पुस्तक समीक्षा : कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू

~रमण घिमिरे~book-cover-dr-dubasu-chettri-ashwamegh-yagyaka-ghodaharu-kabita

कुनै युग थियो, आफ्नो साम्राज्य विस्तार गर्न विशेष लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडिन्थ्यो। त्यो घोडा जुनजुन देशमा जान्थ्यो, या त त्यस देशले हार स्वीकार गर्नुपर्थ्य या घोडा छोड्ने राज्यसँग युद्ध गर्न तयार हुनुपर्थ्य। एक वर्षसम्म यो क्रम जारी रहन्थ्यो र अन्त्यमा दिग्विजय प्राप्त गरेपछि ‘अश्वमेध यज्ञ’ गरी त्यही घोडालाई यज्ञमा बलि चढाइन्थो।

यस्तै अश्वमेध यज्ञका घोडाहरूलाई पात्र बनाएर कवि दुबसु क्षेत्रीले एउटा लामो काव्यसिर्जना गरेका छन्, अश्वमेध यज्ञका घोडाहरू ।

११ मुख्य शीर्षक र ८० वटा उपशीर्षकमा अश्वमेध यज्ञका घोडाहरूको संरचना तयार पारिएको छ। आरम्भमा ‘तेस्रो आँखा’ १, २, ३ र ४ अनि चौथो आँखा १, २, ३ र ४ गरी आठवटा र ‘युद्धविरुद्ध उभिएका अश्वमेध यज्ञका छोडाहरू’ गरी नौ उपशीर्षकमा रंगभेद धर्म-सम्प्रदायविरुद्ध, फोहरी राजनीति र मानवीय स्वार्थी प्रवृत्तिविरुद्ध इन्कलाब गरिएको छ। यसलाई कविले ‘युद्धविरुद्धको युद्ध र अश्वमेध यज्ञका घोडा’ शीर्षकमा अभिव्यक्ति पोखेका छन्।

यस काव्यकृतिमा मूलशीर्षकको पछाडि ‘र अश्वमेध यज्ञका घोडाहरू’ जोडेर ‘युद्धविरुद्धको युद्ध’, ‘समयविरुद्धको युद्ध’, ‘बन्धनविरुद्धको युद्ध’, ‘अँध्यारोविरुद्धको युद्ध’, ‘अस्वतन्त्रताविरुद्धको युद्ध’, ‘निषेधविरुद्धको युद्ध’, ‘मूल्यहीन जिन्दगीविरुद्धको युद्ध’, निमानवीयताविरुद्धको युद्ध’, ‘मृत्युविरुद्धको युद्ध’, ‘लगामविरुद्धको युद्ध’ र अन्त्यमा ‘घोडा बाँच्नुको विरुद्धमा उभिएको दुबसु क्षेत्री’माथि सशक्त कविता सिर्जना गरेका छन्। उनका कवितामा नौलो प्रयोग पाइन्छ। हरेक कविता नदीझैँ गतिमान छन्। कविको यो काव्यसरतिा कहिले मूलबाट अटेसमटेस भेलहरू समेट्दै किनाराका अस्तित्वहरूलाई भत्काउँदै प्रवाहित भएको छ भने कहीँ हिउँदको बालुवामुनि बल्लतल्ल आफ्नो अस्तित्वलाई भिजाउँदै बगेको छ। कवितामा उनले हिन्दु, इस्लाम, बौद्ध, यहुदी कसैलाई पनि छोडेका छैनन्। त्यसैले यसलाई धन्र्मान्धता र धर्मगुरुविरुद्धको काव्यिक युद्ध पनि भन्न सकिन्छ। ‘एक्काइसौँ शताब्दीको गीत-२’को ‘उपकविता-१ धृतराष्ट्र’ आजको यथार्थ हो। आज अन्धाहरू सत्तामा छन् र सत्तामा पुगेर अन्धा भएका छन्। सत्ताधारी जो हुन्, तिनीहरू धृतराष्ट्र हुन्, युग द्वापर नहोस् केही छैन तर शासनमा धृतराष्ट्रहरूको बिगबिगी छ। आज पनि उसलाई राज्य सञ्चालनका लागि दुर्योधन नै चाहिन्छ र चाहिन्छ शकुनि नै।

