स्रष्टा परिचय : सहरले खाएको मान्छे विशाल खत्री

~पदम गौतम~

वि.सं. २०६७ वैशाखपछि मैले निकै हप्ता र महिनासम्म पत्रकार विशाल खत्री जोगी भएको खबर धेरैतिरबाट सुनिरहेँ । उसको परिवर्तित जीवनबारे धेरैले फरकफरक धारणा राखे र अझै राखिरहेका पनि छन् । ऊ जोगी बनेर कमन्डलु लिएर हिँड्दै दुई/चार पैसा राखिदिने, परपर भाग्ने, समाजमा फेरि फर्काउन खोज्ने र उसलाई बौलाहा भन्दै नचिनेको स्वाङ् गर्ने सबै अझै यही समाजमा छन् तर ऊ काठमाडौँमा देखिन छाडेपछि ती सबै भन्दैछन्- ‘विचरा मलाई त उसको सम्झनाले कति छाक त भात खान पनि मन लागेन ।’ मैले चाहिँ पत्रकार विशाल खत्री र उसका पीडालाई राम्रैसँग जानेको कारण अलिक फरक धारणा बनाएँ । त्यो हो- विशाल खत्रीलाई यही समाजले पत्रकारबाट जोगी बनायो र यही सहरले उसलाई चपाउँदै चपाउँदै निल्यो ।

वि.सं. २०५२ को माघको चिसो साँझ । म पत्रकार बनेपछि, अझ भन्दा जीवनकै पहिलो ठूलो रात्रिभोजमा सहभागी भएको थिएँ । म नेपालीपत्र अर्द्धसाप्ताहिकमा काम गथर्ंे । पर्यटनसँग सम्बन्धित त्यो कार्यक्रममा विशालसँग मेरो परिचय भएको थियो । ऊ चाहिँ जनभावना साप्ताहिकमा काम गर्थ्यो र आफूलाई राष्ट्रवादी पत्रकारका रूपमा चिनाउँथ्यो । त्यसबेलाको साप्ताहिक पत्रिकाको ‘ट्रेन्ड’अनुसार ऊ काङ्ग्रेस, राप्रपा र सद्भावना पार्टीका समाचार बाइलाइन लेख्थ्यो । यी तीनवटै पार्टीका केही नेताहरूसँग उसको निकै घनिष्ठसम्बन्ध थियो । त्यसको दुई वर्षपछि म जनता साप्ताहिकमा काम गर्न थालेपछि त्यहाँ ऊ पनि प्रकाशकसँगको सम्बन्धका कारण सहकर्मीकै रूपमा प्रस्तुत भयो । त्यसयता उसको पत्रकारिताको अन्तिम सिँढी राजपथ साप्ताहिकसम्म म ऊसँग नजिक रहेँ ।

सानो ज्यान, हँसिलो अनुहार, फर्फराइरहने ओँठ र अबोध बालकको जस्तो हाँसो-यी विशालका बाहिरी व्यक्तित्व बुझ्ने हरेकले नियालेका पाटाहरू थिए । शालीन र सरल व्यक्तित्व बोकेको विशाल अल्पभाषी मात्र हैन, मृदुभाषी पनि थियो । ज्योतिषशास्त्र, अध्यात्म, साहित्य र लोकसङ्गीत उसका रुचिका विषय थिए । उमेरभन्दा पाको लाग्ने किसिमको अनुभव र ज्ञान थियो ऊसँग । दैनिक जीवनका स-साना काम गर्ने तरिकाबारे बेलाबेला कुरा खोल्थ्यो । एकपल्ट उद्योगपति वनवारीलाल मित्तलसँग कुराकानी हुँदा विशालले मित्तललाई सोध्यो- ‘दाइ, नुहाउन पहिला कुन भागमा पानी हाल्नुुहुन्छ ?’ त्यसपछि उसले शरीरमा कुन अङ्गमा पहिला पानी हाल्यो भने त्यसको के असर पर्छ भन्ने व्याख्या गर्‍यो । यस्ता दर्जनौं विषयमा उसले भनेका सन्दर्भले मेरो जीवनमा गहिरो छाप छोडेका छन्, जसलाई म अझै पालना गरिरहेको छु । पत्रकारिता छोडेपछि र कमन्डलु लिएर भिक्षा माग्दै हिँड्ने जोगी हुनुअघि उसले धूप र अरू मूर्ति वा त्यस्तै पूजाआजाका सामानको व्यापार पनि गर्थ्यो । त्यसयता पाइलापाइलामा उसले सरल र सुखी जीवन भोग्ने तरिका अपनाएको थियो । भलै, पत्रकारिताबाट पलायन भएको विशाल समाजबाटै पलायन भयो र सांसारिकताबाटै टाढा पुग्यो । जीवन सरल र सुखी पार्ने सयौं सन्दर्भलाई उसले प्रयोग गर्नै पाएन राम्रोसँग ।

