कथा : अन्यायी न्यायाधीशहरु

~गौतम ‘उदय’~Gautam 'Uday'

“धरमपुरको बालधरलाई मझुवा गाउँमा बाँधेर राखेको छ रे !” आश्चर्यको तर हँसिलो मुद्रामा भन्यो अमरले उमेशलाई । अमरलाई पनि थाहा थिएन खास कारण । उसलाई पनि राप्ती नदीपारिको राष्ट्रिय निकुन्जबाट दाउरा खोजेर मझुवा गाउँको बाटोहुँदै आउँदा त्यहाँ थुप्रै मान्छे जम्मा भएका र बालधरलाई चौतारे जेठाको घरभित्र बाँधेर राखेको कुरा एक चिनेकी महिलाले भनेकी थिइन | ती महिलालाई कारण थाहा भएको थियो तर उनी गाउँले परिबेशमा हुर्केकी र घटनाको प्रकृतिले गर्दा खुलस्त पार्न असजिलो भएर त्यसो भनेकी थिइन् | कारण नबताई अमरलाई नै “बरु जानुस् न, खास के भएको रहेछ बुझेर हामीलाई पनि भन्नुस्“ भन्दै आफ्नो घरतर्फ लागेकी थिइन उनी |

अझसम्म पनि एकदमै पिछाडिएको छ यो गाउँ | केही समय अगाडिसम्म त भौतिक बिकास तथा बिकासका पूर्वाधारहरु शुन्य नै थिए भने पनि हुन्छ | अलि हुनेखाने भन्नेहरुकोमात्र व्यक्तिगत चापाकल या इनारका साथै खडाई वा बोराले छेल पारेका सामान्य खुल्ला चर्पी थिए | करिब नब्बे प्रतिशत बासिन्दाका चर्पी भनेकै कुला, खेतबारीका ढिस्का, धान मकैका गह्रा, चौर आदि थिए | खानेपानी र नुहाइधुवाइको निमित्त टोलटोलमा केही सामुहिक इनार थिए | त्यत्रा गाउँहरुको बिचमा मात्र एउटा प्राइमरी स्कूल थियो | बिजुली र राम्रो बाटोघाटोको कुरा त परै रह्यो | ब्रिटिश आर्मीमा पेन्सन पकाएका घले बा थिए यो गाउँका डाक्टर | तीन किसिमका औषधि दिन्थे यी डाक्टरले बिमारीहरुलाई – सन्चो भएन भन्नेलाई सिटामोल, जेसुकै कारणले जहाँ दुखे पनि ब्रुफेन र चोट, घाउखटिरा भए लगाउने रातो आयोडिन झोल | त्यति पनि धन्न थियो यो गाउँको लागी !

भौतिक बिकास दूर भविष्य भए पनि ध्रुब, किरण जस्ता जिल्ला स्तरीय नेता र उमेश, अमर, जय, लक्षु लगायतका स्थानीय युबाहरुको प्रयासले यो गाउँमा राजनीतिक चेतना भने रफ्तारमा फैलिएको थियो | संस्कृतिक कार्यक्रम, आमसभा, राजनीतिक प्रक्षिक्षण, व्यक्तिगत मित्रता, परिआउँदाका सदभाब र सहयोग आदिको माध्यमले धेरै गाउँलेको मन जितेका थिए यिनीहरुले | गाउँमा केही साना जमिन्दार र सामन्तहरु पनि थिए | धेरै जसो त यिनै युबकहरुका आफन्त पर्थे | नातालेमात्र आफन्त पर्ने यी बालधरजस्ता जमिन्दारहरुले सताउनसम्म सताएका थिए यी जुझारु युवाहरुलाई |

यो दिन सामुहिकरुपमा एउटा राजनैतिक किताब अध्यन गर्ने योजना थियो यिनीहरुको, तर अमरले बालधरको कुरा सुनाएपछि अरु साथीहरुलाई पनि खबर गरी अध्यनकार्य स्थगित गरी मझुवा गाउँतर्फ लागे सबै |

मझुवा गाउँ पुग्दा त नभन्दै बालधरलाई चौतारे जेठा आफैले बाँधेर राखेको रहेछ !

