बढिरहेको छ । अस्तव्यस्त सडक, मोटर गाडिको अव्यस्थित लस्कर, साइकल रिक्सा र ताङ्गाको तँ छाड मछाड उदेक लाग्दो देखिन्छ । झण्डै तीन किलोमिटरको दुरी मैले अफिसका लागि पार गर्नु पर्छ दैनिक । म यहि उपक्रममा छु । सडक छेउका छाप्राहरुमा बटुवाहरुको भिड छ । त्यहाँ खाजा र खाना पाइन्छ । सायद भर्खरमात्र भारतका विभिन्न शहरबाट नेपालीहरु आफ्नो गाउँघर सम्झेर आएका होलान् । सयौं मान्छे सवैका आ–आफ्नै धुन छन् । मलाई समयमै अफिस पुग्नु पर्ने रन्को छ । ती बटुवाहरु गन्तव्यका लागि बसको पर्खाइमा छन् । लाग्छ संसारका सवै मान्छेका मनका उद्वेगहरुमा कत्ति पनि समानता छैन । सवैमा फरक फरक उद्धेश्य लक्ष्य र गन्तव्य छन् ।
म अघि बढिरहेको छु । यहि बाटोमा विमला भाउजुको घर पनि पर्छ । विमला भाउजु मात्र किन मेरो साथी शैलेश जससंग मैले मेरो कलिलो बाल्यकाल विताएको थिएँ ऊ पनि यहि घरको सदस्य हो अथवा ऊ साथी भएकै कारण विमलालाइ मैले भाउजु भन्नु परेको । मेरो नियमिततामा विमला भाउजुको उपस्थिती प्रायः हुन्छ । विमला भाउजु कौसीमा बसेर मुसुक्क नहाँसेको दिन मैले खल्लो अनुभव गर्छु,नुन नहालेको तरकारी जस्तै । मलाइ लाग्छ उनि कुनै न कुनै निहुले झ्यालमा बसेर मेरो समयलाई कुरि रहेकी हुन्छिन् । कहिले उनको मुस्कानको प्रत्युत्तर दिन भ्याउछु त कहिले नदेखे झै गरि टाउको लुकाएर नदेखेको अभिनय गर्छु । आज पनि उहि प्रक्रियाको निरन्तरता छ । भाउजु कौसीमा उभिएकी छिन् । ओंठमा उही हाँसो छ,शरिरमा अनौठो मादकता र “कुसुमवाण” छ । तर पनि मलाइ लाग्छ उनको अन्तरमनमा तीव्र उत्पिडन लुकेको छ । मेरो अनुभवमा आजको मुस्कानमा सधैको जस्तो सहजता छैन, स्वस्फूर्त हाँसो छैन र भाउजुको मनको कुनामा कतै दुखिरहेको छ । उनले त्यो दुखाइलाई सकि नसकि लुकाउने असफल प्रयास गरिरहेकि छिन् । मेरो साइकलको गति स्वचालित रुपमा कम हुन्छ । मेरो मथिङ्गलमा तर्क वितर्कको ओइरो लाग्न थाल्छ । मस्तिष्क बोझिलो बन्छ । मैले विमला भाउजुलाई पुलुक्क हेर्छु । उनि सधै झै हाँस्ने प्रयत्न गर्छिन् अँ हँ त्यो मुस्कान कसै गरि आउन सक्दैन । के नपुगेको हो ? मैले केही ठम्याउन सक्दिन । सधैको कान्ति उनको मुखमण्डबाट ओझेल भएको छ । मलाइ केही पनि सुझ्दैन । म समयमै अफिस पुग्ने रन्कोमा छु । मैले चाहेर पनि विमला भाउजुसंग संवाद गरिन । मेरो साइकल अघि बढ्छ मनले उठाएका धेरै अनुत्तरित प्रश्नहरुको पोको लिएर ।
