~अनिल नेम्बाङ~
उ बेलाको कुरा सम्झेर ल्याउँछु-
एक डबका पिएको घर छेउको मेलामा
रिठ्ठे पनि घाँडो भो’ समाजको- गाउँलेले कुरा काटे
अनि समाज तिर्खाउन मन लाग्यो।
अघिल्लो साल पनि एक खिल्लि धतुरो मुर्छित थिएँ
ठिक त्यसरी नै एक बाल्टिन धमिलो शब्द छम्किए
ब्युँझिए पछि बेस्सरी समाज भोकाउन मन लाग्यो।
परिक्षामा तीन चोटि फेल हुँदा तारे भीर तल झन्डै हाम फालेँ
घोगा नलागेको कालिपोके बन्छस- पञ्चले झपारे
अनि समाज बाँच्न मन लाग्यो।
यस्तै उस्तै …
आज रिठ्ठे-
समाज तिर्खाउँछ
समाज भोकाउँछ
समाज बाँच्छ
समाजको लागि रिठ्ठेले-
लुकि लुकि मात्र मायालुलाई भेट्छ
टालेको कमिज छोप्दै हिँड्छ
ऋण काडेर भोज खुवाउँछ
इज्जत धितो राखेर पाउमा पाउजु लगाउँछ
धेरै पर अरब गएर टिनको घर बनाउँछ
तर एउटा प्रश्नले जहिले छुत्ति खेल्छ रिठ्ठेको छातिमा कि
यत्रो तिर्खाइएको, भोकाइएको अनि बाँचिएको मायालु समाज किन उस्तै दुब्लो?
फेरि सम्झेर ल्याउँछु-
यो समाज त उहिले रिठ्ठेलाई पिठो नदिने छिमेकि पो रहेछ
अनि रिठ्ठे चाहिँ त्यहि झोँकमा देखाइ देखाइ पेडा खाने आडम्बरी
हातमा पेडा देखाएर पिडालु खाने आडम्बरी!
कछुवा घर बोकेर हिँड्छ- मर्ने बेलामा बुढापाकाहरु भन्थे
गर्भ मै टाउको बिर्सने हामी मुलाङ रिठ्ठेहरु!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)