लेख : बीपीको साहित्यमा मधेस

~बिजेता चौधरी~

मिश्रित सामाजिक व्यवस्था भएको क्षेत्र मधेसमा मैथिली, भोजपुरी, थारु, अवधिलगायत भाषाभाषीको बाहुल्य छ । आफ्नै संस्कृति, संस्कार र सभ्यताले परिचित छ मधेस । फागुको रंग र विद्रोहको आक्रोश उस्तै छ । झिझिया नृत्य, दाहाको गीत र जितियाको रागसँगै पीडाको गान पनि उस्तै छ ।

मधेसका ती आफ्नोपनवाला ब्रान्डको वर्णन र चर्चा नेपाली आख्यानमा विभिन्न समयमा हुँदै आएको छ । यस्तै कथाहरूको एउटा संग्रह ‘तराई मधेसका कथाहरू’ (सम्पादक परशु प्रधान) प्रकाशित भइसकेको पनि छ ।

साहित्यकारहरू राजेन्द्र विमल, ध्रुवचन्द्र गौतम, सनत रेग्मी र नयनराज पाण्डेका मधेसकेन्द्रित उपन्यासहरूले हिट खाइरहेकै छन् ।

मधेसलाई पृष्ठभूमि बनाएर त्यहाँका पात्र, परिवेश र घटनाहरूलाई आफ्ना आख्यानका माध्यमबाट चिनाउने अद्वितीय स्रष्टा हुन्, विश्वेश्वरप्रसाद कोइराला । समग्रमा उनका कथा तथा उपन्यासले आञ्चलिकता हासिल नगरे पनि उनका रचनामा मधेस र त्यहाँको सभ्यतालाई आँकलन भने गर्न सकिन्छ ।

कोइरालाका जम्मा दुईवटा कथासंग्रह ‘दोषी चश्मा’ र ‘श्वेतभैरवी’मा मधेसको रमाइलो चर्चा छ । उनका विभिन्न ६ उपन्यासमध्ये ‘नरेन्द्र दाइ’ र ‘मोदिआइन्’मा मधेसी संस्कारको परिचय पाइन्छ ।

कोइरालाको बहुचर्चित कथा हो ‘पुस्तक’ । २००६ सालमा प्रकाशित ‘दोषी चश्मा’ कथासंग्रहमा संगृहित ‘पुस्तक’ कथाले सामाजिकताको आवरणभित्रका व्यक्तिगत समस्यालाई देखाएको छ ।

यो कथामा तराई-मधेसका ग्रामीण जनजीवनको सरलता तथा सेवाभावको चित्रण गर्दै कथाकार स्थानीय परिवेश र समाजको निरक्षरतापूर्ण अशिक्षालाई कला प्रदान गर्न सफल भएका छन् । कथाको विषयवस्तु हेर्दा सामान्य छ । कोशी नदीको बाढीले पुर्याएको ठूलो धनजनको क्षतिमा सहयोग र सहानुभूति जुटाउन जब कथाकार स्वयंसेवकका रूपमा त्यो गाउँ पुग्छन्, एक बाढीपीडित किसानको घरमा उनको बास हुन्छ । ती किसानले तराई क्षेत्र र मुलुककै अशिक्षाको परिचय दिई दमको रोगले मरेको छोराले राखेको डाबर औषधिको विज्ञापनको पुरानो कागजको टुक्रालाई महत्वपूर्ण पुस्तकका रूपमा जतनका साथ कथाकारलाई दिएका छन् । कथा वास्तवमा यत्ति नै हो । तर, यो कथाले तराई-मधेसको सबैभन्दा डरलाग्दो प्राकृतिक शत्रू बाढीलाई विस्तृत रूपमा उजागर गरेको छ ।

मधेसमा बाढीले बर्सेनि त्यहाँका किसानका घरखेत मात्र बगाउँदैन, चौपाया, दुहुना गाई, गोरु सबै बगाउँछ । कथाका पात्र खेताला बूढा भन्छन्, “यो गाउँ त्यति गरिब त होइन बाबु ! यो बाढीले सब कुरा बगाएर लग्यो, नत्र कसैलाई एक पेट खान र आए\गएकालाई खुवाउन पुगेको थियो । मेरै दूध दिने दुइटा गाई बगेर गए ।”

त्यतिमात्रै होइन, बाढीको विषमतालाई कथाकारले यसरी अभिव्यक्त गरेका छन्, “इलाकाका इलाका पानीमा थियो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याध फिँजियो ।”