कवितामा क्षेत्रीले बिराला, गिद्ध, लाटोकोसेरो, स्याल र कुकुरजस्ता जनावरहरूलाई प्रतीक बनाएर शब्दशब्दमा अर्थको माला उनेका छन्। उनले कविहरूलाई नै पनि उपमामा बाँधेका छन्, विम्बमा तानेका छन्। मुख्य उठान विभीषिका र युद्ध नै हो, जुन कुरा पुस्तकको शीर्षकले पनि व्यक्त गर्छ। प्रयोगका हिसाबले यो कृति जटिल र दुरुह लाग्छ तर कविताभित्र प्रवेश गरसिकेपछि सामान्य पाठकदेखि छिद्रान्वेषी समालोचकसमेतले अर्थ पाउँछन्। सरलताभित्र गम्भीर विषयको उठान अश्वमेध यज्ञका घोडाहरूको प्रमुख विशेषता हो। सबैभन्दा गुणग्राही कुरा कवि शब्दलाई खेलाउन पारंगत देखिन्छन्।

उदाहरण : १

मान्छेमा विभीषिका छ
मान्छे विभीषिकामा छ । (उपकविता-२ : युद्ध)

उदाहरहण : २

मान्छे अझै कुरुक्षेत्रमा छ
मान्छेमा अझै कुरुक्षेत्र छ । (चौथो आँखा-२ : उपोद्घात)

यस्ता प्रयोगहरू उनले ‘चौथो आँखा’भित्रका कवितामा धेरै ठाउँ गरेका छन्। कवि क्षेत्रीको काव्यिक संरचनाको शैली हो, शब्दहरूलाई सिलसिलेवार रूपमा उन्दैउन्दै ल्याएर कुनै ठाउँमा झ्याम्म हान्नु। ‘नेल्सन मन्डेला-२’ को ‘उज्यालो कहिल्यै एक्लो हुँदैन’ यसैको सानो नमुना हो।

कविताहरू समग्र दर्शनमा आबद्ध छन् तर दर्शनमा विविधता छ। यहाँ रामायण र महाभारतका दर्शन पनि छन्। यहाँ पूर्वराजा ज्ञानेन्द्र र नेता प्रचण्डको दर्शन पनि छन्। यहाँ हिटलरको दर्शन पनि छ र गान्धीको दर्शन पनि छ। तर, यी दर्शनहरूका पात्रपात्रा र घटना जे हुन्, कविले हरेकमा आफ्नो वाणी दिएका छन्।

र त उनी भन्छन् :

पहिले मैले आफूलाई देवता भनेको थिएँ
कहिले मैले आफूलाई निर्विकल्प भनेको थिएँ ।
………

मेरो रामराज्य पनि डढिसकेको छ
मेरो अवतारको गाथा पनि जलिसकेको छ
मेरो देवताको भ्रम पनि सल्किरहेको छ । (राम-३)

यसले आजको नेपाललाई संकेत गरेको छ। उनका कविता गद्य भएर पनि लयमा आबद्ध छन्, त्यसैले कतैकतै महाकवि देवकोटाको शैली मिश्रति भएको अनुभूति गर्न सकिन्छ। क्षेत्रीका कविता द्वापर, त्रेतादेखि आजको मानव सभ्यतासम्मका इतिहासको पनि इतिवृत्तान्त हो। उनका कविताले धर्मका नाममा भएका अन्यायहरूको चर्चा गर्दा इतिहास बोलेका छन्। मानव सभ्यताका क्रममा मान्छेहरूमाथि भएको प्रताडनाका कुरा गर्दा समग्र मानव सभ्यताको इतिहास उल्लेख गरेका छन्। त्यसैले यो कविको कोरा कल्पना मात्र पनि होइन, सत्य र तथ्यलाई केन्द्रविन्दुमा राखेर वास्तविकतामाथि लेखिएको अन्याय र अत्याचारविरुद्धको ‘अश्वमेध’ पनि हो। ‘हनुमान’ (१, २, ३)मा खुलेर परतन्त्र, पराधीन र चाकरी प्रवृत्तिविरुद्धमा कवि कुर्लेका छन्। ‘हनुमान’ र ‘राम’ पढेपछि लामो कालखण्डपछि एउटा नयाँ रामायण पढेको अनुभव हुन्छ। तर, यो रामायणमा भानुभक्तको जस्तो सोझो रामभक्ति पाइँदैन। यहाँ त हनुमान आफ्नो स्वतन्त्र अस्तित्वका लागि रामभक्तिविरुद्ध, रामदासत्वविरुद्ध तिघ्रा ठटाउँदै गर्जिन्छन्, “म हनुमान हुँ, मेरो पृथक् अस्तित्व छ, मलाई अब रामको दासत्व स्वीकार छैन।”

