कथा : किन हामी सानो जात ?

~बालकृष्ण सुनार~

विद्यालयमा इन्टरभल घण्टीको आवाज आउँछ, टिङ..टिङ..टिङ.. । सबै जना विद्यार्थीहरू बाहिर मैदानमा निस्कन्छन् । केही घरबाट ल्याएको खाजा झोलाबाट निकाल्दै खान थालिरहेका छन् । केही रूपैया भएकाहरू नजिकै रहेको क्यान्टिनमा खाजा किनेर खँँदैछन् । चर्को गर्मीको समय छ । काल्चे दमाईका छोराछोरीहरू झुत्रा, मैला टालेको ड्रेस लगाएर बाहिर निक्लन्छन् र अफिस कोठाको अगाडिपट्टि राखिएको पानीको घैटोतिर पाइला अगाडि बढाउँछन् । उनीहरू दुवै जनालाई पानी प्यासले आकुलव्याकुल बनाएको छ । अन्य विद्यार्थीहरूले घैटोबाट पानी निकाल्दै आफ्नो प्यास मेटिरहेका छन् ।

काल्चे दमाईका छोरी भुन्टी र छोरा च्यामे पनि पानी पिउनलाई घैटोको नजिक मात्रै के पुगेका हुन्छन्, नजिकै रहेका विद्यालयका परिचरको आँखा पानीको घैटोको नजिकै रहेका भुन्टी र च्यामेतिर पर्छ । उनी हतारिँदै दौडदै आउँछन् । उनीहरूले भुन्टी र च्यामेलाई अलि पर धकेल्दछन् । चर्को आवाज बनाउँदै हप्काएर भन्छन्— “ए डुमेका छोराछोरी हो, तिमीहरू किन मात्तिएका छौँ हँ ?” बदमासहरू, यदि तिमीहरूले पानीको घैटो छोइदिएको भए बर्वाद नै हुने थियो । यत्रा विष्ट, बराजुका छोराछोरीले समेत पिउने पानी धन्नैले छोइदिएका, तिमीहरूलाई तिर्खा लागे मलाई भने भइहाल्थ्यो नि ।” परिचरको यो भनाइ सुनेर भुन्टी र च्यामे नतमस्तक हुन्छन् र दुवैले एकआपसमा हेराहेर गर्छन् ।

एक छिनपछि भुन्टीले परिचर बाजेलाई प्रश्न गर्छे— “बाजे हामीले यस घैटोबाट पानी निकालेर पिउन हुन्न र ? हामी के मान्छे होइनौँ र ? यो पानीको घैटो छोइए के हुन्छ ?”

बाजेले उनीहरू दुई भाइबहिनीलाई सम्झाउँदै भन्छन्— “हो तिमीहरूले यो पानीको भाँडो छुन हुन्न । तिमीहरू तल्लो जातिका र पानी नचल्ने मानिसका छोराछोरीहरू हौ । तिमीहरूले यो खाने पानी छोइदियौ भने अनीष्ट हुन्छ र देउता रिसाउँछन् । तिमीहरूले छोइदिएको पानी खाएपछि यी सप्पै ठूला जातिका मान्छेहरू नरकमा जाकिन्छन् । उनीहरूलाई मात्र होइन स्वयं तिमीहरूलाई पनि त पाप लाग्दछ । त्यसैले यस्तो हर्कत र दुस्साहस कहिल्यै नगर्नु तिमीहरूले, बुझ्यौ ?” यसो भन्दै बाजेले घैटोबाट पानी निकालेर अलि पर लगेर भुन्टी र च्यामेलाई हात थाप्न लगाएर माथिबाट पानी हालेर खान दिन्छन् ।

आज च्यामे र भुन्टीको मनमा अनेकौँ प्रश्नहरू उब्जिएका छन् । उनीहरू दुई भाइबहिनी एकआपसमा कुरा गर्छन् । पहिले भुन्टीले भन्छे— “दाई हामी त विष्ट, बराजुका छोराछारीहरूजस्तै हातखुट्टा, सरिर भएका छौँ । हाम्रा बुवाआमा पनि त विष्ट, बराजुका जस्तै सरिर भएका छन् । किन हामी साना जात भएका हौँला ? कसले हामीलाई सानो जात बनाइदिएको होला ? त्यो स्वर्ग भन्ने ठाउँ कस्तो र कहाँ होला ? त्यहाँ कस्ता मान्छेहरू बस्छन् होला ? नरक भन्ने ठाउँ साह्रै फोहर र घिनलाग्दो होला, हसग दाइ ? त्यसैले त होला नि परिचर बाजेले धन्नै नरकमा पारिदिने थियौ भनेर भनेको हामीलाई ?”

उनीहरूका कमला बाल मस्तिष्कहरूले यो प्रश्नको जवाफ खोज्ने प्रयत्न गर्दछन् तर लाख कोसिस गर्दा पनि जवाफ भेट्टाउन सक्दैनन् । त्यसपछि दाइ भुन्टेले बहिनीतिर फर्कदै भन्छ— “ए हामी त सानो जातका मान्छे पो रहेछौँ ¤हामीले त त्यो सबैले पिउने पानी छुनु हुँदो रहेनछ । हामीलाई पनि त पाप लाग्दो रहेछ नि त बहिनी ।” त्यसपछि बहिनी भुन्टीले नजिकै रहेको दाइलाई घच्घच्चाएर भन्छे— “दादा आज हामीले हाम्रो बावा र आमालाई सोध्नैपर्छ, किन हामी सानो जात भएको ? के हामीले अपराध गरेका थियौँ र हामीले सिलाएको कपडा लाउन हुन्छ, त्यो कपडा लाएर भित्रबाहिर गर्न हुन्छ । किन हामीले छोएको पानी चल्दैन ? किन हामीले यत्रो अपमान सहेर बाच्नुपर्ने ?”