सधै भन्दा पाँच÷सात मिनेट ढिलो गरि अफिस पुग्छु । सवै साथीहरुले मलाइ क्वारक्वारर्ती हेरे झै लाग्छ । म प्रायः अफिस समयमै पुग्ने मान्छे । बरु पाँच÷सात मिनेट छिटो नै पुग्ने मेरो दिनचर्या । आज ढिलो भएकोमा उनिहरुको मौन प्रश्न होला म प्रति । समय सीमा ननाध्ने मान्छे किन ढिला भनेर । कार्यालय प्रमुखले सवै कर्मचारीलाई बोलाउन पियन प्रयोग गरे । सायद आज स्टाफ मिटिङ्ग छ । मेरा लागि आज दुई दिन विदा पछिको पहिलो दिन हो । मलाइ लाग्यो यो दुई दिनमा मेरा साथीहरुमा कति भिन्नता आएको छ । उनिहरु मलाई किन यसरी अपरिचितलाई झै हेरिरहेका छन् ? म मा के त्यस्तो परिवर्तन भएको छ ? मेरो गम्भिर भाव मुद्रालाइ कति छिटो पढ्न सकेका होलान् ? मान्छेको अन्तरमनको द्वन्द कति छिटो बाहिर सम्म देखा पर्दो रहेछ । मान्छे दुखि हुंदा उसको दुख प्रस्ट बाहिर देखिन्छ र खुशी हुंदा खुशी देखिन्छ । मान्छेले चाहेर पनि लुकाउन सक्दैन रहेछ अन्तरमनको यथार्थलाई । म गहिरो सास छोड्दै मेरै कोठाको सहकर्मी साथीको नजीकै बस्छु थचक्क…..। मेरो अवस्थामा व्यङ्ग कस्छ साथीले “ हैन दुई दिनको आरामले पनि पुगेन कि क्या हो ”? मसंँग उसको यस प्रश्नको जवाफ छैन । मैले उस्लाई चित्त बुझ्दो जवाफ दिन सक्दिन । मसंग त्यस्तो ठोष जवाफ पनि छैन जस्ले उसको खुलदुली मेटाउन सकोस् । मेरो अधरबाट केवल उदेकलाग्दो हासो फुस्किन्छ “फ्यास्स” । उसले पुन कोट्याउन चाहेन । उसको यस क्रियाले म आश्वस्त हुन्छु ।
झण्डै एक घण्टा त्यहाँ विविध विषयमा छलफलहरु हुन्छन् । मिटिङ सकिन्छ । कसैका प्रस्तावहरु निर्णयमा परिणत हुन्छन् कसैका प्रस्ताव त्यत्तिकै तुहिन्छन् कसैका प्रस्ताव अन्तरमनको कुनाबाट बाहिर प्रस्फुटन हुन नपाउदैं कुण्ठित हुन पुग्छन् । जिन्दगीको यो सग्लो पाटोमा पनि सायद यस्तै हुदों हो । कतिपय मान्छेका चाहनाहरु सहजै पूरा हुन्छन् कतिपयले चाहना राख्दा राख्दै विफल र निरश्त भएर जान्छन् भने कतिका चाहना इच्छाहरु सतहमा नआउंदै दमित भएर जान्छन् । मिटिङ्ग सकिए पछि सवैले निर्णय पुस्तिकामा हस्ताक्षर गर्छन् मैले पनि त्यसै गर्छुं । मलाइ लाग्छ यो मिटिङ्ग एउटा नाटक हो । आजका सवै निर्णयहरु नाटकमा दृश्यहरु हुन र हामी कर्मचारीहरु नाटक मञ्चन गर्ने कलाकार हौं । निर्णय नम्वर एक दृश्य एक हो निर्याय नम्बर दुई दृश्य दुई हो एवं रितले निर्णयको क्रमिकतामा नाटकका दृश्य फेरिएका छन् । मलाइ लागछ जिन्दगी पनि एउटा नाटकै हो जुन लामो समय सम्म चलिरहन्छ । पर्दा उघारिन्छ मान्छे संसारमा आउंछ पर्दा खस्छ मान्छे संसारबाट अस्ताउंछ । अस्ताउनेका लागि नाटकको समाप्ति