~उमाशङ्कर द्विवेदी~
कद्रूका नाग पुत्रहरूमध्ये शेषनाग नाम गरेका एउटा नाग थिए । उनले भाइहरूको दुष्टता तथा किचलोको कारण आमा र अन्य दाइभाइसित विरक्त भएर कठिन तपस्या गर्न थाले । उनी केवल हावा पिएर तपस्याको पूर्ण पालना गर्दथे । उनी आफ्नो समस्त इन्द्रियहरूलाई वशमा राखेर गन्धमादन, बद्रीकाश्रम, गोकर्ण तथा हिमालय आदि ठाउँहरूमा एकान्त बास तथा पवित्र तीर्थाटन पनि गर्दथे ।
कठोर तपस्याका कारण शेषनागको जीउको मासु, छाला तथा नाडीहरू सुकिसकेको देखेर ब्रह्माजी उनको धैर्य र तपस्याले अत्यन्त खुशी भई उनको छेउमा आएर भने,“हे शेषनाग, तिमी यस्तो कठोर तपस्या किन गरिरहेका छौं ? तिम्रो चाहना के छ ? मलाई भन, म तिम्रो मनोकामना पूर्ण गरिदिने छु ।”
शेषनागले भने,“भगवन्, मेरा भाइहरू मूर्ख छन्, यसकारणले म उनीहरूसित बस्न चाहँदिन । उनीहरू परस्परमा एक अर्कासित शत्रुवत् डाहा गर्दछन्, ठूलीआमा विनता र उनका छोरा गरुड र अरुणसित द्वेष गर्दछन् । त्यसै कारणले आजित भई म तपस्यारत भएको छु ।”
ब्रह्माजीले भने,“शेषनाग, तिम्रा भाइहरूको जम्मै करतुतबारे मलाई थाहा छ । आफ्नी आमाको आज्ञाको उल्लङ्घनका कारणले तिनीहरू आपैंm ठूलो आपत्तिमा पर्ने भएका छन् । मैले त्यस विपत्तिको परिहार पनि बनाइराखेको छु । तिमीले अब त्यस कुराहरूको फिक्री नलिएर मसित कुनै वरदान माग, किनकि सौभाग्यवश तिम्रो बुद्धि धर्ममा अडिग छ ।”
शेषनागले भने,“पितामह, म यही चाहन्छु कि मेरो बुद्धि यसै प्रकारले धर्म, तपस्या र शान्तिमा संलग्न रहोस् ।”
ब्रह्माजीले भने,“म तिम्रो इन्द्रिय र मनको संयमले धेरै प्रसन्न छु । मेरो आज्ञाले तिमी प्रजाको हितमा एउटा काम गर । यो सम्पूर्ण पृथ्वी पर्वत, वन, सागर, ग्राम, विहार र नगरहरूका साथमा हलिंदै रहन्छ । तिमीले यसलाई यस प्रकारले धारण गर कि यो अटल अचल भइजाओस् ।”
शेषनागले भने,“पितामह म तपाईंको आज्ञाको पालन गर्नेछु । म यसलाई आफ्नो शिरमाथि धारण गरेर अचल पारिदिनेछु, पितामह, कृपया यसलाई उचालेर मेरो शिरमाथि राखिदिनुस् ।”
ब्रह्माजीले भने,“शेषनाग तिमीले धन्दा मान्नुपर्दैन, पृथ्वीले तिमीलाई मार्ग दिनेछिन्, तिमी यसको मुनि छिरिहाल । तिमीले पृथ्वीलाई आफ्नो शिरमाथि धारण गरेर मेरो निकै प्रिय काम गर्नेछौं ।” ब्रह्माजीको आज्ञानुसार शेषनाग पृथ्वीमुनि छिरेर चारैतिरबाट समाइ उचालेर आफ्नो शिरमाथि राखी अचल पारिदिए । जुन अद्यावधि कायमै छ ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)