~ध्रुब सापकोटा~
उसको पेटमा नंग्राहरू सल्बलाइरहेका छन् । ती नंग्राहरू चिथोर्नका लागि कमलो भाग खोजिरहेका छन् । उसको मनमा खैलाबैला मच्चिएको छ । जीवनको एउटा परिच्छेदमा धक्का लागेको छ । जीवनको निरन्तरतामा प्रश्नचिह्न लाग्ने आशंका बढेको छ । शारीरकि रूपले ऊ अहिले निष्क्रिय बनेको छ । नंग्राहरू विध्वंशको तयारीमा जुटेका छन् । के उसको अस्तित्व संकटमा छ ?
ऊ अहिले सुत्ने कोठामा छ । ऊ अहिले खाटमा उत्तानो परेर सुतेको छ । कोठामा अँध्यारो छ । अँध्यारो बाहिर पनि छ । यी नंग्राहरू पेटमा आउने पूर्वानुमान भएको भए ऊ प्रतिरक्षाको खाका तयार पार्थ््यो । संघर्षका लागि तम्तयार भएर बस्थ्यो । उसले मौका नै पाएन । पेटमा नंग्राहरूले दबाब दिएपछि मात्र उसले थाहा पायो । अझ पनि उसले यी नंग्राहरूको पहिचान गर्न सकेको छैन । तिनीहरूले उसको अन्त्य एकैपल्ट गर्ने हुन् कि, विस्तारै विस्तारै ? उसले अनुमान गर्न सकेन । यी केका नंग्राहरू हुन् ? अन्त नगएर तिनीहरू उसकै पेटमा किन आए ? त्यसको पहिचान गर्न जरुरी थियो । आत्मसमर्पण गर्ने कि संघर्ष ? थाहा नै नपाई रणनीति तयार गर्न उसलाई गाह्रो भयो । तिनीहरू उसको नै पेटमा किन र कसरी आए ? प्रश्न त्यहाँ थियो ।
बाहिरी कारण
-१) देश तरल अवस्थामा भएकाले,
-२) राजधानीको धारामा पानी आउन बन्द भएकाले,
-३) हत्याको शृंखलामा पूर्णविराम नलागेकाले,
-४) २० घन्टा लोडसेडिङ् भएकाले,
-५) उपभोग्य सामानको मूल्य अकासिएकाले,
-६) कालोबजारमा पनि सामान पाउन छोडेकाले
-७) असुरक्षाले जरो गाडेकाले
-८) गृहयुद्धको सम्भावना बढ्दै गएकाले ।
आन्तरकि कारण
-१) आफन्तहरूले उसप्रति सहानुभूति राख्न छोडेकाले,
-२) उसप्रति ईष्र्या राख्नेहरूको बोलवाला भएकाले,
-३) उसको पतनबाट फाइदा हुने विश्वास जागेकाले,
-४) उसको इमानदार छवि अरूको उन्नतिका लागि बाधक देखिएकाले ।
यीमध्ये कुनै एक कारण पनि उसको अन्त्यका लागि पर्याप्त छन् । सबै नै नवग्रह जोडिएझैँ मिसिएका हुन् भने त उसले ऐय्या पनि भन्न सक्ने छैन । अँध्यारो भएकाले उसले समयको अनुमान गर्न सकेन । त्यो अन्धकारमा यी नंग्राबाहेक यो कोठाका सबै सामानसँग उसको नाता गाँसिएको छ । ती सामान उसका लागि आत्मीय छन् । आत्मीय सामानसँग सम्बन्ध टुट्ने भयले ऊ भावुक भयो ।
