कविता : पूर्वलडाकूभित्रका उच्छ्वासहरू

~नीरज लवोजु~

१
तिमीलाई म त्यत्ति नै घृणा गर्छु
जति घृणा हामी उसलाई गर्थ्यौं।
अनिकाल लागेको भोको बस्तीमा
तिमीले पनि र
मैले पनि
एक–एक डोको सपनाको भारी
बोकेर थालेको यात्रा
तिमीले धान–चामलसँग साटेपछि
हामीले सँगै कुँडेको आस्थाको बुट्टा
बगरमा लेखेका
नामजस्तै भए – निरर्थक, निरर्थक।

२
स्वार्थै–स्वार्थको कटेरोभित्र
आत्म बलिदानको ओछ्यान लगाएर
मुक्तिको सपना देख्नु
एउटा भ्रम थियो।
त्यो भ्रम जसमा
बाँच्दा कम्तीमा ‘गौरव’ अनुभूति हुन्थ्यो,
तर भ्रम उद्घाटनको प्रहारले
घोर हिनताबोधको रगत बगेको छ।

३
यतिञ्जेल सहिद नबन्नु
मेरो अभिशाप भएको छ।
म मेरा हरेक सहिदहरूका
सपनाहरूको हत्या
टुलुटुलु हेरिबसेको छु।
मेरा आँखाबाट निस्केका
घृणाका लप्काहरूले
हेरौं क–कसलाई
के–कसरी राख पार्नेछ।

(स्रोत : मजदुर दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.