बालधर यो गाउँ पंचायतको उप-प्रधानपन्च थियो भने चौतारे जेठो वड़ा नम्बर सातको वड़ा अधक्ष थियो | यी दुवै वल्लोपल्लो गाउँका बासिन्दा, एकदम मिल्ने साथी ! जातले चौतारे जेठो मतवाली थियो त बालधर ब्राह्मण, तर दुबैले जाँडरक्सी छुन्थेंनन् | तास भने अति खेल्थे ! तास चोर्ने, झ्याली गर्ने नगर्ने तर अरुको हातको तास भने देखेझैँ गरी खेल्ने | कल ब्रेक खेल्दा त झन खेल बटारेर जति ओटी राखेर बोले पनि भसाइदिने | परिवारिक स्थिति दुबैको राम्रो, दुवै जिम्दारका छोरा | बालधर चाहीं ठीकठीकैको थियो तर चौतारे जेठो भने असाध्यै नम्र, देख्दा पनि बलियो अजंगको | गाउँ पंचायत कार्यालय पनि प्राय संगै आउंथे जान्थे | आउन त कार्यालय आउँदा आज पनि संगै आएका रहेछन यी दुवै |

हुन त अरु समस्यामा पर्दा काखी ठोक्नु राम्रो कुरा होइन तर के गर्ने ? कम्ति दुख दिएको थिएन बालधरले यी केटाहरुलाई ! उसको शीर झुकेको देख्न पाउनु त केटाहरुको लागी विरोधीको किल्ला भत्काउनु सरह भएको थियो | केटाहरुले रातसाँझ, झरीबादल, गैंडाको आक्रमण केहीको प्रबाह नगरी बनाएका राजनीतिक आधारलाई विभिन्न हत्कण्डा अपनाएर, समर्थकहरुलाई लोभ्याएर, धम्क्याएर कयौं पटक भत्काएका थिए बालधर र ऊ जस्तै अरु सामन्तहरुले | प्राय: सबै केटाहरुलाई शान्तिसुरक्षा र अमनचयनमा खलल पुर्याएको, राजसंस्थाप्रति अनास्था फैलाएको, राष्ट्र विप्लबको योजना बनाएको जस्ता झुठा मुद्दा लगाएर कैयौं पटक थुनाएका थिए | कति सताए सताए भनेरै साध्य छैन |

बालधर बाँधिएको कुरा बुझ्दै जाँदा एकदम जटिल र संबेदनशील रहेछ | त्यो दिन बालधर घरमा पाउना आएकाछन आज छिटै जानुछ भनेर अरुसंग बिदा भई छिटै हिंडेको रहेछ कार्यालयबाट | तर घरमा नगई ऊ सिधै चौतारे जेठाको घरमा पो गएको रहेछ | चौतारे जेठो पनि खै के कारणले त्यो दिन छिटै घर फर्केर आउँदा त उसको श्रीमतीले प्रतिकार गरिरहेकी तर बालधरले जवर्जस्ती करणी गरिरहेको भेटेको रहेछ | अनि  त बालधरलाई घिच्याउँदै र मुक्क्याउँदै टनटनी डोरीले हातखुट्टा बाँधेर लडाएर राखिसकेपछिमात्र गाउँका गन्यमान्यहरुलाई खबर गरेको रहेछ | एककान दुईकान हुँदै सारा गाउँहरुमा ह्वारह्वारी सल्किसकेको रहेछ यो कुराको डढेलो | जतिजति रात बढ्दै गएको थियो त्यतित्यति मान्छेको भिड पनि राती दश बजेसम्म नै बढिरहेको थियो |

चौतारे जेठाको बिबाह भएको दश बर्ष भए पनि उनीहरुका बालबच्चा थिएनन, तर यो जोडी बिचको प्रेम त्यो गाउँमै उदाहरणीय थियो | उनीहरुको मनभित्रको कुरा त सबैले जान्ने कुरा भएन तैपनि बच्चा नहुनुको कारणले यिनीहरुमा कुनै मानसिक र नैतिक बिचलन आएको शंका गर्ने ठाउँ कहीं कतै पित्को बराबर पनि थिएन |

यो घटना घट्दैगर्दा अनेक कुराहरु उब्जे स्वतन्त्रतापूर्बक | श्रीमतीको कारणले नै चौतारे जेठासंग बालधरले त्यतिबिघ्न सामिप्यता बढाएको, यो आइमाईसंगको पहिलेदेखि कै सम्बन्ध, जबर्जस्ती नभई आइमाईले बच्चा पाउनको लागी स्वइच्छाले योजना अनुसार नै सम्पर्क गरेको तर समातिएपछि प्रतिकारको नाटक गरेको र यस्तैयस्तै नानावली | कथंकदाचित चौतारे जेठाकी श्रीमती र बालधरको पहिलैदेखिको सम्बन्ध भए उनीहरु वा माथिबाट हेर्नेले जानुन्, तर बाहिरबाट हेर्दा ती महिला जबर्जस्तीमै परेको प्रस्ट हुन्थ्यो |

