कविता : इच्छाहरु

~विमल निभा~Bimal Niva

पहिले ऊ जन्म्यो
त्यसपछि उसका इच्छाहरु
विस्तारै–विस्तारै
ऊ चाहन्थ्यो
आकाशजत्रो कसौंडीमा
भात पकाउन
र धरतीका समस्त भोकाहरुलाई
पेटभरि खुवाउन
ऊ भेंडाहरुसँग
प्रेमपूर्वक ऊन माग्न चाहन्थ्यो
र जाडोले थरथरी कामिरहेकाहरुलाई
एक–एकवटा स्वेटर
बुन्न चाहन्थ्यो
ऊ चाहन्थ्यो
पहाडसँग ढुङ्गा,
बादलसँग पानी
र जमिनसँग माटो
सापटी लिएर भए पनि
एउटा विशाल घर बनाऊँ
जहाँ सबै घर नभएकाहरु
अटाउन सकून्
केही दिनदेखि ऊ
यस्तै–यस्तै कुराहरुको
इच्छा गरिरहेको थियो
एकदिन बादशाहलाई
उसको इच्छाको खबर भयो
क्रुद्ध भयो बादशाह
र गर्जिन थाल्यो
मेरो राज्यमा
यस्तो इच्छा राख्नु अपराध हो
समात त्यो विद्रोहीलाई
र हाजिर गर मेरो दरबारमा
बादशाहअघि ल्याइयो उसलाई
कड्केर भन्यो बादशाहले
तँ खतरनाक इच्छाहरुको
दोषी होस्
अब मर्नलाई तयार होऊ
भन्, तेरो अन्तिम इच्छा के छ
उसले पनि कड्केर जवाफ दियो
मेरो अन्तिम इच्छा त्यही हो
जो मेरो पहिलो इच्छा हो
दोस्रो इच्छा हो
तेस्रो इच्छा हो
बादशाह यो सुनेर
झन् क्रुद्ध भयो
र भन्यो
फाँसी दे यसलाई
अन्ततः उसलाई मारियो
उसको हत्याको केही दिनपछि
बादशाह सवारीमा निस्क्यो
उसको बधस्थलनेर पुगेर
चकित भयो बादशाह
जहाँ उसलाई मारिएको थियो
त्यहाँ जीवित थिए इच्छाहरु
सास लिइरहेका
र सक्रिय
यो देखेर बादशाह
क्रोधले बहुलायो
र कराउन थाल्यो
मार, मार इच्छाहरुलाई
तर जति प्रयत्न गरे पनि
हात्ती, घोडा, भाला, तरवार,
सेना, तोप लगाएर पनि
इच्छाहरुलाई मार्न सकिएन
थकित भए
हार माने
सेनापति, भारदार, गुप्तचर र सिपाहीहरु
यही असफलताको शोकमा
बादशाहको मृत्यु भयो
यति भनेर चुप लाग्नुभयो
मेरा पिता
मैले प्रश्न गरें
के कथा सकियो बुवा ?
उहाँले एउटा लामो सास तानेर
भन्नुभयो
हो छोरा, यो कथा
यहीं समाप्त हुन्छ
तर समाप्त भएको छैन
उसको इच्छा
अहिले पनि त्यहाँ
जहाँ उसलाई मारिएको थियो
देख्न सकिन्छ
उसका इच्छाहरु
जीवित एवम् उत्साहित
चारैतिर फैलिँदै फैलिँदै
गइरहेका इच्छाहरु
अगाडि अगाडि बढिरहेका इच्छाहरु
एकबाट अनेक भइरहेका इच्छाहरु
असङ्ख्य असङ्ख्य इच्छाहरु
छोरा, उसको इच्छा
आज पनि जिउँदो छ
इच्छाहरु कहिल्यै मर्दैनन्
मेटिन सक्दैनन् इच्छाहरु
के तिमीसम्म त्यो इच्छाको ताप
पुगिसकेको छैन छोरा ?

(२०५०)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.