~उमाशङ्कर द्विवेदी~
कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका अन्य प्राणीहरूलाई तर्साउँदथे । मोटा घाटा तथा हृष्टपुष्ट ती तीन साँढेहरू फुर्सत्को क्षण पोखरीमा पानी खाई ढिस्को थुम्काहरूमा सिङले हानेर वा एक आपसमा सि·ौरी खेलेर समय बिताउँदथे । अन्य वन्य प्राणी उनीहरू सि·ौरी खेल्दा वा ढिस्को थुम्कामा सिङले हानेको देखेर तर्सिएर भाग्दथे । उनीहरू एक आपसमा भिड्दा अरू–अरू प्राणीहरूले तिनीहरूबीच मेल नरहेको लख काट्दथे तर तिनीहरूबीच घनिष्ट मित्रता तथा एकता थियो ।
एक दिन ती साँढे नित्यझैं दिउँसोको समयमा पोखरीको पानी खाएर ढिस्को तथा थुम्काहरूमा आआफ्नो बल प्रदर्शन गर्दैथिए । बेला–बेलामा मदातिरेकका कारण ठूलो स्वरमा कराउँदै पनि गरिरहेका थिए । उनीहरूको गर्जना सुनेर वनको राजा बाघ तर्सेर भाग्दै गर्दा एउटा छट्टू स्याल देखा पर्यो । तर्सेर बाघ पुच्छर लुकाएर भागिरहेको देखेर ऊ छक्क पर्यो । ऊ बाघ नजिक गएर सोध्यो–होइन, सरकारलाई कुन जानवरको भय छ र ? यसरी लुकेर भाग्नु किन पर्यो, कुन्नि ? मैले तथ्य कुरा थाहा पाए केही गर्न सक्थें कि ? सरकारको निगाहले आखिर म पनि त मन्त्री पदमा बहाल छँदैछु । स्यालको कुरा सुनेर बाघलाई साँच्चिकै लाज लागेर आयो तर प्रत्यक्षत: उसले भन्यो–होइन, तर्सिनु पर्ने केही खास त छैन । तीनवटा अद्भुत जानवरहरू आपसमा सि·ौरी खेल्छन् तथा भयानक स्वरमा कराउँदछन । त्यस्ता भयानक तथा अदभूत जानवरहरूसित बिनसित्ति किन जोरी खोज्नु ? तिनीहरूभन्दा अलग्गै बस्नु बेस भनेर म यहाँबाट अन्तै जान लागेको छु । बाघको कुरा सुनेर स्यालले विनम्र आवाजमा भन्यो–ती जानवरहरू त सरकारको भक्ष्यप्राणी साँढेहरू पो हुन् । स्वच्छन्द भएर आफूखुशी चरेर तथा वनका मीठामीठा फलफूल खाई मोटाएर हृष्टपुष्ट भएका हुन् । अन्य प्राणीहरूभन्दा उनीहरूको जीउमा बढी मासु पलाएको छ, जुन अत्यन्त स्वादिलो छ । सरकारले उनीहरूलाई मारेर खाँदा सेवकले पनि जुठो खान पाउँथ्यो । यति भनेर स्यालले जिब्रोले आफ्नो ओठ चाट्न थाल्यो । स्यालको कुरा सुनेर बाघले भन्यो–तिमीले भनेको कुरा ठीक हो, तर ती साँढेहरू एक छिनको लागि पनि आपसमा छुट्टिंदैनन् । यस्तो स्थितिमा कसरी आक्रमण गर्ने ? तीनै जनामाथि एकैचोटि आक्रमण गर्न सकिंदैन । एउटामाथि आक्रमण गर्दा दुईजनाले मिलेर प्रत्याकरण गर्न बेर लाग्दैन । साँढेहरू बलिया पनि देखिन्छन, साथै उनीहरूको लामो तथा तिखो सिङ पनि छ । त्यस सिङले हानेर नराम्ररी घाइते बनाउन वा मार्न पनि सक्दछन् । यस्तो स्थितिमा उनीहरूबाट टाढै बस्न बेु हुन्छ भनेर यहाँबाट अन्त जान लागेको पो त ।
बाघको कुरा सुनेर स्यालले भन्यो–सरकार आत्तिनुपर्दैन । म उनीहरूलाई अलग्याउनका लागि केही उपाय गर्नेछु । जसको कारण उनिहरूबीच वैमनस्य उत्पन्न भएर झुन्ड छुट्टिने छ । सरकारले धैर्य धारण गरेर यहीं बस्दा राम्रो हुन्छ । उचित समय आएपछि म सड्ढेत गर्नेछु । त्यति बेला सरकारले आक्रमण गरेर उनीहरूलाई मार्नु बेस हुनेछ । स्यालको कुरा सुनेर बाघको चित्त बुझ्यो । उसले स्याललाई भन्यो–त्यसो भए ठीकै छ । तिमीले आफ्नो काम गर, म उचित अवसरको प्रतीक्षामा यही बसिरहन्छु । यति भनेर बाघ त्यही नजिक झाडीमा आराम गर्नको लागि लम्पसार पर्यो ।
