कथा : रातो गोरेटो

~होतराज पौडेल~

मनकुमारीले सालको पातको मुठो फुकाउँदै भनी, ‘त्यो केटो शिवप्रसादकै छोरा हो, हिजो भर्खर काठमाण्डूबाट आ’को रे । नपत्याए तल्लोघरे काइलीलाई सोध न ।’

मनकुमारीको कुरालाई सही थप्दै चमेली भाउजूले पनि अर्को कुरा जोड्न पुगिन्, ‘त्यतिमात्र कहाँ हो र ? त्यो त विदेशमा पढेर धेरै ठूलो मान्छे पनि भएछ । पैसा पनि कमाएको छ रे टन्नै । अनि हेर न त्यो मोटर पनि कत्ति राम्रो छ, महँङ्गो पर्छ होला नि ?’

धर्मेकी आमाले टपरी र बौता सम्हाल्दै माला बनाउँदै थिइन् । मानांै उनले अरुको कुरा सुनिराखेकी छैनन् । बरु कुन्नि के कुरा मनमा खेलाउँदै छिन्, घरि कपालको चुल्ठो फुकाउँछिन् । घरि पटुका फुकाल्दै कस्दै गर्छिन् । कुनैबेला त उनको अनुहार पनि चुक दलेको जस्तो हुन्छ । यस्तो लाग्दैछ उनी त्यहाँ भेला भएका महिलाहरुको गोलबन्दीभन्दा बाहिर कतै एकान्तमा छिन् ।

असारको महिनामा टिपेका सालका पात, अलि कबुला छन्– नछिप्पिएका । टपरी गाँस्न त यस्तै पात ठीक हुन्छ । फेरि दुना–टपरी त्यत्ति लामो समय राख्नुपर्ने पनि होइन । असारको बाइस गते त बिहे हो रेउकलाको । बीस मुठा पात खुट्यो भने पुगि पनि हाल्ला । अब जम्माजम्मी पाँच मुठा बाँकी होला । त्यो त भोलि नै सकिन्छ । फेरि चामल कुटाउने र रोटी हाल्ने काम बाँकी छ । त्यो पनि टोल–छिमेकको सहयोगमा एक–दुई दिनमै सकिन्छ । गाउँघरमा बिहे, ब्रतबन्ध, पूजाआजाजस्ता सामाजिक कार्यहरु गर्दा असाध्यै रमाइलो हुन्छ । झन् महिलाहरुले त खुबै रमाइ–रमाई काम गर्छन् । महिलाहरुले सामूहिकरुपमा काम गर्दा रमाइलो हुने अर्को पनि एउटा कारण छ, त्यो हो ‘अरुको कुरा काट्दै काम गर्दै गर्ने ।’

आजको दुना–टपरी खुट्ने काम सकिएको जस्तो छ । धर्मेकी आमाले पनि आफ्नो घरतिर जानलाई सबैसँग बिदा भएको संकेत गरिन् । दैलो बाहिर आएर आफ्नो चप्पल खोजिन् । आँगनको एउटा कुनामा उनको एउटा चप्पल मात्र थियो, त्यसको अर्को जोडी कतै उछिट्टिएर पर पुगेको हुनुपर्छ । चप्पल भन्नुमात्र हो, दुबै चप्पलको कुर्कुच्चामा खिएर प्वाल परिसकेको छ । अझ एउटा चप्पलको फित्ता अगाडिबाट चुँडिएर, त्यसलाई उनले मखमलको टालोलाई दाम्लोजस्तै बेरेर फित्तामा जोडेकी थिइन् ।

‘लौ दिदी तिम्रो एउटा चप्पल त यता उछिट्टिएछ ।’ मनकुमारीले आफ्नो खुट्टाले घसार्दै धर्मेकी आमातिर चप्पल हुत्याइदिइन् । त्यो एकजोडी चप्पल खुट्टामा घुसार्दै धर्मेकी आमाले भनिन्, ‘यिनै चप्पल पनि धर्मे विदेश जाने बेला किनिदिएको हो, ११ महिना भएजस्तो लाग्छ । खै, अब आफै आउने बेला ल्याइदिन्छ कि अर्को जोडी ?’ यसो भनिरहँदा उनको बोली अवरुद्ध भएजस्तो थियो । बिचरा छोराको सम्झना आयो होला । उनको सन्तान भन्नु नै त्यही एउटा छोरो धर्मे हो । घरमा आमा–छोरालाई दुईछाक हातमुख जोड्नलाई धौ–धौ भएर नै ऊ ऋणको जोहो गरेर ११ महिना पहिले नै मलेसिया हान्निएको छ ।

***

धर्मेको बाबु चौध वर्ष पहिले नै शिवप्रसादसँग हिडेका थिए, देशमा गरिब–दुःखीको सरकार ल्याउन भनेर । भन्न त उनले श्रीमतीलाई भनेका थिए, ‘हेर धर्मेकी आमा, शिव कामरेडजस्ता पढेलेखेका गाउँका प्रतिष्ठित व्यक्तिहरु त हुँदाखाँदाको त्यस्तो सरकारी मास्टरी जागिर छोडेर यो देश र जनताको लागि बन्दुक उठाउँदै छन् । उनलाई के नपुग थियो र ? हामी गरिबगुरुवाको सेवाको लागि त उनले सबै त्यागेर भएजति सम्पत्ति पनि पार्टीकै नाउँमा गरिसकेछन् । हाम्रो त के नै छ र ?’

