~मदनमणि दीक्षित~
म जन्मिएको ८६ वर्ष पूरा हुन लाग्यो । म पछिका पनाति र पनातिनी गरी तेस्रो पुस्ता चलिरहेछ । केही दिन भयो मेरो नातिनी ज्वाइँसित कुरा हुँदै थियो । आफ्ना साढे दुई वर्षको उमेरका बम्बई छँदाका सम्झनाहरू बारे चर्चा गरेँ । ती सम्झनाहरू मेरो मस्तिष्कमा ताजै छन् तथापि आजका शिशुहरूका सम्झनासित दाँज्दा आजका शिशुहरू कति फरक र उमेरअनुसार पाका चिन्तनमा पुगेका रहेछन् भन्नेबारे हाम्रा चर्चा चल्दै रहे ।
म सात वर्षको छँदा ग्रामोफोनको सङ्गीत सुनेको थिएँ र घरकी सेविका मालतीसित यो कसरी बोल्छ भनी सोधेको थिएँ । “बाबु यसभित्र साना मान्छे लुकेका छन्, त्यही लुकेका मान्छेले गीत गाएको हो” भनेकी थिई उसले । म नौ वर्षको हुँदा काठमाडाँैको मजलिश घरमा प्रम जुद्धशमशेरले एउटा भारतीय सिनेमा देखाउन आदेश दिएका थिए । त्यो सिनेमा मैले हेरिनँ तर हाम्रो घरका त्यो सिनेमा हेरेका धेरै मानिसले “पर्दा पछाडि लुकेर बसेका मानिसहरूले बोलेका होलान्” भनी मलाई सुनाएका थिए ।
मेरी पनातिनी अहिले पाँच वर्षमा चलिरहेकी छ । मेरो पनाति अहिले तीन वर्षमा चलिरहेको छ । यी दुवैले जन्मैदेखि आफ्नी आमाका काखमा सुतेर टि.भी. हेरिरहेका छन् । यी दुवैका अभिव्यक्ति मेरो त्यही उमेरको भन्दा अचम्मलाग्दो किसिमले पृथक हुने गरेका म नै देखिरहेको छु । पनातिनीले ‘किण्डर गार्डेन स्कुल’ जान लागेको दुई वर्ष पूरा भयो । पनाति पनि किन्डर गार्डेनमा जान थालेको वर्ष दिन नाघिसक्यो । वर्ष दिन अगाडि श्रीदाले टि.भी. च्यानलमा अमेरिकाको सियाटल सहरमा रहेको धरहराको तस्बिर देखिछ । यो सियाटल कहाँ छ भनी आफ्ना पितासित सोधिछ र अमेरिकामा छ भन्ने थाहा पाएपछि त्यो सहर हेर्न, त्यहाँका सडकहरूमा घुम्न र त्यो धरहरामा चढ्न मलाई लगिदिनुस् है भनी आग्रह गरिछ । त्यो उमेरकी शिशुमा त्यस्तो आकर्षण अचम्मलाग्दो कुरा होइन र ?
त्यस्तैमा श्रीदाको आफ्नो पितामहले गत वर्ष मात्र इजिप्टबाट काठमाडौँ फर्किंदा टाढाको रिमोट कन्ट्रोलबाट दगुर्ने सेतो मुसो किनेर ल्याएर आफ्नी नातिनीलाई दिनु भएछ । नातिनी श्रीदा खुसी भएर सेतो मुसोसित खेल्न र कुरा गर्न थाली । एकदिन त्यो खेलौना मुसो फेला परेन । श्रीदा रुन थालिछ र आफ्नो पितालाई भन्न थालिन्छ- “म हवाइजहाज चढेर मिश्र देशमा जान्छु र त्यहाँबाट दुईवटा सेतो मुसा किनेर ल्याउँछु, एउटा सेतो मुसासित म खेल्छु, अर्को सेतो मुसा म आफ्नी आमालाई दिन्छु ।
पनाति कौस्तुभ पनि यो उमेरदेखि नै चर्को केटो भन्ने म देखिरहेको छु । एकदिन उसकी माता शिवानीले भनिछन्- “त बढ्ता घुकघुक गर्छस्, तलाई म बाथरुमभित्र थुनिदिन्छु ।” बच्चो छक्क परेछ र भन्न थालेछ- “मुमाले थुनेर के त मलाई विमला दिदी (घरमा काम गर्ने नारी) ले ढोका खोलेर आफ्नो कोठामा लगिदिहाल्नुहुन्छ । थुनेर मलाई के हुन्छ ?”