आतिथ्य सत्कारको झल्को प्रस्तुत गर्दै कथाकारले मधेसबासीको सरलता र सेवाभावको चित्रण गरेका छन् । खेताला बूढोले आफ्ना अतिथि भएका कथावाचकप्रति कृतज्ञता प्रकट गर्दै भन्छन्, “मैले केही गर्न सकिनँ, बाढीले भएका गाईवस्तु बगाएर लग्यो, दूध दही केही छैन ।”

यसरी उनका आतिथ्यले गदगद भएका कथावाचकले ‘तिम्रो आतिथ्यले मलाई सधैंको निम्ति ऋणी पार्यौ’ भन्छन् । कथाकारले तराईमा हुने लामखुट्टेको बिगबिगी र कालाजार, मलेरियाजस्ता रोगको विभीषिकालाई कलात्मक ढंगले एक वाक्यमा यसरी अभिव्यक्त गरेका छन्, “मैले औषधि त लिएँ लिएँ, झुल पनि बोकेँ ।”

यसरी ‘झुल बोकेँ भन्ने एक कथ्यले उनले तराईमा लामखुट्टेको समस्या र प्रभावलाई सटिक र सूक्ष्म तरिकाले अभिव्यक्त गरेका छन् । यसको विस्तृत वर्णन उनले गर्नै परेन । यही नै कोइरालाको विशिष्टता हो ।

कोइरालाको ‘मधेसतिर’ कथा नेपाली सामाजिक एवं मानवीय जीवनको चित्रण गरिएको विशिष्ट रचना हो । कथामा आर्थिक दूरावस्थाको विदीर्ण रूप र यौन वितृष्णाले ल्याएको विसंगतलाई मानवीय आधारभूत पक्षको रूपमा छर्लंग गरिएको छ । प्रस्तुत कथामा चार जना घरबार नभएका कुल्ली भनौँ वा माग्ने भनौँ, भोक मेट्ने र रोजगारी पाउने उद्देश्यले मधेस झर्न लागेका हुन्छन् । उनीहरूको हुलमा एउटी विधवा पनि नयाँ घरजम गरी लोग्ने, घरबार, छोराछोरी पाउने र पैसा कमाउने अभिलाषासँगै मधेस झर्न लागेकी हुन्छिन् । मधेस पेट भर्ने आशाको त्यान्द्रो बन्दै भोक र अभावले आहत कुल्लीहरू मधेसको ठूलो फैलिएको मैदान देखेर आनन्दित हुन्छन् । ‘ऊ त्यही हो मधेस !’ भन्ने अभिव्यक्तिले मधेसको विस्तीर्ण फैलिएको खेतखलियानले रोजगारी, खेतीकिसानी गरी पेट भर्न सकिने एउटा रोजगारको सभ्यताको कथा पनि भन्छ । गाँसबासको अभावमा पहाडबाट मधेस झर्नु नेपालको एउटा बाध्यात्मक परम्पराजस्तै हो । यसले देशको गरिबी, बेरोजगारी र अशिक्षालाई समेत संकेत गर्छ ।

नेपालको तराई प्रदेश अन्न उत्पादनका लागि उर्वर भूमि हो । यहाँ खेतिकिसानीको प्रशस्त ठाउँ र अवसरहरू छन् । यस अर्थमा पनि मधेस झर्नु र रोजगारी प्राप्त गर्नु, गरिबी मेट्नु एउटा सुन्दर आशाजत्तिकै हो, जुन कोइरालाका मधेससम्बन्धी कथामा पात्रहरूको माध्यमबाट उल्लेख गरिएको छ । फ्रायडीय चिन्तनका कोइरालाले विधवा पात्रको मधेस झरेर घरबार गर्ने अभिव्यक्तिमार्फत यौन वितृष्णालाई कला प्रदान गरेका छन् ।

कोइरालाको ‘श्वेतभैरवी’ उनको पछिल्लो चरणको निकै लोकप्रिय एवम् व्यक्ति, समस्यामूलक रतिरागात्मक कथा हो । यसमा मानवीय यौन अचेतनको खोज गरिनुका साथै कथाकारले चिन्तनप्रधान चेतन मनोविज्ञान र बालमनोविज्ञानलाई बढी महत्व दिएका छन् ।

