~रवि प्राञ्जल~
उजाड हुन्छ बनै प्रिये ! गाउँ भुलेपछि
उदास हुन्छ मनै प्रिये ! गाउँ भुलेपछि ।
देखावटी हाँसो हाँस्छ सधैँ भरि शहर
पिरले सुक्छ तनै प्रिये ! गाउँ भुलेपछि।
कस्ले बेच्छ चोखो माया कस्ले बेच्छ खुशी?
माटो हुन्छ धनै प्रिये ! गाउँ भुलेपछि ।
कति रुनु सधैँ भनी शहर पस्छ मान्छे
झर्छ आँसु झनै प्रिये ! गाउँ भुलेपछि ।
गुमे सङ्गी, गुम्यो संसार,गुमे प्रियजन
गुम्यो आफ्नोपनै प्रिये ! गाउँ भुलेपछि ।
– रवि प्राञ्जल
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)