~त्रिभुवनचन्द्र वाग्ले~
पत्रकार नभएको भए सायद
म साहित्यकार हुन्थें कि
साहित्यकार हुन नसकेको भए
म सायद शिक्षक हुने थिएँ कि
अथवा शिक्षक हुन नसकेको भए
राजनीतिमा जम्ने थिएँ कि म
सांसद वा मन्त्री पो बन्ने थिएँ कि,
पत्रकार नभएको भए सायद
यतिखेर म सूचना विभागको कार्ड झुण्ड्याएर
सूचना–अधिकारको भ्रममा
हनिमुनी जोडीको शयनलाई झ्यालबाट चिहाउन्नथेँ !
साहित्यकार नभएको भए म
युगचैतन्यको नाममा
“समय–स्तुतिका” निबन्ध वा “अवसर” कवच
मौसुफका पाउमा चढाउन्नथेँ
वा, तिनै गीतलाई समय–संशोधन गरेर
महान् युद्धको स्मरणमा समर्पित गर्थिन–युद्धचालिसा
सायद म एउटा गीत लेख्न नजान्ने सपाट, सोझो र बाँझो मान्छे बन्थेँ !
राजनीतिको छोटो–बाटो नहिँडेको भए म
उतै क्यामिनको नरङ्गातिर
अमूल्य (मूल्यहीन !) आवधिक मतदान गर्ने
एउटा मत–मानव हुने थिएँ
अथवा
“असक्षम” वा “अयोग्य” औजार हुन्थेँ
कति फरक हो असक्षम र अयोग्यमा ?
शाही शब्दकोशको असक्षम
जनवादी भाषा–टीकामा अयोग्य अनुवाद गरेर
मोलमोलाइ गर्दैगर्दा
उपयोगितावादको ठूलो भोलूम पढ्दै हुन्थेँ
नेपाली बृहत् शब्दकोश सामुन्ने राखेर
असक्षम र अयोग्य भएर म
मिडियामा समाचार बन्थेँ, समाचारको पात्र बन्थेँ
हो साँचै म सक्षम र योग्य मान्छे बन्थिन !!!
हो, हातमा डस्टर लिएर उभिएको शिक्षक भएको भए म
आदर्शको मेरो अँगेनामा
रित्ता कसौडीहरूले अराजक गणतन्त्र घोषणा गर्थे
थाल र बटुकाहरूले झ्याली पिट्थे
छद्द अकीर्ण आँखा
त्रिभुवनचन्द्र वाग्ले छघ
कक्षा कोठा बाहिर पेटीमा
फाटेको जुत्ता र खुइलिएको ‘मास्टर–ब्राण्ड’ कोटले
चिल्लो, पोटिलो, खाइलाग्दो गणतन्त्रलाई स्वागत गर्दो हो ।
म जुलुसको पछिल्तिर नारा उरल्दो हुँ
त्यति नै बेला
मेरा विद्यार्थी हाफ–टाइममा
लाँकुरीको बोटमुनि तास खेल्दा हुनन्
‘साला बास्सा र मिस्सी (किङ र क्विन) लाई
तुरुप लगाएर ढालियो !!!’
पत्रकार, शिक्षक, सांसद वा मन्त्री हुनु नपर्दाको म
एउटा खाँटी मान्छे बन्थें कि !
ज्यालाको भारीमा जिन्दगी बोक्ने भरिया पो बन्थें कि
त्यसोभए,
यतिखेर म टोपीले पसिना पुछ्दै
त्यही टोपीमा भटमास, मकै खाँदै हुँदो हुँ
त्यतिनैखेर पुरानो तोशिवा रेडियोमा
घन्कदो हो ‘हे नेपाली शिर उचाली……………….’
उकालो उक्लदै हुन्थेँ, ओरोलो झर्दै हुन्थेँ
भारी बोक्दै हुन्थेँ, पसिना पुस्दै हुन्थेँ
सायद म एउटा खाँटी मान्छे हुन्थेँ ! !
२०६८÷२÷४
(नेपाल पत्रकार महासंघ, गोरखापत्र प्रतिष्ठान शाखाद्वारा २०६८ मा प्रकाशित सम्प्रेषणमा प्रकाशित ।)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )