~पुष्कल श्रेष्ठ~
”यसपाली त तैंले बिहे गर्नुपर्छ है छोरा।”
”गर्दिन म बिहे-सिहे।”
”अनि जिन्दगी यसरी नै काट्छस् त?”
”समय आएपछि गरौँला नि।”
”तेरो त्यो समय कहिले आउँछ हँ?”
”एक दिन त पक्कै आउला नि बुवा”
”त्यो कसरी आउला भन् त?”
”पाउजु र चुरा बजाएर आउला नि बुवा।”
रमेशको बाउ-छोराको हरदिनको सम्वाद यस्तै-यस्तै हुन्छ। बाउ-छोराको आजको बिहान पनि यसरी नै सुरू भयो दाँत माझ्दा-माझ्दै।
”के सधैं जिस्किरा भन्या यी बाउ-छोरा?” रमेशकी आमाले रिस पोखिन्।
”दारी-जुङ्गा फुलिसक्यो, जैले सोधे पनि यसरी नै कुरा टार्छ” आमाले पुनः थपिन्। रमेशका बाउ-छोरा भने मुखामुख गर्छन् अनि हाँस्छन्। बाउ-छोराको सधैंको यही चाला देखेर आमाचाहिँ फन्केर घरभित्र पसी। आज त वार कि पार कुरा गर्नै प-यो भन्ने विचार गरेर बाउचाहिँ थप कुरा कोट्याउन थाल्छ।
”हेर बाबु, तँलाई हामीले धेरै केटी देखायौं, कसैमा तेरो नजर परेन। यस्तो किन गरेको?
”त्यस्ती डल्लीसित कस्ले बिहे गर्छ?”
”अग्ली पनि त देखिस् नि त”
”त्यो बकुल्लीको कुरा गरेको?”
”तेरो फुपूले देखा’की त ठीक्ककी थिइ त?”
”त्यो कालिजको कुरा नगर्नुस्।”
”अनि कस्को कुरा गरौं त?”
”कसैको पनि कुरा नगरौं।”
बाबु-छोरा फेरि हाँस्छन्। एक्लो छोरा भएर हो कि क्या हो, रमेशका बाउ छोरालाई गाली गर्न सक्दैनन्। यिनीहरू नातामा बाउ-छोरा भए पनि व्यवहारमा दाजु-भाइ जस्ता छन्। एउटाले कुनै कुरा सुरू ग-यो भने अर्कोले उडाइ हाल्छन्। अनि दुवै जना हाँस्छन्। त्यसपछि किस्सा खत्तम। आज चाहिँ रमेशका बाउले लेसन दिन छाडेन।
”तैले कुनै केटी मन पराएको छ भने भन क्यार”
”अब काम नपाएर केटी छान्दै हिँडु म?”
”उमेरमा नछाने कैले छान्छस त?”
”बुढेसकालमा छानुला नि त।”
”सोझो कुरा भन् न, तैले छानेको छस् कि छैनस्?”
”छैन, छैन।”
”हामीलाई जुन जातको भए पनि फरक पर्दैन, छ भने भन्।”
”भए पो भन्नु। बरू कोही भेटेँ भने भनुँला”
”तँ त हिजो-आज एउटीको घरमा निक्कै जान थालेको छस् रे नि।”
”कस्ले भन्यो?”
”तँ आफै विचार गर न ।”
”के भनी र त्यल्ले?”
”के भन्नु अरू, तैसँग बिहा गर्छु भन्छ नि”
”त्यो भट्टीवाल्नीको छोरीको तेत्रो हिम्मत?”
”तेरो हिम्मत छैन भन्दैमा अरूको पनि हिम्मत हुनु हुँदैन भन्ने छ र?”
”त्यो भट्टीवाल्नीको छोरीको कुरा तपाईलाई थाहै छैन।”
”अब तिमीहरूको कुरा हामीलाई कसरी थाहा हुन्छ त?”