विशाल सहरमा पत्रकार हुँदै जोगी बनेको र जोगीबाट ‘आफन्तले दाहसंस्कार गरे अरे’ भन्ने पात्र बनेको धेरै भएको छैन । वि.सं. २०४६ देखि अघिल्लो शासन व्यवस्थासम्म मुलुकमा कुनै त्यस्तो नेता थिएन, जसलाई विशालले नचिनेको होस् । हरेकका विस्तरादेखि रिमोट कन्ट्रोलसम्मको जानकार थियो ऊ । त्यति मात्र होइन, कसले कुन मुद्दामा कहिले कस्तो धारणा लिँदैछ र त्यसमा कुन शक्तिको हात छ, ऊ अगाडि नै भनिदिन्थ्यो । उसको यो घोषणामा राजनीतिक र नखुलेका के को आधारहरू हुन्थे र भनाइ हावादारी पनि हुँदैनथ्यो ।

विशाल कार्यकारी सम्पादक भएको विज्ञप्ति साप्ताहिकमा मैले काम गरेँ, फरक नाममा लेखेर । त्यहाँ म सगरमाथा शर्मा र हसिना खातुनको नामले साहित्य लेख्थेँ भने सञ्चमाया लिम्बूको नाममा समाचार र अन्य आलेखहरू । राजकुमार रेग्मी पनि त्यहाँ हंसलाल यादवको नाममा कलम चलाउँथे । यो २०५४/५५ को कुरा हो । त्यही पत्रिकामा हामीसँगै काम गर्दा एकदिन ऊ विभाजित एमाले नेता बलराम उपाध्यायको अन्तर्वार्ता लिन गएको, भोलिपल्ट मात्र फर्कियो । मैले अन्तर्वार्ताको ठाउँमा अर्कै सामग्री अनुवाद गरेर हाली दिएँ, पत्रिका निस्कियो । भोलिपल्ट सोधेँ- कहाँ मरेको थिस्, मुला सम्पादक भएर उल्टै भाग्नु छ…. । उसले अति सामान्य ढङ्गले जवाफ दिँदै भन्यो- ‘आफन्तहरू बाटोमा भेट भए, फर्किनै दिएनन् ।’ उसको भनाइले ऊ नआउनु कुनै घटना नै हैन भन्ने लाग्थ्यो तर पछि विभिन्न विषयमा देखिएका उसका प्रतिक्रियाले ऊ संसारका नकारात्मक वा सकारात्मक कुनै कुरालाई पनि बढी खुसी र तनावको दृष्टिकोणले हेर्दैन भन्ने थाहा मलाई भयो । दरबार हत्याकाण्डको भोलिपल्ट बिहानै घट्टेकुलोको खसीचोकमा ऊ भेट भयो । समाचार दिने रेडियोहरू आफैँ रोइरहेको त्यो समयमा के के हुन्छ र के के भएछ भन्ने जिज्ञासा सबैमा थियो । मैले पनि हतारिएर राजनीतिक अनुमान साटासाट गर्न उसलाई सोधेँ, ‘ए विशाल, अब के हुन्छ ?’ उसले दुई वाक्यमा केही पछिको राजनीतिक अवस्थासमेत झल्कने गरी जवाफ दियो- ‘नयाँ राजाले शासन गर्छ । सके देश चलाउँछ, नसके माओवादी आउँछ ।’ सामान्य जस्तो लाग्ने उसका यस्ता प्रतिक्रियाले पटकपटक केही समयपछिको राजनीतिको सङ्केत गरेकै हुन्थे । हो, ऊ थोरै बोल्थ्यो तर उसको बोली र त्यसको गहिराइ निकै पेचिलो हुन्थ्यो र कतिपय अर्थमा नयाँ मानिसले पचाउन गाह्रो पनि ।