भिड रमिते न हुन्छ ! रात छिप्पिंदै जाँदा केही टाउकेहरु बहेक सबै लाखापाखा लागे | तातो रिस, होसबिनाको जोस, अनि अरु आएर घोकाएको कोरा सिधान्तको ज्ञान र ब्यबहारिकता कहाँ मेल खान्छ र ! ब्यबहामा यी सबै केटाहरु आलाकाँचा ठेट्ना न थिए आखिर | घटनाको सम्बेदनशीलताको गहिराइ वास्तबमै थाहा थिएन यिनीहरुलाई | यो कुरालाई भोलि  अगाडि बढाउने भन्दै सबै केटाहरु आ-आफ्नो बाटो लागे | यी केटाहरु गाउँका युवाहरु र जमिन्दारहरुको थिचोमिचोमा परेका जनताको बिचमा प्रिय भए पनि पंचायत राजको बेलामा नीतिनियम सम्बत कुराहरुमा निर्णायक तहमा पनि थिएनन् तापनि यिनीहरुको चर्को बिरोधको सामना गर्नु पर्ने र कहिले काहीं त कालोमोसोको उपहारसमेत पाइने भएकोले कुनै न कुनै रुपमा यी युवाहरुलाई सहभागी नगराई ठूला निर्णय गर्न सक्ने स्थितिमा पनि थिएनन् यी गाउँका टाउकेहरु | तैपनि खतरा मोलेरै भए पनि रातारात मिलाउन चाहेका थिए यो घटना तर चौतारे जेठो नै यो घटनालाई थामथुम गरी मिलाउने कुराको दृढ विपक्षमा उभियो | बिहानसम्म पर्खनै पर्ने भयो अनि केटाहरुलाई सहभागी गराउनै पर्ने भयो |

मान्छेको मन न हो, घात परेपछि दुखिदिन्छ ! त्यसमाथि पनि सबभन्दा नजिकको र सबभन्दा बढी बिश्वास गरेको मान्छेले घात गर्यो भने त त्यसको पीडा अति नै दर्दनाक र असैह हुन्छ | कतिपय अवस्थामा त पीडा पाउने व्यक्ति मानसिक रोगी बन्छ। पागल हुन्छ, आत्महत्या समेत गर्छ | चौतारे जेठालाई त झन् यस्तै दुईवोटा बज्रले एकैचोटी हानेका थिए ठहरै हुने गरि ! कस्तो भएको थियो होला ! कति दुखेको थियो होला बिचराको मन !

मान्छेले धेरै अवस्थामा बलवान र अजम्मरी नै छु जस्तै गरी सेखी गर्छ | राम्रो नराम्रो, सम्पन्न बिपन्न, सफल असफल, जान्ने नजान्ने जस्ता धेरै कुराहरुमा विभेद गर्दछ | तथापि जब आफूलाई पर्छ मान्छे जस्तो निरिह कुनै प्राणी हुँदैन | गन्यमान्य भन्नेहरु त पालो गरी घर गएर खाना खाएर आए तर घटनासंग प्रतक्ष सम्बन्ध हुने तीनजनाको  हरिबिजोग ! चौतारे जेठोको रिस र पीडासंगै, उसकी श्रीमतीको आँसु र क्रन्दनसंगै र बालधरको डोरीमा कसिएकै अवस्थामा बित्यो त्यो रात |

बिहान भएपछि बिस्तारै फेरी मान्छेको भिड लाग्न थाल्यो | केटाहरु पनि आइपुगे अनि समाधानका बिभिन्न विकल्पमा छलफल भयो | चौतारे जेठालाई उसकी श्रीमतीको खराब नियत नभएको र जबर्जस्तीमा परेकी हुनाले उसलाई स्वीकार्न अनि बालधरलाई कानुनी प्रक्रियामा अगाडि पेस गर्ने प्रस्ताब गर्दा श्रीमती स्वीकार गर्ने कुरा उसले ठाडै अस्विकार गर्यो |