‘श्वेतभैरवी’मा वर्णित म पात्रपछिको प्रमुख पात्र मधेसकी मैथिली भाषी फगुनी हुन् । यो कथा उनकै सेरोफेरोमा घुमेको छ । यसमा कथावाचक म पात्रको नोकर लेलहाकी छोरी फगुनी संस्कृतिअनुसार सानैमा चुमौन भइसकेकी र गौनाको प्रतीक्षामा बसेको देखाइएको छ । मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भई बेहुली केही वर्ष माइतमै बस्ने र पछि दुलहा आएर गौना अर्थात् बिदाइ गराएर लैजाने परम्परा थियो । फगुनीलाई दमित यौन अचेतनको प्रभावले असमान्य अवस्थामा पु¥याएको छ । यौन अवचेतनको कारणले पीडाग्रस्त भएकी श्वेतभैरवी रूपी फगुनी म पात्रलाई ‘तिमी मेरो दुलाहा’ भन्दै आक्रमण गर्छे । यसरी फगुनीमाथि चढेको श्वेतभैरवी रूप देखाएर गलत सामाजिक संस्कारप्रति चुनौती दिन लेखेको तथ्यसमेत कथा पढ्दा थाहा हुन्छ ।

मैथिली संस्कृतिको वर्णन

कथामा चित्रित केवट जाति र संस्कृतिको झलक तथा पात्र र परिवेशले कथा पूर्ण तराईको मैथिली मधेसी संस्कृतिलाई अंगिकार गरेको छ । यसै सन्दर्भमा कथाका प्रमुख पात्रद्वय म र फगुनीको वार्तालाप यसरी प्रस्तुत भएको छ: उसले भनी, “सानै केटाकेटीमै हाम्रो चुमौन हुन्छ, वर र केटीको रगत रगत जोर्छन्, दुवैको सानो औँलामा सानो घाउ पारेर दुइटैको औंलालाई आपसमा दलिदिन्छन् । पछि ठूलो भएर दुलाहाले गौना गरेर केटीलाई लैजान्छन् ।”

अर्को एक प्रसंगमा म पात्रको संवाद यसरी प्रस्तुत भएको छ, “मैले हाँसेर भनेँ, गौनाका लागि धेरै दिन पर्खनुपर्छ, होइन ? उनले भनिन्, “चुमौन मुख्य कुरो हो ।” यसरी ‘श्वेतभैरवी’ कथाले फगुनी पात्रमार्फत एक प्रकारले मधेसका स्थानीय केवट जातिको वैवाहिक संस्कारको वकालतसमेत गरेको छ ।

कोइरालाको ‘सान्नानी’ कथामा बालमनोविज्ञानको अभिव्यक्तिका साथै स्थानीय परिवेशको विषद् विश्लेषण गरिएको छ । सम्पूर्ण कथामा नानाथरी वनस्पती र रुखपात, सांस्कृतिक महत्वका ठाउँहरूका साथै मधेसको वेशभूषा, भाषा र ग्रामीण जीवनको स्वच्छन्दता आदिको यथार्थपरक प्रस्तुतिले गर्दा नेपालीपनसँगै मधेसीपनको राम्रो झलक पाइन्छ ।

‘बनारसमा म जन्मेँ, त्यही हुर्कें । कालचक्र हाम्रो परिवारका लागि विशेष द्रुतगतिले चक्कर खान्छ । काशीको अन्नजलको हामीले धेरै सञ्चय गरेका रहेछौँ । म पाँच÷सात वर्षको हुँदा नहुँदै काशी विश्वनाथले हाम्रो आश्रय खोसे । हामी टेढी दीपनगर भन्ने ठाउँमा आयौँ’ भन्ने कथाकारको भनाइ र कथाको चारै अनुच्छेदमा स्पष्टसँग कथाकारले कथामा लेखेकाले यो कथाको संयोजन कोइरालाको जीवनसँगै सम्बन्धित भएको थाहा हुन्छ ।

सामान्य नारी मनोवैज्ञानिक प्रस्तुत कथा यथार्थमा कथाकार कोइरालाकै टेंढी बसाइको बाल्यजीवनसँग सम्बन्धित भएको तथ्यको प्रमाण त कथाको विषय प्रस्तुति नै हो । उक्त कुरा कोइरालाका कृति आफ्नो कथामा समेत उल्लेख भएकोले प्रमाणिक ठहरिन्छ ।

