~मोहनराज शर्मा~
द्वन्द्व कहाँ हुन्छ ?
द्वन्द्व कृतिको कथानकमा हुन्छ । कथानकको निर्माण घटनाहरूको विन्यासद्वारा गरिन्छ भने तिनै घटनाहरूमा द्वन्द्वको बीजारोपण गरी सङ्घर्षलाई पराकाष्ठासम्म पु-याइन्छ । घटना स्वयं होइन पात्रका माध्यमबाट घटित हुने हुँदा चरित्रमा पनि द्वन्द्व हुन्छ, तर विन्यस्त घटनाहरू अर्थात् कथानकका माध्यमबाट मात्र सङ्घर्षरत भएर उसले द्वन्द्वलाई साकार पार्छ । तसर्थ द्वन्द्वको अवस्थिति मुख्यत: कथानकमा हुन्छ ।
द्वन्द्व के हो ?
अनुकूल र प्रतिकूलको सम्बन्धलाई द्वन्द्व भनिन्छ । द्वन्द्वको यो अत्यन्त महत्त्वपूर्ण परिभाषा हो । यसका अरू पनि थुप्रै परिभाषा छन्, तर यसभन्दा उपयुक्त परिभाषा अरू कुनै छैन । यस परिभाषाअनुसार अनुकूल र प्रतिकूल दुई परस्पर विरोधी तत्त्व हुन् । यस्ता तत्त्वहरू विपरीत भाव, विचार र पात्रहरू हुन्छन् । द्वन्द्वका लागि सङ्घर्ष, सङ्कट, विरोध आदि शब्दहरू पनि प्रयुक्त हुन्छन् ।
कृतिमा त्यस शक्तिलाई अनुकूल भनिन्छ जसको पक्षधरता समाजलाई मान्य हुन्छ र त्यस शक्तिलाई प्रतिकूल भनिन्छ जो उक्त शक्तिको बाधक हुन्छ । यिनै दुई शक्तिको सम्बन्धबाट द्वन्द्वको सिर्जना गरिन्छ । यस्तो सम्बन्ध विरोधपूर्ण हुने हुँदा सङ्घर्ष र सङ्कटले भरिएको हुन्छ ।
द्वन्द्व कति प्रकारको हुन्छ ?
द्वन्द्व चार प्रकारको हुन्छ । कृतिमा यिनको समायोजन यस प्रकार गरिन्छ :
१.व्यक्ति र व्यक्तिका बीच द्वन्द्व—एकातिर अनुकूल पात्र ( नायक, नायिका, सत्पात्र आदिका रूपमा व्यक्ति-१ ) र अर्कातिर प्रतिकूल पात्र ( खलनायक, खलनायिका, असत्पात्र आदिका रूपमा व्यक्ति-२ ) लाई दुई विरोधी शक्तिका रूपमा उभ्याइन्छ र सङ्घर्षमय जटिलतावर्धक गतिविधिमा संलग्न गराइन्छ, जस्तै—’प्रह्लाद’ नाटकमा प्रह्लाद ( अनुकूल पात्र ) र हिरण्यकशिपु ( प्रतिकूल पात्र ) का बीचको विरोधपूर्ण सम्बन्ध नै द्वन्द्व हो ।
२. व्यक्ति र समूहका बीच द्वन्द्व—एकातिर एउटा व्यक्ति र अर्कातिर पूरै समूह वा समाजलाई दुई विरोधी शक्तिका रूपमा उभ्याइन्छ र सङ्घर्षमय जटिलतावर्धक गतिविधिमा संलग्न गराइन्छ, जस्तै—’लङ्गडाको साथी’ उपन्यासमा लङ्गडो पात्र र उसलाई जिस्क्याउने, ढुङ्गा हान्ने, लखेट्नेहरूको हूलका माझको विरोधी सम्बन्ध द्वन्द्व हो ।
३.व्यक्ति वा समूह र प्रकृतिका बीच— एकातिर व्यक्ति वा समूहलाई र अर्कातिर प्रकृति (भूकम्प, बाढी, पहिरो आदि प्रकोप) लाई दुई विरोधी शक्तिका रूपमा उभ्याइन्छ र सङ्घर्षमय जटिलतावर्धक गतिविधिमा संलग्न गराइन्छ, जस्तै—’एक चिहान’ उपन्यासमा अष्टनारां सपरिवार बाढीसंग जुध्नु र मर्नु यस्तै द्वन्द्व हो ।
४. भाव र भावका बीच द्वन्द्व—एउटै पात्रका अनुकूल भाव वा विचार र प्रतिकूल भाव वा विचारलाई दुई विरोधी शक्तिका रूपमा उभ्याइन्छ र सङ्घर्षमय जटिलतावर्धक गतिविधिमा संलग्न गराइन्छ, जस्तै— ‘परिबन्द’ कथामा लाहुरेको हत्यापछि रनेका मनमा उब्जेको मुग्लान भाग्नु बेस हो अथवा द्वारेकहाँ सूचना दिन जानु बेस हो भन्ने दुई विपरीत भाव वा विचार पैदा हुनु द्वन्द्व हो ।
माथिका १, २ र ३ प्रकारलाई बाह्य द्वन्द्व तथा ४ लाई आन्तरिक द्वन्द्व भनिछ । कृतिमा उपर्युक्त चार प्रकारमध्ये कुनै एक वा एकभन्दा बढी प्रकारको द्वन्द्व प्रयोग गरिन्छ ।
000
(स्रोत : फेसबुकको ‘कलमको आँखा : सिर्जना परामर्श’ समूहबाट )