म सात वर्षको छँदा मेरो ठूलाकान्छ । पितृव्यले कोठाको भित्तामा ठूलो मानचित्र देखाएर लण्डन, पेरिस, वासिङ्टन, दिल्ली, बम्बई आदि सहरहरू मानचित्रमा यो ठाउँमा छ भनी बताउनुभएको थियो । केही दिनपछि तिनै सहरहरूबारे फेरि सोध्नुहुँदा मलाई थाहा थिएन । मलाई मात्र होइन मभन्दा छ वर्ष जेठा मेरा दाजुलाई पनि थाहा थिएन । तिनताका हामी कानेकाने पिच्चा र लुकामारी मात्र खेल्थ्यौँ । म सम्झिन्छु, म सात वर्षको र मेरा भान्दाइ उही उमेरका थियौँ । एकदिन दिउँसो हामी दुवैले तासको दुई चक्की पान र सुरतको मिस्सी लुकाएर बुइँगलमा लगेका थियौँ र कुनामा सुकुलमाथि पल्टिएर हामी दुई जनाबीचमा तासका ती दुई पत्ति राख्यौँ र को कसको दुलही हुने भनेर रोज्यौँ । मेरो रोजाइमा पानको मिस्सी र भान्दाइको रोजाइमा सुरतको मिस्सी पर्न गएछ । सुरतको मिस्सीको कालो पोसाक र पानको मिस्सीको रातो पोसाक रहेछ । भान्दाइले कालो मिस्सी नलिने कुरा गरेर मेरो भागमा परेको पानको मिस्सी माग्नुभयो । मैले पानको मिस्सी लिने जिद्दी गरेँ । हामी दुवैबीच झगडा भयो । झगडा हुँदाहुँदै बुइँगलको कुनामा फालिरहेका दुईवटा घैँटामाथि बस्न पुग्यौँ । दुवै जनाको घुँडासम्म कालो उपियाँले ढाक्यो घैँटोमा दिसा गरिसकेपछि हामी दुवैजना मुखामुख गर्यौँ र त्यहीँ बुइँगलमा रहेको रातो माटोको डल्लोले चाक पुछ्दै घुँडाबाट उपियाँ झार्यौँ तर उपियाँले भने हाम्रा चाकमा टोकिरहेका रहेछन् ।
दुईथरिका बाल्यकाल, एउटा मेरो र एउटा पनातिनी श्रीदा र पनाति कौस्तुभको । मेरो समयमा बालसाहित्य थिएन । कथाहरू सुन्ने गरेको थिएँ । मेरो पिताले ‘ढुटे राजा’ र ‘धनी राजा’ को कथा, सुन केशरी मैयाँको कथा र गुलसनोवरको कथाहरू सुनाउनुभएको थियो । अहिलेका शिशुहरूलाई तिनका मातापिताले त्यस्ता कथा सुनाउँदैनन् । यो वर्तमान पुस्ताका शिशु र बालबालिकाहरू सुत्ने बेलामा टि.भी. च्यानलमा ‘मिक्की माउस’, ‘टम एण्ड जेरी’ र ‘डोनाल्ड डक’ का चलचित्रहरू हेरेर ती भाषा नबुझे तापनि चित्रहरू हेर्दै आफ्ना इच्छाअनुसार कथा हाल्छन् र मातापितालाई जेरी मुसोले टम बिरालोलाई कसरी छक्यायो भनी बताउँछन् ।
(स्रोत : मधुपर्क २०६६ जेठ)