उसले आफ्नी श्रीमतीलाई फकाउने पाराले कुरा थप्दै थियो, ‘अब दुई–तीन वर्षमात्र दुःख गर्ने हो रे । त्यसपछि त हाम्रो सरकार बन्छ रे । खान लाउनको त कुरै छोड, गरिबका दिन त सकिन्छन् बुझिस् ? अब म पनि भोलिदेखि नै शिव कामरेडसँग हिड्छु एउटा क्रान्तिको ज्वाला बोकेर ।’

श्रीमतीसँग बिदा माग्दै धर्मेको बाबुले भन्दै गयो, ‘छोरो धर्मे र छोरी कमलीलाई राम्रोसँग सम्झाएर मेलापात पठाएस् । अब यो बुर्जुवा शिक्षाको काम छैन रे, हाम्रो सरकार आएपछि जनवादी शिक्षा पढाउनुपर्छ । त्यसैले यिनीहरुलाई स्कुल नपठाएस् बरु मेलापात गर्दै गर्छन् । अर्को वर्ष अलि ठूला होलान् र म हाम्रो पार्टीमा कुरा गरेर छापामारमा भर्ती गराउँला ।’

आफ्नो श्रीमान् चौध बर्ष पहिले घरबाट निस्किदाको क्षणले धर्मेकी आमाको मुटुमा तीव्र आँधी मडारिएको थियो । त्यही आँधीले उडाएको कसिङ्गरझैं उनी घरनजिक पुगिसकिछन् । घर पनि के भन्नु, मुखबोला पनि कोही छैन, एउटा बाख्राको माउ छे, त्यसले अस्ति भर्खर जुम्ल्याहा पाठा पाएकी छे । दुइटा कोठाको माटाको एकतले घर छ, एउटा कोठामा तिनै बाख्रा पालेर अर्कोमा आफू बसेकी छिन् धर्मेकी आमा । खरको छानो नफेरेको पाँच वर्ष जति भयो होला । पोहर साल वर्षामा पानी चुहिएर कस्तो जात्रा भएको थियो । धन्य, चमेली भाउजूको देवरले कताबाट प्लाष्टिकको जोहो गरिदिएर मात्र ओत लाग्न भएको छ । धर्मेले मलेसियाबाट पैसा पठाउन सकेको छैन । खेतीपातीको नाममा तीन कठ्ठा सात धुर पाखो छ । पाखोको उब्जनी कति दिन खान पुग्छ र ? तैपनि छरछिमेक, इष्टमित्रले गरिदिएको ऐंचोपैंचोले गुजारा गर्दैछिन् उनले ।

घरको दैलोमा पुगेर ढोका खोल्न नभ्याउँदै बाख्री कराउन थाली हाली । बिहानदेखि भोकै होली । पेट पनि सोत्लेक्क भित्र छिरेको छ । फेरि जुम्ल्याहा पाठाले दूध चुस्दा उसको शरीरमा खुराकी नै पुग्दैन बिचरी सुत्केरी बाख्रीको । पाठाहरु बुरुक–बुरुक उफ्रिदै गुन्यूँमा लटपटिन आए । भुइँमा एउटा पानो कागज खसेको रै’छ, पाठाले थिलोथिलो पारिसकेका । धर्मेकी आमाले त्यो कागज उठाइन् र पहिलेकै ठाउँमा टाँस्न खोजिन् तर सकिनन् । त्यो कागजको चित्र पनि चिन्न नसकिने भएको थियो छिया–छिया परेर । त्यो कागजमा उनकी छोरी कमलाले एउटा सुन्दर घरको चित्र बनाएर भित्तामा टाँसेकी थिई– भविष्यको काल्पनिक घर ।

***

कमला सात कक्षामा पढ्दापढ्दै बेपत्ता भएकी हो । बाह्र वर्ष पहिले एकदिन कमला स्कुलबाट आएर घरको पेटीमा बसेर गृहकार्य गर्दै थिई । उसको दाजु धर्मे कता मेलामा गएको रै’छ । घरमा एउटा गाई पालेकाले आमा घाँस काट्न वन गएकी थिइन् । त्यत्तिकैमा एकहुल बन्दुकधारी पुलिस आएर त्यो बच्चीलाई केरकार पारेछन्, ‘तेरो बाउ कहाँ गएको छ भन् । त्यो आतङ्ककारी हो ।’