”म अरूसँग बिहा गर्छु तर त्यससँग गर्दिन।”
”किन?”
”म कारण बताउन चाहन्न।”
”त्यसो भए अरू कुनै केटी रोज न त।”
”ल ल रोजिदिउँला?”
”त्यसो भए कहिल हेर्न जान्छस् त?”
”जाउँला नि कुनै दिन।”
”कुनै दिन किन? आजै हिँड।”
”आजै?”
”अँ।”
”आज हैन भोलि जाउँन”
”पक्का?”
”पक्का।”
बाबु-छोराको कुरा मिल्यो। दुवैजना एक पटक हाँसे। ”रमा! ए रमा!! बाहिर आइज” रमेशका बाउले आमाचाहिँलाई बोलायो। ”विनसित्ती किन बोलाउनु प-या होला!” रमेशकि आमा च्याठ्ठिदै बाहिर आई। ”के को विनसित्ती बोलाउनु नि। तेरो छोरो भोलि केटी हेर्न जान्छ रे। यो खुशीमा अर्को एक कप चिया बना त।” रमेशका बाउ खुसीहुँदै बताउँछ। ”हो त रमेश?” छोरातिर फर्केर रमा शङ्का मेटाउन खोज्छे। ”हो” रमेशले छोटो उत्तर दिन्छ। ”त्यसो भए म त दुध नै ल्याइदिन्छु” रमा फुरूङ्ग पर्छे र भान्छातिर दगुर्छे। ”होइन यी बाउ-छोरा मिलेर मलाई आज पनि उल्लु बनाउन लाग्या त हैन?” रमा भान्छाभित्रैबाट उनीहरूलाई सोध्छे। रमालाई शङ्का नलागुन् पनि कसरी? यी बाउ-छोराले धेरै पटक उनलाई उल्लु बनाइसकेको छ। ”आमा कसम हैन” रमेशले भन्छ। रमेशको कुरा सुनेर उनको बाउ-आमा दुवै खुसी हुन्छन्। भोलिपल्ट, बाउ-छोरा केटी हेर्नका लागि घरबाट बाहिर निस्कन्छ। बाटोमा पर्ने पँधेरोमा एउटी नयाँ केटी लुगा धोइरहेकी देखेर रमेश अडिन्छ।
”ओइ तँ त एउटीको साटो अर्कैतिर पो आँखा लगाउँदै छस् नि।”
”तपाइको बुहारी बन्न लायकको केटी यस्तै हुनुपर्छ बुझ्नु भो बुवा?”
”यस्तै केटी कि यै केटी?”
”यै केटी भन्दा पनि हुन्छ नि”
”पक्का हो?”
”पक्का हो।”
”कुरा मिल्यो भने यै केटीसँग बिहे गर्छस् त?”
”गर्छु।”
”कुरा मिलेन भने के गर्छस् त?”
”कुरा मिलेन भने हैन जसरी भए पनि मिलाउनु प-यो नि अब त”
”तैँले जिस्केको कि साच्चै भनेको?”
”साच्चै भनेको।”
”तेरी आमाको कसम?”
”हो, मेरी आमाको कसम, मैले साँच्चै भनेको हुँ।”
”त्यसोभए हिँड पँधेरातिर।”
”किन?”
”केटीसँग कुरा गर्न र उसको बाउ-आमाको बारेमा थाहा पाउन नि लाटा”
”अनि फुपुले हेरेकी केटी त?”