ऊ सुत्ने खाटको पूर्वपट्ट िएउटा दराज छ । ती दराजमा उसले खरदि गरेका पुस्तकहरू छन् । ती पुस्तकहरूको संग्रह गर्न उसलाई वषार्ंै लागेको छ । ती पुस्तकहरू उसका लागि अमूल्य हुन् । ती पुस्तकहरू खरदि गर्ने उसको मापदण्ड पनि अनौठो छ । पुस्तक पसलमा ऊ जान्छ । ऊ पुस्तकको पछिल्तिरको कभरमा लेखिएको टिप्पणी पढ्छ । कभरभित्र लेखिएको लेखकको परचिय पढ्छ । कुनै पनि पुरस्कार प्राप्त गरेको लेखकका कृति उसको पहिलो छनोटमा पर्छ । उसले केही पुरस्कारको नाम सुनेको छ । नोबेल पुरस्कार, बुकर पुरस्कार, मान पुरस्कार र ज्ञानपीठ पुरस्कार । कुनै पनि देशको नाम नै नसुनेको पुरस्कारको नाम त्यस पुस्तकको कभरमा उल्लेख छ भने त्यो पुस्तक ऊ खरदि गर्छ । त्यस पुस्तकको मूल्यसँग ऊ सरोकार राख्दैन । पाएकामा नै ऊ गौरवान्वित हुन्छ । घरमा कुनै काम अधुरो छ भने त्यो काम पूरा गर्न ऊ लाग्दैन । अधुरो नै छोड्छ । पहिलो काम त्यो पुस्तक पढ्नु नै हो । उसका लागि यसभन्दा महत्त्वपूर्ण काम अरू हुँदैन । अधिकांश पुस्तकहरू अंग्रेजीमा हुन्छन् । आफ्नो ज्ञानले भ्याएसम्म त्यस पुस्तकको तहसम्म पुग्ने कोसिस गर्छ । त्यसले नपुगे शब्दकोशको सहयोग लिन्छ । त्यो पुस्तक पूरा गरेको दिन ऊ औधी खुसी हुन्छ । एउटा नयाँ चरत्रि, एउटा नयाँ परविेश, एउटा नयाँ शैली । समग्रमा एउटा नयाँ संसारमा पुगेको अनुभव हुन्छ । सुरुसुरुमा त्यस्तो पुस्तकको सार खिचेर कापीमा उतार्ने गरेको थियो उसले । त्यस पुस्तकका बारेमा मनमा गहिरो छाप पार्न उसले यस्तो अभ्यास गरेको थियो । पछिपछि भने त्यो उत्साह उसमा मर्यो । पुस्तकमा उल्लिखित विम्ब, चरत्रि, विषय र मिठास उसले कापीमा उतार्दा बीचमा हराएको अनुभव भयो । यो उसको अभिव्यक्ति क्ष्ामताको कमी थियो । अधकल्चो टिप्पणी उतार्नुको अर्थ देखेन ।
संसारका महान् व्यक्तिका जीवनी र संस्मरणबाट पनि ऊ त्यत्तिकै मोहित छ । नेल्सन मण्डेला, महात्मा गान्धी, कार्ल माक्र्स, बिल क्लिन्टन र बीपी कोइरालाका संस्मरणहरू पढ्दा उसलाई अद्भुत आनन्द भएको छ । अहिले उसको पेटमा नंग्राहरूको दबाब हुँदा पनि धैर्य गुमाएको छैन ।
पुस्तक राखिएको त्यो दराज अझै भरएिको छैन । त्यो खाली ठाउँलाई उसले अर्कै किसिमले उपयोग गरेको छ । त्यहाँ उसले मदर टेरेसाले हात जोडेको फोटो राखेको छ । चाउरी परेको वृद्ध अनुहारमा उसले अलौकिक शक्ति देखेको छ । उसका हातहरू श्रद्धाले जोडिन्छन् । उसको शिर श्रद्धाले झुक्छ । उसले आफ्नो यो सोख सार्वजनिक गरेको छैन ।
ऊ एउटा चिया पसलमा पुगेको थियो । त्यहाँ एउटा परििचत व्यक्ति भेट भयो ।