त्यो बिचरीलाई के थाहा ? उसले जवाफ दिइछ, ‘थाहा छैन । खै शिव मार्सापसँग जानुभ’को हो रे दुई वर्ष पहिले । अझैं आउनुभा’को छैन ।’ त्यो अबोध बालिकाले सत्य कुरा नै बोलेकी थिई ।

‘अरु घरमा को छ नि ?’ फेरि हपारे ती पुलिसहरुले । उसको सातो जालाजस्तो भयो । बोल्न पनि नसक्ने भई ।

‘अझ चुप लाग्छेस् ? तेरो घरमा हरियो टाटेपाटे कपडा लगाएका, बन्दुक बोकेका मान्छे आउँछन् रे हो रातिमा ?’ उसको मौनता कायमै रह्यो ।

‘ए केटा हो यसलाई लिएर हिड ।’ एउटा सानो पेस्तोल बोकेको पुलिसले भन्यो । अरु बाँकी ठूला बन्दुक बोक्नेले त्यसको आदेश माने र त्यो चौध वर्षकी बालिकाको मुखमा पट्टी बाँधेर लगेछन् ।

***

धर्मेकी आमाले विगतको पीडादायी घटनालाई त्यो कागजको खोस्टोमा छर्लङ्ग देखिन् । उनका आँखाबाट ओइरिएको आँसुका धाराले त्यो छिया–छिया भएको कागज निथ्रुक्क भिज्यो र उनको हातबाट फेरि भुइँमा खस्यो । उनले त्यो कागजलाई फेरि टिपिन् र मिल्ने जति पट्याएर एउटा खोपामा कोचारिन् । गुन्यूको टुप्पोले आँखाबाट उर्लेको भेललाई रोक्न खोजिन् ।

‘को छ घरमा ?’ बाहिरबाट एउटा आवाज आयो । कतै–कतै सुनेको जस्तो । धर्मेकी आमा ढोका बाहिर निस्किन् ।

‘कस्लाई खोज्नु भ’को बाबु ?’

‘धर्मेलाई’

‘ऊ त मलेसिया गएको एघार महिना भयो बाबु ।’

‘ए अनि तपाईं धर्मेकी आमा ?’

‘हो ।’

‘नमस्ते अन्टी म, विप्लव क्या । चट्टानको छोरा, धर्मेको सानाको मिल्ने साथी । चिन्नु भयो ?’

धर्मेकी आमा ‘चट्टान’ शब्दले गर्दा अलि अल्मलिइन् । त्यो त शिव मार्सापको उपनाम थियो, पार्टीले राखेको नाम ।

‘ए… । अनि बिहान गाउँमा सेतो मोटरमा आउने तिमी नै हो बाबु ?’

‘हो अन्टी म नै हुँ । तपाईंको घरसम्म मोटर आउने बाटो नभएकोले ऊ पर मोटर राखेर आएको नि ।’ विप्लवले आफ्नो मोटरतिर औला तेर्साउँदै भन्यो । धर्मेकी आमा भने मलिन अनुहारमा क्वारक्वारती विप्लवको अनुहारमा हेरिरही ।

‘के हेर्नुभएको अन्टी ? धेरैका देखेर अचम्म लागेको होला हैन ? म त विदेशतिर पढ्न गएको थिएँ नि, भर्खर दुई महिना मात्र भयो नेपाल आएको ।’

‘अनि शिव मार्साप कहाँ हुनुहुन्छ नि बाबु ?’

‘उहाँलाई त फुर्सदै हुँदैन अन्टी, सभासद जस्तो मान्छे, काठमाण्डौंमै बस्नुहुन्छ । हामी सबै परिवार उतै बस्छौं ।’

विप्लवले चासो राख्दै गयो, ‘तपाईंहरु त जस्ताको तस्तै हुनुहुन्छ त ? घर पनि धेरै पुरानो भएछ । अनि कमलाको पनि बिहे गरिसक्नु भयो होला । उसकी साथी रेउकलाको पनि यही बाइस गते बिहे हुँदैछ रे भन्ने सुन्छु ।’

धर्मेकी आमाले थरथरी काँपेको दायाँ हातले मुटुको धड्कन थामिन् र बायाँ हातले धोतीको मुजेत्रो समातेर लरबरिएका ओठलाई छोपिन् । उनको मुखबाट एउटा इतिहासको ज्वारभाटा विष्फोटन हुन खोज्दै थियो, तर त्यो बीचैमा रोकियो । र, मात्र यति जवाफ दिइन्, ‘तपाईंहरुको पाइला परेको धर्तीमा हेर्नुस् त विप्लव बाबु, कमला र उसको बालाई देख्नुहुन्छ कि ?’

विप्लव मौन भयो । उसको धर्तीतिर निहुरिएको टाउको ठाडो नहुँदै फनक्क घुम्यो र सोझियो गन्तव्यतिर उही कमला र उसको बाबुले कोरेको रातो गोरेटो हुँदै… ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.