घाउमाथि अर्को मुठी नुन छर्किएको ।
लेख्नुपर्यो गीत मैले मन चर्किएको ।।
लास जल्यो ममताको कोख रित्तो पारी ।
विधुवाले सिन्दूर पुछी आँसुधारा झारी ।।
टुहुराको हातबाट बल्यो दागबत्ती ।
अकालैमा जीवनको निभ्यो लाखबत्ती ।।
घाउमाथि…….
जनताको छोरो मर्यो जनताको लागि ।
राजनीति नाच्नथाल्यो उस्को लासमाथि ।।
बलिदान यौटा हुन्छ, अर्को बाली खान्छ ।
शहीदको रगत यो उसै खेर जान्छ ।।
घाउमाथि………
शरीरमा गोली बिझ्यो हृदयमा बोली ।
पीर बोकी मर्दोरैछ वीर आजभोलि।।
बन्नपाए पनि हुन्थयो पत्थरको मन।
त्यतिभए पर्दैनथ्यो कल्पिएर रुन ।।
घाउमाथि…..
(जनआन्दोलन-२का जीवित शहीद विष्णुलाल महर्जन अब हाम्रा बीचमा रहनुभएन ।मुलुकको राजनैतिक वृत्तमा अहिले जुन वितण्डा चल्दैछ,त्यो उहाँहरुको सपना थिएन।नेताहरु शहीदको सपना पूरा गर्ने किरिया खान्छन् तर तिनै शहीदको अपमान हुने काम गर्दैछन् ।जन-आन्दोलनका घाइते विष्णुलालले यतिका दिनपछि के अनुभव गरेर देहत्याग गर्नुभयो होला? विपरीत-मति राजनीतिलाई मेरो मनले धिक्कारेको पीडाबोधमा टिपिएको खेस्रा हो यो ।)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)