”तँलाई केटी मन पर्नु प-या त हो नि अब यै केटी मन परेपछि अर्कीलाई किन हेर्नु? तेरो फुपुसँग म कुरा गरूँला।”
बाउ-छोरा दुबै पँधेरातिर लाग्छ। पानी खाने निहुँले दुवैजना उक्त केटीसित बोल्छन्। उनको नाम कान्ता रहेछ। कान्ता निक्कै फरासिली पाए दुबैले। कान्ता त छिमेकी हर्केको नातेदार पो रहिछे। उनी त हिजोमात्र आएकी रे यतातिर घुम्नलाई। अब दुई दिनपछिमात्र फर्कने रे घरतिर। यो कुरा थाहा पाएर बाउ-छोरा दुवै खुसी हुन्छन्। कान्तालाई चिया पिउने निम्तो दिएर दुवैजना हतार-हतार घर फर्कन्छन्। ”आज पनि बाउ-छोरा मिलेर मलाई उल्लु बनायौ हैन? आज त म ज्यान जाला कसैलाई पनि खाजा भात केही बनाउँदिन” बाउ-छोरा हाँसी-हाँसी तुरून्तै फर्केको देखेर रमा कड्किन्छे। ”अब धेरै दिन तैँले खाजा भात बनाउनु पर्दैन, बुहारी आउने भई अब, कुरा बुझिस्?” रमेशका बाउ रमालाई सम्झाउँछ। ”काँ’बाट ल्याउँछौ, रूखबाट टिपेर?” रमा थप जङ्गिन्छे। रमेशले आमालाई सबै कुरा बताउँछ। रमा फुरूङ्ग पर्छे। ”ल ल छिमेकीसँग कुरा गर्न गइहाल्नुस्।” रमा हतार गर्छे। ”यसरी हतार गरेर हुन्छ त?” रमेशका बाउले भन्छ। ”मन पराउनु पर्नेले मन पराईसक्यो, अब के चाहियो? त्यही यौटा कुरा छिन्नु पर्ने न हो। यो मोराको दिमाग बिग्रनुभन्दा पहिले नै बिहे गरिदिनु पर्छ नत्र यसले जिन्दगीभर बिहे गर्दैन। छोराको बानी हेरेर पनि कुरा गर्नु प-यो नि।” रमा रमेशका बाउलाई गाँठी कुरा सम्झाउँछ। ”मेरा दिमाग अब नबिग्रने गरी सप्रिसक्यो आमा” रमेश आमाचाहिँसित जिस्किन थाल्छ। ”मसँग हैन अब मेरो हुनेवाला बुहारीसँग जिस्किन जा। बरू कुरा बिग्रेला, सोच विचार गरेर मात्र कुरा गरेस्।” रमा छोरालाई पनि सम्झाउन थाल्छ। रमेशका बाउ छिमेकी हर्केसँग कुरा गर्न कुदिहाल्छ। रमेश कान्तासँग कुरा गर्ने निहुँले पँधेरामा पानी लिन जान्छ।
”मसँग कुरा गर्ने निहुँले तिमी पानी लिन आएको त होइन के?” कान्ताको अप्रत्यासित प्रश्नले रमेशलाई एककछिन अलमल्याउँछ। ”हो पनि होइन पनि।” रमेशले उत्तर दिन्छ। ”त्यो कसरी?” कान्ता सोध्छे। ”हो यस मानेमा कि पँधेरामा तिमी छौं तिमीसित बोलिने नै भो। होइन यस मानेमा कि म त पानी लिन पो आएको हुँ।” रमेशले गोलमटोल जवाफ दिन्छ। ”अँ उत्तरचाहिँ सटिक दियौ सुन्नेले जसरी बुझेपनि हुने।” कान्ताले गाँठो समाती। ”तिम्रो प्रश्न पनि त कम थिएन नि” रमेशले पनि कान्ताको प्रश्नको गाँठो समात्यो। दुवैजना एकछिन गलल हाँसे। कान्ताले लुगा धोइनसकुन्जेल रमेश कान्तासँग जिस्कीरह्यो। कुरै-कुरामा उनीहरूले धेरै कुरा गरे। घर फर्कने बेलामा पनि सँग-सँगै फर्के बाटोभरि जिस्किँदै-जिस्किँदै।
