~महेन्द्र महक~
आफ्नो सम्पूर्ण राज्य हारेका थिए युथिष्ठिरले जुवाको खालमा । अन्ततः द्रौपदीलाई पनि दाउमा लगाएका थिए । द्रौपदीलाई पनि हारे । दुःशासनले द्रौपदिको चिरहरण गरेपछि मात्रै महाभारतको सूत्रपात भएको हो क्यार !
यो पौराणिक कथा थियो । जहाँ जुवाडे युथिष्ठिर र पाण्डवसँग दाउ लगाउनका लागि पत्नी थिइन्– द्रौपदी । तर यस युगको ग्याम्बलर लोकेन्द्र काजीसँग द्रौपदी थिइनन्– कमसेकम परदेशको यस ठाउँमा ।
त्यसैले खल्तीमा भएको चारहजार दुईसय दिराम लङ्गुरबूर्जामा हार्यो। र, चुपचाप कोठा फर्कियो ।
घरमा उसकी श्रीमती छन् । दुई महिनादेखि पैसा नपठाएको उसले बिहिवार साँझ आईएमई गर्ने सोच बनाएको थियो । ड्युटीबाट फर्किएलगतै ऊ मनी एक्सचेञ्च पुगेको थियो, पैसा पठाउन भनी । बिहान २३.९६ पुगेको दीरामको दर रेट साँझ २३.२० मा झरेपछि उसले केहि दिन पछि मात्रै पठाउने सोच बनायो ।
यो बिहीवार साँझको कुरा हो । पैसा आइएमई गर्ने कुरा स्थगित भएपछि आइक्याडको गेट नम्बर दुई बाहिर लाग्ने ‘रत्नपार्क’ मार्काको भीँडमा पुगेको थियो लोकेन्द्र काजी ! – दारु, फुटपाथे पसल र जुआका खाल खोज्दै ।
उसले पोलिथिनको झोलामा बियर र रक्सीका बोतल बोकेर ग्राहक खोज्दै हिँडेको बंगालीबाट दुईवटा बियर क्यान किन्यो । छेऊबाट अण्डा फ्राई पनि लियो र भित्तातिर पेटीमा बसेर खायो ।
अर्कोदिन जुमा– याने शुक्रवार– अर्थात् विदाको दिन– अर्थात् दिनभरि खाने पिउने र मस्ती गर्ने दिन । शुक्रवारको दिन बिहानदेखि (सूर्योदय नहुँदै) साथीहरु दारु र चिकेनमा जुटिहाल्छन् । यो सोचले मात्र पनि उसको शरीरमा खुशीको सञ्चार प्रवार गरेको थियो । अघिल्ला हप्ताहरुमा बिहीवारको साँझदेखि कार्यक्रम शुरु भइसक्थ्यो तर श्याम र पिङ्गमाको नाइट ड्युटीले गर्दा त्यो छुटेको छ हिजोआज ।
बियर खाइसकेपछि उसलाई कोठा फर्किन मन भएन । रेशमले खाना ढिला पकाउँछ– आप्mनो पालो परेको दिन । त्यसैले ऊ अलिपर ग्रुप्प परेको भीँडतिर आकर्षित भयो ।
“डालो बन्धु ! डालो ! डालो !” बंगाली चिच्याउँछ ।
हरियो रंगको बाल्टीमा डाइसहरु खेलाउँदै गरेको बंगाली चिच्याउँछ ।
“पब्लिक ! पब्लिक किधर गई ? पब्लिक !” छेऊमा पैसाको मूठो समातेर बसेको अर्को सहयोगीले खेलाडीहरुलाई आकर्षित गर्छ ।
“किस्मत आजमाओ ! किस्मत !”
“दस– दस– दस दिराम !”
खेल खेलाउनेहरु गोलो घेरामा छन् । चारजना उभिएकाहरु मध्ये एकजनाले भुइँमा ओच्छ्याइएको पालका छ वटा चित्रहरुमा पैसा हाल्नका लागि उक्साइरहेको छ ।
केहिजनाले दस बीसका नोट फुत्त फुत्त फाल्छन् पालमाथि ।
कसैले मुकुटमा, कसैले ईँटमा त कसैले चिढीमा ।
“मै झण्डीमें डालेका ! पचास झण्डी में !” उभिएको मध्ये कसैले पचासको नोट प्mयात्त फाल्यो ।
कालो वर्णको त्यो बंगाली नाकको टुप्पामा पसिना चुहाउँदै डाइसलाई बाल्टीले छोपेर चिच्याउँछ– “डालो बन्धु ! डालो ! डालो !”