हुन्छ । म एक छिन् घोरिन्छु । यदि जीवन नाटक हो भने मान्छे किन यति विध्न अधैर्य,स्वर्थी र विवेकहिन बन्छ ? मेरो एकोहोरो पनलाई सहकर्मी साथीको आवाजले विथोलीदिन्छ “के भयो आस्तिक जी किन टोलाएको” ? म झस्किन्छु । सवै साथीहरु आ–आफ्नो कार्यकक्षमा गइसकेका हुन्छन् । म अझै सोफामा अडेस लगाएर बसि रहेकै हुन्छु । केही क्षण पछि केही नवोली आफ्नो कार्यकक्षमा पुग्छु । कुर्सिमा बस्छु र खुइय सुस्केरा हाल्छु । काम गर्ने अभिरुचि पटक्कै छैन तर पनि सेवाग्राह्यीलाई सेवा दिनै पर्छ । काम नगरि धरै छैन । बोझिलो मनस्थितीका साथ त्यो दिनको समयले पाँच बजाउंछ । कार्यालय विदा हुन्छ । सवै साथीहरु घर जान निस्कन्छन् । म पनि वाहिर निस्किन्छु ।
मेरो मानसपटलमा विमला भाउजुको परिवर्तित भाव मुद्रा प्रतिविम्वित भईरहेको छ । मलाई किन किन विमला भाउजुको मुखमण्डलमा ग्रहण लागे झै भान भैरहेको छ । विनोदी भाव हराए झै लागेको छ । उनको हसिलो रसिलो जीन्दगी मरुभुमीकरण भएझै लागेको छ । उनको मनको हरियो मुना निमोठिए झै लागेको छ । के त्यस्तो सत्य उनको सामु आयो जसले उनलाई यति विध्न उद्धेलित बनाएको छ ? म अनभिज्ञ छु । मेरो उनिसंग संवाद पनि भएको छैन ।
आस्तिक जी ! सहकर्मी साथीको आवाजले मेरो कल्पना तरङ्ग विथोलिन्छ । “आज फिल्म हेर्न जाउँ हैं ” साथीको आग्रह छ । म भित्र भित्रै आन्दोलित छु । साथी रमाइलो गर्न फिल्म हेर्न जाने कुरो गर्दैछ । उसको आग्रहलाई म के गरि इन्कार गरुँ ? मलाइ आज फिल्म हेर्न पटक्कै मन छैन । के गरि साथीलाई नाई भन्नु ? भित्री मनको कुस्ताकुस्ति पछि मैले बोलें “सरी मित्र आज मेरो घरमा काम छ प्लिज माइण्ड नगर्नुस् है ” । मेरो भाव मुद्रा पढे पछि साथीले कर गरेन । साथी र मेरो यात्रा फरक फरक गनतव्यका लागि अघि बढ्छ ऊ फिल्म हल तिर लाग्छ म घर तिर । साइकलले बाटो छोट्याइरहेको छ । परबाट विमला भाउजुको घरले मलाई चिहाउंदै छ । कति खेर विमला भाउजुको नजरले पनि मलाई घेर्ने हो थाहा छैन । विहान पनि म देखेको नदेखे झै गरि आएको अहिले जम्काभेट भयो भने के भन्ने होला ? आदि आदि तर्कना गर्दा गर्दै म त उनकै घर छेउ पुगेछु पत्तै नपाइ । “आस्तिक बावु !” विमला भाउजुको आवाजले म झस्किन्छु । “आज त निक्कै गम्भिर देखिनु भा छ नि” ? सायद मेरो चिन्तन मुद्रालाई उनले पढि सकिछन् क्यार । “होइन होइन भाउजु के को गम्भिर हुनु नि ? म सहज हुने प्रयत्न गर्दै बोल्छु । उनले मलाई तल देखि माथी सम्म हेर्छिन् । लोभलाग्दो नजरले हेर्छिन् । अनि वोल्छिन्् “सधै यहि बाटो हिड्नु हुन्छ खै त कहिलेकाहीं हाम्रोमा पसे पनि हुन्छ नि हामी पनि आफ्नै मान्छे हौ” । म मौन रहन्छु । बाटोमा उभिइ रहन्छु । उनि फेरि बोल्छिन् “आउनुस् न किन बाटोमा उभिनु भा को ”? मैले कुनै जवाफ दिन्न । एकाएक विमला भाउजुको घरको गेट खोल्दै भित्र पस्छु ।