कान्ता हर्केकोमा बसुन्जेल रमेश उसको पछि-पछि लागिरह्यो। कुनै कारणले रमेशलाई नभेटेको दिन कान्ता रमेशकै घरमा चिया पिउने निहुँगरी आइपुग्थी। कान्ता र रमेशको हिमचिम बढेको देखेर रमेशका बाउ-आमा त खुसी हुने नै भए, उता हर्के पनि उनीहरूको बिहे गराउन तम्सिए। नभन्दै एक महिनाभित्रै कान्ता र रमेशको बिहे पनि भयो। दुवैजना हनिमुन मनाउन पोखरातिर घुम्न पनि गए। उनीहरूको जोडी देखेर सबैजना दङ्ग थिए। एक दिन कान्ताले स्कुटर किन्ने इच्छा व्यक्त गरी। एउटै छोरो र मन परेकी बुहारी भएकीले होला घरमा एउटा मोटरसाइकल हुँदाहुँदै विना आनाकानी रमेशका बाउले बुहारीलाई पनि स्कुटर किनिदिए। रमेशका आमालाई कतै जानु प-यो भने कान्ताले स्कुटरमा पु-याउने र लिन जाने गर्थी भने रमेशका बाउलाई कतै जानु प-यो भने रमेशले मोटरसाइकलमा पु-याउने र लिन जाने गर्थ्यो। उनीहरूको पारिवारिक जीवन अत्यन्त व्यवस्थित र रमाइलो देखिन्थ्यो।
रमेशको एउटा कुलत थियो तर त्यो कुरा उनलाई मात्र थाहा थियो। उनका बाउ-आमा वा साथी कसैलाई पनि थाहा थिएन न त कान्तालाई नै थाहा थियो। ऊ बेलाबेलामा यौनशालामा जाने गर्थ्यो। नेपालमा यौनशाला सञ्चालन गर्ने कानुनी अनुमति नभएपनि कतिपय होटलले यस्तो सेवा गोप्य रूपमा प्रदान गर्ने गर्दछन्। यो कुरा रमेशलाई राम्रो थाहा थियो। उनलाई यो बानी बिहे गर्नुभन्दा अगाडिदेखि लागेको थियो। बिहे भएको तीन-चार महिनापछि रमेश एकदिन कण्डम बोकेर यौनशालामा पुग्यो। उसले आफूलाई चाहिने केटीको विवरण बतायो। यौनशालाले उसको माग बमोजिमको केटीलाई खबर गरिदिए। एउटी केटी स्कुटी चढेर होटलमा आइपुगी। होटलवालासँग लेनदेनको कुरा मिलेपछि उक्त केटीलाई होटलवालाले कोठा नम्बर बताइदिए। उक्त केटीको धेरै सम्पर्क केन्द्रमध्येको यो पनि एक सम्पर्क केन्द्र थियो। त्यसैले उनलाई उक्त होटलको चोटा-कोठा सबै थाहा थियो। कोठा नम्बर थाहा पाउने बित्तिक्कै उक्त केटी सरासर रमेश बसेको कोठामा पसी। रमेश ठीक त्यही बेला बाथरूममा थियो। केटीले ढोकाको भित्रपट्टीबाट चुकुल लगाई र आफूलाई अर्ध-नग्न बनाई। ठीक त्यही बेला रमेश पनि बाथरूमबाट बाहिर निस्के। परेन फसाद! ती अर्ध-नग्न केटी अरू कोही नभएर रमेशकै श्रीमति कान्ता थिई। दुवैको सात्तोपुत्लो उड्यो, दुबैले एक शब्द पनि बोल्न सकेनन्। हतार-हतार गरेर दुबैले आ-आफ्नो लुगा लगाए। जे होस्, कान्ताले रमेशलाई लगभग नग्न अवस्थामा र रमेशले कान्तालाई अर्ध-नग्न अवस्थामा देखे। आज उनीहरू दुवैले एक-अर्काको असली रूपको दर्शन गरे।
उनीहरूको सम्बन्ध विच्छेद भएको कुरा केही दिनपछि सबैले थाहा पाए, तर कारण चाहिँ कसैले पनि थाहा पाएनन्।
(स्रोत : Mysansar.com)