त्यसैताका विशाल, म र अच्युतम भट्टराई मिलेर विश्वभाषा क्याम्पसमा उर्दू पढ्न थाल्यौं । किन र के का लागि ? हामी आफैँ यसबारे प्रष्ट चाहिँ थिएनौं । त्यो निर्णय एउटा सनक थियो र थियो केही नयाँ भैहाल्छ कि भन्ने आशामा चालिएको पाइलो पनि तर अहँ केही भएन । कक्षा चल्दाचल्दै म दुई साताका लागि नयाँदिल्ली गएँ, फर्किंदा साथीहरूले कक्षा छाडिसकेका रहेछन् । हाम्रो सनक देखेर प्रोफेसर डा. अब्दुल रउफ पनि जिल्ल परेका थिए । यसपछि वामपन्थी र अझ पार्टीविहीन तर अराजकताको प्रभाव परेका हामीजस्ता लेखक/पत्रकारहरू पाइला पाइलामा जोगिँदै हिँड्नुपर्ने अवस्था आयो । कवि कृष्ण सेन मारिएका थिए भने कविता सुनाएकै कारण पूर्णविराम व्यारेकमा थुनिएका थिए । विजयराज आचार्यलाई व्यापक दबाबपछि बल्लबल्ल छुटाइएको थियो । कतिपय साथीहरू थुनिँदै, छुट्दै गर्थे । यो अवस्थामा विशालसँग भावनात्मक र व्यक्तिगत सम्बन्ध हुँदाहुँदै पनि राजनीतिक र अन्य कारणले निकट हुन सकिएन । तैपनि केही साथीहरूलाई उसले ‘बँचेर हिँड है’ भनेर सहयोग गरेकै थियो । सिङ्गै मुलुक विभाजित हुँदा ऊ एउटै कित्तामै उभियो तर रङ फेर्ने प्रयास गरेन । यस अर्थमा उसको विचार मसँग ठीक विपरीत रहे पनि सम्मानको हकदार हो भन्ने प्रष्ट छ ।

यही अवधिमा विशाल नेपाल पत्रकार महासङ्घको काठमाडौँ जिल्ला कार्यसमितिको कोषाध्यक्ष पनि भयो । त्यसपछि दुई पटक उसले सभापति पदमा प्रतिस्पर्धा गर्‍यो तर दुवै पटक पराजित भयो । उसलाई सहकर्मी र सहयात्रीहरूले कोषाध्यक्ष हुँदा आर्थिक हिनामिना गरेको आरोप लगाएपछि ऊ विक्षिप्त भयो । बेलाबेला बागबजारमा एकजना भिक्षुसँग देखिन थाल्यो । तैपनि आध्यात्म, ज्योतिषशास्त्रजस्ता विषयलाई उसले रुचिको विषयका रूपमा मात्र हेर्ने गर्थ्यो । ज्योतिषशास्त्रमा काम गर्ने कार्यालय पनि खोलेको थियो र केही साथीहरूको भविष्य पनि बताएको थियो । विचरा आफैँंले आफ्नो भबिष्य चाहिँ के के हेरेको थियो, थाहा छैन ।

कहिलेकाहीँ ध्यान गर्ने, शिवरात्रिमा गेरु वस्त्र लगाएर गाँजा खाने, समाजभन्दा आफ्नो सनकका भरमा निर्णय गर्ने जस्ता उसको कार्यशैलीलाई हामीले सामान्य रूपमा नै लियौं । हाम्रो सोच थियो- धेरथोर हामी पनि त्यस्तै हौं नि तर एक दिन त्यसअघि न जोगी भइरहेको हाम्रो समूहको अर्को साथी अच्युतमले भन्यो, ‘अब विशाल लामो समय सामाजिक भएको भ्रममा टिक्न सक्दैन ।’ नभन्दै त्यसको करिब पाँच महिनादेखि ऊ जोगीकै पोसाकमा अझ एउटा कमन्डलु तेस्र्याउँदै हिँड्न थालेछ । उसले जोगी भएपछि पनि अरू सामान्य मानिसको भन्दा फरक विचार र व्यवहार प्रष्टसँग देखायो । ऊ प्रायः चिनेका मानिससामु मात्रै कमडलु देस्र्याउँथ्यो र मुसुमुसु हाँस्दै ओठ कमाउँथ्यो । मानौं, ऊ भन्न खोज्दैछ,-बाँच बाँच, सामाजिक हुनुको भ्रममा बाँच । मसँग चाहिँ कमन्डलु तेस्र्याएर त्यसकै बलमा भारत र तराई क्षेत्रको भ्रमण गर्ने सोच रहेको बताउँथ्यो, ऊ । जोगी बनेको जीवनप्रति उसमा कुनै पश्चाताप थिएन मसँगको अन्तिम भेटमा पनि । टाढैबाट कमन्डलु तेस्र्याउँदै भन्थ्यो- ए अत्री, म पनि अत्री गोत्रकै हुँ, तिम्रो दक्षिणा फाप्छ ।’ साहित्यबारे चाहिँ मसँग देवकोटाले राम्रा कविता लेखेर र ऊ आफूले चाहिँ नलेखी चोखो राखिदिएर साहित्यलाई गुन लगाएको दाबी गर्थ्यो । यो उसको तीखो व्यङ्ग्यचेत थियो, सायद ।