बाटामा यस्तै कुरा गर्दै स्कुलमा पढ्न छोडेर उनीहरु घरतिर फर्किन्छन् ।“ हामीले बनाएका भाँडाकुँडाहरू प्रयोग गर्न हुने† हामीले बनाइदिएका जुत्ता, गहना लाउन हुने† हामीले बनाएको घर अछुत नहुने† हामीले बनाएको त्यो घैटो पनि अछुत नहुने† हामीले बनाएको त्यो मन्दिर, त्यसको माथिको गजुर र भित्र राखिएको मुर्ति र घण्टहरू चोखो हुने† तर हामी भित्र पसेर पुजा गर्न नहुने रे ¤ हामीले पानी छोइदिन नहुने रे ¤ बाटाभरि भुन्टी र च्यामेको मनमा यिनै कुराहरू सल्बलाइरहन्छन् । उनीहरूका आँखाबाट अनायासै आँशु बर्सिन थाल्छन् । उनीहरू अगाडि बढ्दै जान्छन् । यत्तिकैमा उनीहरू घरको पिढीनजिकै पुग्दछन् । बाबाचाहिँ बाहिर बोटको छहारीमा बसेर कल चलाइरहेका हुन्छन् । कलको सियोबाट धागो फुत्किएपछि धागोमा थुक लगाएर सुईमा धागो छिराउँदैछन् । आमाचाहिँ पुराना कपडा सियोले सिउँदैछिन् । दुवै जना आ–आफ्ना काममा तल्लीन छन् । भुन्टी र च्यामे अरू दिनहरूभन्दा पहिल्यै आएकाले बुवाआमा आश्चर्यचकित हुन्छन् । बुवाआमालाई देख्नेबित्तिकै भुन्टी र च्यामेले किताबकापी बोकेका झोला बुबाआमातिर फाल्दिँदै भक्कानिएर रून थाल्छन् । बुबाचाहिँ सिलाउने कल छोडेर हत्तारिँदै छोरीतिर आएर भन्छन्— “छोरी तिमीलाई आज के भयो ? कसैले हान्यो कि ? खै कतै लड्यौँ र चोटपटक लाग्यो कि ?” यसो भन्दै काल्चे दमाईले छोरीलाई सुम्सुम्याउँदै सरिरको तलमाथि हेर्दछन् । आमाले पनि च्यामेलाई त्यस्तै भन्छिन् तर च्यामे र भुन्टी भने बोल्दैनबोली झन् चर्को आवाज बनाउँदै रूनकराउन थाल्दछन् ।

त्यसपछि बुवाआमाको अनुहारतिर हेर्दै आँसुका धारा बगाउँदै भुन्टी र च्यामेले आँसु पुछ्दछन् । बुबाआमा पनि छोराछोरीका आँखामा बलिन्द्र धारा देखेपछि उनीहरूका आँखा पनि रसाउँछन् । आमाले छोरो च्यामेलाई बुबाले छोरी भुन्टीलाई चपक्क समाउँदै भन्छन्— “मेरो बाबा आज तिमीहरूलाई कसले हान्यो, मेरो मुटुको टुक्रालाई ? कसले के ग¥यो बाबु ? आज तिमीहरू किन छिट्टै घर आयौ ? के भयो र ?” बाबुले छोरीलाई र च्यामेलाई आमाले चपक्क आफ्नो छातीमा टाँस्छन् । बुबाआमाको छातीबाट फुत्कँदै साङ्गीतिक भावमा बलिन्द्र धारा आँशुसहित भुन्टी र च्यामे बोल्न थाल्दछन्—

हे….बाबा…हे…आमा२
किन भन्छन् हामीलाई सानो जात

स्कुल जान्छु, स्कुलमै हेला
गाउँमा आउँछु गाउँमै होला
छिःछिः र धुरधुर अपमान कस्तो
रगत हाम्रो किन छ समाजमा सस्तो
हे..बाबा.. हे.. आमा..
के ग¥यौँ र हामीले त्यस्तो अपराध
किन भन्छन् हामीलाई सानो जात

पिढीमा बसी खा भन्छन् हामीलाई
तँ तँ र म म बोल्दछन् मनलाई
कस्तो छ चलन मिल्दै नमिल्दो
उस्तैउस्तै मान्छेमा सानो र ठूलो
हे..बाबा.हे..आमा
हाम्रो संसार दिउँसैमा किन रात
किन भन्छन् हामीलाई सानो जात

ठूल्दाइले हिजो मलाई भन्थे
जाति र पाति ठालुको खेल रे
लडेर ल्याएमा गरिबको राज्य
भन्दैनन् हामीलाई सानो जात रे
हे..बाबा..हे..आमा
सक्दिन म सहन जान्छु लड्न
किन भन्छन् हामीलाई सानो जात

(यस गीतका रचनाकार तथा सङ्गीतकार दलबहादुर विश्वकर्मा हुनुहुन्छ : लेखक ।)

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २० – March 21, 2012 – २०६८ चैत्र ८ गते, बुधबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.