“कता ?” उसले त्यस मित्रलाई प्रश्न गर्यो ।
“म एउटा ठूलो मान्छेलाई पर्खेर बसेको ।” त्यस मित्रले भन्यो ।
“ठूलो मान्छे यो सानो चिया पसलमा आउँछ ?” उसले सोध्यो ।
“यो पसलको सामुन्नेमा आउँछ ।” मित्रले भन्यो ।
“ठूलो मान्छे भनेको कस्तो ?” उसले सोध्यो ।
“जो सत्तामा छ । जो शक्तिशाली छ ।” मित्रले भन्यो ।
“यसको मतलब हो, तपाईंले फाइदा लिनुछ । ” उसले भन्यो ।
“केही पनि लिनु छैन । मेरो यो सिद्धान्त नै हो ।” मित्रले भन्यो ।
“फाइदा केही लिनु नै छैन भने मन लागेको मान्छेको सत्कार गरे हुन्न ?” उसको प्रश्न छ ।
“सत्तामा बसेको मान्छे रसिायो भने जुनसुकै समयमा पनि नोक्सान गर्न सक्छ । देश नै छोड्नुपर्ने वातावरण बनाइदिन सक्छ ।” मित्र भन्छ ।
त्यो मित्र सत्तामा पुगेको मान्छेको सत्कार वषौर्ंदेखि गररिहेको छ । सधैँ उही दल सत्तामा रहँदैन । सत्ता परविर्तन हुन्छ ।
“तपाईं कसरी मिलाउनुहुन्छ ?” उसको प्रश्न छ ।
“यसमा मिलाउने के कुरा छ र ? जो सत्तामा छ त्यसको सत्कार गर्ने !” मित्र भन्छ ।
“सत्ताच्यूत भएको मान्छेसँग जम्काभेट हुँदैन ?” उसको प्रश्न छ ।
“जम्काभेटको कुरा मात्र कहाँ हो र ? सत्कारका लागि आग्रह पनि गर्छन् ।” मित्र भन्छ ।
“म त्यसलाई आफ्नो सिद्धान्त बताउँछु । ” मित्र भन्छ ।
“त्यो मान्छे फेर िसत्तामा आउँदा तपाईंको अवस्था कस्तो हुन्छ ?” उसको प्रश्न छ ।
“फेर िसत्कारमा लाग्छु । मित्र भन्छ ।”
“मेरो र तपाईंको सिद्धान्त मिल्दो रहेछ । ” ऊ भन्छ ।
“कसरी ?” मित्रको प्रश्न छ ।
“म पुरस्कार पाउनेको पुस्तक किन्छु । तपाईं सत्तामा हुनेको सत्कार गर्नुहुन्छ ।” ऊ भन्छ ।
“यो संसार उही खालका मान्छेले भरएिको छ । फरक विचारका विरलै हुन्छन् ।” मित्र भन्छ ।
अहिले उसको पेटमा नंग्राहरू चलायमान छन् । कति नंग्राहरू होलान्, गन्ने वातावरण छैन । चौतर्फी दबाबको अनुभव गररिहेको छ ।
दराजको खाली ठाउँमा दारी काटेर काम नलाग्ने भएका थुप्रै ब्लेडहरू छन् । वर्षौंदेखिका मसी सकिएका पाइलट पेन छन् । दराजबाहिर एउटा पानी तान्ने पम्प त्यसै थन्किएको छ । उसको खाट नजिकैको प्रिय ह्यांगरलाई ऊ कसरी बिर्सन सक्छ ? त्यस ह्यांगरमा उसले वषौर्ंदेखि लगाएका लुगाहरू झुन्डिएका छन् । दस वर्षअघि किनेको पृष्ठभाग खुइलिएको कोट, दुई पाइन्ट, तीन कमिज, काखी च्यातिएका दुई स्वीटर, पुराना मैला दुई ज्याकेट, एक जोर पंजा, दुई जोर खुट्टामा प्वाल परेका मोजा, एउटा मैलो मुख थुन्ने मास्क र एउटा कानेटोपी । यी कपडाहरूमा उसको गन्ध मिसिएको छ ।
