~रन्जु ‘मार्ग’~
+’ए डल्ले, ल हिड बेसी |’
-किन र बा ?
+त्यहाँ हामीले धान रोपेका छौं |
-‘धान भनेको के हो बा ?’ आठ बर्षिय छोरा डल्लेको जिज्ञाशा बढछ |
+’सेतो चामल क्या !’बाबु झर्किदै भन्छन |
-‘सेतो चामल कस्तो हुन्छ बा ?’
+ अस्ति क्या त हजुरआमाको श्रादमा खाएको सेतो भात बिर्सीस ?
-ए ,त्यो सेतो ढेडो ?
+ सेतो ढेडो होइन मोरा !भात हो भात !
डल्ले एकछिन घोत्लिञ्छ | ऊ सम्झिञ्छ अस्ति खाएको भातको स्वाद !
– बा ,त्यस्तो भात सधै श्रादमा पकाउने हो ?
+धत् मोरा !,के भन्छ ? भए त सधै नै पकाए नि हुञ्छ |
– अनि किन त आमाले पकाउनु हुन्न सधै ?
+ नकरा ,जा गोठबाट डोरी – नाम्लो लिएर आइजो |
डल्ले बाबुले भने जस्तै डोरी -नाम्लो लिएर आउछ र बाबुको अगाडी राखिदिदै भन्छ –
– बा ,अब हामी धान लिन जाने हो ?
+ल ,हिड |
बा अघि अघि लाग्छन डल्ले बा ‘को पछि पछि लाग्छ |
केहीछिन मै दुवै खेतमा पुग्छन | बा ‘ले आफु र छोराको लागि भारी कस्छन |
-बा ?
+किन फेरी ?
-धान खै त ? किन हामीले यो पराल मात्र लैजान लागेको ?
+गाई -बस्तुले खान्छन नि |
-अनि धान खै त ?
बा केहि बोल्दैनन |
– त्यहि धानबाट सेतो भात बन्छ भनेको होइन ?
डल्लेको मन शान्त भएको छैन |
-भन्नुस न बा ‘धान खै त ?
+’धान त सबै किराले खाएछ बाबु ! ‘ खिन्न हुदै बा ‘ले भन्छन |
-त्यो किरा कहा बस्छ बा ?
+त्यो किरा ठुलो घरमा बस्छ बाबु !!!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)