मधेसका स्थानीय मैथिली लवजको व्यापक प्रयोग

हामीले कुन परिवेश र कस्तो खालको पात्रको प्रयोग कथामा गरेका छौँ, त्यस्तै बोलीवाणी र वेषभूषा प्रयोग गर्दा कथा बढी ग्राह्य एवम् विश्वसनीय हुन्छ । कतिपयले भाषिक र शाब्दिक मामिलामा सो कुरा नकारे पनि नेपाली साहित्यमा निर्वाध रूपमा स्थानीय लवज र आगन्तुक शब्द प्रयुक्त भएकै छन् र हुँदैछन् । कोइरालाका कथामा पनि निर्बाध रूपमै स्थानीय शब्दको प्रयोग पाइन्छ, जस्तै ः मनौती अर्थात् भाकल । त्यस्तै पोखरीमा हुने काठको खाँबोलाई जाठ भनी प्रयोग गरिएको छ जुन मधेसको स्थानीय शब्द र लवज हो । त्यस्तै, तडका अर्थात् विजली, पछवरीयाधार, पूर्वरीयाधार, बोक्सीको ठाउँमा स्थानीय डाइन शब्दको प्रयोग । सम्बोधनमा पनि स्थानीयपन झल्किन्छ । जस्तै ः ए रे छौडा, ए गे छौडी । यसमा कथाकारले कतिसम्म सूक्ष्मता अपनाएका छन् भने छौडालाई रे कार र छौडीलाई गे कारको सम्बोधन गरिने लिंगभेदको पनि ख्याल पु¥याएका छन् ।

मचान, टान, खलियान, ओरहा आदि अनेकौँ स्थानीय शब्द कथामा प्रयोग भएका छन्, जुन शब्द त्यहाँका बासिन्दाहरूको ओठमा झुन्डिएको हुन्छ । यसले पनि कथाकारको मधेस चिन्तन र मधेसी रहनसहन बोलीवाणीको ज्ञान र रुझानको परिचय दिन्छ ।

मधेसी मैथिलीभाषी पात्रहरूको संयोजन र नामाकरण

कोइरालाका कथाहरू जो खासमा मधेसी पृष्ठमूमिमाथि लेखिएका छन्, त्यसमा वर्णित पात्रहरू समाजबाट टपक्कै टिपेर कथामा प्रविष्ट गरिएको जस्तो लाग्छ । उनका पात्रहरू प्रायः यथार्थ पात्रजस्ता लाग्छन् । विश्लेषकहरूको अभिमतअनुसार कोइरालाका कथा÷उपन्यासमा स्थानीयपन र यौन मनोविश्लेषणको जुन स्वरूप भेटिन्छ, त्यो यिनको बाल्यकालमा टेंढी (नेपालको सप्तरी जिल्लासँग जोडिएको बिहारको भागलपुर जिल्लाअन्तर्गत कोशी किनारको एउटा बस्ती) बसाइका क्रममा प्राप्त वातावरणले प्रभाव पारेको छ ।

यसरी हेर्दा उनले कतिपय पात्र र घटना आफ्ना कथा र उपन्यासमा दोहो¥याएका पनि छन् जस्तैः मुनरीया, नरेन्द्र, सानोबाबु, सान्नानी, फगुनी, लेलहा इत्यादि ।

उनका कथामा मधेसको एउटा गन्ध पाइनु र त्यसमा स्थानीयपन र परिवेशको संयोजन उनको बाल्यकालीन अनुभवले प्रोत्साहित भएको हुनुपर्छ । उनका कथाहरूमा स्थानीय पात्रहरू, जस्तैः लेलहा, फगुनी, मुनरीया, दिवानजी, काइथे, नजरिया मुसलमान, बतहियन चमाइन, जमुनिया, किसना, सुवसिया आदि सम्पूर्ण पात्रहरूले मधेसको स्थानीय भाषाको प्रतिनिधित्व गरेको पाइन्छ । अचम्मको प्रसंग के पनि छ भने मधेसमा प्रायः व्यक्तिवाचक नामहरू अपभ्रंश गरी बोलाइने चलन रहेको हुन्छ । जस्तैः सुवासलाई सम्बोधन गर्दा सुवसवा वा सुवसा भन्ने गरिन्छ । कोइरालाले त्यही रूपमा यी पात्रहरूलाई सम्बोधन गरिदिएका छन् र मधेसीपन ल्याइदिएका छन् ।