उसको जीवनको दुःख मिसिएको एउटा ठूलो पोको कुनामा छ । त्यस पोकामा उसले पाँच वर्षदेखि तिरेका बिजुलीका बिलहरू छन् । पहिले उसले शुल्क तिरेपछि बिल फ्याँक्ने गर्थ्यो ।
“तपाईंले पुरानो बिलको रकम तिर्न बाँकी छ ।” एकदिन बिजुलीको कारिन्दाले भन्यो ।
“मैले त कुनै महिनाको पनि बिलको रकम तिर्न बाँकी छैन ।” उसले भन्यो ।
“तपाईंले तिरेको बिल देखाउनोस् ।” कारिन्दा भन्छ ।
“मैले फ्याँकेँ ।” ऊ भन्छ ।
“तपाईंसँग प्रमाण नै छैन अनि तिरेको पनि भन्नुहुन्छ ।” कारिन्दा भन्छ । आगामी अप्ठ्यारोका लागि यी अर्थहीन बिल राख्न ऊ बाध्य छ ।
आन्तरकि आक्रमण
वर्षौंदेखि ऊ आन्तरकि आक्रमणको सिकार हुँदै आएको छ । उसको झ्याल बन्द छ । उसको ढोका बन्द छ । कमिलाहरू झ्यालबाट आउँछन् । कमिलाहरू ढोकाबाट आउँछन् । तिनीहरू उसको खाटमा आउँछन् । उसको शरीरमा आउँछन् र उसलाई टोक्छन् । तिनीहरूले टोकेपछि मात्र उसले थाहा पाउँछ । टोकेको भागमा फोका उठ्छ । उसको कोठामा पहिले एउटा साङ्ला देखा पर्छ । त्यसलाई बेवास्ता गर्यो भने भोलिपल्टसम्ममा धेरै साङ्ला कोठामा घुमिरहेका हुन्छन् । कोठाको छतमा उसको आँखा पर्छ । त्यो माउसुली छतबाट उसको शरीरमा कुनै पनि समयमा फ्यात्त खस्न सक्छ । उसको शरीरमा बीष छोड्न सक्छ । बेलुकाको समय छ । ऊ खाटमा बसेर अखबार पढिरहेको हुन्छ । लामखुट्टेहरूले उसलाई टोकिसकेका छन् । दुखेपछि मात्र थाहा पाउँछ । उसले कोठामा वेगन राखेको छ । आवश्यक पर्नासाथ त्यसको प्रयोग गर्छ । केही दिन आराम हुन्छ । मुसा देखा पर्छन् । पुस्तक काटेको देखिन्छ । बिहान उठ्दा उसको टेबुलमा सर्प गुडुल्की मारेर बसेको थियो ।
बाहिरी आक्रमण
नंग्राहरूको दबाब तीव्र भएको छ । बाहिरी हस्तक्षेप भनेको यही हो । त्यो पनि अन्धकारमा । उसले बायाँ हात पेटमा पुर्यायो । नंग्राहरूले उसको हात फुत्कन दिएनन् । दायाँ हात मद्दतका लागि पुर्यायो । त्यस हातलाई पनि तिनीहरूले समाते । उसको हालत अब अचम्मको भएको छ । कैदी भन्यौँ भने ऊ आफ्नै कोठामा छ । स्वतन्त्र छ भनौँ भने उसका दुवै हात अड्किएका छन् । यस्तो अवस्थालाई के भन्ने ? अकैदी ? यसको अर्थ हो ऊ स्वतन्त्र छ । कोठामा आएर हेर्नेले मात्र थाहा पाउँछ ऊ कति स्वतन्त्र छ ।
अन्त्य
उसले नयाँ वर्षमा देखेको यो पहिलो सपना थियो ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक)