~हेमन यात्री~
जब निभिसक्छ घाम
हृदयको सन्दुकमा
साँझले बोकिल्याएका पक्षीहरू
अलाप्न थाल्छन्
भुलिसकेका भाकाहरू
मनको सङ्घार उक्लेर
सुसेल्न थाल्छन्
रातभरिको कहर
र सुसेल्छन्–
क्रमशः निद र सपनाहरू
सबेरै अँध्याराले ढाकिसक्छ
मेरो प्रिय आकाश
छुटेर जान्छ निमेषभरमै
आफूसँगै रहेको
यौटा छाया पनि
जसरी–
किनारालाई हिर्काएर
पहाडका असङ्ख्य दुःख बोकी
बगिरहन्छ नदी
जसरी–
विप्लव उफारेर वृक्षहरूमा
अगि नै भागिसक्छ बतास
जसरी–
यात्रामा अल्झेको मुस्कान सम्झेर
ओर्लिसक्छ अक्षरहरूमा
आँसुका दुईचार हरफ ।
निस्सन्देह ! यतिबेला
पहाडबाट बसाईँ हिँडेर
छाडिएको घरजस्तो एक्लो भएको छु
तर
केही त छुटेछ आफैँसँग–
सन्तानविनाको बाबुआमाका हृदय
टुहुरा नानीहरूका आँसु
र
प्रेमिकाको मृत्यु सहने मुटु पनि छुटेछ ।
सोध्नू–
जून अस्ताएको अँधेरीलाई
दिनभर आँखाबाट दौडिहिँड्ने निदलाई सोध्नू,
बरु ! रातभर घुमन्ते सपनाहरूलाई सोध्नू ।