छविलाल कोपिलाका पन्ध्र मुक्तकहरु

~छविलाल कोपिला~chhabilal-kopila

बचपनका ती सबै प्रहर विरानो लाग्दैछ ।
उसैगरि बसेको त्यो घर विरानो लाग्दैछ ।
के गर्नू ? समयले सबै भत्काएपछि यहाँ,
कैयौं पिपलहरुलाई वर विरानो लाग्दैछ ।

सोच्दैछु भोलि बिहान हुन्छ या हुँदैन ।
यसैगरी यौटै शिरान हुन्छ या हुँदेन ।
विचरा ! त्यो झुपरी, संधै गाली पाउँछ
यसको आज निदान हुन्छ या हुँदैन ।

उडाएछन् कति काला धनहरु ।
खाएर मदिरा–मिष्ठ भोजनहरु ।
मद्होसमा खुबै गर्जे बाघ जस्तै,
आखिर पाखा लागेछन् डनहरु ।

पत्थरमा पनि हरियाली आउँछ भन्छ माउण्ट आबु ।
विश्वासमा आफैले यही माटो खन्छ माउण्ट आबु ।
कति अभागी रहेछ यो राजस्थान, भन्छन् भन्नेहरु,
तर पनि आफ्नै परिश्रमले स्वर्ग बन्छ माउण्ट आबु ।

ढुङ्गाहरु सजिलै गाल्न सक्छ आगोले
पहाड नि गर्लम्म ढाल्न सक्छ आगोले
जत्ति कठोर होउन, दमनका किल्लाहरु
झिंजा जस्तै हुरुरु बाल्न सक्छ आगोले ।

तन टाढा भए’नि मन छेक्न सक्दैन दूरीले ।
साँचो माया भए त बोलाउँछ नि त्यो घुरीले ।
फुलबारीको फूल माथि बसेपछि भमरा,
उडाउन सक्ने छैन त्यो पापी आँधी–हुरीले ।

कति–कति आँशु यहाँ झरेर जाँदैछ ।
मनको इच्छा व्यर्थै यहीं मरेर जाँदैछ ।
मुटुभित्र सजाएका माया ती खै किन ?
अन्त कतै बसाई ऊ सरेर जाँदैछ ।

उनिएपछि फूलको थुङ्गा पनि झुक्छ ।
पानी सुकेपछि विचरा डुङ्गा पनि झुक्छ ।
के गर्नु ? आफू जत्ति कठोर भएपनि,
यहाँ घनको अगाडि ढुङ्गा पनि झुक्छ ।

आँट्नेले मात्रै मित्रताको नाता जोड्छ मित्र ।
हृदयबाटै जवाफी ऊ, पत्र पनि कोर्छ मित्र ।
सोचे जस्तो कहाँ हुन्छ र ? यो कठिन यात्रा,
त्यसैले नसक्नेले बीचबाटैमा छोड्छ मित्र ।

किन–किन याद आउँछ, त्यो दूरभूमिको ।
सँधै मन गुन–गुनाउँछ, त्यो दूरभूमिको ।
मनभित्र सँधै लुकिरहेछ, यौटा रहस्यकथा,
त्यसैले त ऊ सुनाउँछ, त्यो दूरभूमिको ।

कसैलाई अतीत दुख्छ छातीमा ।
कसैको त आफै सुक्छ छातीमा ।
खै ! के चिज हो त्यो बुझ्नै गाह्रो,
जति बिस्र्यो उति लुक्छ छातीमा ।

प्रेम–जोडीहरुका निम्ति चौतारीको पिपलु र वर हुन्छ
कैयौं स्वप्नाजीवीहरुका निम्ति त्यहीं ठूलो घर हुन्छ
भविष्यको कुनै लेखा–जोखा हुँदैन, प्रेमको मझ्धारमा,
तर, कायरहरुका निम्ति भने त्यही ठूलो डर हुन्छ ।

म सोचिरहेछु, कस्तो होला त्यो मालारानी ।
फूल या त जून जस्तो होला त्यो मालारानी ।
छङ्छङ बग्ने हे ! खोला-नाला, पहाड-पखेरा
भनिदेऊ मलाई यस्तो होला त्यो मालारानी ।

अचेल जताकतै ब्वाँसाहरु हिडेकाछन् ।
जहाँ भेटे उही मान्छेलाई गिडेकाछन् ।
यता परेवा उडाउन हिडेका बुद्धहरु
हेर्नुस् यहाँ काँधमा बन्दुक भिरेकाछन् ।

दूध चोर्न बिरालाहरु सरकार छिरेका छन् ।
उता ब्वाँसाहरु दिल्ली दरबार छिरेका छन् ।
अचेल हामीलाई द्वन्द्व मीठो लाग्न थालेछ,
त्यसैले होला देशभित्र हतियार छिरेका छन् ।

–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.