म सिढी उक्लिरहेको छु । विमला भाउजु माथीबाट मलाई हेरिरहेकी छिन् । माथी वार्दलीमा पुगेपछि उनले नमस्कार गर्छिन् । मैलेपनि प्रत्युत्तरमा नमस्कार फर्काउँछु ।केही क्षण त्यहाँ मौनता छाउछ । “यतै बार्दली मै उभिइरहने हो कि ”?भाउजुले मौनतालाई भङ्ग गर्छिन् ।
“आउनुस् न भित्र” बैठककोठाको ढोका उघार्दै भाउजु भित्र पस्छिन् ।
म पनि उनको पछि पछि भित्र जान्छु । झण्डै एक बर्षपछि म उनको घरमा आएको छु । शैलेसको विवाहको बर्षगाठमा गत बर्ष आएको थिएँ ।
“बस्नुस् न” भाउजुको आग्रह छ ।
म नजिकैको सोफामा बस्छु ।
भाउजु मेरो ठिक अगाडिको पलङ्गमा बस्छिन् । मौनताको निरन्तरता छ । दुवै मुखामुख गरिरहेका छौं ।
“वावु त सधै यहि बाटो हिड्नु हुन्छ कहिले पनि आउने हैन” म उनको घरमा नआएको गुनासो फेरि पोखिन्छ । मैले स्पष्टिकरण दिन्छु “के गर्नु भाउजु कहिले के हुन्छ कहिले के । छिटो घर गयो यसो करेसावारीमा काम ग¥यो फेरि भोलिको उहि क्रम सुरु हुन्छ” ।
मेरो प्रत्युत्तरमा उनि हास्दै बोल्छिन् “ त्यही भएर त हजुरको जिउडाल पनि कत्ति कसिंलो र लोभ लाग्दो छ”। मेरो जिउडाल संग उनि लोभिएकी छिन् किन होला ?
म हाँसि रहन्छु केहि पनि बोल्दिन ।
“अँ बाबु ! हेर्नुस् न तपाइको दाइ पनि कस्तो सनकी मान्छे सानो कुरालाई लिएर रिसाउंदै आज पहाड तिर जानु भयो ”। भाउजुको गुनासो छ मसंग ।
मलाइ लाग्यो बाहिरबाट सलक्क देखिने यी जोडिमा भित्र भित्रै धमिराले खोक्रो पारेको रहेछ । घरको विषय हामी सम्म आइ पुग्नु भनेको अलि बढि नै भएको रहेछ भन्ने अनुमान सहजै गर्न सकिन्छ । यति साह्रो मेलमिलाप भएको जोडि विमला र शैलेसका विचमा पनि मनमुटाव हुन्छ मैले सौच्नै नसक्ने विषय थियो । मलाइ विगतले तान्छः म झण्डै आठ बर्ष अघि पुग्छु ऊ र म सात कक्षा देखि उच्च शिक्षा सम्म संगै पढेका अति मिल्ने साथी । हामी विचमा आजका मिति सम्म सामान्य बाहेक कुनै तीतो पिरो भएको छैन । हाम्रो घनिष्ठता देखेर धेरैले इश्र्या पनि गर्दथे । स्कूलको पढाइ सकेर क्याम्पस जाँदाको त्यो क्षण मलाइ आज पनि झल्झली सम्झना छ । शैलेस र विमलाको पहिलो जम्काभेट भएको त्यो दिन र हाम्रो क्याम्पसको पहिलो दिन एउटै थियो । त्यस