स्याल साँढेहरू चरिरहेको ठाउँमा पुगेर एकछिन यताउति हेरेर एउटा साँढेको काँधमा बुल्र्लुक उफ्रेर चढी उसको कानमा केही पनि नबुझिने गरी केही क्षणसम्म स्वाँस्वाँ र फ्वाँफ्वाँ गरेर त्यहाँबाट भाग्यो । स्याल गइसकेपछि दुईटा साँढेले त्यस साँढेसित सोधे–होइन त्यस स्यालले तिम्रो कानमा के कुरा सुनाएर गयो, हामीलाई पनि बताऊ । त्यस साँढेले जवाफ दियो–खोइ, के भन्यो, मैले त कुरै बुझिनँ । ती साँढेहरूले फेरि सोधे–स्याल तिम्रो काँधमाथि बसेर त्यत्रो बेरसम्म कानमा कुरा भनिरह्यो र तिमी भन्छौ मैले कुरै बुझिनँ । सही कुरा तिमीले भन्नै पर्दछ, नत्र ठीक हुने छैन । साथीहरूको यस प्रकारको कुरा सुनेर त्यौ साँढेले जवाफ दियो–कानमा मैले स्यालको स्वाँस्वाँ र फ्वाँफ्वाँबाहेक स्पष्ट कुनै आवाज नै सुनिनँ, बुझ्ने कसरी ? ती दुई साँढेहरूले भने–स्याल मांसभक्षी हाम्रो शत्रु जानवर हो । तिम्रो कानमा त्यति बेरसम्म कुरा सुनाइरह्यो, अत: कुनै कुरा नढाँटी सत्य कुरा सुनाऊ, त्यस स्यालले हामीले नसुन्ने गरी के कुरा भन्यो ? बिनसित्ति कसैले कसैको कानमा केही कुरा किन भन्छ ? साथी साँढेहरूको कुरा सुनेर दिक्दार भइ रुन्चे स्वरमा उसले भन्यो–साथीहरू, तिमीहरू व्यर्थमा ममाथि शड्ढा नगर । त्यस स्यालले मेरो कानमा केही कुरा भनेकै छैन, म तिमीहरूलाई के बताऊँ ? अब ती दुई साँढेहरूलाई खपि नसक्नु भएर आयो–ए, गुप्त कुरा तिमीले हामीसित लुकाउने ? ल हान् यसलाई, यस्तो धोखाबाजलाई साथमा राख्नुहुँदैन, कुनै दिन ठूलो धोखा पाइने छ । भनेर दुवै साँढेले त्यस एक्लो साँढेलाई सिङले हानेर गम्भीर घाइते बनाई त्यहाँबाट धपाइदिए ।
यस प्रकार झुन्डबाट अलग्गिएपछि त्यो साँढे एक्लै चर्दैथियो तथा अलग्गै बस्न थाल्यो । साँढे एक्लिएको चाल पाई स्यालले बाघलाई आक्रमण गर्ने साउती गर्यो । बाघ हर्षित हुँदै उचित मौका पाई एक्लो साँढेमाथि जाइलाग्यो तथा मारेर स्यालको साथ मिलजिुली खान थाल्यो । साँढे निकै मोटो भएकोले त्यसको स्वादिलो मासु स्याल र बाघ हप्तौंसम्म मिलेर खाइरहे । अन्त्यमा मासु सकियो । एक दिन बाघले स्यालसित भन्यो–साँढेको स्वादिलो मासु त सकियो, अब के खाने ? स्यालले भन्यो–सरकार, सेवक त छँदैछ, सुर्ता मान्नुपर्दैन । दुईटा साँढे अझै छँदैछन्, सेवकको बुद्धि पनि साथमा छँदैछ । स्याल यति भनेर ती दुई साँढेहरूमध्ये एक दिन पहिले झैं एउटाको काँधमा चढेर अगिझैं कानमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गरेर भाग्यो । यस पालि दुई साँढेबीच ठूलो कलह उत्पन्न भएर ठूलो लडाइँ पर्यो । तत्पश्चात् ती दुवै साँढेहरू अलग्गिएर चर्न तथा बस्न थाले ।
स्यालको इशारा पाई समयानुसार बाघले दुवै साँढेलाई पालैपालो मारेर खायो । अत: अर्काको लहैलहैमा परेर आफ्ना सम्बन्धीहरूसित कलह गर्दा साँढेहरूको गति हुन्छ भन्ने कुरा विचार गर्नुपर्छ ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)