कथा : बोझ

~सुषमा मानन्धर~Shushma Manandhar

फुटबलको साह्रै क्रेजी ऊ। पहिले पहिले त उमेरमा अलि खेल्थ्यो पनि तर अब शरीर र समयले नदिएर अचेल फुटबल खेलबाट सन्यास लिइसकेको छु भन्दै आफूलाई चित्त बुझाउन थालेको छ। वर्ल्डकपको बेला उसलाई अरु के चाहियो र ? ऊ जति बेला पनि टिभी कै अगाडि आँखा तानिरहेको हुन्छ। उसको चिया,चमेना र खाना खाने काम पनि कोठा मै टिभी हेर्दाहेर्दै हुन्छ। गएको रात पनि फुटबल म्याच हेरी अनिंदो बसेको उसले सवा दशमा अफिस आई मेचमा बस्न नपाउँदै चुटकी बजाई लामो हाइ काढ्यो। रातभरि बसियो तैपनि आफूले समर्थन गरेको टीमले जित्‍न सकेन, उसलाई यसैमा थकथक छ। “थुक्क,कस्तरी खेलेका बजियाहरुले ! कम्तिमा एउटा गोल त फर्काउनु पर्थ्यो।” ऊ आफै गन्गनायो।

प्रशासनको हाकिम आइसकेका थिएनन् त्यसैले उनको कोठाबाट आजको दैनिक पत्रिका मगाई आद्योपान्त पढ्यो उसले। केही बेरपछि पिउनले ल्याएको कालो चिया पनि खायो अनि घर्रा तानेर एउटा फाइल पल्टायो। हिजो उठेको टिप्पणीको फाइलमा उसको आफ्नो मन्तव्य र सिफारिस लेख्‍नु थियो उसलाई। दुइ तीन लाइन लेख्यो पनि। अरु चैँ लेख्‍नै मन लागेन। निद्रा नपुगेर हो कि शायद,उसलाई हाइले निकै सतायो। उसले आफ्नो नाडी घडी हेर्‍यो, साढे बाह्र हुँदैछ। आज किन घडीले एक बज्न यस्तो ढिलो गरेको। समय मिलेन कि भनी उसले अरुसँग पनि भिडाई हेर्‍यो, त्यत्ति नै हो साढे बाह्र । ऊ नजिकै सहकर्मीको कोठामा छिर्‍यो, कम्प्युटरको काममा व्यस्त भन्ठानेका सहकर्मी अर्कै दुनियाँमा व्यस्त रहेछन्। इन्टरनेटमा खबर खोजिरहेका ती सहकर्मीले, एकदिन अगाडि न्यूरोडमा भएको दुई महिलाको भिडन्त बारेको समाचार इन्टरनेटमा पढेका हुन् कि भनी ऊसँग सोधे। उसले आफूले त्यो रोमान्चक खबर अहिलेसम्म पढिनसकेको बताउँदै खाजा पछि पढ्ने विचार गर्‍यो। तिनीहरु एउटै राजनैतिक धारका, त्यसैले साह्रै गफ मिल्छ। सानो राजनैतिक धागोबाट शुरु भएको गफमा दुबैले एक घण्टासम्ममा ठूलै कम्बल बुन्न सकाए।

“ओहो। खाजाको समय नै बित्‍न लागेछ !!” भन्दै ऊ उठ्यो। उसलाई आज चिउरा र पिरो आलु अचार खान मन लाग्यो त्यसैले सँधै खाजा खाने ठाउँमा नगै अलि टाढाको पसलमा पुग्यो। खाजा खाई आउँदा तीन बजिसकेथ्यो। सवा तीनदेखि अर्को हाकिमको कोठामा मिटिङ्ग बसियो, सवा चार त्यसै बज्यो। आफ्नो कार्यकक्षमा फर्केर एक पल्ट इन्टरनेट हेर्‍यो, दुई चार इमेल गर्दैमा पाँच पनि बजेछ। उसले जीउ तन्कायो, कर्‍याककुरुक औंला पड्कायो ,आज त साह्रै थाकियो। आजको जागिर पनि पाक्यो,ऊ बच्चो झैं रमायो।

व्याग बोकी ढल्कँदै थकित मुद्रामा घर पुग्यो ऊ। त्यो बेला उसकी श्रीमती सोफामा हात खुट्टा लुला छाडेर असरल्ल पसारेकी थिई थाकेकी जस्ती। उसले कारण सोध्यो। “थाकें।” दिनभरिको कामले लखतरान परेर सुस्ताकी भन्ने जवाफ पायो उसले श्रीमतीबाट । छक्क पर्‍यो ऊ र उल्टै प्रश्न ग‍र्‍यो उसले श्रीमतीलाई, घरमै बसी पनि कोही थाक्छन् र ? दिनभरि घरमा के नै काम हुन्छ र गर्न ? खाएको थाल मस्काउने, बढारकुंडार, लुगा धुने, बजार जाने, खाजा बनाउने, छोराछोरीलाई हेर्ने ,यत्ति मात्र हैन ? उसको निचोडमा यी कुनै कामै हैनन्। त्यो त महिलाले निर्वाह गर्नु पर्ने आफनो धर्म र दायित्व हो। काम भनेको बाहिर अफिस जानेहरुले गर्छन्, त्यसैले उनीहरु थाक्छन् पनि। आज कत्ति धेरै काम गरेको छ उसले। एउटा भए पो सम्झनु।

“जा जा तातो चिया बनाएर ल्या, समाचार बित्‍न लाग्यो होला। ” श्रीमतीलाई अह्राउँदै उसले टि.भी खोल्यो। लुगा धोएर सोझ्याउन नपाएको ढाड समाउँदै सकी नसकी श्रीमती उठी चिया बनाउन। यति मात्र कहाँ हो, उसले त अझ भरेको लागि खाना पनि पकाउनु छ। तरकारी छैन ,कसले किन्न जान्छ ? श्रीमान घर आएपछि आजको उनको ड्युटी सकियो तर बिचरी घरमा खटेर काम गर्ने उसकी श्रीमतीको कामको सीमा कहाँनिर छ ? उसले गरेका अथक र अनगिन्ती कामको पहाडमुनि ऊ थिचिएकी छे तर उसले बोकेको उसको यो बोझ कसले महसूस गरिदिने हो ?

August 16th, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.