~उत्तम न्यौपाने~
मानवता, प्रजातन्त्र र विश्व शान्ति
तेरो चाहना
हामी पनि त्यही चाहन्छौं
विश्व भातृत्व, विश्व शान्ति
फरक यति मात्र हो
तँ शान्ति फैलाउन
एसएलआर पड्काउँछस्
मिसाइल फ्याँक्छस्
किनकि तँ बारूदको गन्धमा शान्ति भेट्टाउँछन्
तँ बन्दुक पड्काउँछस्
अनि वार्ताको कुरा गर्छस्
तँ धर्म र जातको द्वेष फैलाउँछस्
अनि मानवताको कुरा गर्छस्
तेरो प्रजातन्त्र हामीले देख्यौं
तेरो विश्व शान्ति हामीले देख्यौं
तैंले सद्दामलाई फासी दिइस्
हेर तँ इराक उस्तै छ
तेरो अफगानिस्तान
तेरो पाकिस्तानमा
खै त शान्ति छाएको ?
गर्दा गर्दा लिबियामा पनि पुगिस् हैन
एउटा देश स्वतन्त्र भएको
तँलाई पच्दैन हैन
मेरो देशको भूगोलमाथि
धाबा बोल्ने तँ को होस्
भोकाले एक छाक खान पाउनुपर्छ
गरिब र सर्वहारावर्गले शासन गर्न पाउनुपर्छ
तेरो साम्राज्यमा देशद्रोही हुन्छन्
ठीक छ हामी देशद्रोही हौं
हामी आतंकवादी हौं
तर याद राख
सगरमाथा चुम्ने हाम्रा सपनाहरू
हामी पूरा गरेरै छाड्छौं
यो रक्तरञ्जित झन्डा
तैंले देखेको छस्
हामी मर्छाैं बरू
यो झन्डा झुक्न दिन्नौं
–हाल पूर्वाञ्चल क्याम्पस, धरान
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३६ – २०६८ श्रावण १८ गते, बुधबार)
