~अनिल नेम्बाङ~
गलामा सेतो हिमश्रिङ्खलाको हार
हरियो पहाड-पर्वतको फरिया-चौबन्दी
ठाउँँ ठाउँमा लालिगुराँसको बुट्टा
बुर्कामा रङ्गिचङी डाँफेहरुको बिट
सिम्रिकको बाटुलो टिका
अनी लमतन्न मधेशको बाह्र हाते पटुकी
आहा! कती सुहाएको
तर,
कता कता निधार उजाड लाग्यो
तिमीलाई थोरै नग्न देखेँ
मन लाग्यो,
-अभागी निधार पहिचानको शिरबन्दिले सजाइदिउँ
-एउटा पहिचानको घलेक पोतिदिउँ +
ठीक त्यस दिन देखी
अभियुक्त म आउटसाइडर
नजरबन्दको करार खेपिरहेको छु
उनकै कारागारमा
श्रीमान!
मैले के बिराएँ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)