जोगी बन्नुअघि उसले के के प्रयास गरेछ त समाजमा टिक्न ? यी सन्दर्भ मलाई निकैपछि थाहा भयो । विशालसँग निकैपछि पनि राम्रो उठबस भएका पत्रकार किशोर सुवेदीका अनुसार,जोगी हुनुपूर्व ऊ बिहेको तयारीमा पनि थियो । विशालको अभिभावकका रूपमा रहेकी दिदीले यसको तयारी गरेकी रहिछन् तर त्यसैबेला दिदीको निधन भएछ र ठिक्क पारिएकी केटीले पनि अन्यत्रै विवाह गरिछन् । पुराना साथीभाइ र राजसंस्थासँग निकट व्यक्तिहरू पनि उसको साथमा थिएनन् । पत्रकारिताको मूलधार भनिने ठाउँमा ऊ टिक्न सकेन । यो बेला साँच्चैभन्ने हो भने ऊसँग बसेर रुनका लागि कसैलाई पनि फुर्सद भएन । यी सबै घटनाक्रमले ऊ एक्लो महसुस गर्न थालेको थियो । अर्कोतिर पत्रकार महासङ्घमा उसकै प्रतिस्पर्धी साथीहरूले लगाएको आरोपका कारण पनि ऊ निकै पीडित थियो । भलै, त्यो आरोपमा कुनै दम थिएन । यी सबै सन्दर्भहरू उसको जीवनमा लगभग एकैपटक आए-लगातारजस्तै । उसले समयका यी चुनौती सामना गर्न सकेन । र, नै जोगी बन्ने निर्णय गरेको रहेछ ।

ऊ जोगी बनेपछि एकपटक अग्रज पत्रकारहरू रघु मैनाली, धातृ सुवेदी, राजन शर्मा, जीवनाथ खनाललगायतको बैठक बसेछ, विशालकै बारेमा । केही रकम सहयोग गरेर उसलाई सामाजिक बनाउने प्रयासमा यो बैठक डाकिएको थियो । उसले अग्रजहरूका सबै कुरा सुनिसकेछ र अन्तिममा भनेछ, ‘म पहिला समाजमा हुँदा एक छाक भात खान समस्या हुँदा कसैले हेरेन, अहिले स्वाङ् किन पार्ने ? चाहिएन मलाई सहयोग ।’

यो सन्दर्भ २०६८ को वैशाखमा मलाई राजधानी दैनिकका सम्पादक राजन शर्माले सुनाएपछि विशाल काठमाडौँं सहरमा देखा पर्न छाड्यो । ऊ कहाँ गयो त ? धेरैले धेरैसँग खोजबिन गरेछन् । कसैले पनि विशालबारे प्रमाणित कुरा गर्न सकेन । धेरैले भने-वीर अस्पतालमा सिकिस्त भएको अवस्थामा आफन्त आएर दोलखा लगे, घर पुर्‍याउने बित्तिकै निधन भयो । यो खबरको पुष्टि गर्न मैले दोलखाका विभिन्न साथीभाइसँग सम्पर्क गरेँ । आधिकारिक रूपमा कसैले केही भनेन तर मेरो प्रिय साथी विशाल जहाँ भए पनि र कहीँ नभए पनि उसले यो समाजसँग सङ्घर्ष गर्न सकेन । अर्थात् केवल एउटा जीवनका लागि उसले पटकपटक पाखण्ड देखाइरहन सकेन । ऊ र उसका सपनालाई सहरको चीलले कपाकप चपाउँदै लग्यो । र नै ऊ यो सहरमा देखिन छाड्यो ।

(स्रोत : मधुपर्क २०६८ मंसीर)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.