पछि भेटको निरन्तरता धेरै दिन सम्म चल्यो नबोलेरै । एक दिन विमला एक्लै क्याम्पस जाँदै गरेको देखे पछि मैले नै उनिसंग बोल्ने प्रसंङ्ग कोट्याएको थिएँ । उनि त कति सरल ,सहज र फरासिली ! हामी विच परिचय भयो । यो परिचय विस्तारै शैलेसको जीवनसंग जोडिन पुग्यो । शैलेस र विमला विचमा प्रेम अंकुरण भएछ यसको पहिलो सूचना मैले नै पाएको थिएँ । उनिहरुको प्रेममा मलजल गर्ने काम मैले नै गरेको थिएँ । दुवै परिवारका असहमतिका वावजुद शैलेस र विमलाको विहे पनि मेरै प्रयासबाट भएको थियो । मलाइ लाग्यो मेरो त्यत्रो प्रयास र सद्भावले हुर्केको विमला र शैलेस विचको प्रेम आज धरापमा परिरहेछ । प्रेमको आयु छोटै हुन्छ या मान्छेको बुझाइमा कमजोरी हुन्छ मैले खुट्याउन सक्दिन । या शारिरिक आकर्षण र प्रेमका बीचमा कुनै अन्तरसंबन्ध हुन्छ मैले बुझ्न नसकेको विषय ।
शैलेस र विमलाको विहेको एक महिना पछिको घटनाले मलाइ झस्काउंछ । उनिहरुको त्यो हाँसी खुशीको जीवनलाई ग्रहण लगाउने त्यही दुर्घटना त हैन म गम्भिर बन्छु । ऊ र म मोटरसाइकल दुर्घटनामा परेको त्यो कहाली लाग्दो दिन, आज पनि सम्झिदा जिऊ जिरिङ्ग हुन्छ । मलाइ त सामान्य चोट मात्रै लागेको थियो तर शैलेसको अण्डकोषमा भित्री मर्म पुगेछ । ऊ बेहोश भएको थियो । बटुवाको सहयोगमा तुरुन्तै अस्पताल पु¥याएको र अस्पताल लगेको दुई घण्टा पछि मात्र शैलेसको होश खुलेको घटना आज पनि म भित्र ताजै छ । ऊ पीडाले छटपटाइरहेको थियो, विमला भाउजु, भाइको विहेका लागि काठमाण्डौ गएकोले अनुपस्थित थिइन् यी सवै घटना आज मेरो आखा अगाडि प्रतिविम्वित भैरहेका छन् । मैले विगतलाई पल्टाइरहेको छु । भोली पल्ट डाक्टरले मलाई एक्लै गोप्य कोठामा लगेर भनेको त्यो शव्द वारम्बार मेरो कानमा परावर्तन भइरहेको छः–“अव तपाइको साथी वावु बन्न सक्नु हुन्न ” । म अहिले पनि आन्दोलित हुन्छु त्यो सम्झिदा । मलाइ कता कता लाग्यो यो रहस्य विमला भाउजुले थाहा पाइन कि ? उनिहरु विचको मनमुटावको कारण यही त होइन ? मेरो मथिङ्गलमा वारम्बार यही प्रश्न दोहोरिइ रह्यो । “तर कसरी”? मैले आफैलाई सोधें किन भने यो रहस्य हामी दुई भन्दा तेस्रो व्यक्तिलाई थाहा छैन । म अन्तरद्वन्दको शिखरमा पुग्छु । कतैबाट पनि मैले निकाश पाउंदिन ।
