कविता : बधशालामा सीता

~मनमाया वि.क.~

चारैतिर बगरेको घुइँचो थियो
बधशालाको एउटा कुनामा सीता थिइन

ठाउँ ठाउँमा छोपिएको
कहीं कहीं देखिएको अर्धनग्न शरीर
वरपरि झिंगाहरू काँपिरहेका लुगलुगी
स्वादिलो जिब्रो लिएर

कालरात्रीको सुनसान सन्नटा
रक्तिम बत्तिहरूको चमक
सोमरसका प्याला निकोटिनको
कस चारैतिर पोतिएको
डुनमुनिदै काखैमा पसारिरहेका जिउँदा लासहरू
आज आफ्नै मालीबाट टिपिएकी सीता
मुकदर्शक बनेर हेरिरहेकी छ बधशालामा ।

हाँ हाँ हाँ रावणको हुँकारले झल्याँस्स ब्युझि
नाई म जान्न मलाई यो के गरेको ?
छाडिदेऊ दुष्ट पापी थुइँक्क
पलभरमै लुछियो शरीर चुसियो रगत
स्तब्ध भई हेरिरहेथ्यो अशोक बाटिका ।

जीवन छोडेर उडेको पखेरू पुनः फर्केर आएपछि
झल्यास्स ब्युझिएर बेहोसीमा हेर्दा
न बगरे थिए न ग्राहक नै
केवल थियो थिल्थिलो पारिएको शरीर ।

गुहार, गुहार, कोही त बचाउ मलाई ¤
ए कालो कोट लगाएर गीतामाथि हात राख्नेहरू हो
यी हेर तिम्रो अग्नि परीक्षा म सफल छु
तर खै त मानव जस्तो बाँच्न पाएको ?
तिम्रो कन्धरामा मर्यादा पुरूषोत्तमले मात्र न्याय पाए
चिच्याई सीता बधशालामा ।

– धनकुटा

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २१ – March 28, 2012 – २०६८ चैत्र १५ गते, बुधवार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.