कथावस्तुगत प्रस्तुतिलाई हेर्दा ‘नरेन्द्र दाइ’ यथार्थमा तराईको गाउँले समाज र जमिन्दार समाजको यथार्थ देखाउने उपन्यास हो । ‘नरेन्द्र दाइ’को केन्द्रीय चरित्र नरेन्द्र हो । उपन्यासमा नरेन्द्र कठोर र जिद्दी स्वाभावको छ, जसलाई जमिनदार पुत्रको हैसियतले देखाइएको छ । कोसी किनारस्थित मधेसको त्यो पुरातन गाउँमा पनि नरेन्द्रलाई पूर्ण आधुनिक, घरानियाँ र सहरियाझैं देखाइएको छ । नरेन्द्रपत्नी गौरी अविकसित शारीरिक बनोटले गर्दा हिस्सी परेको शरीर भए पनि नरेन्द्रलाई आकर्षण गर्न नसकेकी पूरै जीवन परित्यक्ता र उपेक्षित पात्र हो । उपन्यासमा भोक्ता पात्रमध्येकी मुनरिया चरित्रगत रूपमा तराईबासी मधेसी धानुक, कुर्मी समाजकी छोरीबुहारीकी रूपमा चित्रित छे । ‘नरेन्द्र दाइ’ उपन्यासका नरेन्द्र, गौरी, मुनरिया र म पात्र सानोबाबुको जीवनयात्रा नै औपन्यासिक यात्रा बनेको छ ।

मधेसी नारी पात्रमा मुनरिया चरित्र

उपन्यासमा नोकर्नीको चरित्रमा उपस्थित मुनरिया मधेसकी धानुक जातकी विवाहिता स्त्री हुन् । गौनाको पर्खाइमा रहेकी ती पात्र जातीय र आर्थिक दृष्टिले मधेसकी नारीलाई यति महत्व दिएर कोइरालापूर्वका उपन्यासकारहरू कसैले पनि प्रतिष्ठापित गरेको पाइँदैन । अशिक्षित, ग्रामवाला नै भएर पनि मुनरीया अन्तर्मुखी प्रतिभा भएकी पात्रको रूपमा चित्रित भएकोले नै तत्कालीन समाजमा कल्पनासम्म गर्न नसकिने उच्च जातीय जमिन्दार पुत्रको प्रेयसी बन्न सफल भई । उपन्यासमा मुनरीया दृढ चरित्रकी छे, तसर्थ नरेन्द्रलाई पाएर ऊ सन्तुष्टमात्र बन्दिन, सहअस्तित्वका लागि जागरुक र सचेत भएको देखाइएको छ ।

भाषामा आञ्चलिकता

उपन्यासमा प्रयोग भएको भाषामा केही आञ्चलिकताका साथै नेपाली भाषाको सरलताले पाठकले सजिलै बुझ्न र बोध गर्न सक्ने खालको छ । उपन्यासमा मधेसको स्थानीय भाषाको प्रयोग प्रायः ठाउँठाउँमा भएको छ, जस्तैः गाछमुनि, दाँती लाग्नु, कर्चीको टाटी, खरह आदि अनेकौं शब्द प्रयोग भएका छन् ।

सांस्कृतिक पक्षको चर्चा

‘नरेन्द्र दाइ’ उपन्यासमा मधेसको स्थानीय संस्कृतिको झलक विभिन्न प्रसंगमा पाइन्छ । उपन्यासकी पात्र सान्नानीले मुसलमान नजरियाकी श्रीमतीसँग यसरी संवाद गर्छिन्, “हेगे, त्यो तजियाका लागि होइन ? कहिले हुन्छ हँ यसपालि हास्सेन हुस्सेन ?” यस्तै अर्को एक प्रसंगमा चैती उत्सवको वर्णन गरिएको छ, “उत्सवका लागि नरेन्द्रले चैतीको सुरमा आफ्नो इसराजमा लय झिक्नुथियो रे !”