“वावु ! के सोचिरहनु भा को ? यी चिया लिनुस्” विमला भाउजुको स्वरले मेरो विचार तन्द्रा विथोलिन्छ । म सहज बन्ने प्रयत्न गर्छु र चियाको गिलास समात्न हात अघि बढाउंछु । के भएको हो आज मलाई ? कस्तो अचम्म ! चियाको गिलास हैन मैले त विमला भाउजुको हात पो समात्न पुग्छु । म झस्किन्छु । लाजले पानी पानी हुन्छु । भाउजुबाट कुनै प्रतिक्रिया छैन । अनुहार रातो भएको छ, लालीमा चढेको छ । “सरि” अनायासै मेरो मुखबाट निस्किन्छ । उनि बोल्दिनन् । म नबोलेरै चिया पिउने क्रियालाई निरन्तरता दिन्छु । भाउजु अघिल्तिरको कुर्सिमा बसेकी छिन् । हामी दुवै मौन छौं चियाको घुट्को निलेको आवाज समेत सुनिएको छ । अत्यन्तै स्तब्धता, सन्नाटा……………… । यो मौनताले हामी दुवैलाई खाइरहेको छ तर पनि वोल्ने विषयले प्रवेश पाएको छैन । विमला भाउजुले पुलुक्क म तिर हेर्छिन् अनि बोल्छिन्–“वावु ! भाग्यको खेल हो कस्तो विडम्बना हाम्रो विहे भएको छ बर्ष वितिसक्दा पनि सन्तानको रहर रहरै हुने भो ” लामो स्वास छोड्दै फेरि बोल्छिन् “अव त जीवन पनि शून्य झै लाग्न थालेको छ, यो आँगनमा बामे सर्ने कोही आएन ”। उनको प्रस्तुतीमा कारुणिकता मिसिएको छ । उनको यो भनाइले मलाइ पनि भावुक बनाएछ, मेरा आँखा रसाएछन् । मैले उनले नदेख्ने गरि आँखा पुछ्ें । उनले अगाडि बोल्दै छिन्–“अस्ति मात्र हामी डाक्टर कहाँ गएका थियौं । मलाइ त ठिकै छ रे उहाँको मा खरावी देखियो” । उनि एक छिनको मौनता पछि फेरि बोल्छिन् “त्यही मोटरसाइकल दुर्घटना पछि यस्तो भएको रे ! ”
“औषधी दिएको छ निश्चित हुंदैन रे”
म उनको भनाइबाट झसङ्ग हुन्छु । मेरो मुनीको जमीन खस्के झै लाग्छ । हामीले गोप्य राखेका सवै कुरा विमला भाउजुलाई जानकारी रहेछ । अव बल्ल मैले सहजै अनुमान लगाउन सकें उनको नैराश्यताको कारण पक्कै पनि यही हो । मलाई लाग्यो हामीले छ बर्ष सम्म यस्तो कुरालाई उनि संग लुकाएर ठिक गरेनौं । उनको जीवनसंग जोडिएको यस्तो गम्भिर विषयलाई किन गोप्य राख्यौं होला आज मलाइ पश्चाताप भएको छ ।
“हेर्नुस् न बाबु ! वहाँ पनि हुनुहुन्न यो सुनसान घरले मलाई खाइरहेको छ ”।
“हिजो पनि निदाउन सकिन, खै के के कुरा मनमा खेल्छन् एक्लोपन महसुस गर्छु निद्रा पटक्कै लाग्दैन” आज हजुर यतै बस्नु न है ? उनको भावमुद्रा गम्भिर छ । आग्रहमा तीव्र “कुसुमवाण” छ
मेरो बाक्य फुट्दैन,म अवोध वालक झै टुलुटुलु हेरिरहन्छु । उनि भित्रको “कुसुमवाण”उत्कर्षमा छ । म परिस्थितीलाई सहज बनाउने प्रयासमा छु ।
“होइन भाउजु ! फेरि फेरि बसौला नि ”उनको आग्रहमा मेरो असहमति छ । एक्लि यौवनाको घरमा मैले रात विताउँदा समाजले के भन्छ यो मलाई थाहा छ त्यसैले सकभर मैले यसलाई टार्ने यत्नमा छु । तर परिस्थिती यस्तो निर्माण हुंदो रहेछ मान्छेले चाहेर पनि त्यसबाट उम्किन सक्दो रहेनछ । मैले उनको आग्रहलाई नाध्न सक्दिन ।
