~दिवाकर स्वप्नील~
पर चोकमा यौटा मान्छे
जिङरिङ कपाल,झुस्स दाह्री र जुँगा,
सुनौला दाँतका लहर
ढुँडी परेको गोब्रे गन्ध!
मानौ ग्रामीणता खन्याए झै ऊभरि!
मलाई मन पर्यो उसको अत्तर
भनौ मन पर्यो जीवनशैली!
धेरै पाएँ परिचय उसको,
बगरल्ती फिजीएकोथ्यो खुल्ला किताबसरि
आफ्नो पहिचान आफ्नै धरातलमा!
ऊ निर्वस्त्र थियो दूनियाका अघि!
या भनौँ ऊ सर्वाङ्ग नाङ्गो थियो!
बरबराउँथ्यो आफ्नै सुर तालमा
पागल उपमा भिराइ दिदा उसलाई
हाँस्थ्यो,चरम आनन्दको आभास गर्थ्यो!
आँधी आयो एक हुल मान्छेको!
हठात्,
सिस्नो पानी बर्जीयो नाङ्गो देहमा,
एउटै सम्पत्ति थाङ्नाहरु
उडायो उही आँधीले बाटामुनि नहरमा !
तब,
मांशपेशीका डल्लाहरु
खोक्रो आडम्वरमा डुबेर चुर्लुम्मै
छोपीरहेथे यथार्थलाई
रंगीन दोसल्लाले!
पर घरमा एउटी ठिटी,
तृप्तता आभास गर्दैथी सुटुक्क
छल्दै दुनिया झ्यालबाट
हेरेर उसका अङ्ग अङ्गहरु!
रंगमञ्चले पराकाष्ठ नाघेको बेला
उही समयमा,
भलाद्मीहरु चिया चुस्कीसँगै
अड्कल गर्दै थिए
चिया साहुनीको नितम्ब!
ब्यापार गर्थिन साहुनी मुस्कानको !
साँझ,
बत्ति राखेर साक्षी
मस्किदै लजाउथिन्
स्टीलदराजको ऐनासँग
फ्याकेर कृत्रिम खोष्टाहरु।
चारपाने , झापा ।
swapneeldiwakar@gmail.com
(स्रोत : रचनाकारको ब्लगबाट सभार)