~प्रसन्न घिमिरे~
नबोल्ने
नरुने
कुनै
रुवाबासिको हर्कत नगर्ने
केही गर्दै नगर्ने त ईश्वर हो अझैँ
त म ईश्वर भएको छैन ।
पानीकै मात्रा बेसिनै सहि
दूँध लिएर
आउँछ
मृत सपनाहरूको फोहरनै
सही
अखबार लिएर आउँछ
दैलोमा एउटा बिहान
उसलाई खोल्नु छ दैलो
र
कति सकिन्छ
आँखामा रातभरि पलाएका नयाँ सपनाहरू
दिई पठाउँनु छ ।
रत्नर्पाक, बसन्तपुर दरबार
र
यस्तै स्थानहरूको छेउँछाउँ ग्राहक
पर्खेर हेरिबस्छ
एउटा कुमारी साझ
ल्याम्पपोस्टबाट
झरेको मधुरो उज्यालोमा
पढनुछ
देशको अँध्यारो अनुहार
र दिनुछ लगेर योजना आयोगलाई
लामो निद्राबाट ब्यूँझिन्छन्
कि ती भन्ने बिस्वासमा ।
थरी–थरीका निर्मणका
खाकाहरू
जो काम नलाग्ने भए
नयाँ सरकारको आगमनसँङ्गै
बालेर आगो ताप्दै र ओडेर कन्टेनरझैँ
फोहर अखबार
जहाँ छापिन्छन्
फोहरले नुहाएका आधुनिक ईश्वरहरू
सुत्न खोजिरहेछ एउटा जाडो
त्यसलाई तान्नुछ
प्रेमको तातो कम्मलभित्र
पार्नु
छ न्यानो
र जोगाउँनु छ भयले
रातभरि सिट्टिमारिरहेको
भोली फेरी न्यानो हुने
समयलाई ।
ओर्लिएर हामीले
पुजीआएका मन्दिरका गजुरहरूबाट
रात आइपुगेको छ
अँध्यारोको पखेटा खोलेर
भागेका छन् दिनभर
नाचेका रुखका
छाँयाहरू अदृश्यमा
समयंमले काम लिनु छ
जोगाउनु छ
धर्यका हाङ्गहरूमा राखेर
भोलि विहानै आउने र
उज्यालोको गीत गाउँने चराहरूलाई ।
अप्ठ्यरा समयका
दाम्लोहरूले
बाधिएर
भएका छन् पन्छीहरू पनि सालिकझैँ
ती जो सुनाउथे
विहानीका गीतहरू
भएका छन् बृक्षहरू पनि शालिकझैँ
जहाँ पलाउथे
जीवनका शाखाहरूमा फूलहरू, पातहरू
खोल्नु छ ती दाम्लोहरू
र
ब्यूँझाउनु छ सलिकहरूलाई ।
नबोल्ने
नरुने
कुनै
रुवाबासिको हर्कत नगर्ने
केही गर्दै नगर्ने त ईश्वर हो अझैँ
त म ईश्वर भएको छैन ।
र मलाई केही न केही गर्नु छ ।