उसलाई पनि कता कता ‘किस्मत चेक’ गर्न मन लाग्यो ।
“बीस झण्डी मे , बीस पान मे !” पचासको नोट फाल्यो लोकेन्द्रले पनि ।
“मुकुट में डालो, मुकुटमे आएगा ।” हातभरि पैसा समातेको अर्को बंगालीले सल्लाह दियो । यसो भनेर उसले बीस बीसका नोट झण्डा र पानमा राख्यो र दसको नोट लोकेन्द्रलाई फिर्ता दियो ।
“मेरी मर्जी ! पैसा मेरा है– कहाँ डालना है मेरेको पता है ।” काजी गर्जिएका थिए ।
बंगालीले बाल्टी घुमायो र फेरि चिच्यायो–“डालो बन्धु ! डालो ! डालो !” यसो भन्दै उसले बाल्टी पनि उठायो ।
“पान ट्रिपल–” लोकेन्द्रले साठी पाए । झण्डामा राखेको दाम भने गयो ।
हिसाब किताबमा उनले ४० जिते ।
कालो वर्णको त्यो बंगाली युवा गोटी बाल्टीमा राखेर फेरि खूब उत्साहका साथ हल्लाहउँदै चिच्याउन थाल्यो– “अरे बन्धु ! डालो बन्धु ! डालो ! डालो ! दस डालो तीस लेके जाओ !”
चिच्याउँदै गर्दा बीचबीचमा ऊ बाल्टीभित्र पनि हेर्न भ्याउँछ– डाइसको कन्डिशन चेक गर्न ।
अघि दाऊ लगाउनेहरुले अहिले पचास पचास हाले ।
लोकेन्द्रलाई पनि जोश चढ्यो । अघि जितेको थियो । घर पठाउन भनी राखेको पैसाको बण्डलबाट सय सयका दुई वटा नोट झिक्यो र झण्डा र पानमा सय सय राख्यो ।
“पूरा ?” छेऊमा उभिएको अर्को पठानी युवाले सोधेको थियो ।
“हाँ पूरा !”
यस पटक ऊ बराबर भयो । पानमा परेन । झण्डामा प¥यो ।
खेल फेरि शुरु भयो ।
काजीले उसैगरि फेरि पनि पान र झण्डामा सय सयको दाऊ थाप्यो ।
यस पटक उसले दुवै गुमायो । दाऊ ईँट्टालाई प¥यो । उसले फेरि पर्सबाट थप पाँचसय रकम निकासा गर्यो ।
यस पटक उसले दुई दुई सय ईँट्टामा र चिढियामा राख्यो । यो दाऊ पनि हा¥यो ।
पाँच सय निकालेर झण्डामा राख्यो ।
“आएगा तो हजार से ऊपर ! जाएगा तो पाँच सौ ! स्याला बराबर करके जाएगा !” अब जोशका साथ ऊ बसेर नै खेल्न थाल्यो ।
उसले यो पाँचसय पनि गुमायो ।
ऊ उठ्यो र रन्थनिदै रिङबाट बाहिरियो ।
उसको मोबाइल बज्यो । खल्तीबाट झिक्दा–झिक्दै थाहा पायो– मिसकल रहेछ ।
हेर्छ– श्रीमतीले मिसकल गरेकी रहिछे ।
उसले कलब्याक गर्छ ।
– कहिले पठाउनुहुन्छ पैसा ?श्रीमतीको माग ।
– आज रेट घटेको रहेछ, रेट बढेपछि पठाइदिउँला । उसको स्पष्टीकरण ।
– छिटो पठाउनुहोला । यहाँ सताइरहेका छन् मलाई । फोन गरेको ग¥यै गर्छन् । श्रीमतीको गुनासो ।
– हुन्छ ! हुन्छ ! उसको आश्वासन ।
घर पठाउने भनेको पैसा जुआमा हारेकोमा ऊ क्षुब्ध थियो । अब उसको खल्तीमा जम्माजम्मी तीनहजार मात्र बाँकी छ ।
विहीवारको साँझ ।
भोली शुक्रवारको दिन विदाको दिन भएकाले थुप्रै साथीहरु त्यसै अलमलमा छन् । काजीको मन मिल्ने साथी भेटियो ।
“पिउने भए पिउन त ? के छ र जिन्दगीमा मरी लानू !”