चैत हे सखी फुलल बेली,
करत मधुः गुजार हो…..
भँवरा करत गुजार हो ।।

परिवेश

‘नरेन्द्र दाइ’ उपन्यासको स्थानीय परिवेश कोसी किनार, तराई प्रदेशस्थित मधेसको एउटा गाउँ हो, जहाँ कृष्णप्रसाद कोइरालाका आफ्ना परिवारहरूसहित बालक विश्वेश्वरप्रसाद कोइरालालाई केही समय बसाइएको थियो । तराईको यसै ठाउँमा अर्थात् कोइरालाको आफ्नो कथामा प्रस्तुत कोसी किनारस्थित टेंढी भन्ने ठाउँमा स्थानीय परिवेश पूर्णतः आधारित गराइएको छ ।

नरेन्द्र दाइको सम्पूर्ण परिवेशीय प्रस्तुति पनि पात्र संयोजनमा जस्तै कोइरालाका पारिवारिक वृतसँगै सम्बन्ध भएको यथार्थलाई यिनको आफ्नो कथा (२०४०), जेल जर्नल (२०४५) र आत्मवृतान्त (२०५५)ले पनि पुष्टि गर्छ ।

संस्मरणात्मक शैलीमा लेखिएको कोइरालाको लघु उपन्यास ‘मोदिआइन’ उत्कृष्ट रचना हो । महाभारतकालीन घटनाहरूलाई मिथकीय आधारमा लेखिएको यो उपन्यासमा भारत बिहारस्थित दरभंगा क्षेत्रलाई परिवेशतः केन्द्रबिन्दु बनाइनुका साथै स्थानीय हडहा पोखरीलाई महाभारतकालीन कथासँग जोडेर वर्णन गरिएको छ । वस्तुतः ‘मोदिआइन्’ गीता दर्शनमा आधारित विचारप्रधान उपन्यास हो । उपन्यासको बालक म पात्र आफ्नो कामविशेषले दरभंगा गइरहेका सहायक पात्र मिसिरजीसँग सानैमा दरभंगा आइपुगेका छन् । स्टेसनपट्टिको किनारमा रहेको मोदिहरूका पसलमध्ये एउटा पसलमा उनीहरू पस्छन् । पसलकी हर्ताकर्ता रहेकी मोदिआइनले बालक म पात्रलाई राति सुत्ने बेला हडहा पोखरीभित्र भगवानको बास रहेको र उक्त पोखरी महाभारतकालीन रहेको कुरा कथा हालेर सुनाउँछिन् ।

कुरुक्षेत्र युद्धमा मारिएका आफ्ना प्यारा पतिलाई खोज्दै लाखौं नारीहरूको प्रेतात्मा आफ्नो अनन्तको वैधव्यको व्यथा बोकेर चौधौं भुवनमा भौंतारिएर हिँडिरहेको महाभारतकालीन एउटी पतिवियोगी विधवा युगौं युगदेखि आफ्नो प्राणनाथको शरीर खसेको थलो अर्थात् हडाहा पोखरी किनारमा बसिरहेको र अनन्तसम्म बसिरहने छु भन्ने उद्गारसहित कथा समाप्त हुन्छ । उपन्यासकारले मोदिआइन, मछुवारिन र नारी ती तीन युग र तीन प्रसंगका नारीहरूका समान पीडामय कथाहरूलाई एकाकार गरिदिएका छन् । मिथकीय स्वैरकल्पनामा महाभारतकालीन घटनालाई यति विलक्षण ढंगले कला प्रदान गर्नु कोइरालाको विशेषता नै हो । उपन्यासमा द्रौपदीको एउटा हठले कौरव र पाण्डवको युद्ध हुनु र कुरुक्षेत्रमा मारिएका लाखौँ लाख योद्धाका माता, पत्नी र परिवारका बारेमा एउटी नारी भएर पनि नारीको कोमल हृदयले नसोच्नु, विचार नगर्नु जस्ता प्रसंगले युद्धकालीन एउटी विरहणी प्रेमिकाको मानवतावादी उद्गारले उपन्यासलाई उच्च आसनमा पु¥याइदिएको छ । उपन्यासमा सामान्य नारी मनोविज्ञानको साथै बालमनोविज्ञानको प्रयोग भएको छ ।

कोइरालाको साहित्यमा प्रयुक्त मधेस चिन्तनले निःसन्देह स्थानीय मधेसी संस्कृति, संस्कार र भाषाको वकालत गरेको छ । तर, उनका कृतिहरूमा तराई प्रदेशको मधेसी जनजीवनलाई कुनै नायकत्व प्रदान गरिएको छैन । उनका कथा साहित्यमा मधेस भए पनि सम्पूर्ण मधेसको वर्णन वा संस्कार, संस्कृतिको विश्लेषण पाइँदैन र यसर्थ पनि उनका कृतिमा आञ्चलिकताको मसिनो भाव परे पनि समग्रमा आञ्चलिकता हासिल गर्न सकेको छैन ।

२०७३ चैत १२ शनिबार

(स्रोत : बाह्रखरी )

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.