गहिरिएर विचार गर्ने हो भने मान्छे संसारको सर्बश्रेष्ठ प्राणीमात्र नभएर सर्वस्वार्थी प्राणी पनि त हो | चौतारे जेठोमात्र होइन आफ्नै आँखाअगाडि अरुले करणी गरेकी श्रीमती हाम्रो समाजका कुन पुरुषले स्वीकार गर्दछ र ! अदार्श जति छाँटे पनि सर्वसाधारण, शिक्षक, पत्रकार, राजनीतिज्ञ, डाक्टर, प्रोफेसर, संबिधानविद, न्यायाधीश कसैले स्वीकार्दैन | आजको दिनसम्म पनि बाल न्यायाधिशको घरमा बाल मजदुर राखिरहेको समाज न हो यो ! निर्दयी र पक्षपाती छ हाम्रो समाज र संस्कार नारीलाई न्याय दिने मामलामा | समाज र कथित संस्कारको गिदीमा ठोकिएको पक्षपाती भावनाको छाप नमेटिएसम्म अनन्तकालसम्म पनि पाउने छैनन् महिलाहरुले यो समाजमा पूर्ण न्याय | त्यसमाथि पनि श्रीमतीले धोका दिएको भन्ने आधा बिश्वास परेको छ चौतारे जेठोको मनमा यतिखेर |

उसले श्रीमती नस्वीकार्ने भएपछि समस्या झनै जटिल बन्यो | हुन त समस्या जटिल बन्नु भनेको नै एउटी अवाला महिलामाथि अन्यायको सृंखला अझ थपिनु न हो यो समाजमा, आखिर त्यस्तै भयो | ती महिलालाई केही सोधिएन, उनको मन्जुरी लिइएन, न्याय दिनु परेन ! चौतारे जेठालाई अरुले करणी गरेकी स्त्री राख्न नपर्ने गरी न्याय दिइयो भने बालधरलाई करणी गएकी स्त्रीलाई सकार्नु पर्ने गरी सजाय दिइयो | यो निर्णयमा ती परिवर्तनका बाहक केटाहरुको पनि सहभागिता थियो | आखिर तिनीहरु सबै पुरुष न थिए, यही संस्कारमा हुर्केका र यही समाजका बाबुआमाको डीएनएबाट उतारिएका कार्वन कपी !

मायाँ बस्न परेन, मनले स्वीकार्नु परेन, मेरो केही गल्ती छैन जान्न भन्न पाइएन, सफाई दिने मौका मिलेन, प्राण प्यारो लोग्नेले साथ दिएन | सबैको मिलेमोतोमा हानिएका  एकमाथि अर्को अन्यायका प्रहार सहँदै बालधरको पछिलागेर लुरुलुरु जानु पर्यो बिचरीलाई !  कस्तो समबेदन हिनता, कस्तो क्रुरता, कस्तो बिडम्बना ! त्यो ढोंगी समाजको लागी भने यो निर्णय दूधकोदूध पानीकोपानी बनाएर पस्किएको सर्बोच्च न्यायिक फैसला थियो |

घटना नसेलाउंदासम्म त राख्यो बालधरले भनौ या बसिन चौतारनी जेठी बालधरसंग तर आखिर बालधर त बच्चाबच्ची पनि ठुलै भैसकेको उच्च जातको जमिन्दारको घरबारे छोरा न थियो ! ऊ ती महिलाको लोग्ने पनि त थिएन | बिस्तारै बस्न सकिनन् | अन्तिम परेपछि माइत जानुबाहेक के उपाय हुन्छ र बेसाहारा महिलाको ! उनी पनि त्यसै गरिन |  केही समय माइतीमा रहेको कुरा पनि जानकारीमा आएको थियो तर माइतीले पनि उनकै दोष देखाउँथे रे | हाल उनी कहाँ कस्तो अवस्थामा छन्, जीवित छन् की छैनन् थाहा छैन, तर यो कथाकार एक पटक उनलाई भेटी प्रतक्ष वा अप्रतक्ष रुपमा उनलाई त्यत्रो जघन्य  अन्यायमा पार्ने निर्णयमा मौन सम्मति जनाएकोमा माफी माग्न चाहन्छ | यसको अतिरिक्त यदि यो मुद्दा हजुरको इजलासमा पेसी चढेको भए ती पीडित महिलाले कस्तो न्याय पाउथिन होला भनी अवकाशप्राप्त र बर्तमान श्रीमानज्यूहरुसंग प्रश्न सोध्न चाहन्छ |

गौतम ‘उदय’
हवाई

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.