फेरि पिउने कार्यक्रम बन्छ ।
छ्याप्छ्याप्ती गैरकानूनी रक्सी बेच्ने पाकिस्तानीबाट व्हिस्कीको बोतल किनेर ती दुई बसेर पिउन थाल्छन् । साथीले नमकीन र चिसो कोक झोलामा नै बोकेर ल्याएको रहेछ । सँगै डिस्पोजेबल कप पनि । दुईजना साथीहरु जमेर पिउन थाले ।
एकै छिनपछि दुईजना अरु साथीहरु थपिए ।
चारजनाले मिलेर एउटा ‘रोयल स्टेग’ रित्याए ।
रमझम रमझम बढ्यो । विहीवारको साँझ । अर्को दिन जुमाको दिन । चाँडै रुममा गएर के नै गर्नु थियो र ?
पहिला नै दुईवटा बियर रित्याएको काजीलाई नसाले राम्रो ‘रमझम’ बनाउँछ ।
चारजनाको समूह फेरि बरालिन थाल्यो । एकछिन् पछि दुईजना छुट्टिए ।
“जाउँ हो ! अबेर भो ! रुम फर्कौं ! एउटाले भनेको थियो ।
अर्को साथीले भन्यो– “एक दुई दाऊ चेक गर्न मन छ !”
त्यसपछि टोली फेरि लंगूरबूर्जा खेल भइरहेको ठाउँमा झुम्मिन्छ ।
साथीले पचास थाप्यो– हुकुममा ।
उसले सय थाप्यो– मुकुटमा ।
साथीले गुमायो उसले दोब्बर पायो ।
ऊ फेरि जोशियो । अब दुई सय र पाँचसयका नोट झर्न थाले ।
तर उसलाई दाउले साथ दिएनन् ।
खेल चलिरह्यो । अन्ततः जबसम्म उसले आफ्नो पर्स रित्तो पाएन ।
अनि उसको नसा ‘छू’ मन्तर भयो ।
उसले दुई घन्टामा एक लाख नेपाली हारेको थियो । रातो पिरो अनुहार बनाएरसँगै उभिएको साथीलाई भन्यो, “अलिकता पैसा छ ?”
एक छिन् त ऊ केहि बोलेन अवाक् रह्यो । उसले काजीलाई कतिपटक भनेको थियो, “भयो यार जाऊँ ! यो खेलमा कहिलै जितिदैन । छौडौं !” तर पनि काजीले उसले भनेको मानेन । उसलाई अब षट्चित्रे पालको नसाले गाँजेको थियो ।
युथिष्ठिरले त्यसै जुआ हारेका थिएनन् । दुर्योधनको साथ सकुनीले दिएका थिए । सकुनीको छलमा परेर युधिष्ठिरले कुनै पनि दाउ जितेका थिएनन् । खेल दुर्योधनले जितेको जस्तो देखिए पनि खासमा खेल सकुनीले नै जितेका थिए ।
लंगुरबूर्जाको यस खेलमा पनि दुर्योधन एउटा मात्र हुन्छ– बढीमा दुईजना । नदेखिने शकुनी थुप्रै हुन्छन् । अलिकति त चाल पाएको थियो लोकेन्द्र काजीले तर पनि ऊ खेलिरह्यो ।
साथीले अलमल गर्दै अप्ठेरो मान्दै भन्यो, “अँ… बीस दिराम जति होला ।”
“जाऊँ ! एक बोतल पूरै पिउन मन लाग्यो ! अघि खाएको त कता गयो कता ! जाऊँ यार पिउन मन छ अब !” उसको बोलीमा निराशा र कुण्ठा छ । आपैmप्रति गम्भीर अपसोच छ ।
उसको मुख सुकेको छ । उसलाई पानी चाहिएको छ । तर ऊ रक्सीको माग गर्दै छ । ऊ पश्चातापका लागि पिउन चाहन्छ ।
शुक्रवारको दिन शुरु हुनै लाग्दा काजी र उसको साथी रक्सीको खोजीमा हिँड्छन् ।
“डालो बन्धु ! डालो ! डालो ! दस डालो तीस लेके जाओ !” पृष्ठभूमिमा लंगुरबूर्जा खेलाउने बंगाली युवा चिच्याइरहन्छ उसैगरी !
–दाङ-घोराही, हाल : आबुधाबी, यूएई
(स्रोत : Nepalplus)