४ सय ४९ पृष्ठको यो कविता कृति साझा प्रकाशनले आजसम्म प्रकाशित गरेको एउटै कविको सम्भवत: पहिलो ठूलो ग्रन्थ हो।

यति हुँदाहुँदै पनि अश्वमेध यज्ञका घोडाहरू त्रुटिरहित काव्यग्रन्थचाहिँ होइन।

छाला नकोतर
मान्छेलाई काला र सेता रङहरूमा नबाँड
रङ जहिल्यै पनि एउटै हुन्छ । (तेस्रो आँखा-१)

भावनात्मक हिसाबले या रगतका अर्थमा रङ एउटै होला तर सूर्यका प्रकाशमा पाइने सात रङहरूलाई सम्मिश्रण गर्दै जाने हो भने हजारौँ रङ बन्छन्। यो विज्ञानले प्रमाणित गरेको तथ्य हो। मान्छेकै मात्र कुरा गर्ने हो भने पनि दुई रङ त स्थापित भएका छन्। यसलाई विचार र सिद्धान्तको रङबाट परभिाषित गर्ने हो भने अझ सहस्र रङहरूको जन्म हुन्छ। यस्तै :

एउटा चोर औँला देखाएर
कुनै एउटा पुस्तक पढ्न नलगाऊ
पढ्ने पुस्तक जहाँ पनि एउटै हुन्छ
त्यो समय हो
समय जहिल्यै पनि एउटै हुन्छ र
सबैका लागि पठनीय छ । (तेस्रो आँखा-१)

यी पंक्तिहरूमा पनि विरोधाभास छन्। कवि एकातिर एउटै पुस्तक पढ्न नलगाऊ भन्छन् र फेरि भन्छन्, पढ्ने पुस्तक एउटै हुन्छ। र, समय पनि सधैँ एउटै हुन्छ। धर्मका नाममा उनका उक्ति सही होलान् तर यथार्थको जगमुनि उभिएर नियाल्दा न पढ्ने पुस्तक एउटै हुन्छ, न समय। ‘तेस्रो आँखा-४’मा पनि प्राविधिक त्रुटि देखिन्छ। कविताको हरफले भन्छ, “केही गिद्धहरू मयूरजस्ता नक्कली देखिन्छन्।” यहाँ बरू ‘केही गिद्धहरू नक्कली मयूरजस्ता देखिन्छन्’ भनिएको भए अर्थपूर्ण हुन्थ्यो।

‘समयविरुद्ध उभिएका अश्वमेध यज्ञका घोडाहरू’को ‘उपोदघात’मा कवि विपरीतार्थ विम्बहरू प्रयोग गर्दै जान्छन्। जस्तो- ‘…समयले नै मान्छेलाई राम पनि बनाउँछ, रावण पनि बनाउँछ’, ‘समयले नै मान्छेलाई कृष्ण पनि बनाउँछ, कंस पनि बनाउँछ’, ‘समयले नै मान्छेलाई युधिष्ठिर पनि बनाउँछ, दुर्योधन पनि बनाउँछ’ भन्दै एक ठाउँमा यस्तो विम्ब प्रयोग गर्न पुग्छन्, ‘समयले नै मान्छेलाई आइन्स्टाइन पनि बनाउँछ, गान्धी पनि बनाउँछ।” यसले के अर्थ राख्छ ?

यी सानातिना गल्तीहरूप्रति आँखा चिम्लने हो भने अश्वमेध यज्ञका घोडाहरू समय र अवस्थामाथि लामो समयपछि लेखिएको एक उत्कृष्ट दार्शनिक काव्यकृति हो भन्न कन्जुस्याइँ गर्नु पर्दैन।

अश्वमेध यज्ञका घोडाहरू
कवि : दुबसु क्षेत्री
प्रकाशक : साझा प्रकाशन
पृष्ठ : ४४९
मूल्य : ५०० रुपियाँ

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४५३)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.