साँझको खाना खाइसके पछि म पाहुना कोठा तर्फ जाँदै गर्दा भाउजुले मलाई आफ्नो कोठामा बोलाउँछिन् । मलाइ उनको कोठामा जान निक्कै सकस भएको छ । जान मन छैन । तर पनि म पाहुना हुं त्यसैले उनको अग्रह नाध्न सक्दिन म उनको कोठामा जान्छु । रात्रिको निस्तब्धता, एकान्त घर , सगरमा टहटह जूनको उज्यालो । कोठामा मधरो प्रकाश छ । कोठाको साज सज्जा मोहक ढंगबाट गरिएको छ । अगाडिको भित्तामा अर्धनग्न युवतीको तस्विर टाँगिएको छ, चित्रमा युवतीका पुष्ट वक्ष उदाङ्गै छन् । सलक्क परेको देह अनि आकर्षक नितम्बले युवतीको सौन्दर्यलाई झनै निखारेको छ । पलङ्गको सोझै माथी विमला र सैलेशको विपरित दिशा तर्फ फर्केको श्यमश्वेत तस्विर फ्रेममा सजिएको छ । मलाई लाग्यो वास्तविक जीवनमा पनि यिनहिरु यसै गरि विमुख त छैनन् ?
“किन टोलाइ रहनु भएको वावु” ? विमला भाउजुको आवाजले मेरो निरिक्षण प्रक्रिया रोकिन्छ । सहज बन्दै भाउजु तिर फर्किन्छु । विमला भाउजु पलङ्गमा बसेकी छिन् । उनको बायाँ खुट्टाबाट माथी तिघ्रा सम्म सारि सर्किएको छ । मेरा चोर आँखाले यो दृश्यलाई हेरिरहेको छ । उनले दायाँ खुट्टा पनि पलङ्गमा राख्ने निहुंमा सेता तिघ्रा देखाउँछिन् । यो अलि अस्वभाविक लागे पनि उनि भने थाहा नपाए झै गरेकी छिन् । खुट्टाको अवस्थितीलाई जस्ताको जस्तै राख्दै उनि पलङ्गमा अडेस लगाउँछिन् र वोल्छिन् “हेर्नुस् वावु ! विवाह पछि नारि जातीको एउटै मात्र चाहना हुन्छ उसको कोख भरिलो होस् तर म दुःखीलाई यो सव………..? उनका आँखा रसाउँछन् बाक्य पूरा हुंदैन । उनको प्रस्तुती अत्यन्तै भावुक हुन्छ । उनले म बाट के खोजीरहेकी हुन बुझ्न सक्दिन । उनका नयनबाट गाला सम्म लर्केको आँशुलाई मैले हेर्नै सक्दिन, मेरा हात अनायासै उनको आँशु पुछ्न उठ्छन् । यो अप्रत्याशित प्रक्रियाले भाउजु पनि अकमक्क पर्छिन् । मेरा हातले उनको गालामा स्पर्श गर्छ । स्पर्शको प्रतिक्रिया उनका हातले मलाई आलिङ्गन गर्न पुग्छन् । म आत्तिन्छु । अचानक के भयो ? म विवेकशून्य हुन्छु, । त्यहाँ स्वास प्रस्वसाको हुरी चल्छ । हामी विचका सवै औपचारिक संबन्धहरु झ¥यामझुरुम हुन्छन् र वाक्लिदों अध्यारो संगै हामी एक अर्कामा समाहित हुन्छौं । जव विहानीको कोमल रवि किरणले आँखा खुल्छ , भाउजुको अधरमा कोख भरिलो हुने दृढताको विजयी मुस्कुराहट र आँखामा चमक पाउँछु तर म भने………………….।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)